कर्णाली : स्वादको स्याउ, बेस्वादको सरकार
सूचना विभागको आयोजनामा पत्रकारितासम्बन्धी तालिम दिन केही वर्षअघि मनाङ पुगेको थिएँ । त्यहाँबाट विश्वकै अग्लो स्थानमा रहेको सुन्दर तिलिचो तालसम्म जाने संयोग मिल्यो । बीचमा पर्दो रहेछ नेपाल र दक्षिण एसियाकै ठूलो मानिने स्याउ फार्म । स्याउ फल्ने ठाउँमा जन्मेको तर स्याउसँग हुर्किन नपाएर तराई झरिसकेको मेरा लागि स्याउको स्वाद जिब्रोमा भन्दा बढी मनमा गढेको थियो । एकएक कार्टुन स्याउ किनियो अनि अहिलेको सोसल प्लेटफर्म र स्मार्ट फोनको जमानामा फोटो भिडियो खिच्ने रहर नहुने कुरै भएन । तर, स्याउ फार्ममा फोटो खिचेको शुल्क तोकिएको रहेछ । फोटो खिच्नकै लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ तिर्नुपर्ने सुनेपछि मन कुँडियो । स्याउभन्दा महँगो फोटो ! त्यसैले फोटो खिचिएन । गत वर्ष अमेरिका–क्यानडाका स्याउ फार्ममा पुग्दा भने अर्कै संसार देखियो । सित्तैमा फोटो खिच्न पाइने, भिडियो बनाउन पाइने मात्र होइन, अघाउन्जेल स्याउ खान पाइँदो रहेछ । स्याउ उत्पादन र पर्यटनलाई कसरी जोड्न सकिन्छ भन्ने एउटा जीवन्त उदाहरण त्यहाँ देख्न पाइयो । कर्णालीको स्याउको कथा स्वादको मात्र कथा होइन । यो सडकको कथा हो । यातायातको कथा हो । बजारको कथा हो । किसानका दुःख र सम्भावनाको कथा हो । यो सबैले थाहा पाउनु र महसुस गर्नु पर्ने कथा हो । म कालिकोटमा जन्मिएँ, जहाँ स्याउ फल्थ्यो । यसरी स्याउसँग मेरो सम्बन्ध बाल्यकालमैं जोडियो । तर, सानैमा बसाईं सरेर बर्दिया झरेकाले स्याउको बोटसँगको सामिप्यता अनुभूत गर्ने सौभाग्य पाइनँ । पछि स्याउ फल्ने सिजनमा कर्णालीको यात्रा जुरेन । एकैपल्ट दशकौंपछि २०६८ सालतिर मिडियासम्बन्धी काम विशेषले पाँचथर जाँदा स्याउ फलेको बोट पहिलोपटक देखें । मलाई त्यो दृष्यले बाल्यकालको सम्झनामा पुर्यायो । अनि प्रेमले फोटो खिचेको थिएँ । जन्मस्थलमा भने झण्डै ३८ वर्षपछि मात्र कुलपूजाका क्रममा पुग्दा फलेका स्याउ आफै टिपेर खाने मेसो जुरेको थियो । पंक्तिकार अमेरिकाको स्याउ फार्ममा । कर्णाली राजमार्ग बनेको थिएन । जहाजबाट नेपालगन्ज भएर बर्दिया झर्ने वा एक हप्ता बढीको पैदलयात्राको बाटो नाप्नुको विकल्प थिएन । कहिले आफन्तको पिठ्यूँ चढेर त कहिले कसो जहाज चढेर सिजनमा स्याउ भने बर्दियाका गाउँसम्म पुग्थ्यो । घरभित्र स्याउको एक दाना राखे पनि कोठाभरि मगमगाउँथ्यो । खाए स्याउ सकिन्थ्यो । त्योभन्दा स्याउको सुगन्ध पछिसम्म रहन्थ्यो । कोठामा राखेको स्वस्थ स्याउ विस्तारै चाउरिँदै सुक्थ्यो तर कुहिँदैन थियो । त्यसको रैथाने सुगन्ध पनि हराउँदैनथ्यो । स्याउको दानाले ‘रूम फ्रेसनर’को जस्तै काम गर्थ्यो । पछि स्कुल सकिए पछि पढाइका क्रममा नेपालगन्ज पुगियो । कहिलेकाँही सिजनमा जुम्लाबाट आधा घण्टा जति जहाज चढेर आएको चिसो स्याउ टोक्न पाउँदा बेग्लै मज्जा हुन्थ्यो । चिसो ठाउँको उही तापक्रमकै स्याउ हपहपी गर्मीको नेपालगन्ज हवाइ अड्डामा चाख्न पाउँदा दङ्ग हुन्थ्यौं । स्याउ कुटनीति अब एउटा प्रतीकमा सीमित नहोस् । कर्णालीको खेतबाट निस्किएको स्याउ देशका राष्ट्रपतिदेखि सामान्य उपभोक्तासम्मको जिब्रोमा सहज र सुपथ रूपमा पुग्नुपर्छ । अझ एक कदम अगाडि बढेर नेपालको स्याउ विदेशका बजारसम्म पुग्नुपर्छ । अहिले समय फेरिएको छ । कर्णालीको स्याउ बाँके बर्दिया मात्र होइन, गाडी चढेरै काठमाडौंसम्म पुग्न थालेको छ । बजारमा पनि पुग्न थालेको छ । तर, यो अझै व्यापक र व्यावसायिक हुन नसकेको तीतो यथार्थ छ । यसैबीच यसै साता कर्णालीका किसान, सहकारी र