तुला अधिकारी

लोकप्रियताबाट कूटनीतिक परिपक्वताको परीक्षा

कुनै पनि देशको प्रधानमन्त्रीका लागि छिमेकी मुलुकको भ्रमण केवल औपचारिक कूटनीतिक कार्यक्रम मात्र हुँदैन । त्यो देशको राष्ट्रिय स्वार्थ, राजनीतिक परिपक्वता, वार्ता क्षमता र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने सामथ्र्य प्रदर्शन गर्ने अवसरका रूपमा हेरिन्छ । हाम्रो जस्तो भू-राजनीतिक संवेदनशीलता भएको मुलुकका प्रधानमन्त्रीका लागि निकटको छिमेकी भारत भ्रमणको अर्थ र महत्त्व सँधै ठूलो मानिन्छ ।   प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को बहुप्रतीक्षित भारत भ्रमण पनि यस्तै अर्थ र महत्त्व बोकेको विषय बनेको छ । यो भ्रमणलाई लिएर देशभित्र र बाहिर चासो, अपेक्षा र केही आशंकासमेत छन् । नयाँ राजनीतिक नेतृत्वले परम्परागत कूटनीतिक अभ्यासभन्दा फरक के गर्न सक्छ ? नेपाल-भारत सम्बन्धका पुराना गाँठा फुकाउन सक्छ कि सक्दैन ? र सबैभन्दा महत्त्वपूर्ण, भारतसँगको सम्बन्धमा नेपालको राष्ट्रिय स्वार्थलाई कति प्रभावकारी रूपमा स्थापित गर्न सक्छ ? यी प्रश्नको उत्तर खोजिनेछ र अपेक्षा जाँच गरिने छ ।  यद्यपि मंसिरको पहिलो सातादेखि हुने भनिएको भ्रमणको मिति औपचारिक रूपमा दुवै देशले सार्वजनिक गरिसकेका छैनन् ।  बालेनको नेतृत्वलाई लिएर देशभित्र खासगरी युवापङ्तिमा ठूलो अपेक्षा छ । परम्परागत राजनीतिक शैलीभन्दा फरक काम गर्ने, स्थापित अभ्यासलाई चुनौती दिने र नयाँ राजनीतिक संस्कारको सुरुआत गर्ने अपेक्षासहित उनी प्रधानमन्त्री बनेका हुन् । तर नेतृत्वको वास्तविक परीक्षा लोकप्रियता, भाषण वा चुनावी जनमतमा मात्र सीमित हुँदैन । कठिन प्रश्नको सामना गर्ने, असहज परिस्थितिमा तत्काल निर्णय लिने र फरक विचारसँग संवाद गर्ने क्षमताबाट पनि नेतृत्वको मूल्याङ्कन हुन्छ । यी सवालमा बालेनको कार्यशैलीबारे देशभित्र केही प्रश्न छन् । प्रधानमन्त्रीले आफ्नो सरकारको निर्णयको बचाऊ गर्न, आलोचना सुन्न र सबै खाले प्रश्नको सामना गर्न सक्नुपर्छ । यसरी देशभित्रैको लोकतान्त्रिक संवादमा पर्याप्त सहभागिता नदेखिएको अवस्थामा अन्तर्राष्ट्रिय मञ्चमा उनको संवाद शैली र कूटनीतिक क्षमताबारे चासो बढ्नु स्वाभाविक हो । उदाहरणका लागि, प्रधानमन्त्री बालेनले प्रमुख राजनीतिक दलहरू सँगको संवाद शून्यजस्तै राखेका छन् । संसद बैठकलाई उनले दिएको कम समय र महत्त्वबारे पनि बढ्ता टिप्पणी भैरहेको छ । संसद् सरकारको ‘नीति तथा कार्यक्रम’ सुनाउने मञ्च मात्र होइन ।  यो सरकारलाई प्रश्न गर्ने, निर्णयको औचित्य खोज्ने र जनताप्रति जवाफदेही बनाउने सर्वोच्च लोकतान्त्रिक थलो पनि हो । प्रधानमन्त्रीको संसद्मा उपस्थिति र सांसदका प्रश्नको जवाफ दिने अभ्यास लोकतान्त्रिक संस्कारसँग जोडिएको विषय हो । अनि लोकतन्त्रमा सबैभन्दा शक्तिशाली र जिम्मेवार दलहरू नै हुन् ।  पछिल्लो बजेट अधिवेशनका ६८ बैठकमध्ये प्रधानमन्त्री शाह प्रतिनिधिसभामा ६ दिन मात्र उपस्थित भएका थिए । राष्ट्रिय सभामा उनको उपस्थिति एकपटक मात्र थियो । यो विवरणले प्रधानमन्त्रीको संसद्सँगको सम्बन्ध र जवाफदेहिताबारे प्रश्न उठाउने आधार दियो । किनभने संसद्मा उपस्थित हुनु र प्रश्नको जवाफ दिनु केवल प्रक्रियागत विषय होइन, राजनीतिक नेतृत्वको उत्तरदायित्व पनि हो ।  प्रधानमन्त्रीले आफ्नो सरकारको निर्णयको बचाऊ गर्न, आलोचना सुन्न र सबै खाले प्रश्नको सामना गर्न सक्नुपर्छ । यसरी देशभित्रैको लोकतान्त्रिक संवादमा पर्याप्त सहभागिता नदेखिएको अवस्थामा अन्तर्राष्ट्रिय मञ्चमा उनको संवाद शैली र कूटनीतिक क्षमताबारे चासो बढ्नु स्वाभाविक हो । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा उनको सहभागितालाई लिएर पनि यस्तै बहस भयो ।  औपचारिक सम्बोधन र महासचिवसँगको भेटबाहेक अन्य उच्चस्तरीय द्विपक्षीय भेटघाट तथा साइडलाइन संवादबाट के उपलब्धि हासिल भए भन्ने विषयमा सार्वजनिक रूपमा पर्याप्त विवरण देखिएन । महासचिवसँगको भेटका क्रममा सार्वजनिक भएको तस्बिरको प्रस्तुतिलाई लिएर समेत सामाजिक सञ्जालमा टिकाटिप्पणी भए ।  यही पृष्ठभूमिमा प्रम बालेनको भ्रमण हुन लागेको हो । नेपाल र भारतबीचको सम्बन्ध सामान्य दुई छिमेकी मुलुकको सम्बन्धभन्दा फरक छ । खुला सीमा, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, सुरक्षा, पूर्वाधार, सांस्कृतिक सम्बन्ध र जनस्तरको रोटीबेटीको सम्बन्ध र आवतजावतले दुई देशलाई गहिरोसँग जोडेको छ ।  भारत नेपालको प्रमुख व्यापारिक साझेदार हो भने नेपालको भौगोलिक अवस्थिति र प्राकृतिक स्रोत भारतका लागि पनि महत्त्वपूर्ण छन् । सहकार्यका यस्ता प्रशस्त सम्भावना एकातिर छन् भने सीमा, व्यापार, पारवहन, सन्धि–सम्झौता र अन्य राष्ट्रिय सरोकारका संवेदनशील विषय पनि छन् । र, नेपालमा भारतविरोधी उग्रराष्ट्रवादको ह्याङ पनि चुनौतीको विषय छ । त्यसैले भारत भ्रमणमा बालेनले के बोल्छन् ? के लाउँछन् ? जस्ता विषयमा जति चासोका साथ हेरिएको छ, त्योभन्दा बढ्ता महत्त्वपूर्ण सवाल उनले के विषय उठाउँछन् ? कसरी उठाउँछन् ? र त्यसको परिणाम के निकाल्छन् ? भन्ने छन् । भारत नेपालको विशाल छिमेकी हो । आर्थिक, सैन्य, राजनीतिक र अन्तर्राष्ट्रिय प्रभावका हिसाबले पनि भारतको क्षेत्रीय भूमिका ठूलो छ । तर आकार र शक्तिको असमानताले नेपालको राष्ट्रिय स्वार्थको महत्त्व कम गर्दैन । त्यसैले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, विश्वास र दोहोरो लाभमा आधारित हुनुपर्छ । अनि नेपालले भारतसँगको सम्बन्धलाई सहयोग माग्ने र सहयोग पाउने सम्बन्धका रूपमा मात्र हेर्नु हुँदैन । नेपालसँग जलविद्युत्, पर्यटन, प्राकृतिक स्रोत, रणनीतिक अवस्थिति, बजार र क्षेत्रीय कनेक्टिभिटीका आफ्नै सम्भावना छन् । यी सम्भावनालाई नेपालको आर्थिक विकास र भारतसँगको सहकार्यको साझा अवसरका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । त्यसका लागि नेपालले आफूलाई अवसर र सम्भावना बोकेको साझेदारका रूपमा स्थापित गर्न सक्नुपर्छ । प्रधानमन्त्रीको भारत भ्रमणको सफलता कति उच्चस्तरीय भेटघाट भए भन्ने कुराले मात्र निर्धारण गर्दैन । भ्रमणबाट नेपालले के उपलब्धी हासिल गर्‍यो भन्ने कुराले निर्धारण गर्छ । यसका लागि नेपालले आफ्ना प्राथमिकता स्पष्ट बनाउनुपर्छ । खासगरी साझा रूपमा जलविद्युत् र ऊर्जा व्यापार, सीमा विवाद र सीमा व्यवस्थापन, व्यापार तथा पारवहन, पञ्चेश्वर र जलस्रोत आयोजना, हवाई मार्ग र कनेक्टिभिटी, लगानी र आर्थिक साझेदारी, विपद्पछिको पुनःनिर्माण लगायतका सवालमा खुलेर संवाद र साझेदारी जुटाउन सकियो भने भ्रमण ऐतिहासिक रुपमा सफल हुनेछ ।  नयाँ दल, नयाँ प्रतिनिधि र युवाहरूको बाहुल्य भएको टीम भ्रमणमा जाँदैछ । प्रम बालेनको देशभित्रको पहिचान मौन छविको छ । हो, कूटनीतिमा शब्दको मात्र होइन, मौनताको पनि अर्थ हुन्छ । वार्ताको शैली, प्रस्तुतिको भाषा, हाउभाउ, पोशाक र औपचारिक शिष्टाचारसम्मलाई अर्थपूर्ण रूपमा हेरिन्छ । नेपालको जलविद्युत् उत्पादन क्षमता र भारतको विशाल ऊर्जा बजारबीच सहकार्यको ठूलो सम्भावना छ । नेपालको विद्युत् उत्पादनलाई क्षेत्रीय ऊर्जा व्यापारसँग जोड्न सके अर्थतन्त्रमा दीर्घकालीन योगदान पुग्न सक्छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत सीमा विवाद नेपालको महत्त्वपूर्ण राष्ट्रिय सरोकारका विषय हुन् ।  यस्ता विषयलाई भावनात्मक अभिव्यक्तिमा सीमित नराखी ऐतिहासिक तथ्य, प्रमाण र कूटनीतिक संयन्त्रका आधारमा समाधानतर्फ लैजानुपर्छ । सीमा व्यवस्थापन र सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका व्यावहारिक समस्यासमेत प्राथमिकतामा पर्नुपर्छ । नयाँ दल, नयाँ प्रतिनिधि र युवाहरूको बाहुल्य भएको टीम भ्रमणमा जाँदैछ । प्रम बालेनको देशभित्रको पहिचान मौन छविको छ । हो, कूटनीतिमा शब्दको मात्र होइन, मौनताको पनि अर्थ हुन्छ । वार्ताको शैली, प्रस्तुतिको भाषा, हाउभाउ, पोशाक र औपचारिक शिष्टाचारसम्मलाई अर्थपूर्ण रूपमा हेरिन्छ । तर यी सबैभन्दा माथि राष्ट्रिय स्वार्थको स्पष्ट बुझाइ, विषयगत तयारी र वार्ताको रणनीति हुन्छ ।  नेपालको वैदेशिक व्यापार र तेस्रो मुलुकसँगको पारवहनमा भारतको भूमिका महत्त्वपूर्ण छ । व्यापारिक लागत घटाउने, बन्दरगाह तथा पारवहन सुविधामा सहजता ल्याउने र नेपाली उत्पादनलाई भारतीय बजारमा प्रतिस्पर्धी पहुँच दिलाउने विषयमा ठोस सहमति आवश्यक छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालगायत लामो समयदेखि चर्चामा रहेका जलस्रोत आयोजनाको प्रगति सुनिश्चित गर्नुपर्छ । नेपालले जलस्रोतबाट विद्युत् उत्पादन मात्र होइन, सिँचाइ, बाढी व्यवस्थापन र आर्थिक लाभसमेत प्राप्त गर्न सक्ने गरी आफ्नो अडान राख्नुपर्छ । यसका साथै नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि थप हवाई प्रवेश मार्गको आवश्यकता छ । विशेषगरी, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सम्भावना विस्तार गर्न हवाई मार्ग र उडान सहजीकरण महत्त्वपूर्ण छ । सडक, रेलमार्ग र डिजिटल कनेक्टिभिटीमा पनि सहकार्य विस्तार गर्न सकिने अवस्था छ । नेपालमा भारतीय लगानी आकर्षित गर्ने, औद्योगिक विकास, कृषि प्रशोधन, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा सहकार्य विस्तार गर्ने अवसर पनि छ । भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको पृष्ठभूमिमा पुनःनिर्माणका लागि भारतसँग सहयोग माग्नु स्वाभाविक छ । तर सहयोगको माग राहतमा मात्र सीमित हुनु हुँदैन । सुरक्षित पूर्वाधार, नदी नियन्त्रण, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण र दीर्घकालीन पुनःनिर्माणमा सहकार्य खोज्नुपर्छ । यी विषय भ्रमणका सम्भावित प्राथमिकता मात्र होइनन्, नेपालको आगामी विकास र आर्थिक समृद्धिसँग जोडिएका रणनीतिक एजेन्डा हुन् । प्रधानमन्त्री बालेनको राजनीतिक शैली फरक हुन सक्छ । तर प्रधानमन्त्रीको जिम्मेवारी व्यक्तिगत शैलीभन्दा ठूलो हुन्छ । चुनावी भाषण र कूटनीतिक वार्ताको भाषा एउटै हुँदैन । नयाँ दल, नयाँ प्रतिनिधि र युवाहरूको बाहुल्य भएको टीम भ्रमणमा जाँदैछ । प्रम बालेनको देशभित्रको पहिचान मौन छविको छ । हो, कूटनीतिमा शब्दको मात्र होइन, मौनताको पनि अर्थ हुन्छ । वार्ताको शैली, प्रस्तुतिको भाषा, हाउभाउ, पोशाक र औपचारिक शिष्टाचारसम्मलाई अर्थपूर्ण रूपमा हेरिन्छ । तर यी सबैभन्दा माथि राष्ट्रिय स्वार्थको स्पष्ट बुझाइ, विषयगत तयारी र वार्ताको रणनीति हुन्छ ।  