रात्रिकालीन बसमा दुई चालक अनिवार्य, भाडा र चालकको अवस्था जाँचिने

काठमाडौं । ट्राफिक प्रहरीले लामो दूरीका रात्रिकालीन सवारीमा दुई चालकको व्यवस्थालाई कडाइका साथ लागु गर्ने भएको छ । चाडपर्व लक्षित यात्रालाई ध्यान दिँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन यातायातमा दुई चालक राख्नैपर्ने नियम कडाइका साथ कार्यान्वयनमा ल्याउने भएको हो ।  थकानका कारण हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले यो नियमको पालनामा कडाइ गर्न लागेको हो । नियमको पालना नगर्नेलाई कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ ।   चाडपर्वमा यात्रुको चाप बढ्ने हुँदा सवारीको अवस्था, भाडा तथा टिकटमा हुने अनियमिततासमेत निगरानी हुने ट्राफिक प्रहरीको भनाइ छ  ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा दुरुपयोगबारे छानबिन गर्न समिति गठन

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे छानबिन गर्न समिति गठन गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको हो ।  वनविज्ञान संकायका डीन डा. गान्धिव काफ्लेको संयोजकत्वमा गठित समितिमा कृषि संकायका सह-डीन (प्रशासन) डा. कृष्णप्रसाद थापालिया, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका सह-डीन (प्रशासन) राजेन्द्र बस्याल र सह-प्रशासक सहदेव चौधरी सदस्य छन्। कर्मचारी प्रशासन महाशाखाका का.मु. उप–प्रशासक दिनेश अधिकारी सदस्य-सचिव छन् ।  समितिले विश्वविद्यालय स्थापना भएदेखि वा अन्य विश्वविद्यालय तथा निकायबाट समायोजन भई विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवामा रहेका र अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीको बिदा स्वीकृति, अध्ययनको अवस्था, बिदाको प्रयोजन तथा बिदा अवधिमा भए/गरेका गतिविधिबारे छानबिन गर्नेछ । त्यसैगरी, अध्ययन बिदाको स्वीकृति प्रक्रिया, अध्ययनको प्रगति तथा बिदाको अवधिमा सम्बन्धित शिक्षक तथा कर्मचारीले गरेका गतिविधिलाई समेत छानबिनको आधार बनाइने विश्वविद्यालयले जनाएको छ । समितिले तोकिएको कार्यादेशअनुसार अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी २०८३ साल पुस १३ गतेभित्र विश्वविद्यालयको रजिस्ट्रार कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउनुपर्नेछ ।