सामाजिक अगुवाहरूले पूर्वप्रधानमन्त्रीदेखि बहालवाला राष्ट्रपतिसम्म कर्णालीको स्याउ नासो पुर्याएका छन् । मलाई लाग्छ यो नासो केवल स्याउ हस्तान्तरणको सामान्य कार्यक्रम होइन, यो एउटा संकेत हो । एउटा सम्भावनाको दस्तक हो । र, यो कर्णालीको ‘स्याउ कुटनीति’ हो । कर्णालीको स्याउ काठमाडौंसम्म आइपुग्नु आफैमा सानो कुरा होइन । त्यहाँका उत्पादकदेखि यहाँका उपभोक्तासम्म पुग्न स्याउले ठूलो कष्ट उठाउनु पर्छ । व्यवस्थित र नियमित चेन बनिनसकेको र बाटो अझै सहज भइनसकेको अवस्थामा स्याउको यो यात्रा ‘ठूलै रिस्क’ मोलेर मात्र सम्भव भएको छ । त्यसैले कर्णालीको स्याउको कथा स्वादको मात्र कथा होइन । यो सडकको कथा हो । यातायातको कथा हो । बजारको कथा हो । किसानका दुःख र सम्भावनाको कथा हो । यो सबैले थाहा पाउनु र महसुस गर्नु पर्ने कथा हो । स्याउ टिप्ने चटारो चलिरहेकै बेला जुम्लाकी किसान अमिला विष्टले स्याउको माला बनाएर गलामा लगाइन् र मुस्कुराउँदै भनिन्, ‘हामी किसानको त सुनको माला नै यही हो ।’ २०६३ सालमा बाटो पुगेपछि बल्ल कर्णालीको स्याउले गाडी चढेर अनि कार्टुन भित्र सजिएर सीमा छिचोल्न पायो । तर, काठमाडौंसम्मको यात्रा गर्न हालैका वर्षसम्म पर्खनु पर्यो । बिछट्टै स्वादिलो यो स्याउमा कर्णालीको अर्थतन्त्र बदल्न सक्ने ताकत भए पनि पूर्ण रूपमा अँगाल्न सकिएको छैन । कर्णालीमा स्याउ फल्नयोग्य फालाफाल जमिन छ । अनुकुलको हावापानी छ । हिमाल बोक्ने उचाइ छ । मेहनती किसान छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नै रैथाने स्वाद र पहिचान छ । बजारमा चीन र भारतबाट आउने स्याउसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । रैथाने स्वाद र बीउ जोगाउने चुनौति पनि छँदैछ । उत्पादन बढाउने, गुणस्तर कायम गर्ने, उचित भण्डारण गर्ने, प्याकेजिङ सुधार्ने र बजारसम्म सहज पहुँच पुर्याउने हो भने कर्णालीको स्याउ नेपालको एउटा महत्त्वपूर्ण कृषि ‘ब्रान्ड’ बन्न सक्छ । यसले कर्णालीवासीको आर्थिक दिन फेर्न सक्छ । र, उपभोक्ताको जिब्रोको स्वाद पनि झन् गजवले फेर्न सक्छ । कर्णालीवासीले देशको शासनसत्तामा उच्चतहसम्म बसेकाहरूलाई स्याउको कार्टुन हस्तान्तरण गरेर उनीहरूले आफ्नो उत्पादन राज्यको उच्चतहसम्म पुर्याएका मात्र होइनन्, कर्णालीको स्वाद र सम्भावनालाई राज्यको ध्यानसम्म पुर्याएका छन् । देख्दा सुन्दा मीठो नासोजस्तो देखिए पनि मनलाई चिमोठेर सोच्ने हो भने आशाका साथ गरिएको ‘रचनात्मक व्यङ्ग्य’ पनि हो यो । यो काम कुटनीति किसान र सहकारीसँग जोडिएका अगुवा ऋषिराम पाण्डे र सामाजिक अगुवा तथा लेखक मनऋषि धितालको पहलमा भयो । यी कर्णालीका प्रतिनिधि पात्र हुन् । उनीहरूले नगरे अरू कसैले यो लेठो उठाउँदो हो । तर, दुई ऋषिद्धयको प्रयास किसानको उत्पादनलाई बजारसँग, गाउँलाई राज्यसँग र स्थानीय स्वादलाई राष्ट्रिय पहिचानसँग जोड्ने एउटा सुन्दर सुरुवात बन्न सक्छ । स्याउ कुटनीति अब एउटा प्रतीकमा सीमित नहोस् । कर्णालीको खेतबाट निस्किएको स्याउ देशका राष्ट्रपतिदेखि सामान्य उपभोक्तासम्मको जिब्रोमा सहज र सुपथ रुपमा पुग्नुपर्छ । अझ एक कदम अगाडि बढेर नेपालको स्याउ विदेशका बजारसम्म पुग्नुपर्छ । कृषि विकाससम्बन्धी अध्ययनहरूले जुम्ला, कालिकोट, होल्पा र मुगुजस्ता जिल्लालाई स्याउका महत्त्वपूर्ण उत्पादन क्षेत्रका रूपमा देखाएका छन् र यातायात तथा बजार पहुँचलाई प्रमुख चुनौती मानेका छन् । कर्णालीले लामो समयदेखि देशसँग धेरै कुरा माग्दै आएको छ । अब कर्णालीसँग देशलाई दिन पनि केही छ । यद्यपि त्यो केवल स्याउ होइन । जुडिबुटीदेखि अनेक रैथाने उत्पादन छन् । यी सबै नयाँ स्वाद हुन्, सम्भावना हुन्, रोजगारी हुन्, किसानको आत्मनिर्भरता हुन् र कर्णालीको नयाँ आर्थिक कथाका ‘प्लट’ हुन् । त्यसैले अब राज्यले पनि कर्णालीको स्याउको स्वाद पाउनु पर्छ । अनि कर्णालीको स्याउको स्वाद र कुटनीति सरकारी नीतिमा पनि झल्किनुपर्छ । कर्णाली प्रदेशको आफ्नै प्रादेशिक योजनासम्बन्धी अध्ययनले कर्णालीले नेपालको कुल स्याउ उत्पादनको करिब ४३ प्रतिशत योगदान गर्ने उल्लेख गरेको छ । कर्णालीमा कुल ३ लाख हेक्टर जमीन खेतीयोग्य रहेकोमा झण्डै साढे ९ हजार हेक्टरमा स्याउखेती रहेको तथ्यले बताउँछ । त्यसमध्ये झण्डै ४ हजार हेक्टरबाट उत्पादन भैरहेको छ । औसत उत्पादकत्व करिब साढे ९ मेट्रिक टन प्रतिहेक्टर देखिन्छ । यसको अर्थ कर्णाली ‘स्याउ फल्न सक्छ’ भन्ने सम्भावनाको प्रदेश मात्रै रहेन । स्याउ उत्पादन गरिरहेको ठूलो कृषि अर्थतन्त्र भैसकेको छ । तर, स्याउ बगैंचामा फल्छ । पैसा भने बजारमा फल्छ । त्यसैले अब प्रश्न उत्पादनको मात्र रहेन । कति फलायौंभन्दा पनि महत्त्वपूर्ण प्रश्न कति स्याउ बचायौं ? कति उचित मूल्यमा बेच्यौं ? र किसानको हातमा कति पैसा पुग्यो ? समीक्षा गर्ने बेला भैसक्यो । किनभने उचित व्यवस्थापन गर्न सकिएन भने किसानले स्याउ फलाउँछ, बाटोले स्याउ खान्छ, ढुवानीले केही खान्छ, कुहिनेले केही खान्छ र अन्ततः किसानले हिसाब गर्दा बाँकी के रह्यो भनेर भन्नुपर्ने अवस्था आउँछ । अघिल्लो वर्ष नेपालमा विदेशबाट झण्डै २१ अर्ब बराबरको फलफूल आयात भएकोमा त्यसको आधा हिस्सा स्याउको थियो । यसरी चीन र भारतबाट अर्बौं रुपैयाँ विदेशिएर आउने स्याउ हाम्रो बजारमा सजिलै भेटिने तर आफ्नै स्वाद, आफ्नै भूगोल, आफ्नै कथा भएको कर्णालीको स्याउ खोजेर पनि नपाईने अवस्थाको अन्त्य भए मात्र उपभोक्ताले स्याउको असली स्वाद र कर्णालीबासीले उत्पादनको असली मोल पाउनेछन् । काठमाडौंका विभिन्न क्षेत्रका अगुवाहरूदेखि राष्ट्रपतिसम्मलाई स्याउ हस्तान्तरण गर्नु एउटा औपचारिक पहल जस्तो मात्र लागे पनि यसको ठूलो प्रतीकात्मक अर्थ छ । कर्णालीले भनिरहेको छ –‘हामीसँग माग मात्रै छैन, उत्पादन पनि छ ।’ राष्ट्रपति भवनमा स्याउ पुर्याएर ध्यान खिच्ने ‘स्याउ कूटनीति’ गर्नु सायद कर्णालीको रहर होइन, राज्यको नीति फेरिन्छ कि भन्ने आशाको कार्टुन हो । कृषि विकाससम्बन्धी अध्ययनहरूले जुम्ला, कालिकोट, होल्पा र मुगुजस्ता जिल्लालाई स्याउका महत्त्वपूर्ण उत्पादन क्षेत्रका रूपमा देखाएका छन् र यातायात तथा बजार पहुँचलाई प्रमुख चुनौती मानेका छन् । त्यसैले अब अर्को स्याउसम्बन्धी गोष्ठी वा अध्ययन गरेर ‘कर्णालीमा स्याउको प्रचुर सम्भावना छ’ भनेर निष्कर्ष निकाल्नु पनि परेको छैन । यो सबैलाई थाहा भइसक्यो । अब किसानलाई गुणस्तरीय बिरुवा चाहिन्छ । प्राविधिक सेवा चाहिन्छ । बगैँचा व्यवस्थापनको सीप चाहिन्छ । गुणस्तरीय सडक चाहिन्छ । भण्डारणका लागि चिस्यान केन्द्र चाहिन्छ । उचित ग्रेडिङ, प्याकेजिङका लागि सीप चाहिन्छ । प्रशोधन उद्योग चाहिन्छ । बजारको सूचना चाहिन्छ । र उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता चाहिन्छ । यसमा राज्यले लगानी मात्र होइन, अभिभावकीय भूमिका पनि निभाउनु पर्छ । मुल कुरा राष्ट्रपतिको टेबलसम्म स्याउ पुर्याएर कर्णालीले अब मागको टोकरी मात्र पठाइरहेको छैन, उत्पादनको टोकरी नै प्रमाणका रुपमा पठाउन थालिसक्यो । अब राज्यले त्यो टोकरी समातेर नीति बनाओस् । किसानले उचित मूल्य पाउन्, उपभोक्ताले ताजा स्याउको स्वाद पाउन् । र