प्रधानमन्त्री एक्लैले सबै कुरा जान्नुपर्छ भन्ने होइन । तर उनको टिमले प्रत्येक विषयमा पर्याप्त गृहकार्य गरेको हुनुपर्छ । भारत भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालय, जलस्रोतसँग सम्बन्धित निकाय र अन्य विषयगत विज्ञहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । विगतका सहमति, कार्यान्वयनमा देखिएका समस्या, नेपालका प्राथमिकता र वार्तामा प्रस्तुत गर्नुपर्ने तथ्याङ्कसहितको स्पष्ट र परिष्कृत दस्तावेज तयार हुनुपर्छ । किनभने कूटनीति कुनै एक व्यक्तिको प्रस्तुति होइन, राज्यको सामूहिक क्षमताको परिक्षा पनि हो । प्रधानमन्त्री बालेनको राजनीतिक शैली फरक हुन सक्छ । तर प्रधानमन्त्रीको जिम्मेवारी व्यक्तिगत शैलीभन्दा ठूलो हुन्छ । चुनावी भाषण र कूटनीतिक वार्ताको भाषा एउटै हुँदैन । देशभित्र लोकप्रिय हुने अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धमा सधैं उपयुक्त नहुन सक्छ । त्यसैले आफ्नो अडान स्पष्ट तर कुटनीतिक रूपमा राख्ने तर संवादको ‘स्पेस’ राख्ने सन्तुलन आवश्यक छ ।  नेपालका प्रधानमन्त्रीहरू प्रायः सबैको पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै सुरु हुने गरेको छ । दुई तिहाईको ठूलो जनमतसहित पहिलो पल्ट नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले सन् १९६० जनवरी १७ देखि ३१ सम्म करिब दुई हप्ता लामो भारतको राजकीय भ्रमण गरेका थिए ।  भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूको मैत्रीपूर्ण निमन्त्रणामा उनलाई जनवरी २६ मा भारतको दशौं गणतन्त्र दिवसको विशेष समारोहको ‘मुख्य अतिथि’का रूपमा आमन्त्रण गरिएको थियो । कुटनीतिक क्षेत्रमा बीपीको ६६ वर्ष पुरानो उक्त भ्रमणको अहिले पनि चर्चा गरिन्छ । बालेन नेतृत्वको सरकारलाई प्राप्त दुई तिहाइ जनमतले पनि राजनीतिक रूपमा ठूलो शक्ति प्रदान गरेको छ । तर जनमत आफैमा कूटनीतिक उपलब्धि होइन । त्यसलाई राष्ट्रिय हितमा रूपान्तरण गर्न सक्ने क्षमता नै नेतृत्वको वास्तविक उपलब्धी हुनेछ । प्रधानमन्त्रीको लोकप्रियता देशभित्रको राजनीतिक पुँजी हो, तर कूटनीतिक क्षमता अन्तर्राष्ट्रिय सम्बन्धमा देखिने परिणामबाट प्रमाणित हुन्छ ।  दुई तिहाई जनमतले प्रधानमन्त्रीलाई भारतसँग वार्ता गर्दा बलियो आन्तरिक राजनीतिक आधार त दिन सक्छ । तर त्यसको अर्थ सबै कुरा सहज हुन्छ भन्ने होइन । भ्रमण अघि राष्ट्रिय हितका विषयमा राजनीतिक दल, संसद्, विज्ञ र नागरिक समाजबीच न्यूनतम साझा समझदारी निर्माण गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।  देशको कूटनीति कुनै एउटा दल वा प्रधानमन्त्रीको निजी विषय हुँदैन । सरकार परिवर्तन हुन सक्छ, तर राष्ट्रिय स्वार्थ परिवर्तन हुँदैन । त्यसैले भारत भ्रमणमा गरिने सहमति र समझदारीलाई राष्ट्रिय संस्थागत निरन्तरतासँग जोड्न जरुरी छ ।  नेपालको भारतसँगको सम्बन्धलाई चीनसँगको सम्बन्धबाट अलग गरेर बुझ्न पनि सकिँदैन । नेपाल दुई विशाल छिमेकीबीच अवस्थित छ । दुवैसँग नेपालको ऐतिहासिक, आर्थिक र रणनीतिक सम्बन्ध छ । नेपालको कूटनीति कुनै छिमेकीविरुद्ध अर्को छिमेकीको उपयोग गर्ने होइन, सबैसँगको सम्बन्धलाई नेपालको राष्ट्रिय हितअनुकूल सन्तुलित बनाउने छ र हुनुपर्छ ।  भारतसँगको सम्बन्धमा नेपालले न अनावश्यक तनाव खोज्नुपर्छ, न आफ्नो राष्ट्रिय स्वार्थमा सम्झौता गर्नुपर्छ । चीनसँगको सम्बन्धमा पनि त्यही सन्तुलन आवश्यक छ । बालेनको भारत भ्रमणले पनि नेपालको यही सन्तुलित कूटनीतिक दृष्टिकोणलाई अभिव्यक्त गर्न सक्नुपर्छ । नेपालका विगतका प्रधानमन्त्रीहरूको भारत भ्रमणलाई हेर्दा अपेक्षा र उपलब्धीबीचको दूरी, सहमति कार्यान्वयनको सुस्तता तथा भ्रमणका क्रममा उठेका विवादित प्रसंगहरू बारम्बार चर्चामा आउने गरेका छन् । कतिपय भ्रमणले महत्त्वपूर्ण समझदारीको आधार तयार पारे पनि तिनको कार्यान्वयन कमजोर रहँदा अपेक्षित परिणाम प्राप्त हुन सकेनन् । कहिलेकाहीँ भ्रमणअघि ठूलो अपेक्षा सिर्जना हुने, भ्रमणका क्रममा केही सहमति हुने र फर्किएपछि उपलब्धीको व्याख्या तथा कार्यान्वयनमै अन्यौल रहने गरेको छ । कम्तिमा यसपटक यसपटक त्यस्तो हुनु हुँदैन । नहोस् ।  बालेनको भारत भ्रमणलाई लिएर यति धेरै चासो हुनुको कारण पनि छ । यो उनको पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण हो । देशभित्र दुई तिहाइ जनमतको राजनीतिक आधार छ । नयाँ नेतृत्वबाट नयाँ परिणामको अपेक्षा छ । अर्कोतर्फ, भारतसँगको सम्बन्धमा समाधान हुन बाँकी धेरै विषय छन् । बालेनले विगतका भ्रमणको अनुभवबाट सिक्ने अवसर गुमाउनु हुँदैन । पुराना सहमति किन कार्यान्वयन भएनन् ? कुन विषयमा नेपालले आफ्नो वार्ता क्षमता कमजोर बनायो ? कहाँ राजनीतिक अस्थिरता बाधक बन्यो ? र कुन विषयमा संस्थागत तयारीको कमी रह्यो ? यी प्रश्नको समीक्षा गरेर नयाँ रणनीतिसहित भ्रमणमा निस्कनु उनका लागि र देशका लागि फलदायी हुन सक्छ । किनभने नयाँ नेतृत्वले पुराना कमजोरी दोहोर्‍याउने होइन, तिनबाट सिकेर परिणाम निकाल्न सकुन् भन्ने आम अपेक्षा छ ।  कूटनीतिक भ्रमणको सफलता संयुक्त वक्तव्य, सम्झौतापत्र वा औपचारिक समारोहमा मात्र सीमित हुनु हुँदैन । भ्रमणपछि सहमति कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषय नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ । नयाँ समझदारीको स्पष्ट कार्ययोजना, समयसीमा र जिम्मेवार निकाय तोकिनुपर्छ ।  सरकारले भ्रमणबाट प्राप्त उपलब्धीको विवरण सार्वजनिक गर्नुपर्छ । कुन विषयमा सहमति भयो, कुन विषयमा छलफल मात्र भयो, कुन विषयमा सहमति हुन सकेन र त्यसको कारण के हो भन्ने जानकारी नागरिकलाई दिनुपर्छ ।  संसद्मा  प्रधानमन्त्रीले भ्रमणको उपलब्धि र आगामी कार्ययोजनाबारे जानकारी दिनुपर्छ । आवश्यक परे संसदीय समितिहरूले पनि त्यसको अनुगमन गर्न सक्छन् । यसले कूटनीतिक उपलब्धिलाई राजनीतिक प्रचारभन्दा माथि उठाएर राष्ट्रिय जवाफदेहितासँग जोड्नेछ । बालेनको भारत भ्रमणलाई लिएर यति धेरै चासो हुनुको कारण पनि छ । यो उनको पहिलो औपचारिक द्विपक्षीय भारत भ्रमण हो । देशभित्र दुई तिहाइ जनमतको राजनीतिक आधार छ । नयाँ नेतृत्वबाट नयाँ परिणामको अपेक्षा छ । अर्कोतर्फ, भारतसँगको सम्बन्धमा समाधान हुन बाँकी धेरै विषय छन् । त्यसैले यो भ्रमण केवल प्रधानमन्त्रीको विदेश यात्रा होइन, उनको नेतृत्वशैली, कूटनीतिक दृष्टिकोण र राष्ट्रिय स्वार्थको प्राथमिकता परीक्षण हुने अवसर हो । यो उनको कूटनीतिक अग्निपरीक्षाका रूपमा पनि हेरिएको छ । यो भ्रमणको सफलता कति भव्य स्वागत भयो, कति उच्चस्तरीय भेटघाट भए वा कति आकर्षक तस्बिर सार्वजनिक भए भन्ने कुराले निर्धारण नगरोस् । बालेनको स्वभाव पनि यस्ता कुरामा रमाउने छैन । नेपालले के उपलब्धि हासिल गर्‍यो, कुन विषयमा आफ्नो अडान स्थापित गर्‍यो, कुन पुरानो समस्या समाधानतर्फ अघि बढ्यो र ती सहमति कार्यान्वयनका लागि कस्तो आधार तयार भयो भन्ने कुराले उनको भ्रमणको उपलव्धि निर्धारण गरोस् । र, यो भ्रमण तत्कालीन उपलब्धीसँगै आगामी दशकमा नेपाल-भारत सम्बन्ध कुन दिशामा अघि बढ्छ भन्ने संकेतका रूपमा पनि प्रतीक्षित मानिएको छ ।

नेपालगञ्जमा ‘फेसबुके मेयर’को लर्को

न पृष्ठभूमि, न अनुभव, न योजना, न सपना, न सार्वजनिक परीक्षण । नेपालगञ्जमा यतिबेला एउटा अनौठो जात्रा चलिरहेको छ । फेसबुकका भित्ताहरूमा मेयरका उम्मेदवारहरूको लर्को छ । कसैले आफै त कसैले आफ्नाहरूमार्फत् मेयरको उम्मेदवार करार गरिरहेका छन् ।  डिजिटल दुनियाँमा आइरहेका अधिकांशका दावी फोटाहरू कृत्रिम बौद्धिकता (एआई) निर्मित छन् । प्रविधि सस्तो हुँदा प्रचार सस्तो भएको छ र मेयर बन्नेहरूको आकांक्षा झनै सस्तो बनेको छ । लोकतन्त्रमा मेयरको आकांक्षा राख्नेहरूको जुलुस लाग्नु अन्यथा होइन, सुन्दर पक्ष हो । तर आकांक्षीहरूको योगदान, अनुभव, उद्देश्य, योजना, पृष्ठभूमि र मतदाताहरू माझको पहिचान मूल कुरा हो । सहरका भित्ता वा सोसल प्लेटफर्मका पेजमा ब्यानर देखिनु सार्वजनिक जानकारी दिनु होइन । नाम र तस्बिर देखिनु सार्वजनिक परीक्षणमा उत्रनु होइन । उम्मेदवारीको चर्चा चल्नु र नागरिकसँग उनीहरूका समस्या र चाहना बारे घुलमिल हुनु अनि सहरको दूर दिशाको खाकाबारे छलफल हुनु नितान्त भिन्न कुरा हुन् । हुनु पर्ने के हो त ? भित्ते उम्मेदवार कि नागरिक संवाद ?  मेरो नेपालगञ्ज आवतजावत पछिल्लो समय केही कम भएको छ । तै पनि नेपालगञ्जका सवालहरूमा चासो हुन्छ । काठमाडौंमा पनि नेपालगञ्जियाहरू भेट हुँदा चर्चा हुन्छ । यसपालि नेपालगञ्जमा दशैं मनाउन आउँदा मैले आउने स्थानीय चुनावका लागि मेयरका आकांक्षीहरू, प्रमुख दलका सम्भावित अनुहारहरू र उनीहरूको सार्वजनिक छवि र नेपालगञ्जलाई दिशा दिनसक्ने सामर्थ्यबारे धेरै जनासँग कुरा गरेँ ।  झण्डै २५ जना मेयरका आकांक्षी मैदानमा देखिँदा पनि ‘वाह फलानो चाहिँ गज्जब गर्न सक्ने हो है’ भन्ने एकजना पनि नभएको अधिकांशको टिप्पणी सुन्दा दिक्क लाग्यो । उदेकलाग्दो कुरा त नयाँ भनिएका वा पुराना हुन्, प्रमुख दलमा पनि नेपालगञ्जलाई योजनावद्ध दिशा दिन सक्ने अनुहार सुनिएन । यो आलेखको ध्येय कुनै पनि व्यक्तिलाई योग्य वा अयोग्यको जामा भिराउनु होइन । तर, सक्षम र सही व्यक्ति छानिनका लागि चिन्तन र चर्चा होस् भन्नका लागि अवश्य हो । आलेखमार्फत् एउटा प्रश्न उठाउनका लागि हो, सार्वजनिक पदको आकांक्षा राख्ने व्यक्तिको सार्वजनिक परिचय र योजना नागरिकसमक्ष स्पष्ट हुनुपर्दैन ? सहरका भित्ता वा सोसल प्लेटफर्मका पेजमा ब्यानर देखिनु सार्वजनिक जानकारी दिनु होइन । नाम र तस्बिर देखिनु सार्वजनिक परीक्षणमा उत्रनु होइन । उम्मेदवारीको चर्चा चल्नु र नागरिकसँग उनीहरूका समस्या र चाहना बारे घुलमिल हुनु अनि सहरको दूर दिशाको खाकाबारे छलफल हुनु नितान्त भिन्न कुरा हुन् । हुनु पर्ने के हो त ? भित्ते उम्मेदवार कि नागरिक संवाद ?  सहरलाई आर्थिक रूपमा सबल बनाउने, रोजगारी सिर्जना गर्ने, पर्यटन र व्यापारको सम्भावना विस्तार गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र भविष्यको जनसंख्या तथा वातावरणीय चुनौतीलाई सम्बोधन गर्ने योजना पनि चाहिन्छ । नेपालगञ्जको हकमा यस्ता दीर्घकालीन दृष्टिकोणमाथि गम्भीर बहस आवश्यक छ ।  मेयरको पद व्यक्तिगत महत्त्वाकांक्षा प्रदर्शन गर्ने मञ्च मात्रै हो त ? यो लाखौं नागरिकको दैनिक जीवन, सार्वजनिक बजेट र सहरको भविष्यसँग जोडिएको जिम्मेवारी पनि होइन र ? मेयर बन्न चाहनेहरूसँग नेपालगञ्जलाई कस्तो बनाउने र कसरी बनाउने भन्ने सवालको विश्वसनीय जवाफ छ कि छैन ?  कुनै व्यक्तिले मेयर बन्ने इच्छा राख्नु लोकतान्त्रिक अधिकार हो । त्यसमा आपत्ति गर्नुपर्ने कारण छैन । समस्या त्यतिबेला सुरु हुन्छ, जब पदको आकांक्षा सार्वजनिक गर्ने काम नै उम्मेदवारीको सम्पूर्ण परिचय बन्छ । न नगरको योजना, न विकासको स्पष्ट दृष्टिकोण, न विगतको कामको हिसाब, न टिमको परिचय । केवल तस्बिर, ब्यानर र सामाजिक सञ्जालका पोस्ट । यस्तो प्रवृत्तिलाई उम्मेदवारीको प्रतिस्पर्धा भन्ने कि मेयर पदको ‘डिजिटल लिलामी’ ?  