एआईमा खर्बौं डलर लगानी ‘खेर’ जाने र त्यसपछि क्रिप्टो उकालो लाग्ने दाबी

काठमाडौं । बिटमेक्सका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) आर्थर हेजले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको ठूलो लगानी अन्ततः अत्यधिक पूर्वाधार निर्माण, बजारमा गिरावट र सरकारी उद्धारसम्म पुग्न सक्ने दाबी गरेका छन् ।

उनका अनुसार त्यसपछि बजारमा आउने अतिरिक्त तरलताबाट क्रिप्टोकरन्सीले ठूलो लाभ लिन सक्छ ।

क्रिप्टो लगानी कम्पनी मेलस्ट्रमका सहसंस्थापक तथा प्रमुख लगानी अधिकृत हेजले सिंगापुरमा आयोजित गामा प्राइम इन्भेस्टिङ कन्फरेन्समा सीएनबीसीसँग कुरा गर्दै विश्वले एआई डेटा सेन्टर निर्माणमा ‘खर्बौं डलर खेर फालिरहेको’ बताएका हुन् ।

उनका अनुसार एआईका लागि अहिले भइरहेको विशाल डेटा सेन्टर निर्माणले भविष्यमा कम्प्युटिङ पावर अत्यन्तै सस्तो र प्रशस्त बनाउनेछ ।

तर, अहिले निर्माण भइरहेका पूर्वाधारको क्षमता आवश्यकताभन्दा धेरै हुन सक्ने उनको अनुमान छ ।

हेजले प्रविधिको इतिहासमा ठूला प्राविधिक परिवर्तनसँगै अत्यधिक लगानी र पूर्वाधार निर्माण हुने गरेको बताए । त्यसपछि बजारमा गिरावट आउने र अन्ततः सरकार वा केन्द्रीय बैंकबाट उद्धार प्याकेज आउने उनको दाबी छ ।

‘वित्तीय इतिहास र हरेक ठूला प्राविधिक विस्तारलाई हेर्ने हो भने त्यहाँ सधैं अत्यधिक निर्माण भएको देखिन्छ । त्यसपछि संकट आउँछ र अन्ततः उद्धार हुन्छ,’ हेजले भने ।

उनका अनुसार यस्तो अवस्थामा बजारमा आउने अतिरिक्त तरलताबाट बिटक्वाइनसहितका क्रिप्टो सम्पत्तिले फाइदा लिन सक्छन् । सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि बजारमा आएको तरलताको उदाहरण दिँदै उनले भविष्यमा पनि यस्तै अवस्था आउन सक्ने बताए ।

‘सौभाग्यवश त्यो अतिरिक्त तरलता सोस्न बिटक्वाइन र अन्य क्रिप्टो छन्। त्यसैले उद्धारपछि सबैभन्दा राम्रो प्रदर्शन गर्ने सम्पत्ति कुन हुनेछ भन्ने हामीलाई थाहा छ,’ उनले भने ।

त्यसका लागि लगानीकर्ताले धैर्य गर्नुपर्ने उनको भनाइ छ ।

हेजका अनुसार स्पेसएक्स, ओपनएआई र एन्थ्रोपिकजस्ता कम्पनीले ठूलो मात्रामा कम्प्युटिङ पावरको माग गरिरहेका छन् । तर यीमध्ये कुनै पनि कम्पनीले हालसम्म नाफा कमाइरहेको अवस्था नरहेको उनको दाबी छ ।

अहिले निर्माण भइरहेका अधिकांश डाटा सेन्टर पूरा भएपछि पूर्वाधार प्रदायकले एआई कम्पनीसँग उनीहरूले प्रतिबद्धता जनाएको कम्प्युटिङ पावरको भुक्तानी माग्नेछन् । यस्तो अवस्था सन् २०२७ को अन्त्य वा २०२८ सम्ममा देखिन सक्ने हेजको अनुमान छ ।

यद्यपि, एआईका लागि सकारात्मक सम्भावना पनि रहेको उनले स्वीकार गरेका छन् । 

आगामी १२ महिनामा एआई अझ उपयोगी बन्ने र यसको माग बढेर एआई कम्पनीहरू नाफामा जान सक्ने उनी बताउँछन् ।

एआई क्षेत्रलाई आपूर्ति गर्ने केही कम्पनीले भने अहिले नै राम्रो आम्दानी गरिरहेको हेजले बताए । उनले मेमोरी चिप निर्माता कम्पनीहरू र एनभीडीयालाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे । 

तर, लगानीकर्ताले ती कम्पनीको भविष्यको आम्दानीको तुलनामा अहिले तिरिरहेको मूल्य उचित छ कि छैन भन्ने प्रश्न महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

हेजले एआई कम्पनीहरूको मूल्य घट्ने अनुमानमा ‘सर्ट’ गर्ने रणनीतिलाई पनि राम्रो लगानी अवसरका रूपमा नहेरेको बताए । उनका अनुसार ठूला प्राविधिक परिवर्तनमा अत्यधिक लगानी हुने प्रवृत्ति भने इतिहासमा पटक–पटक देखिएको छ ।

यसैबीच, एआई क्षेत्रमा कम्प्युटिङ पावर प्रशस्त र सस्तो हुने उनको अनुमानकै आधारमा हेजले नयाँ क्रिप्टो परियोजना ‘फ्लप’ अघि बढाइरहेका छन् । यो परियोजना सन् २०२७ को पहिलो त्रैमासिकमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

फ्लपले एआई एजेन्टका लागि आवश्यक कम्प्युटिङ पावरको ‘स्पट मार्केट’ बनाउने लक्ष्य राखेको छ । यसमा जीपीयू उपलब्ध गराउने र एआई इन्फरेन्स सञ्चालन गर्ने सहभागीलाई फ्लप टोकनमार्फत पुरस्कृत गर्ने योजना छ ।

हेजका अनुसार अहिले एआई एजेन्टका लागि छुट्टै भुक्तानी नेटवर्क छैन । एआई एजेन्टले आफ्नो मुद्रालाई सीधै कम्प्युटिङ पावरमा रूपान्तरण गर्न सके त्यही मुद्रा उनीहरूले प्रयोग गर्ने उनको विश्वास छ । यही अवधारणामा आफ्नो नयाँ परियोजनाको मुख्य दाउ रहेको उनले बताएका छन् ।

Share News