हंगेरीमा पोल्यान्डको बस दुर्घटना : १२ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं । पूर्वी हंगेरीमा आइतबार राति राजमार्गमा पोल्यान्डको एउटा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् । हंगेरीका प्रधानमन्त्री पिटर म्याग्यारले आइतबार बिहान फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । प्रहरीका अनुसार पूर्वी हंगेरीको मेजोकरेस्तेस सहरनजिकै आइतबार बिहान बस सडकबाट खाल्डोमा खसेपछि पल्टिएको थियो । बस राजमार्ग हुँदै न्यिरेग्यहाजा सहरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । राज्य समाचार संस्था एमटीआईका अनुसार बसमा ५७ जना यात्रु र दुई जना चालक थिए । प्रहरीले आफ्नो वेबसाइटमा जारी गरेको प्रारम्भिक विवरणअनुसार न्यिरेग्यहाजातर्फ जाँदै गरेको पोल्यान्डमा दर्ता भएको बस सिधा सडकखण्डबाट अचानक सडकबाहिरिएर खाल्डोमा खसेपछि पल्टिएको थियो । प्रारम्भिक अनुसन्धानमा चालक निदाएको हुन सक्ने आशंका गरिएको छ । पोल्यान्डका राष्ट्रपति कारोेल नाभ्रोस्कीले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा आफ्ना धेरै नागरिकको मृत्यु भएको खबरले आफू अत्यन्त दुःखी भएको बताएका छन् । प्रहरीका अनुसार दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ। पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले पनि हंगेरीमा पोल्यान्डका पर्यटक सवार बस दुर्घटनामा परेको जानकारी दिएका छन् । उनले हंगेरीका अधिकारीहरूसँग सम्पर्कमा रहेको र पोल्यान्डको कन्सुलर सेवा सक्रिय रहेको बताएका छन् । 

कोरियाली युद्ध अन्त्य गर्न राष्ट्रपति लीको आह्वान, उत्तर कोरियासँग संवादको प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न र उत्तर कोरिया (डीपीआरके) सँग शान्तिपूर्ण सहअस्तित्वका लागि संवादको आह्वान गरेका छन् । जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको ८१ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले दुवै मुलुकलाई अनावश्यक टकराव त्यागेर आपसी सम्मान र साझा समृद्धिको बाटोमा लाग्न आग्रह गरे । आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति लीले शान्तिपूर्ण सहअस्तित्वका लागि एक विशेष मार्गचित्र (रोडम्याप) प्रस्तुत गरे ।  उनले कोरियाली युद्धका प्रत्यक्ष सरोकारवाला पक्षहरूबीच वार्ताको माध्यमबाट हाल कायम रहेको अस्थिर युद्धविराम सम्झौतालाई स्थायी शान्ति संयन्त्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । यो प्रस्ताव गत वर्षको मुक्ति दिवसमा राष्ट्रपति लीले व्यक्त गरेको प्रतिवद्धताकै निरन्तरताका रूपमा आएको हो ।  सो समयमा उनले सियोलले उत्तर कोरियाको राजनीतिक प्रणालीको सम्मान गर्ने, जबर्जस्ती गाभ्ने प्रक्रिया अवलम्वन नगर्ने र कुनैपनि शत्रुतापूर्ण गतिविधि नगर्ने घोषणा गरेका थिए ।  ती सिद्धान्तहरूलाई व्यवहारमा उतार्न आवश्यक कदमहरू चाल्न आफू तयार रहेको उनले उल्लेख गरे ।  राष्ट्रपति लीले दुई कोरियाबीचको वैचारिक र संस्थागत शत्रुतालाई क्रमशः न्यूनीकरण गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे । उनले दुवै पक्षले एकअर्काको अस्तित्वलाई स्वीकार गर्दै साझा विकासका सम्भावनाहरू खोजी गर्न संवादको टेबलमा बस्नुपर्ने बताए । सहअस्तित्वलाई दिगो बनाउनका लागि दक्षिण कोरियाले तनाव र द्वन्द्व व्यवस्थापन गर्ने संयन्त्रहरू स्थापना गर्ने तथा संकट बढ्न नदिन विभिन्न सुरक्षात्मक उपायहरू अवलम्वन गर्ने उनको योजना छ ।  साथै कोरियाली प्रायद्वीपको सुरक्षा वातावरणको वृहत मूल्याङ्कन गरी सक्रिय र निरन्तर शान्ति प्रक्रिया अगाडि बढाइने राष्ट्रपति लीले प्रतिबद्धता व्यक्त गरे ।  अन्त्यमा उनले कोरियाली युद्धको औपचारिक अन्त्य र वर्तमान युद्धविरामको सट्टा स्थायी शान्ति सन्धि स्थापना गर्न प्रत्यक्ष संलग्न पक्षहरूबीचको वार्ता अपरिहार्य रहेको पुनः दोहोर्‍याए । 

तृणमुल कंग्रेसका नेता तथा पूर्वमन्त्री आशीष बनर्जीको शव पार्टी कार्यालयमा फेला

काठमाडौं । ममता बनर्जी नेतृत्वको सरकारमा मन्त्री तथा विधानसभा उपाध्यक्षसमेत रहेका आशीष बनर्जीको शव आइतबार बिहान उनको निवाससँगै रहेको पार्टी कार्यालयमा भेटिएको छ । उनी पश्चिम बंगालको बीरभूम जिल्लास्थित रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए । प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार एउटा कोठामा उनको शव फेला परेको थियो । उनको निधनको कारणबारे हाल अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार शव नजिकै एउटा सुसाइड नोट पनि फेला परेको छ । यद्यपि अधिकारीहरूले त्यसबारे थप जानकारी दिन अस्वीकार गरेका छन् । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।  आशीष सन् २००१ देखि लगातार रामपुरहाटबाट चुनाव जित्दै आएका थिए । तर यस वर्षको निर्वाचनमा उनी भाजपा उम्मेदवार ध्रुव साहासँग पराजित भएका थिए । स्थानीय बासिन्दाले सबैभन्दा पहिले आशीषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको रामपुरहाट प्रहरी टोलीले शव बरामद गरेको हो । आशीष बनर्जी ममता बनर्जी नेतृत्वको सरकारमा विद्यालय शिक्षा तथा कृषि मन्त्रीसमेत भएका थिए । सन् २०२१ मा उनलाई विधानसभा उपाध्यक्ष बनाइएको थियो । आशीषले बर्दवान विश्वविद्यालयबाट बंगाली विषयमा विद्यावारिधि गरेपछि रामपुरहाट कलेजमा अध्यापनबाट आफ्नो करियर सुरु गरेका थिए । पछि उनी राजनीतिमा प्रवेश गरेका थिए । उनलाई ममता बनर्जीका निकट नेताका रूपमा चिनिन्थ्यो ।