नेपालगञ्ज नेपालको पुराना र चर्चित सहरमध्ये एक हो । पश्चिम नेपालको व्यापारिक केन्द्र, नेपाल–भारत सीमासँग जोडिएको महत्त्वपूर्ण बजार र धार्मिक तथा सांस्कृतिक विविधताको साझा थलो हो । मध्यपश्चिमका पहाडी जिल्लादेखि तराईसम्मका मानिसको आर्थिक, शैक्षिक र सामाजिक जीवनसँग यसको गहिरो सम्बन्ध छ ।  नेपालगञ्ज नगर पञ्चायतको स्थापना विसं २०१७ मा भएको हो । पछि यसको नाम नेपालगञ्ज नगरपालिका रह्यो । बहुदलीय व्यवस्था पुनःस्थापित भएपछि २०४९ सालमा विजयकुमार गुप्ता नगरप्रमुख निर्वाचित भए । उनले चक्रपथलगायतका दीर्घकालीन योजनाको अवधारणा अघि सारेका थिए । हालको न्यूरोड उनकै योजना थियो । त्यसपछि २०५४ सालमा धवलशमशेर राणा नगरप्रमुख निर्वाचित भए । उनी २०७४ सालमा फेरि नगरप्रमुख बने र २०७९ सम्म कार्यकाल सम्हाले ।  विकासे मेयरको उपाधि पाएका धवलले वाटरपार्क निर्माणबाहेक मौलिक र उनलाई मात्र जस जाने केही पनि गर्न सकेनन् । परियोजनाहरूले चिल्लो घसेका सडक र ढलको जस उनीलाई दिनु अनुचित हुन्छ । उनी आउनु अघिदेखि चालू रहेका परियोजनाका काममा नगरको योगदान नभएपछि जसको पगरी उनलाई लाउन मिलेन । यसबीच बसपार्क सुधार, रानी तलाउ सुधार जस्ता काम भए होलान् । तर, यी कामको चर्चाभन्दा महत्त्वपूर्ण सवाल के हुन् भने उनले सहरलाई कुन दिशातर्फ लगे ? त्यसका लागि सार्वजनिक संवाद र विज्ञहरूको बुद्धि प्रयोग गरी दीर्घसोचको कुनै दस्तावेज तयार गरी त्यस अनुसार काम गरे कि जे सुर लाग्यो त्यही गरे ? नेपालगञ्जको आगामी अनुहार कस्तो हुन्छ ? आगामी पहिचान के हुन्छ ?  त्यसैले अब आउने मेयरसँग कम्तिमै यी प्रश्नको उत्तर हुनुपर्छ । मेयर हुन चाहनेहरूसँग पनि हुनुपर्छ । यसका साथै सहरलाई आर्थिक रूपमा सबल बनाउने, रोजगारी सिर्जना गर्ने, पर्यटन र व्यापारको सम्भावना विस्तार गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र भविष्यको जनसंख्या तथा वातावरणीय चुनौतीलाई सम्बोधन गर्ने योजना पनि चाहिन्छ । नेपालगञ्जको हकमा यस्ता दीर्घकालीन दृष्टिकोणमाथि गम्भीर बहस आवश्यक छ ।  धवलशमशेर राणाका दुवै कार्यकालबारे मूल्याङ्कन गर्दा उनको जुन राष्ट्रिय पहिचान र पारिवारिक रवाफ थियो त्यसबाट नेपालगञ्जलाई उनले कुनै ठूलो र दीर्घ लाभ दिन नसकेको साँचो हो । नेपालगञ्जको सार्वजनिक बहसमा हाइमास्ट बत्ती, सडक र पार्कजस्ता देखिने संरचनाले बढी स्थान पाएका छन् । ती कामको आफ्नै महत्त्व छ । तर एउटा सहरको विकासलाई बत्तीको उचाइ र सडकको लम्बाइले मात्र नाप्न मिल्दैन । नेपालगञ्जलाई आगामी २० वर्षमा कस्तो सहर बनाउने ? यसको व्यापारिक सम्भावनालाई कसरी उपयोग गर्ने ? सीमावर्ती अर्थतन्त्रबाट स्थानीय व्यवसायी र नागरिकले कसरी बढी लाभ लिने ? युवाले आफ्नै सहरमा रोजगारी पाउने वातावरण कसरी बनाउने ? गर्मी, धुलो, फोहोर, अव्यवस्थित सहरीकरण र सार्वजनिक स्थानको अभावलाई कसरी सम्बोधन गर्ने ? यी प्रश्नको जवाफ दिने सहरको साझा गुरुयोजना कहाँ छ ? बनेको छ भने त्यसको कार्यान्वयन कति भयो ? नागरिकले त्यसबारे कति जानकारी पाएका छन् ? नागरिकको अपनत्व छ कि छैन ? पछिल्ला मेयरहरूको वास्तविक परीक्षा यस्तै प्रश्नबाट हुनुपर्छ । धवलशमशेरपछि २०७९ सालमा प्रशान्त विष्ट नगरप्रमुख निर्वाचित भए । उनले सुरू गरेको हनुमानको विशाल मूर्तिको निर्माणबाहेक अरू नगरबासीले याद गर्ने उनका काम खासै देखिएनन् । सहरको दीर्घकालीन विकास रणनीतिका साथ उनले पनि काम गर्न सकेनन् भन्ने गुनासो जायज छ ।  सहरले निजी लगानीलाई कसरी व्यवस्थित गर्ने ? त्यसबाट सिर्जित आर्थिक लाभ स्थानीय नागरिकसम्म कसरी पु‍र्याउने ? सहरको पहिचानलाई केवल बजार र मनोरञ्जनमा सीमित नगरी थप विविध कसरी बनाउने  ? नगर नेतृत्वले उत्तर दिनुपर्ने प्रश्न यिनै हुन् ।  किनभने सहरको सामान्य रूप परिवर्तन भैरहनु र सहरले आफ्नो भविष्यको दिशा पहिल्याउनु फरक कुरा हुन् । कहिलेकाहीँ समयको बहाव, प्रविधि, नागरिकको दबाब, निजी क्षेत्रको लगानी र सामाजिक परिवर्तनले पनि सहरको स्वरूप बदल्छ । त्यसको सम्पूर्ण श्रेय नगर नेतृत्वलाई दिन मिल्दैन । नेपालगञ्जको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । व्यापार, होटल, स्वास्थ्य, शिक्षा, यातायात र अन्य सेवामूलक व्यवसायले सहरलाई चलायमान बनाएका छन् । स्थानीय उद्यमीले जोखिम लिएर लगानी गरेका छन् । उनीहरूले रोजगारी सिर्जना गरेका छन् र नेपालगन्जलाई क्षेत्रीय बजारका रूपमा टिकाइराख्न योगदान दिएका छन् । तर निजी क्षेत्रको आर्थिक सक्रियता र सहरको सार्वजनिक पहिचान एउटै कुरा होइनन् ।  नेपालगञ्जलाई व्यापारिक केन्द्रका रूपमा चिनिन्छ । तर के यसलाई व्यवस्थित स्वास्थ्य सेवा, धार्मिक तथा सांस्कृतिक पर्यटन, सीमावर्ती व्यापार, स्थानीय खाद्य संस्कृति वा क्षेत्रीय हबका रूपमा थप स्थापित गर्न सकिँदैन ? के यहाँको मौलिकता, इतिहास र सांस्कृतिक विविधतालाई आर्थिक अवसरसँग जोड्न सकिँदैन ? धवलशमशेर राणाको सपनाअनुसार जुन पङ्तिकारसँगको कुराकानीमा उनले नेपालगञ्जको पहिचान बनाउने बताएका थिए, नेपालगञ्जमा स्पा, क्यासिनो र मनोरञ्जनसम्बन्धी व्यवसाय पनि देखिन्छन् । यस्ता व्यवसायको अस्तित्व मात्रले सहरले लाभ पाएको प्रमाणित गर्दैन । तिनको रोजगारी, स्थानीय खरिद, कर योगदान, नियमन र सामाजिक प्रभावबारे तथ्य आवश्यक हुन्छ । सहरले निजी लगानीलाई कसरी व्यवस्थित गर्ने ? त्यसबाट सिर्जित आर्थिक लाभ स्थानीय नागरिकसम्म कसरी पु‍र्याउने ? सहरको पहिचानलाई केवल बजार र मनोरञ्जनमा सीमित नगरी थप विविध कसरी बनाउने  ? नगर नेतृत्वले उत्तर दिनुपर्ने प्रश्न यिनै हुन् ।  सामाजिक सञ्जालमा मेयर पदका दाबेदार सार्वजनिक हुने क्रम बढ्नुलाई लोकतान्त्रिक सहभागिताको एउटा सुन्दर स्वरूप मान्न सकिन्छ । नयाँ पुस्ता, स्वतन्त्र नागरिक र फरक पृष्ठभूमिका व्यक्तिले नेतृत्वको आकांक्षा राख्नु स्वाभाविक हो । तर उम्मेदवारीको घोषणा र सार्वजनिक नेतृत्वको तयारी फरक विषय हुन् । कसैले मेयर बन्न चाहन्छ भने नागरिकले उसका बारेमा जान्न पाउनुपर्छ । उसले विगतमा के काम ग‍र्यो ? सार्वजनिक स्रोत वा संस्थाको जिम्मेवारी सम्हालेको अनुभव छ ? सहरका समस्याबारे उसको बुझाइ के छ ? उसले अघि सार्ने योजना कति व्यावहारिक छन् ? त्यसको लागत र स्रोत कहाँबाट जुटाउने ? कार्यान्वयनका लागि कस्तो टिम बनाउने ? नागरिकसँग जवाफदेही रहने प्रणाली के हुनेछ ? यी प्रश्न कुनै व्यक्तिको शैक्षिक प्रमाणपत्र वा राजनीतिक पृष्ठभूमिमा मात्र सीमित छैनन् । औपचारिक शिक्षा कम भएको व्यक्तिले पनि उत्कृष्ट नेतृत्व दिन सक्छ । नयाँ व्यक्तिले पनि पुरानोभन्दा फरक दृष्टिकोण ल्याउन सक्छ । राजनीतिक दलसँग आबद्ध हुनु वा स्वतन्त्र रहनु आफैमा योग्यताको प्रमाण होइन । मुख्य कुरा हो, सार्वजनिक जिम्मेवारीका लागि तयारी, स्पष्ट दृष्टिकोण, काम गर्ने क्षमता र नागरिकप्रतिको जवाफदेहिता ।  एआईबाट आकर्षक तस्बिर बनाउन सकिन्छ । केही मिनेटमै ब्यानर तयार गर्न सकिन्छ । फेसबुकमार्फत् हजारौं मानिससम्म पुग्न पनि सकिन्छ । तर प्रविधिले नगरको फोहोर व्यवस्थापन गर्दैन, बजेटको प्राथमिकता आफै निर्धारण गर्दैन र बेरोजगार युवाका लागि रोजगारीको अवसर सिर्जना गर्दैन । त्यसका लागि योजना, स्रोत, संस्था र निरन्तर काम चाहिन्छ ।  उम्मेदवारको संख्या बढ्छ तर सार्वजनिक बहसको गुणस्तर बढ्दैन भने चिन्ताको विषय हो । योजना नभएका, सार्वजनिक प्रश्नको जवाफ दिन तयार भै नसकेका र आफ्नो प्रस्तावको व्यावहारिकता देखाउन नसक्ने उम्मेदवारीले चुनावी प्रतिस्पर्धालाई केवल प्रचारको भिडमा बदल्न सक्छ । त्यसले नागरिकलाई विकल्पको वास्तविक अन्तर बुझ्न कठिन बनाउँछ । मेयर फेरिन सक्छन्, राजनीतिक दल फेरिन सक्छन् र चुनावी नारासमेत फेरिन सक्छन् । तर सहरको विकासको दिशा हरेक पाँच वर्षमा शून्यबाट सुरु हुनु हुँदैन । नेपालगञ्जको अबको चुनावी बहसमा कसले कति आकर्षक तस्बिर बनायो भन्ने होइन, कसले कस्तो सहर बनाउने योजना ल्यायो भन्ने प्रश्न अगाडि आउनुपर्छ । निर्वाचन आफैमा खर्चिलो हुन्छ । यो जनताको कर र विकास बजेट काटेर व्यवस्थापन हुन्छ । मतपत्र छापिन्छन्, कर्मचारी परिचालन हुन्छन् र सुरक्षा तथा व्यवस्थापनमा राज्यको स्रोत उपयोग हुन्छ । त्यसैले उम्मेदवारीको स्वतन्त्र अधिकारसँगै सार्वजनिक जिम्मेवारीको चेतना पनि आवश्यक छ । यसको अर्थ कसैले उम्मेदवार बन्नुअघि कुनै निकायबाट अनुमति लिनुपर्छ भन्ने होइन । अर्थ यति हो कि उम्मेदवार आफैले नागरिकसमक्ष आफ्नो योग्यता, योजना र प्रतिबद्धता प्रस्तुत गर्न तयार हुनुपर्छ । नत्र मतपत्रको आकार र खर्चको आकार मात्रै बढ्छ । नगरप्रमुख बन्ने आकांक्षा राख्ने सबैले कम्तीमा एउटा सार्वजनिक दस्तावेज ल्याउन् । जसमा पाँच वर्षमा गर्ने मुख्य काम, प्राथमिकता, लागतको अनुमान, स्रोत, समयसीमा र नतिजा मापन गर्ने आधार स्पष्ट होस् । सामाजिक सञ्जालमा पोस्ट गर्नुअघि वा त्यससँगै नगरको वास्तविक समस्या र समाधानबारे छलफल सुरु गरून् ।  नागरिकले पनि केवल तस्बिर, पार्टी, जातीय वा व्यक्तिगत सम्बन्धका आधारमा होइन, सार्वजनिक प्रतिबद्धता र विगतको कामका आधारमा प्रश्न वा धारणा राखून् । नगरको फोहोर व्यवस्थापन, ढल निकास, सार्वजनिक यातायात, पैदलयात्रीको सुरक्षा, हरियाली, गर्मीको प्रभाव, व्यवस्थित बजार, युवाको रोजगारी र सीमावर्ती व्यापारको सम्भावनालाई एउटै सहरी विकास योजनामा समेट्न पहल लिउन् ।  हो, नेपालगञ्जको पहिचान के हो र भविष्यमा के बनाउने ? यो प्रश्नको उत्तर कुनै एक मेयरले एक्लै दिन सक्दैन । नागरिक, निजी क्षेत्र, विज्ञ, नागरिक समाज र स्थानीय सरकारबीच छलफल हुनुपर्छ । तर त्यस छलफललाई दिशा दिने र निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी नगर नेतृत्वकै हो । मेयर फेरिन सक्छन्, राजनीतिक दल फेरिन सक्छन् र चुनावी नारासमेत फेरिन सक्छन् । तर सहरको विकासको दिशा हरेक पाँच वर्षमा शून्यबाट सुरु हुनु हुँदैन । नेपालगञ्जको अबको चुनावी बहसमा कसले कति आकर्षक तस्बिर बनायो भन्ने होइन, कसले कस्तो सहर बनाउने योजना ल्यायो भन्ने प्रश्न अगाडि आउनुपर्छ । फेसबुकमा मेयरको दाबेदारी सार्वजनिक गर्न सबै स्वतन्त्र छन् । तर, नेपालगञ्जलाई मेयरको डिजिटल लिलामी होइन, सहरको भविष्यबारे खुला बहस सुरू गर्दा राम्रो होला । बहसमा आफ्नो योजना र विचार मार्फत् जसले नगरवासीको मन जित्छ उसैले हाँक्ला नगरको बागडोर । फेसबुकमा मेयर चाल्न खोज्ने नेपालगञ्जका बौद्धिक र अगुवा ठान्नेहरूले यतातिर सोच्नु उचित होला कि !

