काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रशासनलाई सरल, पारदर्शी, प्रविधिमैत्री र व्यावसायिक बनाउन २८ बुँदे रूपान्तरणकारी सुधार योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले कर प्रशासनमा संरचनात्मक सुधार गर्दै करदातामैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताएका छन् ।
उनका अनुसार करदर्ता, विवरण पेस, कर भुक्तानी तथा कर चुक्ता प्रक्रियालाई डिजिटल र स्वचालित बनाउने योजना अघि सारिएको छ । त्यस्तै, करदातालाई सम्मानित साझेदारका रूपमा व्यवहार गर्ने संस्कृतिको विकास, गुनासो सुनुवाइलाई प्रभावकारी बनाउने तथा कर निर्धारण र असुली प्रक्रियालाई न्यायसङ्गत बनाउने कार्यलाई प्राथमिकता दिइएको छ ।
विभागले करदाता र प्रशासनबीच देखिने असमझदारीलाई छिटो र पारदर्शी ढङ्गले समाधान गर्ने रणनीति पनि अघि बढाएको छ । राजस्व चुहावट तथा कर छलीलाई निरुत्साहित गर्दै इमानदार व्यवसायीको संरक्षण गर्ने नीति लिइएको भुसालले उल्लेख गरेका छन् । कर प्रशासनभित्र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै कर्मचारीलाई थप जिम्मेवार र व्यावसायिक बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।
करसम्बन्धी कानुन तथा कार्यविधिमा रहेका जटिलता हटाउन र जनस्तरसम्म कर शिक्षा विस्तार गर्न निजी क्षेत्रका सङ्घसंस्थासँगको सहकार्यमा कानुनी तथा प्रक्रियागत सरलीकरणको कामसमेत सुरु गरिएको उनले बताएका छन् ।
राष्ट्रिय कर दिवस केवल राजस्व सङ्कलनको प्रगति समीक्षा गर्ने अवसर मात्र नभई नागरिक र राज्यबीचको विश्वास तथा राष्ट्र निर्माणको साझा प्रतिबद्धता दोहो¥याउने ऐतिहासिक अवसर भएको भुसालको भनाइ छ ।
यस वर्षको राष्ट्रिय कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ ले कर प्रशासनको भावी दिशा स्पष्ट पारेको उनले उल्लेख गरेका छन् । कर प्रणालीमा न्याय र पारदर्शिता कायम भए नागरिकको स्वैच्छिक सहभागिता बढ्ने र त्यसले राष्ट्रिय समृद्धिको आधार तयार गर्ने उनको धारणा छ ।
करदाताले तिर्ने प्रत्येक रुपैयाँ अस्पताल, विद्यालय, सडक, पुल, खानेपानी तथा सुरक्षालगायतका सार्वजनिक पूर्वाधार निर्माणमा खर्च हुने उल्लेख गर्दै उनले करदातालाई राष्ट्र निर्माणका वास्तविक नायकका रूपमा चित्रण गरेका छन् ।
नेपालको आर्थिक मेरुदण्ड बलियो बनाउन योगदान पु¥याउने उद्योगी, व्यवसायी, स्वरोजगार, कृषक तथा विभिन्न पेसामा आबद्ध करदाताप्रति विभागले सम्मान व्यक्त गरेको छ । प्रतिकूल परिस्थितिमा समेत इमानदारीपूर्वक कर दायित्व पूरा गर्ने करदाताको भूमिका राष्ट्रिय अर्थतन्त्रको वास्तविक शक्ति भएको भुसालले बताएका छन् ।
त्यस्तै, आन्तरिक राजस्व विभाग मातहतका कर्मचारीलाई करदाताको सम्मान र व्यावसायिक गोपनीयताको रक्षा गर्न निर्देशन दिँदै उनले उच्च व्यावसायिक आचरण प्रदर्शन गर्न आग्रह गरेका छन् ।
कर तिर्नुलाई बोझ वा दण्डका रूपमा नभई प्रत्येक नागरिकको गर्विलो कर्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले करदाता र कर प्रशासनबीचको सम्बन्ध कार्यालय र सेवाग्राहीमा मात्र सीमित नभई समृद्धिको सहयात्रीका रूपमा स्थापित हुनुपर्ने बताएका छन् ।
सुशासन, कर न्याय र समृद्धिका लागि सरकार, निजी क्षेत्र र आम नागरिकबीच विश्वास र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भुसालले स्वैच्छिक कर सहभागिता बढाउन सबैमा अपिल गरेका छन् ।