कर्णालीले आफ्नो आर्थिक स्वाद फेर्न पाओस् । जब किसानले आफ्नो बगैँचामा फलेको स्याउको उचित मूल्य पाउँछ, परिवार चलाउन सक्छ, छोराछोरी पढाउन सक्छ, गाउँमै रोजगारी सिर्जना हुन्छ र आफ्नो उत्पादन बेच्न काठमाडौं धाउनुपर्दैन, त्यस दिन कर्णालीको स्याउले वास्तविक कूटनीतिक विजय हासिल गर्नेछ । र अन्त्यमा, जुम्लामा अन्य जिल्लामा भन्दा बढि स्याउ फल्न सक्ने तथ्यले बताउँछन् । तर, साविकको कर्णालीका सबैजसो जिल्लामा स्याउ उत्पादनको राम्रो सम्भावना रहेको तथ्य पनि सँगै छ । त्यसैले ‘जुम्लाको स्याउ’ ब्राण्डिङ गर्ने कि ‘कर्णालीको स्याउ’ पहिचान बनाउने, साविकको कर्णालीबासीले एकधारणा बनाउन पनि जरुरी छ ।
इरान युद्धले खोल्यो ब्रिक्सको पोल, देखियो भित्री दरार
काठमाडौं । गत साताको अन्त्यमा विश्वका केही शक्तिशाली नेताहरू भारतको राजधानी नयाँ दिल्लीमा विशाल गोलमेच वरिपरि भेला भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँगै बसेका नेताहरूले मिलेर बिस्तारै ‘नियम पालना गर्ने’ होइन, ‘नियम बनाउने’ बन्नुपर्ने बताए । बैठकमा ब्रिक्स समूहका सदस्य राष्ट्रका नेताहरू सहभागी थिए । चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, अबुधाबीका युवराज शेख खालिद बिन मोहम्मद बिन जायेद अल नाह्यान र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा उपस्थित थिए । यी देशलाई स्वाभाविक सहयोगी भन्न भने गाह्रो छ । उनीहरूबीच सीमा विवाददेखि सैन्य टकरावसम्मको इतिहास छ । सन् २०२० मा भारत र चीनका सैनिकबीच विवादित सीमामा घातक झडप भएको थियो । मध्यपूर्वको युद्धमा इरान र यूएई आमनेसामने भएका छन् । त्यतिबेला इरानले ब्रिक्सकै सदस्य यूएईमाथि क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो । उक्त युद्धको असर विश्व अर्थतन्त्रसम्म परेको थियो । भारतले यी नेताहरूलाई एउटै ठाउँमा आमनेसामने बैठकका लागि ल्याउन सक्नु आफैमा ठूलो उपलब्धि हो । यसले भारतको कूटनीतिक पहुँच पनि देखाउँछ । सम्मेलनले इरान युद्धपछि सम्बन्धबारे पुनर्विचार गर्ने अवसर पनि सदस्य राष्ट्रहरूलाई दिएको छ । तर नयाँ विश्व व्यवस्था कस्तो हुनुपर्छ भन्ने विषयमा सहमति जुटाउन र स्पष्ट परिणाम निकाल्न भने निकै कठिन देखियो । सम्मेलनभरि सदस्य राष्ट्रबीचको तनाव स्पष्ट रूपमा देखिन्थ्यो । पश्चिमी प्रभावको सामना गर्ने शक्तिका रूपमा ब्रिक्स चीन, रुस र इरानजस्ता सदस्यका लागि ब्रिक्स अमेरिका र पश्चिमी युरोपको प्रभाव घटाउने एउटा माध्यम हो । तर भारतले ब्रिक्सलाई पश्चिमविरोधी समूहका रूपमा प्रस्तुत गर्न सधैं हिच्किचाउँदै आएको छ । मोदीले पनि सम्मेलनमा यो समूह ‘कसैको विरुद्धमा नभएको’ बताएका थिए । यो अन्तर दिल्लीका लागि महत्त्वपूर्ण छ । भारत आपसमा विवादमा रहेका देशहरूसँग समेत आफ्नो सम्बन्ध कायम राख्न चाहन्छ । वरिष्ठ भारतीय कूटनीतिज्ञ तथा पूर्वराजदूत अनिल त्रिगुणायतका अनुसार ब्रिक्सका केही देश यसलाई पश्चिमविरोधी समूह बनाउन चाहन्छन्, तर ब्रिक्स त्यस्तो समूह होइन । उनका दृष्टिमा भारतले हासिल गरेको उपलब्धि ‘युद्धको समयमा रणनीतिक स्वायत्तता’तर्फको एउटा कदम हो । साथै सदस्य राष्ट्रबीच अझ बढी सहकार्य बढाउने पहल पनि हो । संयुक्त घोषणापत्रभित्रको कथा सदस्य राष्ट्रबीच मतभेद निकै स्पष्ट देखिएको समयमा पनि सम्मेलनले संयुक्त घोषणापत्र जारी गर्न सफल भयो । यस वर्ष यसअघि दुईपटक ब्रिक्सका मन्त्रीस्तरीय बैठक साझा वक्तव्य जारी गर्न असफल भएका थिए । यसपटक सहमति त बन्यो, तर सदस्यहरूबीच गहिरो मतभेद रहेका विषयलाई पन्छाउँदै निकै कम