काठमाडौं । स्थानीय तह निर्वाचनमा जनताको मत पाएर निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका १८ जनप्रतिनिधिको पद एकैपटक रिक्त भएको छ । निर्वाचन आयोगको निर्णयसँगै मधेश र कोशी प्रदेशका विभिन्न स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका उनीहरूको जनप्रतिनिधिका रूपमा रहेको जिम्मेवारी समाप्त भएको छ ।
पद रिक्त हुनेमा जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिका उपाध्यक्ष, नगर उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यसम्म रहेका छन् । निर्वाचन आयोगले २०८३ मंसिर २ गते निर्णय गर्दै जसपा नेपालको तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित भएका १८ जनप्रतिनिधिको पद स्वतः रिक्त भएको जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगले यस्तो निर्णय गरेको हो ।
जसपा नेपालको केन्द्रीय समन्वय समितिले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी सम्बन्धित जनप्रतिनिधिले दल त्याग गरेको भन्दै आयोगमा जानकारी गराएको थियो । केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित प्राप्त विवरणका आधारमा आयोगले उनीहरूको पद रिक्त भएको सूचना सार्वजनिक गरेको हो ।
पद गुमाउने जनप्रतिनिधिमध्ये पाँच जना मधेश प्रदेशका र १३ जना कोशी प्रदेशका छन् । मधेश प्रदेशका सिरहा र पर्सा जिल्लाका जनप्रतिनिधि यस निर्णयमा परेका छन् भने कोशी प्रदेशका खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरी जिल्लाका जनप्रतिनिधिको पद रिक्त भएको छ ।
मधेश प्रदेशमा सिरहाको लहान नगरपालिकाकी उपप्रमुख राम चरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका-४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका-७ का वडाध्यक्ष विजय कुमार महतोले पद गुमाएका छन् । त्यस्तै, पर्साको कालिकामाई गाउँपालिका-१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष संजय कुमार पटेलको पद पनि रिक्त भएको छ ।
खोटाङजिल्लाका जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद रिक्त भएको छ । त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडा नम्बर १० बाट निर्वाचित वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता वि.क., वडा सदस्य रामधन राई र शहरमनी राई तथा नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नालको पदसमेत रिक्त भएको छ ।
यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२ का वडाध्यक्ष बालचन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का वडाध्यक्ष छत्र बहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष विनोद कुमार नेम्वाङ्ग र सन्दकपुर गाउँपालिका-४ का वडाध्यक्ष ढाल बहादुर गुरुङ्ग तथा सुनसरीको कोशी गाउँपालिका-६ का वडाध्यक्ष जुडिलाल कौडगियाले पनि पद गुमाएका छन् ।