बदलिँदो थेगो र ट्रेन्ड : हिजो मानिस भरिया, आज प्रविधि

तपाईंलाई बाल्यकालका फेशन र बोलीका लवजबारेमा कत्तिको सम्झना छ ?  धेरै पनि होइन, तपाईं ५० को दशकअघिको मात्र हुनुहुन्छ भने पनि बेलीवटम र प्यारेलाल पेन्ट, १० नम्बर लेखेको जालीदार गन्जी र हाफ कट्टु, जुटको रंगीबिरंगी जालीरुमाल, बेल्टमा साइकलको फ्रेबिल, सर्टमा कपडाका स्टिकरजस्ता फेशनसँग पक्कै पनि परिचित हुनुहुन्छ ।  अनि तपाईंतिरका गाउँमा तुसारो पर्यो, आगै बाल्योजस्ता थेगो पनि पक्कै मुखमा झुण्डिए होलान् । अनि ‘एचए याम्ब्रा बीएआबा’ (हाम्रा बा) टाइपको नेपाङ्ग्रेजी भाषा पनि बोल्नु भयो कि नाई ? कहिले अगाडि त कहिले पछाडि झ्याप्ले कपाल पाल्ने फेशन त झन् बिर्सने कुरै भएन ।  अहिले जस्तो रंगीन टेलिभिजन आममानिसको पहुँचमा थिएन । सोसल प्लेटफर्म त कल्पनाको कुरा भयो । इन्टरनेट पनि थिएन । त्यसबेला यस्तो फेशन र थेगो संसारका गाउँगाउँसम्म पुग्न कति दिन, महिना वा वर्ष लाग्थ्यो होला ? कति मानिस यस्तो थेगो र फेशनका भरिया हुन्थे होलान् ? कल्पना गर्दा पनि आश्चर्यजस्तो लाग्छ । हिजो मानिसहरू किनमेल गर्न वा चाडबाड मनाउन टाढा–टाढाबाट एउटै केन्द्रमा जम्मा हुन्थे । त्यहाँ व्यापारका क्रममा साटासाट हुने नयाँ शब्द वा थेगोहरू मानिसहरूले आफ्नो गाउँघरमा लिएर फर्कन्थे । गाउँका चौतारी वा बैठकहरूमा हुने गफगाफबाट नयाँ शब्द वा थेगोहरू स्थानीय रूपमा लोकप्रिय हुन्थे । गाइनेजस्ता घुमन्ते गायक र सडक नाटक देखाउने टोलीहरू एउटा गाउँबाट अर्को गाउँ पुग्थे ।  त्यसबेला अधिकांश मानिसहरू जीविकोपार्जनका लागि वा यात्रा गर्दा नाम्लो र डोकोमा भारी बोक्थे । आजमानिसको काँध वा खल्तीमा स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, स्मार्टवाच जस्ता प्रविधिको भारी छ ।  आजभोलि प्रविधि आफैमा एउटा ठूलो फेशन स्टेटमेन्ट बनेको छ । कानमा ‘एयरपड्स’ झुन्ड्याउनु, हातमा ‘स्मार्टवाच’ बाँध्नु वा खल्तीमा महँगो आइफोन बोक्नु आधुनिक फेशनको अनिवार्य हिस्साजस्तो बनिसकेको छ ।  प्रविधिको प्रभावले कपडाको फेशन पनि बदलेको छ । अचेल खुकुलो पेन्ट, ज्याकेट र धेरै खल्ती भएका ‘कार्गो !’ कपडाहरू ट्रेन्डिङमा छन् । यसको एउटा मुख्य कारण मोबाइल, पावरबैंक, तार जस्ता धेरै ग्याजेटहरू बोक्न सजिलो होस् भन्ने पनि हो ।  कतिपय फेसन ब्रान्डहरूले ठूला–ठूला ब्याकप्याक वा कम्मरमा बाँध्ने ब्यागहरूलाई यसरी डिजाइन गरिरहेका छन्, जसले विगतका भरिया वा यात्रीहरूको झल्को दिन्छ ।  तर, अहिले त्यसमा अत्यावश्यक सामलतुमल होइन, आधुनिक ग्याजेटहरू कोचिएका हुन्छन् । यसलाई अर्को अर्थमा भन्दा पहिले जुन शारीरिक श्रम मानिसले भारी बोकेर गर्थे, अहिले त्यो भारी एआई, मेसिन, रोबोटिक्स र सफ्टवेयर जस्तो प्रविधिले बोकिदिएको छ । मानिसहरू शारीरिक रूपमा हलुका भएका छन् र प्रविधिलाई आफ्नो ‘भरिया’ बनाएका छन् । हिजो मानिसहरू किनमेल गर्न वा चाडबाड मनाउन टाढा–टाढाबाट एउटै केन्द्रमा जम्मा हुन्थे । त्यहाँ व्यापारका क्रममा साटासाट हुने नयाँ शब्द वा थेगोहरू मानिसहरूले आफ्नो गाउँघरमा लिएर फर्कन्थे । गाउँका चौतारी वा बैठकहरूमा हुने गफगाफबाट नयाँ शब्द वा थेगोहरू स्थानीय रूपमा लोकप्रिय हुन्थे । गाइनेजस्ता घुमन्ते गायक र सडक नाटक देखाउने टोलीहरू एउटा गाउँबाट अर्को गाउँ पुग्थे ।  अहिले पो मानिसको हातमा स्मार्टफोन छ, जसले संसारभरिको ज्ञान, सञ्चार र प्रविधिलाई बोकेको छ । अनि फेशन, लवज, थेगो सबै यसैको बुइ चढेर संसारभर एक निमेषमा पुग्न थालेका छन् । मानिसले सम्झनुपर्ने काम ‘रिमाइन्डर’ ले बोक्छ, हिसाब–किताब ‘क्यालकुलेटर’ले बोक्छ, र सिर्जनशीलताका पाटाहरू कृत्रिम बौद्धिकता (एआई) ले बोक्न थालेको छ ।  उनीहरूले प्रयोग गर्ने रोमान्चक संवाद वा गीतका टुक्काहरू मानिसहरूको जिब्रोमा थेगो बनेर झुण्डिन्थे । गोठ सार्दा, मेलापात जाँदा वा सामान ओसारपसार गर्दा मानिसहरूबीच हुने अन्तरक्रियाले नयाँ पहिरनको शैली र बोलीचाली विस्तार गर्थ्यो । धार्मिक स्थलहरूको भ्रमण गर्ने तीर्थयात्री वा गाउँ–गाउँ घुम्ने जोगीहरूले टाढाको भूगोलको माला, कपडाको रङ वा शैली जस्ता फेशन र नयाँ शब्दहरू गाउँमा भित्र्याउँथे ।  युद्ध वा लाहुरबाट फर्केका सिपाहीहरूले विदेशी कपडा, जुत्ता, घडी र नयाँ ‘लवज’ लिएर आउँथे । उनीहरूलाई देखेर गाउँका अन्य मानिसहरूले पनि त्यस्तै शैली पछ्याउन थाल्थे। पछि विस्तारै रेडियोको सुरुवात भयो । रेडियो नाटक वा समाचार प्रस्तोताको बोल्ने शैली र थेगोहरू घर–घरमा पुग्न थाले । पत्रपत्रिका आए पछि त्यसमा छापिने तस्बिरहरू हेरेर मानिसहरूले नयाँ फेशनको बारेमा थाहा पाउँथे ।  सिनेमा हल फैलिन थालेपछि सहरमा भित्रिएका हिन्दी वा नेपाली चलचित्रका नायक–नायिकाहरूको लुगा लगाउने तरिका र उनीहरूले बोलेका चर्चित संवादहरू युवापुस्ताले तुरुन्तै ‘कपी’ गर्थे । पढ्न वा काम गर्न गाउँबाट शहर गएका मानिसहरू फर्किँदा नयाँ फेशनका कपडामा ठाँटिएर फर्कन्थे । गाउँका लुगा सिउने दर्जीहरूले सहरमा कस्तो फेशन चलेको छ भनेर बुझ्न सहरका पसलहरू चहार्ने वा पत्रिकाका स्केचहरू हेर्ने गर्थे । उनीहरूले पनि गाउँमा नयाँ डिजाइनका कपडाहरू भित्र्याई दिन्थे ।  मान्छेले सुविधा थप्दै जाँदा आफ्नो सिर्जना र मौलिक अस्तित्व घटाउँदै लगेजस्तो आभास हुन थालेको छ । समय, समाज अनि मानिसको रहनसहन बदलिएको छ । सँगसँगै फेसन, बोलीचाली र अभिव्यक्तिको शैली पनि बदलिएको छ । यसरी पहिलेको फेशन र थेगो ‘मान्छेबाट मान्छेमा’ र प्रत्यक्ष आँखाको देखभेटबाट बिस्तारै फैलने गथ्र्यो, जसमा समय पनि लामै लाग्थ्यो र धेरै लामो समयसम्म टिकिरहन्थ्यो पनि । अचेलको फेशन क्लिक वा स्क्रोलका भरमा फैलिन्छ अनि उसै गरी बिजुली गतिमा हराउन थालेको छ । त्यो समय मानिसहरू भारी बोक्थे, डोको–नाम्लो बोक्थे र एक ठाउँबाट अर्को ठाउँमा सन्देश पुर्‍याउन आफै हिँडेर जान्थे । गाडी पनि सबै ठाउँमा पुगेको थिएन । जहाज त झन् निकै कम मानिसको गच्छेमा थियो । मानिसको काँध र मस्तिष्कले जिम्मेवारीको दोहोरो भारी बोक्नुपर्थ्यो । भाषा, लवज, थेगो, फेशन, मानिससँगै यात्रा गर्थ्यो । अहिले पो मानिसको हातमा स्मार्टफोन छ, जसले संसारभरिको ज्ञान, सञ्चार र प्रविधिलाई बोकेको छ । अनि फेशन, लवज, थेगो सबै यसैको बुइ चढेर संसारभर एक निमेषमा पुग्न थालेका छन् । मानिसले सम्झनुपर्ने काम ‘रिमाइन्डर’ ले बोक्छ, हिसाब–किताब ‘क्यालकुलेटर’ले बोक्छ, र सिर्जनशीलताका पाटाहरू कृत्रिम बौद्धिकता (एआई) ले बोक्न थालेको छ ।  मान्छेले सुविधा थप्दै जाँदा आफ्नो सिर्जना र मौलिक अस्तित्व घटाउँदै लगेजस्तो आभास हुन थालेको छ । समय, समाज अनि मानिसको रहनसहन बदलिएको छ । सँगसँगै फेसन, बोलीचाली र अभिव्यक्तिको शैली पनि बदलिएको छ ।   त्यो समय, जब गाउँघरमा कसैले नयाँ फेसनको लुगा लगायो, नयाँ शैलीको कपाल काट्यो वा बोलीमा कुनै नयाँ टुक्का प्रयोग गर्‍यो भने त्यो कुरा विस्तारै चर्चाको विषय बन्थ्यो । मेलापात, हाटबजार, चियापसल, विवाह, भोजभतेर र यात्राका क्रममा मानिसले त्यस्ता कुरा एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउँथे । एउटा गाउँमा चलेको थेगो अर्को गाउँ पुग्थ्यो, एउटा सहरको फेसन अर्को सहरमा नक्कल गरिन्थ्यो। मानिस नै सूचना, शैली र संस्कृतिका जीवित वाहक थिए । कसैले एउटा रमाइलो वाक्य बोल्यो भने अर्कोले टिपिहाल्थ्यो । कसैले नयाँ टुक्का निकाल्यो भने साथीभाइको जमघटमा त्यसले ठाउँ पाइहाल्थ्यो । समय बित्दै जाँदा त्यही टुक्का गाउँको पहिचान बन्थ्यो, कहिलेकाहीँ पुस्तौंसम्म चल्यो । त्यसबेला न इन्टरनेट थियो, न फेसबुक, न टिकटक । पहिले मानिसको मुखबाट थेगो फैलिन्थ्यो, अहिले मोबाइलको स्क्रिनबाट ‘ट्रेन्ड’ फैलिन्छ । कसैले रमाइलो संवाद बोल्छ, कसैले छोटो भिडियो बनाउँछ, कसैले नयाँ नाँच देखाउँछ । केही समयमै त्यही सामग्री हजारौं, लाखौं मानिससम्म पुग्न सक्छ । एउटा ठाउँमा जन्मिएको शब्द वा शैली भौगोलिक सीमाभन्दा धेरै टाढा पुग्छ । ‘भाइरल’ वा ‘ट्रेन्डिङ’ हुन्छ । सामाजिक सञ्जालले स्थानीय अभिव्यक्तिलाई विश्वव्यापी चर्चामा पुर्‍याउँछ ।  पहिले कसैले नयाँ थेगो सिक्न अर्को गाउँ जानुपर्थ्यो, अहिले एउटा रिल हेरे पुग्छ । पहिले फेसनको नक्कल गर्न कसैको पहिरन देख्नुपर्थ्यो, अहिले स्क्रिनमा स्वाइप गरे पुग्छ । पहिले रमाइलो तुक्का साथीभाइको मुखबाट फैलिन्थ्यो, अहिले त्यही टुक्का मिम, भिडियो र ह्यासट्याग बनेर फैलिन्छ । हिजो मानिसले बोकेर पुर्‍याउने चल्तीका शब्द अहिले ‘ट्रेन्डिङ’ कहलिन्छन् । पहिले चर्चामा आएको फेसनलाई अहिले ‘भाइरल’ भनिन्छ । पहिले सबैले दोहोर्‍याउने टुक्कालाई अहिले ‘क्याचफ्रेज’ले बुुझिन्छ । पहिले साथीभाइबीच चल्ने ठट्टा अहिले ‘मिम कल्चर’ भनेर चिनिन्छ ।  यस परिवर्तनले हाम्रो भाषा र संस्कृतिमा नयाँ सम्भावना पनि ल्याएको छ । नेपाली थेगो, स्थानीय बोली, लोकगीत, हाँस्यव्यङ्ग्य र मौलिक अभिव्यक्तिले डिजिटल माध्यमबाट व्यापक दर्शक पाउन सक्छन् । तर अर्कोतर्फ क्षणिक चर्चाको पछि लाग्दा भाषाको मौलिकता हराउने, अरूको नक्कल बढ्ने र अर्थ नबुझी विदेशी शब्द प्रयोग गर्ने प्रवृत्ति पनि देखिन थालेको छ । ख्याल गर्नुपर्ने कुरा के हो भने प्रविधिको लय समातेर दौडिँदै गर्दा आफ्नो भाषा, संस्कृति, मौकिलता र विचार जोगाउने सीप र सजगता पनि सँगसँगै हिँडाउनु जरुरी छ । खासमा पहिलेको समाजमा मानिस नै हिँड्ने ‘सञ्चारमाध्यम’ थिए । आज प्रविधिले मानिसको आवाज, विचार, फेसन र थेगोलाई तीव्र गतिमा संसारभर पुर्‍याउँछ । माध्यम बदलिएको छ, गति बदलिएको छ, तर एउटा कुरा बदलिएको छैन, मानिसले नयाँ कुरा सिर्जना गर्छ, अरूले त्यसलाई अपनाउँछन् र समाजले त्यसलाई चलन बनाउँछ । भलै अचेल त्यस्तो चलन निकै क्षणिक हुन थालेको छ ।  फ्रान्सेली दार्शनिक रोलाँ बार्थले आफ्नो पुस्तक ‘द ल्याङ्ग्वेज अफ फेशन’ मा फेशन र भाषाको सम्बन्धबारे ठूलो विश्लेषण गरेका छन् । उनको अनुसन्धानअनुसार जसरी कपडाका रङ, कटाई र डिजाइनले मानिसको वर्ग वा विचार झल्काउँछ, ठ्याक्कै त्यसैगरी समाजमा चल्ने थेगो वा ‘स्ल्याङ’ले पनि मानिस कुन समूह वा उपसंस्कृतिको हो भन्ने कुराको सङ्केत गर्छ । अध्ययनहरूका अनुसार, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले गर्दा कपडाको फेशनजत्तिको तीव्र गतिमा परिवर्तन हुन्छ, ‘थेगो’ वा ‘भाइरल भनाइ’ हरू पनि त्यत्तिको नै छिटो बदलिन थालेका छन् ।  हिजोका दिनमा एउटा थेगो स्थापित हुन वर्षौं लाग्थ्यो भने आज सामाजिक सञ्जालका कारण केही हप्तामै नयाँ थेगो युवापुस्ताको फेशन बन्न पुग्छ । समाजशास्त्री जर्ज हर्बर्ट मिडको सिम्बोलिक इन्टरएक्सनिज्म सिद्धान्त अनुसार मानिसले समाजमा आफ्नो छुट्टै पहिचान बनाउनका लागि नयाँ लुगा (फेशन) र नयाँ थेगो दुवैलाई एकैसाथ हतियारको रूपमा प्रयोग गर्छन् । ख्याल गर्नुपर्ने कुरा के हो भने प्रविधिको लय समातेर दौडिँदै गर्दा आफ्नो भाषा, संस्कृति, मौकिलता र विचार जोगाउने सीप र सजगता पनि सँगसँगै हिँडाउनु जरुरी छ ।

ए भोटेकोशी : कसरी सुनाऊँ खै पीडाको हिसाब !

