मोही लागेको जग्गा बाँडफाँटको समयसीमा थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मोही लागेको जग्गाको बाँडफाँटसम्बन्धी प्रक्रिया पूरा गर्ने समयसीमा थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को २०८३ कात्तिक १७ गते बसेको बैठकले जग्गावाला र मोहीबीच जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिक मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।

त्यस्तै, जग्गावाला र मोहीबीच जग्गा बाँडफाँट गरी त्यससम्बन्धी कारबाहीको टुङ्गो लगाउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने निर्णय भएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको हो । निर्णयअनुसार थप गरिएको समयसीमासम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिइएको छ ।

भूमिसम्बन्धी ऐन, २०२१ मा मोही लागेको जग्गा जग्गाधनी र मोहीबीच बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । यसका लागि सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निवेदन दिने र बाँडफाँटको कारबाही टुङ्ग्याउने समयसीमा तोक्दै आएको छ ।

Share News