समाधानसहित घोषणापत्र जारी गरियो । ‘नयाँ दिल्ली घोषणापत्र’ सम्मेलनको पहिलो दिनमै पारित भयो । तर यसमा के भनिएको छैन भन्ने कुरा अझ ध्यान दिनलायक छ । मध्यपूर्व युद्धका विषयमा घोषणापत्रले ‘अधिकतम संयम’ अपनाउन आह्वान गरेको छ । यसले ‘नागरिक पूर्वाधार र शान्तिपूर्ण आणविक सुविधामाथिका हमला’को निन्दा पनि गरेको छ । तर त्यसका लागि कुनै देशलाई जिम्मेवार ठहर गरेको छैन । घोषणापत्रले दुई–राष्ट्र समाधानको समर्थन दोहोर्याएको छ । प्यालेस्टिनीहरूको जबर्जस्ती विस्थापन तथा ‘कब्जालाई वैधानिकता दिने वा लम्ब्याउने’ कुनै पनि कदमको विरोध गरेको छ । यसलाई विद्यमान संयुक्त राष्ट्रसंघीय प्रस्तावको दायराभित्र निकै सावधानीपूर्वक प्रस्तुत गरिएको छ । युक्रेनमा रुसको युद्धबारे भने घोषणापत्रमा कुनै उल्लेख छैन । यो अघिल्ला ब्रिक्स घोषणापत्रभन्दा फरक छ । व्यापारका विषयमा पनि यस्तै सावधानी अपनाइएको छ । घोषणापत्रमा ‘अव्यवस्थित रूपमा बढिरहेका महसुल’प्रति चिन्ता व्यक्त गरिएको छ र एकपक्षीय प्रतिबन्धको निन्दा गरिएको छ । तर अमेरिकाको नाम उल्लेख गरिएको छैन । यसले सम्भवतः वासिङ्टनको असन्तुष्टिबाट बच्ने प्रयास देखाउँछ । ब्रिक्सका धेरै सदस्य राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउन नचाहेका हुन सक्छन् । ट्रम्पले यसअघि सीमापार व्यापारका लागि केन्द्रीय बैंकका डिजिटल मुद्रालाई आपसमा जोड्ने प्रस्तावसहित ब्रिक्सका पहललाई ‘अमेरिकाविरोधी’ भन्दै आएका छन् । इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण डोन्थीका अनुसार मध्यपूर्वको द्वन्द्वको निन्दा गर्दा पनि कुनै देशको नाम नलिनु भारतको शैली हो । उनले महसुलको विषयलाई घोषणापत्रमा बलियोसँग उठाइएकोमा आफूलाई आश्चर्य लागेको बताए । उनका अनुसार भारत यस विषयमा प्रत्यक्ष रूपमा बोल्न नचाहेको भए पनि असन्तुष्टि व्यक्त गर्ने अवसर उसले पाएको थियो । सम्मेलनभन्दा पर ट्रम्पका व्यापारिक धम्की र मध्यपूर्व युद्धको प्रभावपछि विश्व व्यवस्थालाई नयाँ आकार दिनु धेरै सदस्य राष्ट्रका अर्थतन्त्रका लागि आवश्यक बन्दै गएको छ । सम्मेलनले निश्चित रूपमा दिन सकेको एउटा कुरा भनेको केही महिनाअघिसम्म कल्पना गर्न कठिन लाग्ने भेटवार्ताका लागि मञ्च उपलब्ध गराउनु हो । इरानका राष्ट्रपति पेजेस्कियान र अबुधाबीका युवराज एकै ठाउँमा बसेर वार्ता गरे । युद्ध सुरु भएयता यी दुई देशबीच भएको यो उच्चस्तरीय आमनेसामने भेटमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिएको छ । यो सप्ताहन्तले तेहरानलाई अमेरिका र इजरायलका सैन्य हमला तथा आर्थिक दबाबबीच आफू एक्लो नरहेको देखाउने अवसर पनि दियो । इरान अमेरिकी प्रतिबन्ध, वासिङ्टनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ र आफ्ना बन्दरगाहमा हुन सक्ने नौसैनिक नाकाबन्दीको सामना गर्ने प्रयास गरिरहेको छ । यस्तो अवस्थामा पेजेस्कियानले मलेसिया, भारत र इथियोपियासहित ब्रिक्स सदस्य राष्ट्रसँग गहिरो आर्थिक सम्बन्धमा जोड दिए । सात वर्षपछि दिल्लीमा राष्ट्रपति सीको पहिलो भ्रमण चीनका राष्ट्रपति सी चिनफिङ सात वर्षपछि पहिलोपटक दिल्ली पुगे । सन् २०२० को सीमा विवादपछि भारत र चीनबीच गहिरो अविश्वास रहँदै आएको थियो । अहिले त्यो तनाव केही कम भएको छ । तर दुई देशबीचको व्यापारमा ठूलो असन्तुलन छ र व्यापार घाटा चीनको पक्षमा निकै बढी झुकेको छ । सी जिनपिङ र नरेन्द्र मोदीले न्यानो हात मिलाए । यद्यपि मोदीले आफ्नो परिचित शैलीमा सीलाई अँगालो भने हालेनन् । सी दिल्लीमा २४ घण्टाभन्दा कम समय बसे । शनिबार राति मोदीले आयोजना गरेको विशेष रात्रिभोजमा पनि उनी सहभागी भएनन् । तर त्यसका बाबजुद यति जटिल सम्बन्ध भएका यी दुई देशका लागि यो सप्ताहन्त महत्त्वपूर्ण रह्यो । आधिकारिक वक्तव्यअनुसार दुवै नेता व्यापारिक सम्बन्ध र यातायात सम्पर्क सुदृढ गर्न तथा व्यापारमा रहेका अवरोध हटाउन सहमत भएका छन् । त्रिगुणायतका अनुसार यो पछिल्ला वर्षमा दुई देशबीच सम्बन्धमा देखिएको क्रमिक सुधारकै एउटा हिस्सा हो । दुवै पक्ष मिलेर काम गर्न इच्छुक देखिएका छन्। तर यसबाट ठोस प्रगति हुन्छ कि हुँदैन भन्ने हेर्न बाँकी नै छ । उनका अनुसार, ‘विश्वास गर्नुपर्छ, तर त्यसअघि जाँच र परीक्षण पनि आवश्यक छ ।’ अब के होला ? सम्मेलनले ब्रिक्सले पश्चिमी प्रभुत्व रहेका संस्थाभन्दा बाहिर प्रतिद्वन्द्वी देशहरूलाई संवाद गर्ने र रणनीतिक समन्वय गर्ने ठाउँ उपलब्ध गराउन सक्ने देखाएको छ । तर सबैभन्दा कठिन प्रश्न ‘अब के हुन्छ’ भन्ने हो । सदस्य राष्ट्रहरू पहिलेभन्दा बढी नयाँ विश्व व्यवस्थाको आवश्यकता रहेकोमा सहमत देखिन्छन् । तर त्यसको स्थानमा वास्तवमा कस्तो व्यवस्था आउनुपर्छ र त्यहाँसम्म कसरी पुग्ने भन्ने प्रश्नको उत्तर दिन भने अझै निकै चुनौतीपूर्ण छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)
तीजको मर्म हराउँदै, भ्युजको दौडमा चेलीबेटीको पर्व
काठमाडौं । तीजको रंग फेरिएको छैन, तर तीजलाई हेर्ने र देखाउने तरिका बदलिएको छ । रातो सारी, चुरा, पोते, दर, नाचगान र मन्दिर दर्शन तीजका प्रमुख पहिचान हुन् । फरक यति हो, हिजो यी दृश्य घर, आँगन, माइती र मन्दिरसम्म सीमित हुन्थे । आज मोबाइलको क्यामेरामार्फत केही सेकेन्डमै हजारौं दर्शकमाझ पुग्छन् । तीजको उत्सवसँगै भिडियो बनाउने, पोस्ट गर्ने र भ्युज गन्ने संस्कृति पनि यसको अभिन्न हिस्सा बन्न थालेको छ । कतै गीत बजिरहेको हुन्छ । कतै नृत्य चलिरहेको हुन्छ । कतै त्यही दृश्यलाई सामाजिक सञ्जालका लागि खिच्न मोबाइल वा ट्राइपोड तयार अवस्थामा हुन्छन् । दर खाने कार्यक्रमसँगै टिकटक र फेसबुक रिल्सका लागि सामग्री तयार गर्ने क्रम पनि चलिरहेको हुन्छ । मन्दिर दर्शनदेखि दर खाने कार्यक्रमसम्म, नयाँ पहिरनदेखि सामूहिक नृत्यसम्म तीजका अधिकांश गतिविधि सामाजिक सञ्जालमा देखिन्छन् । समाजसास्त्री नारायण ज्ञवाली तीजलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा होइन, डिजिटल प्रदर्शनको अवसरका रूपमा समेत स्थापित गरिरहेको बताउँछन् । तीज र टिकटक स्वभावतः फरक विषय भएपनि एक अर्काका परीपुरक भएको ज्ञवालीको बुझाइ छ । तीज नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक परम्परासँग जोडिएको पर्व हो भने टिकटक छोटो भिडियो निर्माण र साझेदारी गर्ने डिजिटल माध्यम । तर पछिल्ला वर्षमा यी दुईबीचको सम्बन्ध यति नजिकिएको छ कि तीजका गीत, नृत्य, पहिरन र उत्सवको लोकप्रियता सामाजिक सञ्जालमा कति पुगे भन्ने आधारमा समेत मापन हुन थालेको छ । गीतको भावनादेखि भ्युजसम्म एक समय तीज गीत महिलाहरूका अनुभव र आवाज अभिव्यक्त गर्ने सांस्कृतिक माध्यम थिए । वर्षभरिका पीडा, दुःख, पारिवारिक विछोड, सामाजिक विभेद र माइतीप्रतिको भावनालाई गीतमार्फत सार्वजनिक गरिन्थ्यो । त्यसैले तीज गीत मनोरञ्जनको साधन मात्र थिएनन् । ती त महिलाको सामाजिक जीवन र मनोविज्ञान बुझ्ने सांस्कृतिक दस्तावेजसमेत थिए । अहिले पनि तीज गीतको बजार उत्तिकै सक्रिय छ । तर गीतको चर्चा अब त्यसले बोकेको विषयवस्तुमा मात्र सीमित छैन । गीत कति छिटो भाइरल भयो ? टिकटकमा कति भिडियो बने ? युट्युबमा कति भ्युज