मानिसहरू आफ्नै संसार, आफ्नै सुर र आफ्नै तालमा थिए । आकाश कन्चन नीलो थियो । घाम उस्तै चम्किलो थियो । कसैलाई काममा पुग्नु थियो, कसैलाई यात्रा गर्नु थियो, कसैलाई पसल खोल्नु थियो । कसैको घरमा खाना पाक्दै थियो । कसैको मोबाइलमा परदेशी आफन्तको फोन आउन बाँकी थियो । सायद कोही टाढा भएका आफन्तसँग भिडियो कलमा भलाकुसारी गर्दै थिए ।  हो, त्यो बिहान सबै कुरा सामान्य थियो । तर भोटेकोशी नदीको नाभीलाई सायद केही थाहा थियो ! टाढाबाट उसले पाएको घनघोर विध्वंसको सन्देशको तार नपुग्दै वा भनौं कहीँ कसैले पाए पनि विश्वास गरिनहाल्दै बिजुली बेगसरी केहीबेरमै पहाडमा पनि समुन्द्रमा जस्तो सुनामी उर्लियो । त्यो सामान्य दृष्य एकाएक क्षतविक्षत भएर च्यातियो । माटो, ढुङ्गा, रुख, घर, गाडी, मानिस नजाने के–के मिसिएर भेल आयो । सुमन्द्रको सुनामी पानी र हावा मिसिएर आउँछ, यो पहाडको सुनामीले सिँगै पृथ्वीका उपज बोकेर सोत्तर बनायो ।  उसको बाटोमा जे–जे भेटिए निल्दै अघि बढ्यो । घरहरू बगे । पुरिए । सडक हरायो । पुल उजाडिए । किनारा आसपासको टोल, बजारको नामोनिसान रहेन । मानिस, पशुचौपाया भाग्नै सकेनन् । कतिपय भाग्दाभाग्दै क्षणभरमै लपेटिए अनि विस्मृतिमा हराए । केही बाँकी रहेन ।  पुर्खादेखिको, वषौंदेखिको कमाइ बग्यो । देशको, देशबासीको पहिचान बग्यो । र नदीसँगै बग्यो धेरै मानिसको कल्पनाको सुखद भविष्य । पत्याउनै नसकिने यो पुस्ताको एउटा कालो दिन, कालो समय, कालो प्रहरको त्यो चिच्याहट संसारभर फैलियो । मान्छेहरूको मन विछिप्त बनाउँदै भएको त्यस कहालीलाग्दो त्रासदी पछि आउने कैयौं पुस्ताका लागि एउटा पत्याउनै पर्ने ठूलो पीडाको इतिहास बन्दैछ । त्यसका लागि पछिल्लो पुस्तालाई विभिन्न दस्तावेजहरू, सिर्जनाहरूले दुरुस्त पारेर राख्ने प्रयास गर्ने नै छन् ।  विपदको घाउ आलै छँदा यसै पृष्ठभूमिलाई दुरुस्त उतार्ने गरी निस्केको एउटा गीतले त्यो पीडादायी क्षणको सजिव चित्र मात्र उतारेको छैन, यसको कारण र यसको भविष्यबारे तिखो प्रहार गरेको छ । श्रष्टा डी. डी. पन्तले रचना गरेको ‘ए नदी ए हिमाल’ बोलको उक्त गीतले मानिसलाई भाद्र १० गतेको त्यो बिहानको त्रासदीलाई चसक्क पार्ने गरी उनेको छ । स्वर, संगीत र दृष्यले पनि मनमा मर्मस्पर्शी रूपमा गाडा चित्र उतारी दिन्छन् ।  भन्न त कलमको ताकत, सिर्जनाको ताकत बलियो हुन्छ भनिन्छ । तर, सबै कलमबाट सिर्जिने फूलहरूले मनभित्र दस्तक नदिन पनि सक्छन् । पन्तका यी शब्द चाँहि यति जोडदार रूपमा मनमा धक्का दिनेखालका छन् कि अनायासै अनुहारको भावभङ्गी बदलिन्छ ।  ‘घाम लागेको बिहान थियो, आकाश पनि त नीलै थियो...’ यी पंक्ति गीतका सुरुवाती शब्द मात्रै होइनन्, यी एउटा विपत्तिको सबैभन्दा त्रासद अनि निकट आँधी आउनु अघिको सन्नाटाका रुपमा उनिएका छन् ।  हो, आकाश सामान्य त थियो त्यस दिन । तर एकछिन पछि एउटा सानो संसार सामान्य रहेन । एउटा हिमताल असामान्य गरी पड्कियो र जमिनमा गड्किँदै बौलाहा तालमा गन्तव्यहीन यात्रामा निस्कियो । केही क्षण अघिसम्म आम जीवनको हिस्सा रहेको कन्चन नदी अचानक विनाशको तवाह बन्यो ।  डीडी पन्त पानीसँगै प्रकृतिका उपहार रुख, ढुंगा, माटो, काठ र मान्छेले सिर्जेका पुल, बजार, बाटो सबै भग्नावशेष पनि नरहने गरी बगे । नदी किनारका बस्ती र पूर्वाधारमा शून्यबाट सुरु गर्नु पर्नेगरी प्रलय ल्यायो । भोटेकोशीबाट त्रिशूली हुँदै नारायणीसम्म फैलिएको विपत्तिले मृत्यु, बेपत्ता र विस्थापनको लामो छायाँ छोड्यो ।  आजपर्यन्त यसको चोटको आकार र आयाम खुटिन सकेको छैन । अझै आशाहरू बाँकी छन् सास र लास भेटिएलान् कि भनेर । राज्यले अर्बौं गुमायो । अनि खोज उद्धार र पुनःनिर्माणमा फेरि अर्बौं रुपैयाँ खर्चिनु पर्नेछ । पीडाको मोल त अनमोल भयो नै ।  दिन बित्दै जाँदा मृत्यु हुने र बेपत्ता हुनेहरूको संख्या थपिँदै गएको छ । यो कहाँनिर रोकिने हो भन्न सकिने अवस्था छैन । सम्पत्ति र पूर्वाधारको क्षतिको मोल कति डिजिटको हुने हो पनि अझै टुंगो हुन सकेको छैन ।  ‘लाखौं सपना थिए ती किनारहरूमा टेक्ने लौरा थिए ती खोला बगरमा ।’ गीतले भनेझैं नदी किनारमा घर मात्र थिएनन् । त्यहाँ मानिसका योजनाहरू थिए । ऋण थियो । व्यवसाय थियो । बच्चाको पढाइ थियो । बुढेसकालको सहारा थियो । परदेशबाट फर्कने छोराछोरीको प्रतीक्षा थियो । विवाहको तयारी थियो । बच्चा पाउने रहर थियो । भोलिको सपना थियो । अनेक विश्वास थिए । नदीले घर मात्रै भत्काएन । उसले एउटा परिवारको ‘हिजो, आज र भोलि’ पनि भत्काइ दियो । गीतको अर्को पंक्ति अझ निर्मम छ, ‘उछिट्याइदियौ सपनाहरू पुरिदियौ आशाहरू गुमनाम गरायौ मुटुहरू फटायौ उभिने धर्ती पनि ।’ विपत्तिको सबैभन्दा ठूलो भय यही हो, मान्छे मरेपछि पनि पीडा सकिँदैन । कसैको शव भेटिन्छ । कसैको भेटिँदैन । कसैले अन्तिम संस्कार गर्छ । कसैले एउटा कपडा, एउटा गहना, एउटा कागज वा एउटा तस्वीरमा आफन्त खोज्छ । कसैका लागि शोकको सुरुवात मृत्युको खबरबाट हुन्छ । कसैका लागि शोक सुरु हुन पनि शव चाहिन्छ । हामीले क्षतिको हिसाब जोड घटाउ गर्न सकौंला । तर गुमेको जीवनको अर्थ गन्न सक्दैनौं । तर ‘ए नदी ए हिमाल’ गीत शोकमा मात्र अडिँदैन । गीतले प्रकृतिसँग गुनासो र मानिसहरूसँग आक्रोश पोखेको छ ।  अचानक नदीलाई प्रश्न गर्न छाडेर श्रष्टा हामी मानिसलाई प्रश्न गर्न उत्तेजित हुन्छन् । ती मानिस हाम्रै समाजका, हाम्रै देशका पनि छन् र संसार भरका पनि ।  गीतमा स्रष्टाको आक्रोश पोखिन्छ, ‘कसले आकाश बिगार्‍यो ? कसले ऋतुको लय भत्कायो ? कसले तिम्रा मौनतामा नाफाको व्यापार गरायो ?’ संयोग यस्तो थियो कि भाद्र १० को, जसले एउटा नयाँ पीडाको मानक बनाएर गयो । किनकि विपत्ति सधैं कालो आकाशबाट आउँदैन । कहिलेकाहीँ सबैभन्दा भयावह घटना त्यही बिहान हुन्छ, जुन बिहान अरू दिनजस्तै सरल देखिन्छ ।  यस्तो सामान्य बिहानबाट कालो हुण्डरी बनाइदिने हिमाल र नदीलाई श्रष्टा पन्तले पागल करार गदिदिएका छन् । उनी गीतमा भन्छन्, ‘ए नदी ए हिमाल यो कस्तो पागलपन देखायौ ?’ झट्ट सुन्दा यो प्रकृतिप्रतिको गुनासो जस्तो सुनिन्छ । तर गीतलाई अलि गहिरो गरी सुन्दा प्रश्न नदीतर्फ मात्र फर्किएको छैन । यो प्रश्न हामी मानिसतर्फ पनि फर्किएको छ ।  हामीले नदीलाई कति बुझ्यौं ? हिमाललाई कति बुझ्यौं ? र विकासको नाममा प्रकृतिसँग कति जोखिम लिएर हिँड्यौं ? विपद् पछि मृत्युको संख्या गन्न सकिएला । बेपत्ताको संख्या राख्न सकिएला । क्षतिको आर्थिक मूल्यांकन गर्न सकिएला । तर एउटा परिवारले गुमाएको आफन्तको क्षतिपूर्ति कसरी गर्ने ? उसको भविष्यको मूल्यांकन कसरी गर्ने ? एउटा घरसँगै हराएको पुस्तौंको स्मृतिको मूल्य कति तोक्ने ? सायद यही असम्भव हिसाबलाई गीतले समेट्न खोज्छ, ‘कसरी सुनाऊँ खै पीडाको हिसाब नामहरू खोजीसाध्य छैन ।’ यो पंक्ति केवल शोक होइन, यो तथ्यांकको सीमामाथिको प्रश्न बनेर उभिएको छ ।  विपत्तिपछि संख्या खोजिन्छ, कति मरे ? कति बेपत्ता भए ? कति घर भत्किए ? कति सडक बिग्रिए ? अहिले यो काममा राज्य जोडतोडले लागेको छ । तर तथ्यांकले एउटा व्यक्ति र उसको परिवारको पीडालाई कहाँ समेट्न सक्छ र ?  हामीलाई विकास चाहिएको छ । नभै भएको छैन । यो अकाट्य सत्य छ । अनि यसले निम्त्याउन सक्ने विनासबारे हाम्रो भूमिका झन् कमजोर परिरहेको छ । विकासका लागि पहाड फोडिन्छ, नदी थुनिन्छ, सुरुङ खनिन्छ । अनेक गरिन्छ । यी सबै विकासका लागि आवश्यकता हुन् । तर प्रश्न सधैं उसैगरी उभिइरहेको हुन्छ, विकास गर्दा हुने जोखिमको मूल्य कसले तिर्छ ?  प्रश्नहरू अनेक छन्, समृद्धिको सपना देख्दा जोखिमको भूगोल बिर्सिरहेका त छैनौं ? नदीलाई स्रोत मात्रै र पहाडलाई पूर्वाधारको खाली ठाउँ मात्रै ठानिरहेका त छैनौं ? यही कारणले ‘ए नदी ए हिमाल’लाई केवल बाढीपछि लेखिएको गीत भनेर बुझ्नु यसको दायरालाई सानो बनाउनु हुनेछ । हो यो गीत विपत्तिपछिको आत्ममन्थन हो । तर, यो भविष्यका लागि खतराको सूचक पनि हो । हामीलाई ऐना पनि हो । संसारभरलाई त झन् महा ऐना हो ।  विपत्ति सकिएपछि नदी फेरि उसैगरी केहि नभए जसरी बगिरहेको छ । आकाश फेरि नीलै छ । सडक फेरि बन्लान् । पुल फेरि ठडिएलान् ।  बजार, घर फेरि बन्लान् । तर कतिपय कुरा फेरि दुरुस्तै चाहेर पनि बन्ने छैनन् । हराएको मान्छे फर्किँदैन । बाल्यकालको घर फर्किँदैन । आफ्नो मान्छेको प्रतीक्षामा बितेको त्यो समय फर्किँदैन ।  भाँचिएको मन फर्किदैन । प्रश्नै प्रश्नहरू बाँचिरहनेछन् । गीतले भनेझैं, ‘भविष्य गयो भेलसँगै, स्मृति रह्यो खोंचतिर बाँचे पनि मरेतुल्य भो, कसरी खै तंग्रिउँला र ?’ अब बाँकी रहेको प्रश्न यही मात्र छ कि अर्को नदी उर्लिनुअघि हामी यी प्रश्नहरू सुन्छौं कि फेरि अर्को विपत्तिपछि अर्को यस्तै गीतको प्रतीक्षा गर्छौं ? यसको जवाफ कसले र कहिले देला भन्न गाह्रो छ । गीतको भिडियोमा देखिने भाद्र १० को त्रासद पछिका मार्मिक दृष्यहरु पत्रकार निराजन खड्काले खिचेका हुन् । गीतको स्वर र संगीत सुनोडटकम मार्फत् तयार गरिएको छ । अर्थात् गीतको स्वर र संगीत एआइ सिर्जित हुन् । तर, दुरुस्तै छन् । किनभने गीतको केन्द्रमा प्रविधि छैन । प्रकृति र मान्छेको सम्बन्धको कथाले गीतमा सजीव जिवन दिएको छ । गीतका रचयिता डी. डी. पन्त सामाजिक क्षेत्रमा कृयाशील छन् । उनी राष्ट्रसंघीय कर्मचारी हुन् । उनको पूरा नाम दिलादत्त पन्त हो । पन्त साहित्य, पत्रकारिता, कानुन र सार्वजनिक नीति जस्ता बहुआयामिक क्षेत्रमा परिचित छन् ।  कविता, गीत, निबन्ध तथा समसामयिक सामाजिक–सांस्कृतिक विषयमा कलम चलाउँदै आएका पन्तका सिर्जनामा मानवीय संवेदना, प्रकृति, न्याय, पीडा र सामाजिक चेतनाको गहिरो अभिव्यक्ति पाइन्छ । लामो समयदेखि पत्रकारिता, कानुन, मानवअधिकार र संसदीय मामिलामा सक्रिय उनी लोकसंस्कृति, शान्ति र सामाजिक सद्भावसँग जोडिएका साहित्यिक तथा अनुसन्धानमूलक कार्यमा समेत संलग्न छन् । पन्तका कथा कवितालगायतका सिर्जना प्रकाशित छन् ।

कर्णाली : स्वादको स्याउ, बेस्वादको सरकार

