स्वास्थ्य मन्त्रालयले माग्यो २९ निकायसँग रिक्त दरबन्दीको विवरण
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभिन्न २९ निकायसँग रिक्त तथा आगामी आर्थिक वर्षमा रिक्त हुने पदको विवरण माग गरेको छ । मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले बुधबार (आज) पत्र पठाउँदै रिक्त दरबन्दीको एकीकृत विवरण तीन दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । मन्त्रालयले वन तथा वातावरण मन्त्रालयको २०८३ असोज ७ गतेको पत्रअनुसार नेपाल वन सेवा, जनरल फोरेस्ट्री समूहका राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका रिक्त पद तथा आर्थिक वर्ष २०८३/८४ मा रिक्त हुने दरबन्दीको विवरण माग गरेको जनाएको छ । यसका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, स्वास्थ्य सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रलगायत निकायलाई पत्राचार गरिएको छ । त्यस्तै, नारायणी अस्पताल, भरतपुर अस्पताल, मानसिक अस्पताल, भेरी अस्पताल, कोशी अस्पताल, डडेलधुरा अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, केन्द्रीय कारागार अस्पताललगायतलाई पनि विवरण पठाउन भनिएको छ । मन्त्रालयले सम्बन्धित निकायलाई सेवासमूह तथा उपसमूह, श्रेणी, पद, स्वीकृत दरबन्दी, कार्यरत संख्या र रिक्त पदको विवरण उपलब्ध गराउन भनेको छ । त्यसैगरी, रिक्त पदमध्ये बढुवा, खुला, अन्तर्वार्ता वा अन्य प्रक्रियाबाट पूर्ति हुने संख्या तथा जम्मा रिक्त पदको विवरणसमेत माग गरिएको छ । आगामी दिनमा अवकाश, राजीनामा वा कारबाहीका कारण रिक्त हुने पदको हकमा सम्बन्धित कर्मचारीको नाम, थर र रिक्त हुने मितिसहितको विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले माग गरिएको विवरण फ्याक्स वा इमेलमार्फत पठाउनुका साथै सूचना प्रविधि शाखालाई उपलब्ध गराई मन्त्रालयको वेबसाइटमा समेत अपलोड गर्न निर्देशन दिएको छ । मन्त्रालयको निर्णयअनुसार तीन दिनभित्र विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
सुनकुडा माविको भवन निर्माणमा भ्रष्टाचार मुद्दा : विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको तीन तले, १२ कोठे भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक धनबहादुर बिष्टसहितका प्रतिवादीविरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । आयोगले प्रतिवादीहरूबाट २६ लाख ५४ हजार ६८३ रुपैयाँ १२ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको थियो । त्यसैगरी, आरोपित कसुरअनुसार थप कैद तथा जरिवानाको सजायसमेत माग गरिएको अख्तियारले जनाएको छ । तर, विशेष अदालत काठमाडौंले २०८३ वैशाख ८ गतेको फैसलाबाट प्रतिवादीहरूलाई सफाइ दिएको थियो। उक्त फैसलाप्रति आयोगलाई चित्त नबुझेपछि २०८३ असोज १४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गुल्मी कांग्रेसमा इतर पक्षले छुट्टै जिल्ला समिति बनाउँदै
काठमाडौं । नेपाली कांग्रेस गुल्मीमा संस्थापन र इतर पक्षबीचको विवाद संगठनात्मक विभाजनतर्फ उन्मुख भएको छ । विशेष महाधिवेशन पक्षधरको क्षेत्रीय अधिवेशन चलिरहेका बेला इतर पक्षले छुट्टै जिल्ला समिति घोषणा गर्ने तयारी गरेको हो । इतर पक्षले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेद थापा मगरको संयोजकत्वमा २३ सदस्यीय जिल्ला समिति घोषणा गर्न लागेको हो । पहिलो चरणमा संयोजक, सचिव, दुई संघीय निर्वाचन क्षेत्रका संयोजक, चार प्रदेशसभा क्षेत्रका संयोजकसहित केही जिल्ला सदस्य घोषणा गर्ने तयारी रहेको थापाले जानकारी दिए । प्रस्तावित समितिको सचिवमा रविन्द्र घिमिरे रहने थापाले बताए । संयोजक थापाका अनुसार संघीय निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा मार्कण्डेय भण्डारी र क्षेत्र नम्बर २ को संयोजकमा विष्णु अर्याल रहने छन् । जिल्ला सदस्यमा कांग्रेसका पुराना नेता तथा पूर्व सांसद झकबहादुर पुन र लुम्विनी प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दामोदर भुसाललगायतलाई समेटिएको छ । सदस्यमा मौसम भण्डारी रहेका छन् । थापाका अनुसार तत्काल घोषणा गरिने समिति प्रारम्भिक संरचना हो । विशेष महाधिवेशन पक्षमा रहेका केही नेता–कार्यकर्ता समेत आफूहरूसँग जोडिने तयारीमा रहेकाले उनीहरूलाई समेटेर समितिलाई पूर्णता दिइनेछ । थापाका अनुसार १७ गते जिल्ला समिति घोषणाको तयारी रहेको छ । पार्टीको जिल्ला अधिवेशन तथा संगठनात्मक संरचनालाई लिएर गुल्मी कांग्रेसमा लामो समयदेखि संस्थापन र इतर पक्षबीच मतभेद रहँदै आएको छ । पछिल्लो समय विशेष महाधिवेशनको प्रक्रियालाई लिएर विवाद चर्किएपछि दुवै पक्षले छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढाएका छन् । क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला इतर पक्षले जिल्ला तहकै छुट्टै संरचना घोषणा गर्न लागेपछि गुल्मी कांग्रेसको विवाद अब नेतृत्वको असहमतिको सीमाबाट संगठन सञ्चालनकै प्रश्नमा पुगेको देखिएको छ । इतर पक्षले घोषणा गर्न लागेको समितिले जिल्लाका दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा समेत समानान्तर संगठनात्मक संरचना निर्माण गरिरहेको छ । गुल्मी कांग्रेसमा सभापतिको दौड सुरु, पन्थीलाई चुनौती दिँदै तीन आकांक्षी