बीपी राजमार्ग र हिल्सा-सिमकोट सडक खण्ड बन्द
काठमाडौं । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक-सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा-सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार वैशाख २१ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको हो । यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका-२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा-सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ । च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडक खण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।
२४ घण्टामा २ हजार ३६५ चालक कारबाहीमा, २१.७७ लाख रुपैयाँ संकलन
काठमाडौं । बितेका २४ घण्टामा २ हजार ३६५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २१ लाख ७७ हजार ५०४ रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७४ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १२३, निषेधित क्षेत्रमा हर्न बजाउने १२८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने १६३ र अन्य सवारी नियम पालना नगरेका १ हजार १२१ जनालाई कारबाही गरिएको हो ।
सरोज सिटौला नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा निर्वाचित
काठमाडौं । पोखरामा सम्पन्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट पुण्यप्रसाद सिटौला ‘सरोज’ अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा सिटौलाले १ हजार ३० मत प्राप्त गरी आफ्ना निकटतम प्रतिस्पर्धी हरिशरण केसी (४६४ मत) लाई भारी मतान्तरले पराजित गरेका हुन् । यस जितसँगै करिब ४ लाख सार्वजनिक यातायात व्यवसायीको छाता संस्थाको नेतृत्व गर्ने जिम्मेवारी सिटौलाको काँधमा आएको छ । सिटौलाको नेतृत्वमा पोखरेली व्यवसायीहरूको समेत केन्द्रमा बलियो उपस्थिति देखिएको छ, जसमा वरिष्ठ उपाध्यक्षमा ऐनकुमार साई र केदार पौडेल तथा उपमहासचिवमा भानुभक्त बराल विजयी भएका छन् । महाधिवेशनले अन्य महत्वपूर्ण पदहरूमा पनि नयाँ नेतृत्व चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा सानु काजी प्रजापति ८२६ मतका साथ विजयी भएका छन् भने महासचिवमा डेकनाथ गौतम ६९८ मतसहित निर्वाचित भएका छन् । यसैगरी, ७ जना उपाध्यक्षका लागि भएको प्रतिस्पर्धामा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्माराम थापा, कान्छाराम थिङ, कान्छाराम बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी बनेका छन् भने मालवाहक तर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ चुनिएका छन् । महासंघको कार्यसमितिमा उपमहासचिवमा देवीन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा तथा सचिवमा उमेश केसी, चेतप्रसाद गौतम ‘अर्जुन’ र टंकप्रसाद बस्याल निर्वाचित भएका छन् । कोषाध्यक्षमा राजेन्द्र आचार्य र सहकोषाध्यक्षमा शोभाखर पौडेल विजयी हुँदा खुला सदस्यतर्फ समीक्षा गुरुङ, अर्जुन श्रेष्ठ र गोपाल कार्कीसहित १४ जना चयन भएका छन् । निर्वाचित भएलगत्तै नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रमा गरिएको १३ खर्ब रुपैयाँ लगानीको सुरक्षालाई आफ्नो कार्यकालको मुख्य प्राथमिकताका रूपमा अघि सारेका छन् । हाल ११ लाखलाई प्रत्यक्ष र ४५ लाखलाई अप्रत्यक्ष रोजगारी दिइरहेको यस क्षेत्रलाई प्रविधिमैत्री बनाउनुका साथै २०४९ को ऐन परिमार्जन गर्न आफू सक्रिय रहने उनको भनाइ छ । यसका साथै दुर्घटना न्यूनीकरण, बीमा नीतिमा स्पष्टता र राज्यले व्यवसायीका लागि अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिँदै सिटौलाले आफ्नो कार्यसमिति व्यवसायीको हकहितका लागि पूर्ण रूपमा सिर्जनशील भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।