सूचना विभागको आयोजनामा पत्रकारितासम्बन्धी तालिम दिन केही वर्षअघि मनाङ पुगेको थिएँ । त्यहाँबाट विश्वकै अग्लो स्थानमा रहेको सुन्दर तिलिचो तालसम्म जाने संयोग मिल्यो । बीचमा पर्दो रहेछ नेपाल र दक्षिण एसियाकै ठूलो मानिने स्याउ फार्म । स्याउ फल्ने ठाउँमा जन्मेको तर स्याउसँग हुर्किन नपाएर तराई झरिसकेको मेरा लागि स्याउको स्वाद जिब्रोमा भन्दा बढी मनमा गढेको थियो ।  एकएक कार्टुन स्याउ किनियो अनि अहिलेको सोसल प्लेटफर्म र स्मार्ट फोनको जमानामा फोटो भिडियो खिच्ने रहर नहुने कुरै भएन । तर, स्याउ फार्ममा फोटो खिचेको शुल्क तोकिएको रहेछ । फोटो खिच्नकै लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ तिर्नुपर्ने सुनेपछि मन कुँडियो । स्याउभन्दा महँगो फोटो ! त्यसैले फोटो खिचिएन ।  गत वर्ष अमेरिका–क्यानडाका स्याउ फार्ममा पुग्दा भने अर्कै संसार देखियो । सित्तैमा फोटो खिच्न पाइने, भिडियो बनाउन पाइने मात्र होइन, अघाउन्जेल स्याउ खान पाइँदो रहेछ । स्याउ उत्पादन र पर्यटनलाई कसरी जोड्न सकिन्छ भन्ने एउटा जीवन्त उदाहरण त्यहाँ देख्न पाइयो ।  कर्णालीको स्याउको कथा स्वादको मात्र कथा होइन । यो सडकको कथा हो । यातायातको कथा हो । बजारको कथा हो । किसानका दुःख र सम्भावनाको कथा हो । यो सबैले थाहा पाउनु र महसुस गर्नु पर्ने कथा हो ।  म कालिकोटमा जन्मिएँ, जहाँ स्याउ फल्थ्यो । यसरी स्याउसँग मेरो सम्बन्ध बाल्यकालमैं जोडियो । तर, सानैमा बसाईं सरेर बर्दिया झरेकाले स्याउको बोटसँगको सामिप्यता अनुभूत गर्ने सौभाग्य पाइनँ । पछि स्याउ फल्ने सिजनमा कर्णालीको यात्रा जुरेन । एकैपल्ट दशकौंपछि २०६८ सालतिर मिडियासम्बन्धी काम विशेषले पाँचथर जाँदा स्याउ फलेको बोट पहिलोपटक देखें । मलाई त्यो दृष्यले बाल्यकालको सम्झनामा पुर्यायो । अनि प्रेमले फोटो खिचेको थिएँ । जन्मस्थलमा भने झण्डै ३८ वर्षपछि मात्र कुलपूजाका क्रममा पुग्दा फलेका स्याउ आफै टिपेर खाने मेसो जुरेको थियो । पंक्तिकार अमेरिकाको स्याउ फार्ममा । कर्णाली राजमार्ग बनेको थिएन । जहाजबाट नेपालगन्ज भएर बर्दिया झर्ने वा एक हप्ता बढीको पैदलयात्राको बाटो नाप्नुको विकल्प थिएन । कहिले आफन्तको पिठ्यूँ चढेर त कहिले कसो जहाज चढेर सिजनमा स्याउ भने बर्दियाका गाउँसम्म पुग्थ्यो । घरभित्र स्याउको एक दाना राखे पनि कोठाभरि मगमगाउँथ्यो ।  खाए स्याउ सकिन्थ्यो । त्योभन्दा स्याउको सुगन्ध पछिसम्म रहन्थ्यो । कोठामा राखेको स्वस्थ स्याउ विस्तारै चाउरिँदै सुक्थ्यो तर कुहिँदैन थियो । त्यसको रैथाने सुगन्ध पनि हराउँदैनथ्यो । स्याउको दानाले ‘रूम फ्रेसनर’को जस्तै काम गर्थ्यो ।  पछि स्कुल सकिए पछि पढाइका क्रममा नेपालगन्ज पुगियो । कहिलेकाँही सिजनमा जुम्लाबाट आधा घण्टा जति जहाज चढेर आएको चिसो स्याउ टोक्न पाउँदा बेग्लै मज्जा हुन्थ्यो । चिसो ठाउँको उही तापक्रमकै स्याउ हपहपी गर्मीको नेपालगन्ज हवाइ अड्डामा चाख्न पाउँदा दङ्ग हुन्थ्यौं ।  स्याउ कुटनीति अब एउटा प्रतीकमा सीमित नहोस् । कर्णालीको खेतबाट निस्किएको स्याउ देशका राष्ट्रपतिदेखि सामान्य उपभोक्तासम्मको जिब्रोमा सहज र सुपथ रूपमा पुग्नुपर्छ । अझ एक कदम अगाडि बढेर नेपालको स्याउ विदेशका बजारसम्म पुग्नुपर्छ ।  अहिले समय फेरिएको छ । कर्णालीको स्याउ बाँके बर्दिया मात्र होइन, गाडी चढेरै काठमाडौंसम्म पुग्न थालेको छ । बजारमा पनि पुग्न थालेको छ । तर, यो अझै व्यापक र व्यावसायिक हुन नसकेको तीतो यथार्थ छ । यसैबीच यसै साता कर्णालीका किसान, सहकारी र सामाजिक अगुवाहरूले पूर्वप्रधानमन्त्रीदेखि बहालवाला राष्ट्रपतिसम्म कर्णालीको स्याउ नासो पुर्‍याएका छन् । मलाई लाग्छ यो नासो केवल स्याउ हस्तान्तरणको सामान्य कार्यक्रम होइन, यो एउटा संकेत हो । एउटा सम्भावनाको दस्तक हो । र, यो कर्णालीको ‘स्याउ कुटनीति’ हो । कर्णालीको स्याउ काठमाडौंसम्म आइपुग्नु आफैमा सानो कुरा होइन । त्यहाँका उत्पादकदेखि यहाँका उपभोक्तासम्म पुग्न स्याउले ठूलो कष्ट उठाउनु पर्छ । व्यवस्थित र नियमित चेन बनिनसकेको र बाटो अझै सहज भइनसकेको अवस्थामा स्याउको यो यात्रा ‘ठूलै रिस्क’ मोलेर मात्र सम्भव भएको छ ।  त्यसैले कर्णालीको स्याउको कथा स्वादको मात्र कथा होइन । यो सडकको कथा हो । यातायातको कथा हो । बजारको कथा हो । किसानका दुःख र सम्भावनाको कथा हो । यो सबैले थाहा पाउनु र महसुस गर्नु पर्ने कथा हो ।  स्याउ टिप्ने चटारो चलिरहेकै बेला जुम्लाकी किसान अमिला विष्टले स्याउको माला बनाएर गलामा लगाइन् र मुस्कुराउँदै भनिन्, ‘हामी किसानको त सुनको माला नै यही हो ।’ २०६३ सालमा बाटो पुगेपछि बल्ल कर्णालीको स्याउले गाडी चढेर अनि कार्टुन भित्र सजिएर सीमा छिचोल्न पायो । तर, काठमाडौंसम्मको यात्रा गर्न हालैका वर्षसम्म पर्खनु पर्यो । बिछट्टै स्वादिलो यो स्याउमा कर्णालीको अर्थतन्त्र बदल्न सक्ने ताकत भए पनि पूर्ण रूपमा अँगाल्न सकिएको छैन ।  कर्णालीमा स्याउ फल्नयोग्य फालाफाल जमिन छ । अनुकुलको हावापानी छ । हिमाल बोक्ने उचाइ छ । मेहनती किसान छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नै रैथाने स्वाद र पहिचान छ । बजारमा चीन र भारतबाट आउने स्याउसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ  । रैथाने स्वाद र बीउ जोगाउने चुनौति पनि छँदैछ ।  उत्पादन बढाउने, गुणस्तर कायम गर्ने, उचित भण्डारण गर्ने, प्याकेजिङ सुधार्ने र बजारसम्म सहज पहुँच पुर्‍याउने हो भने कर्णालीको स्याउ नेपालको एउटा महत्त्वपूर्ण कृषि ‘ब्रान्ड’ बन्न सक्छ । यसले कर्णालीवासीको आर्थिक दिन फेर्न सक्छ । र, उपभोक्ताको जिब्रोको स्वाद पनि झन् गजवले फेर्न सक्छ । कर्णालीवासीले देशको शासनसत्तामा उच्चतहसम्म बसेकाहरूलाई स्याउको कार्टुन हस्तान्तरण गरेर उनीहरूले आफ्नो उत्पादन राज्यको उच्चतहसम्म पुर्‍याएका मात्र होइनन्, कर्णालीको स्वाद र सम्भावनालाई राज्यको ध्यानसम्म पुर्‍याएका छन् । देख्दा सुन्दा मीठो नासोजस्तो देखिए पनि मनलाई चिमोठेर सोच्ने हो भने आशाका साथ गरिएको ‘रचनात्मक व्यङ्ग्य’ पनि हो यो ।  यो काम कुटनीति किसान र सहकारीसँग जोडिएका अगुवा ऋषिराम पाण्डे र सामाजिक अगुवा तथा लेखक मनऋषि धितालको पहलमा भयो । यी कर्णालीका प्रतिनिधि पात्र हुन् । उनीहरूले नगरे अरू कसैले यो लेठो उठाउँदो हो । तर, दुई ऋषिद्धयको प्रयास किसानको उत्पादनलाई बजारसँग, गाउँलाई राज्यसँग र स्थानीय स्वादलाई राष्ट्रिय पहिचानसँग जोड्ने एउटा सुन्दर सुरुवात बन्न सक्छ । स्याउ कुटनीति अब एउटा प्रतीकमा सीमित नहोस् । कर्णालीको खेतबाट निस्किएको स्याउ देशका राष्ट्रपतिदेखि सामान्य उपभोक्तासम्मको जिब्रोमा सहज र सुपथ रुपमा पुग्नुपर्छ । अझ एक कदम अगाडि बढेर नेपालको स्याउ विदेशका बजारसम्म पुग्नुपर्छ ।  कृषि विकाससम्बन्धी अध्ययनहरूले जुम्ला, कालिकोट, होल्पा र मुगुजस्ता जिल्लालाई स्याउका महत्त्वपूर्ण उत्पादन क्षेत्रका रूपमा देखाएका छन् र यातायात तथा बजार पहुँचलाई प्रमुख चुनौती मानेका छन् ।  कर्णालीले लामो समयदेखि देशसँग धेरै कुरा माग्दै आएको छ । अब कर्णालीसँग देशलाई दिन पनि केही छ । यद्यपि त्यो केवल स्याउ होइन । जुडिबुटीदेखि अनेक रैथाने उत्पादन छन् । यी सबै नयाँ स्वाद हुन्, सम्भावना हुन्, रोजगारी हुन्, किसानको आत्मनिर्भरता हुन् र कर्णालीको नयाँ आर्थिक कथाका ‘प्लट’ हुन् । त्यसैले अब राज्यले पनि कर्णालीको स्याउको स्वाद पाउनु पर्छ । अनि कर्णालीको स्याउको स्वाद र कुटनीति सरकारी नीतिमा पनि झल्किनुपर्छ । कर्णाली प्रदेशको आफ्नै प्रादेशिक योजनासम्बन्धी अध्ययनले कर्णालीले नेपालको कुल स्याउ उत्पादनको करिब ४३ प्रतिशत योगदान गर्ने उल्लेख गरेको छ । कर्णालीमा कुल ३ लाख हेक्टर जमीन खेतीयोग्य रहेकोमा झण्डै साढे ९ हजार हेक्टरमा स्याउखेती रहेको तथ्यले बताउँछ । त्यसमध्ये झण्डै ४ हजार हेक्टरबाट उत्पादन भैरहेको छ । औसत उत्पादकत्व करिब साढे ९ मेट्रिक टन प्रतिहेक्टर देखिन्छ ।  यसको अर्थ कर्णाली ‘स्याउ फल्न सक्छ’ भन्ने सम्भावनाको प्रदेश मात्रै रहेन । स्याउ उत्पादन गरिरहेको ठूलो कृषि अर्थतन्त्र भैसकेको छ । तर, स्याउ बगैंचामा फल्छ । पैसा भने बजारमा फल्छ । त्यसैले अब प्रश्न उत्पादनको मात्र रहेन । कति फलायौंभन्दा पनि महत्त्वपूर्ण प्रश्न कति स्याउ बचायौं ? कति उचित मूल्यमा बेच्यौं ? र किसानको हातमा कति पैसा पुग्यो ? समीक्षा गर्ने बेला भैसक्यो । किनभने उचित व्यवस्थापन गर्न सकिएन भने किसानले स्याउ फलाउँछ, बाटोले स्याउ खान्छ, ढुवानीले केही खान्छ, कुहिनेले केही खान्छ र अन्ततः किसानले हिसाब गर्दा बाँकी के रह्यो भनेर भन्नुपर्ने अवस्था आउँछ ।  अघिल्लो वर्ष नेपालमा विदेशबाट झण्डै २१ अर्ब बराबरको फलफूल आयात भएकोमा त्यसको आधा हिस्सा स्याउको थियो । यसरी चीन र भारतबाट अर्बौं रुपैयाँ विदेशिएर आउने स्याउ हाम्रो बजारमा सजिलै भेटिने तर आफ्नै स्वाद, आफ्नै भूगोल, आफ्नै कथा भएको कर्णालीको स्याउ खोजेर पनि नपाईने अवस्थाको अन्त्य भए मात्र उपभोक्ताले स्याउको असली स्वाद र कर्णालीबासीले उत्पादनको असली मोल पाउनेछन् ।  काठमाडौंका विभिन्न क्षेत्रका अगुवाहरूदेखि राष्ट्रपतिसम्मलाई स्याउ हस्तान्तरण गर्नु एउटा औपचारिक पहल जस्तो मात्र लागे पनि यसको ठूलो प्रतीकात्मक अर्थ छ । कर्णालीले भनिरहेको छ –‘हामीसँग माग मात्रै छैन, उत्पादन पनि छ ।’ राष्ट्रपति भवनमा स्याउ पुर्‍याएर ध्यान खिच्ने ‘स्याउ कूटनीति’ गर्नु सायद कर्णालीको रहर होइन, राज्यको नीति फेरिन्छ कि भन्ने आशाको कार्टुन हो । कृषि विकाससम्बन्धी अध्ययनहरूले जुम्ला, कालिकोट, होल्पा र मुगुजस्ता जिल्लालाई स्याउका महत्त्वपूर्ण उत्पादन क्षेत्रका रूपमा देखाएका छन् र यातायात तथा बजार पहुँचलाई प्रमुख चुनौती मानेका छन् ।  त्यसैले अब अर्को स्याउसम्बन्धी गोष्ठी वा अध्ययन गरेर ‘कर्णालीमा स्याउको प्रचुर सम्भावना छ’ भनेर निष्कर्ष निकाल्नु पनि परेको छैन । यो सबैलाई थाहा भइसक्यो । अब किसानलाई गुणस्तरीय बिरुवा चाहिन्छ । प्राविधिक सेवा चाहिन्छ । बगैँचा व्यवस्थापनको सीप चाहिन्छ । गुणस्तरीय सडक चाहिन्छ । भण्डारणका लागि चिस्यान केन्द्र चाहिन्छ । उचित ग्रेडिङ, प्याकेजिङका लागि सीप चाहिन्छ । प्रशोधन उद्योग चाहिन्छ । बजारको सूचना चाहिन्छ । र उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता चाहिन्छ । यसमा राज्यले लगानी मात्र होइन, अभिभावकीय भूमिका पनि निभाउनु पर्छ ।  मुल कुरा राष्ट्रपतिको टेबलसम्म स्याउ पुर्याएर कर्णालीले अब मागको टोकरी मात्र पठाइरहेको छैन, उत्पादनको टोकरी नै प्रमाणका रुपमा पठाउन थालिसक्यो । अब राज्यले त्यो टोकरी समातेर नीति बनाओस् । किसानले उचित मूल्य पाउन्, उपभोक्ताले ताजा स्याउको स्वाद पाउन् ।  र कर्णालीले आफ्नो आर्थिक स्वाद फेर्न पाओस् । जब किसानले आफ्नो बगैँचामा फलेको स्याउको उचित मूल्य पाउँछ, परिवार चलाउन सक्छ, छोराछोरी पढाउन सक्छ, गाउँमै रोजगारी सिर्जना हुन्छ र आफ्नो उत्पादन बेच्न काठमाडौं धाउनुपर्दैन, त्यस दिन कर्णालीको स्याउले वास्तविक कूटनीतिक विजय हासिल गर्नेछ । र अन्त्यमा, जुम्लामा अन्य जिल्लामा भन्दा बढि स्याउ फल्न सक्ने तथ्यले बताउँछन् । तर, साविकको कर्णालीका सबैजसो जिल्लामा स्याउ उत्पादनको राम्रो सम्भावना रहेको तथ्य पनि सँगै छ । त्यसैले ‘जुम्लाको स्याउ’ ब्राण्डिङ गर्ने कि ‘कर्णालीको स्याउ’ पहिचान बनाउने, साविकको कर्णालीबासीले एकधारणा बनाउन पनि जरुरी छ ।