पुगे ? र सामाजिक सञ्जालमा कति चर्चा भयो ? भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण बन्न थालेको ज्ञवालीको तिज अनुभव रहेको छ । यस वर्ष विष्णु माझीको स्वरमा सार्वजनिक मायाको सानो दरबार, यस्तै छ आमै घरबार बोलको गीत यसको एउटा उदाहरण हो । पुतलीको भट्टी भाग-२२ का रूपमा आएको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा संगीत र मौसम हिमालीको कोरियोग्राफी रहेको छ । सार्वजनिक भएको केही समयमै गीतका अंश प्रयोग गरेर टिकटकमा भाइरल बन्न थाले । करिब १० दिनमै गीतले युट्युबमा ८० लाखभन्दा बढी भ्युज पाइसकेको थियो भने टिकटकमा लाखौले टिकटक बनाएका छन् । त्यस्तै एलिना चौहानको स्वरमा रहेको आज आमैले दिएको नौरती फुली, भोलि मैसँग होला कि नहोला बोलको गीतले पनि यस वर्ष उल्लेख्य चर्चा पायो । दीपक शर्माको शब्द तथा संगीत रहेको उक्त गीत युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ । यस गीतका अंशमा टिकटक भिडियो बनाउने क्रम पनि व्यापक देखिन्छ । भदौरे मैना, मन ठाउँमा छैन, तीजको रन्को रननन बोलको गीतले भने युवापुस्तामा फरक किसिमको आकर्षण सिर्जना गरेको छ । परम्परागत तीज गीतमा देखिने विरह र वेदनाभन्दा फरक यसमा आधुनिक महिलाको आत्मविश्वास, सक्रियता र उत्साहलाई नृत्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतका लयात्मक अंश र नृत्य गर्न सहज हुने संरचनाले सामाजिक सञ्जालमा यसको प्रयोगलाई थप सहज बनाएको देखिन्छ । सेलिब्रेटीको तीज, दर्शकको ट्रेन्ड तीज गीतसँगै चर्चित महिला व्यक्तित्वका सामाजिक सञ्जाल गतिविधि पनि पर्वकै चर्चाको हिस्सा बन्न थालेका छन् । अभिनेत्री प्रियंका कार्की, गायिका एलिना चौहान, समीक्षा अधिकारी, रचना रिमालदेखि नेतृ रामकुमारी झाँक्रीसम्मले तीजसँग सम्बन्धित भिडियो, नाचगान र शुभकामना सन्देश सार्वजनिक गर्ने गरेका छन् । यसले तीजको सांस्कृतिक अभ्यासमा अर्को परिवर्तन ल्याएको छ । पहिले समाजमा प्रभाव पार्ने व्यक्तिहरूको पहिरन, नृत्य वा उत्सव स्थानीय समुदायभित्र सीमित हुन्थ्यो । अहिले सामाजिक सञ्जालका कारण त्यस्ता गतिविधि केही क्षणमै ठूलो दर्शकसमूहमाझ पुग्छन् । चर्चित व्यक्तिले प्रयोग गरेको गीत, पहिरन वा नृत्य शैली सर्वसाधारणले पछ्याउने क्रम पनि बढेको छ । यसरी सामाजिक सञ्जालले तीजलाई केवल अभिव्यक्तिको माध्यम बनाएको छैन, ट्रेन्ड निर्माण गर्ने माध्यमसमेत बनाएको छ । संस्कृति कि प्रदर्शन ? समाजशास्त्री सविता प्रसाईं भने तीज र सामाजिक सञ्जालबीचको यो सम्बन्धलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्छिन् । उनका अनुसार सामाजिक सञ्जालका कारण नेपाली संस्कृति र चाडपर्वको पहुँच भूगोलको सीमाभन्दा बाहिर पुगेको छ । विदेशमा रहेका नेपालीले पनि सामाजिक सञ्जालमार्फत तीजका गतिविधि हेर्न र सहभागी भएको अनुभूति गर्न पाएका छन् । सकारात्मक पक्ष के हो भने सामाजिक सञ्जालका कारण नेपालीहरूको चाडपर्व र त्यसको महत्व विश्वभर प्रचार-प्रसार भइरहेको छ, प्रसाईं भन्छिन् । तर यसको अर्को पाटो पनि रहेको उनको भनाइ छ । सामाजिक सञ्जालमा लोकप्रिय हुने प्रतिस्पर्धाले तीजको मौलिक अर्थ र सांस्कृतिक सन्देशलाई ओझेलमा पार्न सक्ने जोखिम बढेको उनी बताउँछिन् । उनका अनुसार तीज मूलतः चेली–माइतीको सम्बन्ध, भेटघाट र भावनात्मक आदानप्रदानसँग जोडिएको पर्व हो । विगतमा यातायात र सञ्चारका साधन सीमित थिए । माइती र चेलीको भेट आफैंमा महत्वपूर्ण अवसर हुन्थ्यो । त्यसैले तीजका गीतमा माइतीको सम्झना, भेटको खुसी, विछोडको पीडा र महिलाका सामाजिक अनुभव बढी अभिव्यक्त हुन्थे । तर अहिले तीजको सांस्कृतिक पक्षसँगै फेसन, मनोरञ्जन र प्रदर्शनको पक्ष बलियो हुँदै गएको प्रसाईं बताउँछिन् । दरको संस्कृतिमा आएको परिवर्तन तीजसँग जोडिएको दर खाने परम्परामा पनि समयसँगै परिवर्तन आएको उनको बुझाइ छ । ज्ञवालीका अनुसार पहिले विशेष अवसरमा मात्र मीठो तथा पौष्टिक खाना खाने चलन थियो । माइती पुगेकी चेलीलाई खुसीयालीका रूपमा विशेष परिकार खुवाइन्थ्यो । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले अघिल्लो रात पर्याप्त भोजन गर्ने अभ्यास पनि त्यसैसँग जोडिएको ज्ञवालीले बताए । तर अहिले दर खाने कार्यक्रम स्वयं एउटा सार्वजनिक सामाजिक गतिविधि बनेको प्रसाईको अनुभव रहेको छ । ठूला समूहमा आयोजना हुने कार्यक्रम, विशेष पहिरन, सजावट, नृत्य र त्यसको भिडियो सार्वजनिक गर्ने प्रवृत्तिले दरको सांस्कृतिक पक्षभन्दा प्रदर्शन पक्षलाई बलियो बनाउँदै लगेको प्रसाईंको विश्लेषण छ । गीत–संगीतमा पनि यस्तै परिवर्तन देखिएको उनी बताउँछिन् । पहिले तीज गीतमा चेलीबेटीका पीडा, संघर्ष र भावनाहरू प्रमुख विषय हुन्थे । अहिले धेरै गीत भाइरल हुने, भ्युज बढाउने र व्यावसायिक सफलता हासिल गर्ने उद्देश्यमा केन्द्रित देखिन्छन् उनी भन्छिन् । उनका अनुसार कतिपय नयाँ तीज गीतमा तीजको मौलिक सामाजिक र सांस्कृतिक विषयवस्तुसँगको सम्बन्धसमेत कमजोर देखिन थालेको छ । प्रविधिसँगै बदलिँदो संस्कृति यद्यपि प्रविधिका कारण संस्कृति परिवर्तन हुनु आफैंमा अस्वाभाविक भने होइन । समाज परिवर्तनशील भएकाले चाडपर्व मनाउने शैली पनि समयअनुसार बदलिन्छ । सामाजिक सञ्जालले नेपाली संस्कृति नयाँ पुस्ता र विश्व समुदायसम्म पु‍र्याउने नयाँ अवसर सिर्जना गरेको समाजसास्त्री ज्ञवालीको तर्क रहेको छ । समस्या प्रविधिको प्रयोगमा भन्दा त्यसको उद्देश्य र प्रयोग गर्ने तरिकामा रहेको अर्का समाजसास्त्री प्रसाईंको बुझाइ छ । उनका अनुसार आधुनिक माध्यमलाई अस्वीकार गर्नेभन्दा त्यसको सकारात्मक प्रयोग गर्दै सांस्कृतिक मर्म जोगाउनु आवश्यक छ । नयाँ कुरा अन्धाधुन्ध अपनाउनेभन्दा आफ्नो संस्कृति, मूल्य र परम्पराको मर्म बुझेर आधुनिकतासँग सन्तुलन कायम गर्नुपर्छ, उनी भन्छिन् । वास्तवमा तीजमा परम्परा र प्रविधि एकअर्काका परीपुरक होइनन् । तर सँगसँगै हिँडिरहेका छन् । प्रश्न केवल टिकटकले तीजलाई बदल्यो कि तीजले टिकटकलाई सामग्री दियो भन्ने मात्र होइन । प्रश्न डिजिटल लोकप्रियताको प्रतिस्पर्धामा तीजको मौलिक अर्थ र सांस्कृतिक स्मृति कति सुरक्षित रहन्छन् भन्ने रहेको ज्ञवाली बताउँछन् । गायीका तथा अधिवक्ता शितल पाण्डेका अनुसार मोबाइलको क्यामेराले तीजलाई संसारभर पु‍र्याउन सक्छ । सामाजिक सञ्जालले नयाँ पुस्तालाई तीजसँग जोड्न सक्छ । गायिका पाण्डे भ्युज र भाइरल हुने प्रतिस्पर्धाले पर्वको मूल भावनालाई नै विस्थापित ग‍र्यो भने प्रविधिले संस्कृति विस्तार गरेको होइन, संस्कृतिको स्वरूप नै परिवर्तन गरेको ठहरिन सक्ने बताउँछिन् । त्यसैले आजको तीजलाई न त केवल परम्पराको निरन्तरता भनेर बुझ्न सकिन्छ, न त सामाजिक सञ्जालको प्रदर्शन मात्र । यो परम्परा, प्रविधि र प्रदर्शन संस्कृतिको संगम भएको गायिका पाण्डेको बुझाई रहेको छ । उनका अनुसार अहिले तीजको मौलिकता र डिजिटल युगको आकर्षणबीच नयाँ सन्तुलन खोजिँदैछ । पाण्डे भन्छिन् सायद यही कारणले आजको तीजमा दरसँगै मोबाइल छ, नाचसँगै क्यामेरा छ र गीतसँगै भ्युज पनि छ । उनका अनुसार प्रश्न यति मात्र हो, तीज भाइरल हुँदै गर्दा तीजको मर्म पनि भाइरल हुँदैछ कि छैन ?