बीमा दाबीमा ढिलाइ र विवाद हट्ने, स्वचालित प्रणालीबाट ६८० सर्भेयरको छनोट गरिने

काठमाडौं । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ । नेपाल बीमा प्राधिकरणले असोज १२ गते (सोमबार साँझ) देखि यसको परीक्षण गरिसकेको छ सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित बनाउने उद्देश्यले उक्त प्रणाली विकास गरिएको हो ।  नयाँ स्वचालित प्रणालीका सम्बन्धमा असोज १३ गते निर्जीवन बीमा कम्पनीका आइटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइँदैछ । त्यसपछि सर्भेयरलाई पनि स्वचालित प्रणालीसम्बन्धी तालिम दिइनेछ । त्यसैगरी यस प्रणालीमा पुनरबीमा कम्पनीलाई पनि समेट्ने योजना छ । सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा सर्भेयर छनोटलाई पारदर्शी बनाउने उद्देश्यले उक्त प्रणालीको विकास गरिएको हो । हाल सर्भेयर छनोट गर्दा वैज्ञानिक र पारदर्शी नहुने, एउटै सर्भेयरले बढी र कम काम पाउनेलगायतका गुनासो आउने गरेको सन्दर्भमा यो प्रणालीको विकासले महत्वपूर्ण हुने विश्वास लिइएको छ । हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था भए पनि उनीहरूले पाएको कामको प्रभावकारी तथ्यांक राख्न  कठिन भइरहेको अवस्था छ । हाल यस प्रणालीमा ८८ जना संस्थागत र बाँकी व्यक्तिगत गरी ६८० सर्भेयरको तथ्यांक प्रविष्ट भइसकेको छ । त्यसैगरी बीमा कम्पनीले आफ्नो रोजाइका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासोसमेत आउने गरेको छ । यही अवस्थालाई सुधार गर्दै सर्भेयर खटाउने प्रक्रियामा पारदर्शिता, समान अवसर र जवाफदेहिता कायम गर्ने उद्देश्यले प्राधिकरणले स्वचालित प्रणाली विकास अघि बढाएको हो । हाल नयाँ प्रणालीमा सबै सर्भेयरको प्रोफाइल तयार गरी उनीहरूको विशेषज्ञता, वरिष्ठता, उपलब्धता, भौगोलिक स्थान, पोर्टफोलियो तथा यसअघि पाएको कामलगायतका विवरण राख्ने काम पूरा भइसकेको छ ।  कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि सम्बन्धित ‘केस’का लागि कुन सर्भेयर उपयुक्त हुन्छ भन्ने निर्णय प्रणालीले तोकिएका मापदण्डका आधारमा गर्नेछ । उदाहरणका लागि कुनै सवारी दुर्घटनासम्बन्धी दाबी आएमा उक्त विषयमा विज्ञता भएको, सम्बन्धित स्थानमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता भएको र तत्काल काम लिन सक्ने सर्भेयरमध्ये प्रणालीले उपयुक्त सर्भेयर छनोट गर्नेछ ।  यसबाट बीमा कम्पनीका अधिकारीले प्रत्येक पटक म्यानुअल्ली सर्भेयर छनोट गर्नुपर्ने अवस्था घट्नेछ र सर्भेयर खटाउने प्रक्रिया स्वचालित बन्नेछ । प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, बीमा सर्भेयर, क्लेम प्रमुख तथा आईटी प्रमुखलगायत विभिन्न सरोकारवालासँग छलफल गरी  सुझाव लिइएको थियो । त्यसपछि सर्भेयर छनोटका आधार र प्यारामिटर तयार गरी सफ्टवेयर विकासको काम अघि बढाइएको हो ।  अहिले प्रणालीमा बीमा कम्पनीहरूले आफ्ना सर्भेयरसम्बन्धी विवरण प्राधिकरणलाई उपलब्ध गराइरहेका छन् । प्रणाली सञ्चालनमा आएपछि केही समय यसको कार्यक्षमता र स्थिरतालाई नजिकबाट निगरानी गरिनेछ । प्राधिकरणले फायरवाल, भिएपिटीपीलगायतका सुरक्षा परीक्षण गरिने जनाएको छ । नयाँ प्रणालीले तोकिएका मापदण्डका आधारमा स्वचालित रूपमा सर्भेयर छनोट गर्नेछ । यसले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अरू सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्थालाई पहिचान गर्न र नियन्त्रण गर्न सहयोग पुग्नेछ ।  सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरण पनि प्रणालीबाट ट्रयाक गर्न सकिनेछ । यस प्रणालीले बीमा दाबीको प्रक्रियामा समय र लागतसमेत घटाउनेछ । अहिले कतिपय अवस्थामा सर्भेयर छनोटमा देखएको समस्या, पुनः मूल्याङ्कन गर्नुपर्ने, दाबी प्रक्रियामा ढिलाइ हुने वा ग्राहकसँग विवादसँग सम्बन्धित समस्या समाधानमा थप सहज हुनेछ । प्रणालीले घटनाअनुसार उपयुक्त सर्भेयर छनोट गर्ने भएकाले यस्ता समस्या कम हुने र समय तथा लागत बचत हुनेछ । साथै कुन सर्भेयर कुन आधारमा छनोट भयो भन्ने विवरण प्रणालीमा रहने भएकाले निर्णय प्रक्रियाको पारदर्शिता र जवाफदेहिता बढ्नेछ । प्रणालीको विकासले दीर्घकालमा सर्भेयससम्बन्धी ठूलो परिमाणमा तथ्यांक सङ्कलन गरिनेछ । यसबाट यससम्बन्धी नीति निर्माण गर्न सहयोग पुग्नेछ । साथै सर्भेयरले दिने सेवा प्रवाह र सेवाग्राहीले के कस्तो सेवा पाए भन्ने पनि अध्ययन गर्न सकिनेछ ।