जेनजी विद्रोह : डिजिटल चेतनाको ‘एक्जाम फेल’

गत वर्ष यस बेला नेपालमा जेनजी आन्दोलनको आगो चौतर्फी बलिरहेको थियो, म भने हजारौं किलोमिटर टाढा अमेरिकामा थिएँ । भौगोलिक दूरी ठूलो थियो, तर मोबाइलको स्क्रिनले नेपाललाई झन् नजिक ल्याइदिएको थियो। त्यसबेला मजस्तै विदेशमा रहेका धेरै नेपालीका लागि नेपाल टाढाको आफ्नो प्रिय देशमात्र थिएन, मोबाइलको स्क्रिनभित्र निरन्तर धड्किरहेको एउटा बेचैन संसार थियो । जतिबेला पनि नेपालको खबर हेर्नु, परिवार र साथीहरूलाई फोन गर्नु, सामाजिक सञ्जाल खोल्नु र फेरि अर्को खबरले झस्किनु दैनिकी नै बनेको थियो ।  नेपालमा के भइरहेको छ भन्ने जान्न अनलाइन समाचार र सामाजिक सञ्जाल थिए । तर जति धेरै हेर्यो, उति नै एउटा प्रश्न गहिरिँदै जान्थ्यो, आखिर सत्य के हो त ? झुट सधैं झुटजस्तो देखिँदैन । कहिलेकाहीँ त्यसमा एउटा वास्तविक भिडियो हुन्छ, एउटा वास्तविक ठाउँ हुन्छ, वास्तविक भीड हुन्छ । केवल त्यसको मिति बदलिएको हुन्छ । क्याप्सन बदलिएको हुन्छ । सन्दर्भ बदलिएको हुन्छ । र हामीले त्यसलाई सत्य ठान्छौं ।  मोबाइलमा आउने विभिन्न माध्यमका दृष्यमा काठमाडौंका सडकमा धुवाँ उडिरहेको थियो । युवाहरू नाराबाजी गरिरहेका थिए । गोली चलेका खबर आइरहेका थिए । सरकारी भवनहरूमा आगो लागेको दृश्य सोसल प्लेटफर्ममा छाइरहेको थियो । अनि विदेशमा बसेर ती दृश्यहरू हेर्दै म कहिले स्तब्ध हुन्थेँ । कहिले आक्रोशित हुन्थेँ । र, कहिले कुन खबर सही हो वा कुन दृष्य गलत हो ? भन्ने अन्योलमा छट्पटिन्थेँ । लाग्थ्यो, नेपालमा भैरहेको नाराबाजीभन्दा सोसल प्लेटफर्मका पोस्टहरू चर्का छन् । अश्रुग्यासभन्दा कडा क्याप्सन आउँथे । ढुंगा र आगोभन्दा तीव्र गतिमा फैलिरहेका छन्, फेकन्युज, अफवाह र अपुष्ट दाबी । एक वर्षपछि फर्केर हेर्दा लाग्छ, जेनजी विद्रोह केवल सडकमा भएको राजनीतिक विस्फोट थिएन ।  त्यो नेपाली समाजको डिजिटल चेतनाको पनि एउटा ठूलो परीक्षा थियो । र त्यो परीक्षामा हामीमध्ये हामी अधिकांश पूर्ण रूपमा उत्तीर्ण हुन सकेनौं । यसबाट पाठ सिक्ने लयमा हामी छौं या छैनौं समीक्षा हुँदै गर्ला ।  अफ्ठ्यारोमा टाढा बसेर नेपाल हेर्दाको बेचैनी पहिलो पल्ट अनुभव गरियो । कतिपय समाचार सत्य हुन्थे । कतिपय आधा सत्य । कतिपय पुराना घटनाका भिडियो हुन्थे । कतिपय त बिल्कुलै गलत । तर एउटा कुरा समान थियो, सबै कुरा अत्यन्त विश्वसनीय जस्तो देखिन्थे । फेकन्युजको सबैभन्दा खतरनाक शक्ति रहेछ ।  झुट सधैं झुटजस्तो देखिँदैन । कहिलेकाहीँ त्यसमा एउटा वास्तविक भिडियो हुन्छ, एउटा वास्तविक ठाउँ हुन्छ, वास्तविक भीड हुन्छ । केवल त्यसको मिति बदलिएको हुन्छ । क्याप्सन बदलिएको हुन्छ । सन्दर्भ बदलिएको हुन्छ । र हामीले त्यसलाई सत्य ठान्छौं ।  यस्तै भयो भाद्र विद्रोहको साता । नेपालमा हुँदा घटनास्थल नजिक हुन्छ । छिमेकीले के देख्यो, आफन्तले के भोग्यो, स्थानीय पत्रकारले के भन्यो, धेरै वैकल्पिक स्रोतबाट सही पत्ता लगाउन सकिन्छ ।  विदेशमा त्यस्तो हुँदैन रहेछ । हामीसँग नेपाल हेर्ने मुख्य झ्याल मोबाइल मात्र हुने रहेछ । त्यसमा आएको एउटा भिडियोले सम्पूर्ण नेपालको चित्र बनाइदिँदो रहेछ । एउटा समाचार वा स्टाटसले मथिंगल हल्लाइदिँदो रहेछ । मेरो घरमा त केही भएको छैन ? मेरो परिवार सुरक्षित छ ? भाइ/बहिनी बाहिर त छैनन् ? जस्ता निजी चिन्ता पनि बढ्ने रहेछन् । परिवार, आफन्त र देशका बारेमा यतिविघ्न चिन्ता र चासो जीवनमा पहिलो पल्ट अनुभूति भैरहेको थियो ।  म नेपाल छँदै सामाजिक सञ्जालमाथि सरकारी प्रतिबन्धको घोषणाको व्यापक विरोध भैरहेको थियो । युवामा रहेको असन्तुष्टि विस्फोटक अवस्थामा पुगेको थियो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्कालीन असन्तुष्टिको प्रमुख उत्प्रेरक भए पनि आन्दोलनको जरा भ्रष्टाचार, नातावाद, बेरोजगारी, अवसरको अभाव र राजनीतिक जवाफदेहिताको प्रश्नमा गहिरोसँग गाडिएको थियो।  अमेरिकामा रहँदा मैले नेपाललाई केवल समाचारबाट होइन, मानिसहरूको प्रतिक्रियाबाट पनि हेरेँ । सोसल प्लेटफर्मको ऐनाबाट पनि हेरेँ । कोही चिन्तित थिए । कोही आक्रोशित ।  कोही आशावादी । कोही अन्यौलमा । कोही सामाजिक सञ्जालमा आएको हरेक दाबीलाई अन्तिम सत्य ठानिरहेका थिए । त्यो अनुभवले एउटा कुरा सिकायो, नेपालसँग भौगोलिक दूरी बढ्दै जाँदा सूचनामाथिको निर्भरता झन् बढ्दो रहेछ । त्यसैले प्रवासी नेपालीका लागि पनि नेपाल सन्दर्भको डिजिटल साक्षरता आवश्यक लाग्यो । सोसल प्लेटफर्महरूले प्रवासी नेपालीलाई नेपालसँग सजिलै र निःशुल्क रूपमा जोडेको छ । यसको गलत प्रयोग हुँदा भने फेकन्युज उत्पादन गर्नेभन्दा त्यसलाई फैलाउने भ्रमको ठूलो कारखाना पनि बन्नसक्ने रहेछ । एउटा व्यक्तिले गलत पोस्ट बनाउँछ । दश जनाले त्यसलाई सेयर गर्छन् । सय जनाले विश्वास गर्छन् । हजार जनाले अर्को समूहमा पठाउँछन् ।  केही घण्टापछि त्यो ‘समाचार’ बन्छ । त्यसैले समस्या केवल फेकन्युज बनाउनेको होइन । समस्या हामी सबैको हो । हामीले सेयर गर्नुअघि एक मिनेट रोकिने हो भने धेरै भ्रम त्यहीँ रोक्न सकिन्छ । स्रोत कहाँ छ ? मूल भिडियो कहाँ छ ? मिति के हो ? अर्को विश्वसनीय माध्यमले पुष्टि गरेको छ ? तस्बिर वा भिडियो पुरानो त होइन ? यी सामान्य प्रश्न हुन् । तर डिजिटल युगमा यी नै नागरिकका सामान्य दायित्वका आधार हुन् ।   नेपालमा युवा विद्रोहको मोर्चाभन्दा डरलाग्दो गरी ठीकबेठीक छुट्याउनै नसकिने सूचनाको बाढीले मनमा डर, त्रास र चिन्ता बढाइरहेको थियो । अब के होला ? कसरी लिकमा देश आउला भन्ने पीरले चिमोठिरहेको थियो । नेपालमा रात हुँदा अमेरिकामा दिन हुने, दिनभर त्यसै नेपालको ध्यान मात्र आउने नै भो । अनि अमेरिकामा रात हुँदा नेपालमा दिन हुने, अपडेट हुँदै चिन्ताले सुत्न नसकिने भयो । यस्तो अन्यौलले केही दिन इन्तु न चिन्तु बनायो ।  नेपालमा चल्ने गोली र अश्रुग्यासभन्दा डर लाग्दो गरी फेसबुक पोस्ट, टिकटक भिडियो, युट्युब क्लिप, एक्सका पोस्ट र म्यासेन्जरका फर्वार्ड आइरहेका थिए । पुराना र अन्य देशका भिडियो नयाँ घटनाको नाममा भाइरल भैरहेका थिए । साढे दुई दशक पत्रकारितामा बिताएको मजस्तालाई समेत सत्य/असत्य खुट्याउन महाभारत भैरहेको थियो । म नेपाल छँदै सामाजिक सञ्जालमाथि सरकारी प्रतिबन्धको घोषणाको व्यापक विरोध भैरहेको थियो । युवामा रहेको असन्तुष्टि विस्फोटक अवस्थामा पुगेको थियो । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्कालीन असन्तुष्टिको प्रमुख उत्प्रेरक भए पनि आन्दोलनको जरा भ्रष्टाचार, नातावाद, बेरोजगारी, अवसरको अभाव र राजनीतिक जवाफदेहिताको प्रश्नमा गहिरोसँग गाडिएको थियो ।  यही बेला भाद्र २३ र २४ गतेका घटनाले देशको राजनीतिक दिशा नै परिवर्तन गरिदिए । सूचना युद्धमा नेपालको परम्परागत शक्ति र सत्ता हार्यो । त्यसयता के–के भए, के हुँदैछ अनि युवाहरूको विद्रोहको उद्देश्य कति पूरा हुँदैछ त्यस विषयमा यस आलेखमा प्रवेश गर्ने उद्देश्य छैन ।  मन जत्ति आत्तिए पनि नेपालबाट हजारौं किलोमिटर टाढा हुँदा प्रत्यक्ष घटनास्थलमा पुग्न सम्भव हुने कुरै भएन । टेलिभिजन च्यानल, अनलाइन समाचार र सामाजिक सञ्जाल नै सूचनाका मुख्य स्रोत बने ।  समस्या त्यहीँबाट सुरु भयो । कुन भिडियो कहिले खिचिएको हो ? कुन फोटो कहाँको हो ? कसले पोस्ट गरेको हो ? भिडियोमा देखिएको दाबी सत्य हो कि सम्पादित सामग्री हो ? कुन अकाउन्ट वास्तविक हो र कुन नक्कली ? कस्को सूचना पत्याउने ? यी प्रश्नको जवाफ नखोजीकन एउटा पोस्ट सेयर गर्ने धेरैको बानीले भ्रमलाई झन् ठूलो बनाइरहेको महसुस भयो ।  जेनजी आन्दोलनका क्रममा गलत सूचनाको गति असाधारण थियो । हामीले नेपालबारे कति कुरा समाचारबाट बुझ्यौं र कति कुरा एल्गोरिदमबाट गम्भीर समीक्षा र अनुसन्धान जरुरी छ ।  तर, फेकन्युजविरुद्ध लड्दा ‘यो फेक हो’ भन्नु मात्र पर्याप्त हुँदैन रहेछ । कसरी फेक हो ? स्रोत के हो ? मूल भिडियो कहाँको हो ? पोस्ट कहिले गरिएको हो ? त्यसको प्रमाण के छ ? यी सबै प्रश्नको जवाफ दिनुपर्छ । नत्र ‘फेकन्युजविरुद्धको दाबी’ पनि अर्को गलत सूचना बन्न सक्छ ।  फेकन्युज सफल हुनका लागि सधैं पूर्ण झूट आवश्यक हुँदैन । आधा सत्य, पुरानो भिडियो, गलत शीर्षक र उत्तेजक क्याप्सन पनि पर्याप्त हुन्छ । विदेशमा बसेका नेपालीका लागि यो समस्या अझ संवेदनशील थियो । नेपालमा परिवार थियो । साथीभाइ थिए । आफन्त थिए । कसैका छोराछोरी आन्दोलनमा थिए । कसैका भाइ काठमाडौंमा थिए । कसैका आमाबुबा कर्फ्यूबीच घरबाहिर थिए । त्यसैले एउटा पोस्ट केवल ‘समाचार’ हुँदैनथ्यो । त्यो व्यक्तिगत चिन्ताको विषय बन्थ्यो । मोबाइल खोल्यो कि काठमाडौंमा फेरि गोली चल्यो ! फलानो नेताको घर जलाइयो ! फलानो ठाउँमा यति धेरै मानिस मारिए ! विदेशी शक्तिले आन्दोलन चलाएको प्रमाण भेटियो ! जेनजी आन्दोलनको नेतृत्व अमुक समूहले गरेको पुष्टि भयो ! जस्ता सनसनीपूर्ण सामग्री भटाभट देखिन थाल्थे । लाग्थ्यो, मानिसले समाचार होइन, आफ्नो डर, कुण्ठा र आक्रोश पनि मेसिनले झैं भकाभक सेयर गरिरहेका थिए । यसबीच अमेरिकामा रहेका धेरै नेपालीहरूसँग नेपालको सन्दर्भमा कुराकानी गर्दा उनीहरूको भावना बुझ्ने अवसर मिल्यो । फेकन्युजको असर केवल गलत सूचना फैलिनुमा सीमित थिएन ।  यसले विदेशमा रहेका नेपाली समुदायलाई समेत विभाजित गरेको थियो । कोही आन्दोलनलाई पूर्ण रूपमा जनविद्रोह मान्थे । कोही यसलाई राजनीतिक षड्यन्त्र भन्थे । कोही विदेशी हस्तक्षेप देख्थे । कोही राजतन्त्र फर्काउने परियोजना भएको दाबी गर्थे । कोही सबै आलोचनालाई आन्दोलनविरोधी सोच ठान्थे ।  