काठमाडौं । मलेसिया रोजगारीका नाममा श्रमिकहरूबाट गैरकानूनी रूपमा असुल गरिएको १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम बदनियतपूर्वक मलेसिया पठाएर विदेशी मुद्रा ठगी तथा संगठित अपराध गरेको कसूरमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारी पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला अदालतको अनुमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार पक्राउ पर्नेहरूमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेर बहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् ।
अछामको चौरपाटी गाउँपालिका-४ स्थायी घर भएका कुँवर ललितपुरको महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ परेका हुन् भने यादव सर्लाहीको चक्रघट्टा गाउँपालिका, बेल्हीबाट पक्राउ परेका हुन् ।
यसैगरी, सोही प्रकरणमा संलग्न रहेको अभियोगमा मन्त्रालयका तत्कालीन सचिव ललितपुर महानगरपालिका-२३ निवासी बिनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) द्वय गोकर्णेश्वर नगरपालिका-५ का उमेश ढुङ्गाना र ललितपुर-१५ का राजिव पोखरेललाई पनि सीआईबीले नियन्त्रणमा लिएको छ ।
महाशाखाकी तत्कालीन कानून अधिकृत (उपसचिव) काठमाडौं-९, भत्केकोपुल निवासी निर्मला गुरुङ समेत पक्राउ परेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाट समेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्का समेत प्रतिवादी रहेको ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको मुद्दामा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो ।
नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) विपरीत श्रमिकहरूलाई संगठित रूपमा ठगी गरी संकलन गरिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानूनी रूपमा मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
आफ्नो पदीय जिम्मेवारी र कर्तव्य विपरीत अधिकार क्षेत्र नाघेर संगठित समूहको लाभका लागि मुलुकको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुग्ने गरी निर्णय गरेको तथा श्रमिक ठगीमा मौन रही कानूनी उपचार नखोजेको आरोप उनीहरूमाथि लागेको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।