काठमाडौं । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले ओखलढुंगाको लिखु गाउँपालिका–९ मा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र एमआईएस अपरेटरविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार तत्कालीन वडा अध्यक्ष शुकवीर तामाङले आफ्नो दायाँ हातको बुढीऔँलाको छाप ३६० पटक प्रयोग गरी २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएको देखाइएको छ । यसका लागि अन्य प्रतिवादीसँग पूर्वसहमति र मिलेमतो भएको अख्तियारको आरोप छ ।
त्यस्तै, सामाजिक सुरक्षा भत्ता वितरण गर्दा दोहोरो नाम समावेश गर्ने, मृत्यु भइसकेका लाभग्राहीको लगत कट्टा नगर्ने तथा बसाइँसराइ गरी अन्यत्र गइसकेका लाभग्राहीको विवरण अद्यावधिक नगरी भत्ता वितरण गरेको देखाएर थप २ लाख ५२ हजार रुपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ ।
यसरी गलत विवरणसहितको अभिलेख तयार गरी पेश्की फर्छ्योट गराएर कुल ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीविरुद्ध ९ लाख ५३ हजार ६०० रुपैयाँ, अभयकुमार गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरीविरुद्ध ७ लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
त्यस्तै, तत्कालीन वडा अध्यक्ष शुकवीर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो कायम गरिएको छ ।
अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना गर्न र बिगो असुलउपर गर्न मागदाबी लिएको छ । साथै, सरकारी अभिलेखमा रहेको विवरण तथा कागजात सच्याउने, थपघट गर्ने र हेरफेर गर्ने कार्य गरेको आरोपमा थप सजायको मागसमेत गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले कात्तिक २० गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार आरोपपत्र विशेष अदालत काठमाडौंमा दायर गरिएको हो ।