‘ऋण महँगो भएकाले मुलुक आफै धनी हुने अवस्थामा जानुको विकल्प छैन’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउनेगरी नयाँ बजेट ल्याएको दावी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा आएका उनले बिहीबार (आज) जिल्ला समन्वय समिति, तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो दावी गरेका हुन् । राज्यको कमजोर आम्दानीका कारण ऋण मागेर देशको अत्यावश्यक दैनिक खर्च चलाउने विगतदेखिको अवस्थालाई चिर्न करको दायरालाई फराकिलो बनाएर थोरै–थोरै जम्मा गरी आम्दानी बढाउने र आफ्नै आम्दानीले देश विकास गर्ने नीति लिएको उनले बताए । जनताको विकास सम्बन्धी आशा र आकाङ्क्षाहरूको तुलनामा मुलुकको सामथ्र्य कम रहेको र यहीबेला दातृ निकायको ऋण पनि महँगो बनेको अवस्थामा मुलुक आफै धनी हुने अवस्थामा जानुको विकल्प नरहेको अर्थमन्त्रीको भनाइ छ । ‘विगतदेखि नै हामीले देखिरहेका छौं, ऋण लिएर ऋण र त्यसको ब्याज तिरिरहेका छौं । नियमित र अत्यावश्यक राज्यको दायित्व साढे १३ सय अर्ब छ । सरकारको आम्दानी १२ सय ५० अर्ब हाराहारी मात्रै छ,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘अहिले हामीले करको दर फराकिलो बनाएको र कर तिर्न प्रोत्साहनका कार्यक्रम ल्याएको यसैका लागि हो ।’ अर्थमन्त्री वाग्लेले ऋण पनि लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास चाहिँ जसरी पनि गरिदिनुपर्छ भन्ने सोचबाट सबै जना माथि उठ्नुपर्ने पनि बताए । करको दायरा फराकिलो बनाउँदा नयाँ क्षेत्रमा कर थपियो भन्ने गुनासाहरू सम्बोधन गर्न सरकारले अन्तिम करको दायित्वबाट सर्वसाधारणलाई बचाउनेमा आश्वस्त रहन पनि उनले आग्रह गरे । सरकारले २१ सय २४ अर्बको बजेटमार्फत निजी क्षेत्रलाई उद्वेलित बनाएर ६६ खर्बको अर्थतन्त्र चलायमान बनाउन खोजेको पनि उनले स्पष्ट पारे । अब छिट्टै प्रवासी नेपालीहरूलाई पनि नेपालमा लगानी गर्ने वातावरण अघि बढाउने पनि उनले बताए ।

एक मृतकबाट ८ जनालाई जीवनदान, नेपालमा अंगदानको अवस्था यस्तो

काठमाडौं । एक व्यक्तिको जीवन समाप्त भएपछि पनि उसका अंगले अरू धेरैको जीवन बचाउन सक्छन् । यद्यपि नेपालमा अंगदानप्रतिको चेतना र सामाजिक सोचको अभावका कारण यस्तो सम्भावना अझै सीमित छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो नौ वर्षमा मस्तिष्क मृत्यु भएका नौ जनाबाट २३ वटा अंग झिकेर  प्रत्यारोपण गरिएको छ ।  केन्द्रका अनुसार ती मृतकबाट प्राप्त १७ वटा मिर्गौला, पाँच वटा कलेजो र एक वटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण गरिएको हो । केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग झिकेर प्रत्यारोपण गर्ने कार्यक्रमको सुरुवात २०७४ वैशाख २८ गते भएको थियो ।  त्यस दिन मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मिर्गौला दुई जनामा प्रत्यारोपण गरिएको थियो  । त्यसयता नौ वर्षमा नौ जना मस्तिष्क मृतकबाट २३ वटा अंग प्रत्यारोपण सम्भव भएको केन्द्रले जनाएको छ । एउटै व्यक्तिबाट लिन सकिन्छ आठवटा अंग मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट आठ प्रकारसम्मका अंग झिकेर अन्य बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ ।  अर्थात्, एक व्यक्तिको मृत्युपछि गरिने अंगदानले एक होइन, आठ जनासम्मको जीवन बचाउन सक्ने सम्भावना हुन्छ । तर नेपालमा अंगदानको सम्भावना र वास्तविकता भने निकै फरक छ ।  स्वास्थ्यकर्मीका अनुसार परम्परागत सोच, अन्धविश्वास र अंगदानसम्बन्धी पर्याप्त जनचेतना नहुँदा मृतकका आफन्त अंगदान गर्न सहजै तयार हुँदैनन्। कतिपय अवस्थामा लामो परामर्शपछि आफन्त अंगदान गर्न तयार भए पनि सबै अंग दिन भने इच्छुक हुँदैनन् । एउटा अंग दान गर्न तयार भए पनि अन्य अंग दिन अस्वीकार गर्ने अवस्थासमेत रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  यसका कारण प्रत्यारोपण गर्न सकिने धेरै अंग प्रयोगविहीन हुने गरेका छन् । सडक दुर्घटनामा हजारौंको मृत्यु, अंगदान भने न्यून नेपालमा सम्भावित मृत अंगदाताको संख्या निकै ठूलो भए पनि त्यसअनुसार अंगदान हुन सकेको छैन । नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ ।  त्यसमध्ये ठूलो संख्यामा मस्तिष्क मृत्यु हुने गरेको स्वास्थ्य क्षेत्रका अधिकारीहरू बताउँछन् । उपलब्ध तथ्यांकलाई आधार मान्दा नौ वर्षको अवधिमा मात्रै सडक दुर्घटनासहित विभिन्न कारणले हजारौं व्यक्तिको मस्तिष्क मृत्यु भएको हुनसक्छ। तर त्यसमध्ये अत्यन्तै थोरै व्यक्तिबाट मात्रै अंगदान भएको छ । यसले नेपालमा समस्या अंगदाताको सम्भावित अभावभन्दा पनि अंगदान गर्ने सामाजिक वातावरण र प्रणालीको कमजोरीमा छ कि छैन भन्ने प्रश्न उठाएको छ । नेपालमा मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी कानुनमा २०७२ सालमा संशोधन गरिएको थियो । संशोधनमार्फत नातेदार दाताको दायरा विस्तार गर्नुका साथै गैरनातेदारबीच अंग साटासाट र मस्तिष्क मृत्यु भएपछि हुने अंगदानलाई थप व्यवस्थित गर्ने व्यवस्था गरिएको छ । कानुनी व्यवस्था विस्तार भए पनि व्यवहारमा भने अंगदान अझै सहज बन्न सकेको छैन ।  मृतकका आफन्तलाई अंगदानका लागि तयार पार्ने, मस्तिष्क मृत्यु पहिचान गर्ने, समयमै अंग सुरक्षित गर्ने र आवश्यक बिरामीसम्म पुर्‍याउने प्रक्रियामा चुनौती रहेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा विश्वभर करिब १ लाख २७ हजार ७२७ वटा अंग प्रत्यारोपण भएका थिए ।  विश्वभर अंग प्रत्यारोपणको दायरा विस्तार भइरहेका बेला नेपालमा भने सम्भावित अंगदाताको तुलनामा प्रत्यारोपणका लागि उपलब्ध हुने अंगको संख्या निकै न्यून छ ।

नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

काठमाडौं । भूमि समस्या समाधान समितिले नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक निलवाराही गाउँ विकास समिति  वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो । उक्त क्षेत्र चलनचल्तीमा ‘बोदे गाउँ’का नामले चिनिँदै आएको पुरानो नेवारी बस्ती हो । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो । पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गर्ने भएका छन् ।