समस्या फरक विचार हुनु थिएन । लोकतन्त्रमा फरक विचार स्वाभाविक हो । समस्या के थियो भने प्रमाणबिना गरिएको दाबी पनि ‘सत्य’ जस्तै प्रस्तुत भैरहेको थियो ।  अझ गम्भीर कुरा, सामाजिक सञ्जालमा आफ्नो समूहको धारणा पुष्टि गर्ने सामग्री मात्र खोज्ने प्रवृत्ति देखियो । आफूले विश्वास गरेको राजनीतिक निष्कर्षसँग मिल्ने पोस्ट आयो भने त्यसलाई स्रोत नहेरी सेयर गर्ने र विरोधी पक्षको पोस्ट आयो भने तुरुन्तै ‘फेक’ भन्ने गरेको पाइयो । यसरी सूचना तथ्यको खोजीभन्दा पहिचान र राजनीतिक निष्ठाको हतियार बन्न पुग्यो । आन्दोलनका क्रममा नक्कली वा अविश्वसनीय अकाउन्टको भूमिकाबारे पनि प्रश्न उठे ।  तर, फेकन्युजविरुद्ध लड्दा ‘यो फेक हो’ भन्नु मात्र पर्याप्त हुँदैन रहेछ । कसरी फेक हो ? स्रोत के हो ? मूल भिडियो कहाँको हो ? पोस्ट कहिले गरिएको हो ? त्यसको प्रमाण के छ ? यी सबै प्रश्नको जवाफ दिनुपर्छ । नत्र ‘फेकन्युजविरुद्धको दाबी’ पनि अर्को गलत सूचना बन्न सक्छ ।  हालैको एउटा तथ्यजाँचले गत वर्षको जेनजी आन्दोलनको भिडियो यसपालीको हिन्दू राष्ट्रसम्बन्धी प्रदर्शनको दृश्य भन्दै पुनः भाइरल बनाइएको देखाएको छ । अनुसन्धानपछि उक्त भिडियो वास्तवमा गतवर्षको भाद्रकै आन्दोलनको भएको पुष्टि गरिएको थियो । यसले फेकन्युजको एउटा विशेषता देखाउँछ, यसको आयु घटनाभन्दा लामो हुन्छ ।  जेनजी विद्रोहको पहिलो वर्षको सबैभन्दा ठूलो पाठ के होला ? एक वर्षपछि जेनजी विद्रोहलाई केवल सरकार परिवर्तन, राजनीतिक पुनर्संरचना वा सडक आन्दोलनका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन जस्तो लाग्छ । यो सूचना युगको आन्दोलन पनि थियो । सोसल प्लेटफर्मले युवालाई संगठित गर्न सक्छ ।  तर त्यही प्लेटफर्मले भ्रम पनि फैलाउन सक्छ । यसले सत्यलाई लाखौं मानिससम्म पुर्याउन सक्छ । तर झुटलाई पनि त्यति नै तीव्र गतिमा फैलाउन सक्छ । विद्रोहको समयमा सडकमा भीडलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्र चाहिन्छ । तर डिजिटल युगमा सूचनाको भीडलाई नियन्त्रण गर्न बन्देजभन्दा बढी आवश्यक हुन्छ, मिडिया साक्षरता, तथ्यजाँच, पारदर्शिता र जिम्मेवार नागरिक । जेनजी विद्रोहले नेपाली राजनीतिलाई जति ठूलो धक्का दियो, त्यसले नेपाली समाजको सूचना संस्कृतिलाई पनि त्यति नै ठूलो ऐना देखायो । त्यो ऐनामा भ्रष्टाचार, असन्तुष्टि, आक्रोश र परिवर्तनको चाहना मात्र देखिँदैन । अफवाह, उत्तेजना, आधा सत्य र डिजिटल भीडको शक्ति पनि देखिन्छ । एक वर्षपछि सडकको धुलोधुवाँ केही बसेको छ ।  तर सूचनाको धुलो अझै उडिरहेको छ । त्यसैले अब जेनजी विद्रोहको वर्षगाँठसम्म हाम्रो प्रश्न केवल ‘त्यो दिन के भयो ?’ हुनु हुँदैन । प्रश्न यो पनि हुनुपर्छ, ‘त्यो दिनबारे हामीलाई के भनियो, कसले भन्यो, किन भन्यो र हामीले त्यसलाई कति पटक जाँच नगरी अरूलाई सुनायौं ?’  तथ्यले के भन्छ भने प्रदर्शनको आसपास सोसल प्लेटफर्म खबर फैलाउने माध्यममा मात्रै सीमित नभएर विचार बनाउने, जनमत प्रभावित पार्ने र सूचनालाई तोडमोड गर्ने रणभूमि नै बनेको देखिएको छ । र, हाम्रो राज्य संयन्त्र यसबारे बेखबर र असफल बनेको प्रष्ट हुन्छ ।  एउटा अध्ययनले हाम्रो आँखा खोल्न मद्दत गर्ने तथ्य आगो निभेको केही महिनामै सार्वजनिक गरिदिएको थियो । इजरायलको साइबर कम्पनी सायाब्राले नेपालमा भदौ २३ र २४ गते भएको जेनजी विद्रोहमा ३४ प्रतिशत अनलाइन संवाद नक्कली एकाउन्ट र एआईमा आधारित सामग्रीबाट फैलिएको निष्कर्ष निकालेको छ ।  सायब्रा रिपोर्ट अनुसार नक्कली एकाउन्टहरूले आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउन ह्यासट्याग प्रयोग गरी वास्तविक प्रयोगकर्तासँग मिसिएर अनलाइन संवाद नियन्त्रण गरेका थिए । प्रतिवेदनले नक्कली प्रोफाइलहरूले कुल अन्तक्र्रियाको ११.५ प्रतिशत हिस्सा ओगटेको भनेको छ ।  नेपालको जेनजी विद्रोहमा वास्तविक प्रयोगकर्तासँग मिसिएर जेनजी प्रोटेस्ट, वेकअप नेपालजस्ता ह्यासट्याग प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउने दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताहरूले भूमिका खेलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।  एआई आधारित ‘सायब्रा’ गलत र भ्रामक सूचना पत्ता लगाउने र अनलाइन जोखिमहरू ट्र्याक गर्ने संस्था हो । जसको प्रयोग धेरै देशका सरकारी निकाय, ब्रान्ड र संस्थाहरूले गरिरहेका छन् ।  प्रतिवेदनमा नक्कली एकाउन्टवालाहरूले वास्तविक प्रयोगकर्ता जस्तै पोस्ट रिट्विट गर्ने, कमेन्ट गर्ने, बहसमा भाग लिने गरेका थिए ताकि छुट्टै नदेखियोस् । यी नक्कली प्रोफाइलले फैलाएको सामग्री ३२ करोड ६० लाख मान्छेको स्क्रिन (पोटेन्सियल रिच) सम्म पुगेको रिपोर्टमा उल्लेख छ ।  प्रतिवेदनले नेपालको जेनजी प्रदर्शन सडकमा जति देखियो, डिजिटल दुनियाँमा त्योभन्दा कम नरहेको देखाएको छ ।  तथ्यले के भन्छ भने प्रदर्शनको आसपास सोसल प्लेटफर्म खबर फैलाउने माध्यममा मात्रै सीमित नभएर विचार बनाउने, जनमत प्रभावित पार्ने र सूचनालाई तोडमोड गर्ने रणभूमि नै बनेको देखिएको छ । र, हाम्रो राज्य संयन्त्र यसबारे बेखबर र असफल बनेको प्रष्ट हुन्छ ।  अमेरिकी भूमिमा छँदा अमेरिकाका प्रतिष्ठित मिडियाहरूमा नेपाल सन्दर्भ विचरण गर्ने मौका जुर्यो । त्यसबेला नेपालको नवयुवा विद्रोहलाई महत्त्वका साथ स्थान दिएका थिए । ‘द न्यूयोर्क टाइम्स’ले यो आन्दोलनलाई नेपालको राजनीतिक संकटको रूपमा चित्रण गरेको थियो । उसले यो घटनालाई सामाजिक सञ्जाल प्रतिबन्धको प्रत्यक्ष परिणाम भन्दै जसले युवाहरूको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको उल्लेख गरेको थियो ।  अमेरिकाकै ‘एसोसिएटेड प्रेस’ले यो आन्दोलनलाई ‘जेन जेडको विरोध’को रूपमा विस्तृतरुपमा कभर गरेको थियो ।  एपीले सरकारको सामाजिक सञ्जाल प्रतिबन्धलाई मुख्य ट्रिगर उल्लेख गरेको थियो । ओली सरकारले व्यापक आलोचना र विरोधका बीच पनि फेसबुक, एक्स र युट्युब जस्ता २६ वटा प्लेटफर्महरू बन्द गरिदिएको थियो । यसै जगमा युवाहरू सडकमा आएका थिए ।  अमेरिकाकै अर्को मिडिया ‘ब्लुमबर्ग’ले यसबाट नेपालको पर्यटन र व्यवसायमा असर परेको उल्लेख गर्दै घटनालाई अराजकताको रूपमा चित्रण गरेको थियो ।

‘पोष्ट डिजास्टर’मा स्थानीय मिडियाको शक्ति

विपद् वा महाविपद् रोक्न सकिँदैन तर यसबाट हुने क्षति न्यूनीकरण गर्न अवश्य सकिन्छ । विपदपछि मानिसलाई सबैभन्दा पहिले के चाहिन्छ ? उद्धार ? राहत ? औषधी ? सुरक्षित ठाउँ ? हो, यी सबै आवश्यक छन् । तर यी सबैभन्दा अघि अर्को एउटा कुरा चाहिन्छ, सही सूचना ।  बाढीको सन्दर्भमा कुरा गर्दा कहाँ बाढी आएको छ ? कुन सडक बन्द छ ? कुन ठाउँ सुरक्षित छ ? उद्धार टोली कहाँ पुगेको छ ? राहत कहाँ वितरण भइरहेको छ ? अस्पतालमा सेवा छ कि छैन ? खोलाको पानी बढ्दै छ कि घट्दै छ ? कसको सूचना विश्वास गर्ने ? जस्ता प्रश्नको उत्तर केही मिनेट ढिला हुँदा पनि त्यसको मूल्य ठूलो हुन सक्छ । गलत हुँदा झन् बढी मूल्य चुकाउनु पर्ने हुन सक्छ । त्यसैले विपद् व्यवस्थापनमा सूचना आफैमा एउटा राहत सामग्री हो, जीवन बचाउने औषधीजस्तै । यसमा स्थानीय मिडियाको भूमिका असाधारण रूपमा महत्त्वपूर्ण हुन्छ । राष्ट्रिय सञ्चारमाध्यम घटनास्थलमा पुग्न केही समय लाग्न सक्छ । अन्तर्राष्ट्रिय मिडियालाई त अझ बढी समय लाग्छ । तर स्थानीय मिडिया वा स्थानीय पत्रकार घटनास्थल, भूगोल र समुदायसँग पहिल्यै जोडिएका हुन्छन् ।  विपद् आउँदा स्थानीय मिडिया घटनास्थलमा पुग्ने होइन, पहिल्यैदेखि मौजुद हुन्छन् । त्यसैले स्थानीय मिडिया विपद्को ‘रिपोर्टर’ मात्र होइन, समुदायको आपतकालीन सूचना प्रणाली पनि हो । विपद्को समयमा प्राकृतिक विपद्सँगै अर्को अदृश्य विपद् पनि फैलिन्छ, त्यो हो अफवाह । ‘बाँध फुट्यो रे ! अझ ठूलो भूकम्प आउँदैछ रे !  फलानो ठाउँमा सबै मानिस बगायो रे ! सरकारले यति हजार मानिसको मृत्यु लुकाइरहेको छ रे ! यस्ता अपुष्ट सूचना सोसल प्लेटफर्म लगायत मिडियाबाट केही मिनेटमै हजारौं मानिससम्म पुग्न सक्छन् । डर र अनिश्चितताले मानिसलाई सूचना जाँच्नुभन्दा पहिले त्यसमा विश्वास गर्न प्रेरित गर्छ । विपद्को समयमा एउटा गलत मिडिया सन्देश, गलत फेसबुक पोस्ट वा भाइरल भिडियोले मानिसलाई भयानक दिशातर्फ लैजान सक्छ । उद्धार गर्नुपर्ने मानिस उल्टै जोखिमपूर्ण ठाउँमा पुग्न सक्छन् । सुरक्षित ठाउँमा बस्नुपर्ने मानिस सडकमा निस्कन सक्छन् ।  अस्पतालमा अनावश्यक भीड बढ्न सक्छ । त्यसैले फेक सूचना कमजोर बनाउनु पनि विपद् व्यवस्थापनकै एउटा काम हो । यसमा स्थानीय मिडियाको भूमिका निर्णायक हुन्छ । स्थानीय मिडियाले अफवाह सुनेर त्यसलाई फेरि समाचार बनाउनुभन्दा पहिले सोध्नुपर्छ, यसको स्रोत के हो ? स्थानीय प्रशासनसँग पुष्टि गर्नुपर्छ ।  प्रहरी, स्वास्थ्य संस्था, स्थानीय सरकार, विपद् व्यवस्थापन समिति, उद्धार टोली र प्रत्यक्षदर्शीसँग क्रसचेक गर्नुपर्छ । पुष्टि नभएको सूचना प्रकाशन प्रसारण नगर्ने अनुशासन कायम गर्नुपर्छ । र अझ महत्त्वपूर्ण कुरा अफवाहलाई केवल बेवास्ता गर्नु पर्याप्त हुँदैन । गलत सूचना फैलिरहेको छ भने त्यसलाई तथ्यसहित खण्डन गर्नुपर्छ । ‘यो सूचना गलत हो’ भन्नु मात्र पर्याप्त हुँदैन । किन गलत हो ? सही तथ्य के हो ? आधिकारिक स्रोत के हो ? नागरिकले अब के गर्ने ? यी प्रश्नको उत्तर पनि दिनुपर्छ ।  यसपालीको रसुवा नुवाकोट बाढीको उत्पत्तिको कथा फरक छ । त्यसको व्यथा झन् लेखिसाध्य छैन । त्रिशूली र भोटेकोशी नदी प्रणालीमा हिमनदीको ठूलो टुक्रा भाँचिएर खसेपछि उत्पन्न भएको यस विपत्तिले हालसम्म १५ सय भन्दा बढीको ज्यान लिइसकेको छ । हजारौंको संख्यामा  बेपत्ता छन् । मृतक र बेपत्ता हुनेमा नेपाली नागरिकका साथै भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसियालगायत दर्जनौं मुलुकका पर्यटक र कैलाश मानसरोवर जाने तीर्थयात्रीहरू पनि परेका छन् ।  घटनाको गम्भीरता र यसको अन्तर्राष्ट्रिय प्रकृतिका कारण विश्वका मिडियाहरूले यसलाई प्राथमिकताका साथ रिपोर्ट गरिरहेका छन् ।  यस्ता विपद्को कहरको पीडा विभिन्न हिसाबले भयानक हुन्छ । जनधन, भौतिक पूर्वाधार, स्वास्थ्य, खाद्यान्न, यातायात अनेक क्षेत्रमा यसको असर हुन्छ । यी विपद्का बाछिटासँगै सही सूचनाको अभाव र खराब सूचनाको लर्कोबीच समाजमा अनेक थरि अफवाह अर्थात् ‘र्युमर’ चल्ने गर्दछन् । जसले विपद् पछिको कहरसँग जुध्न तयार हुँदै गरेको मनोविज्ञानलाई थप ‘थरथर’ बनाइदिन्छन् ।  २०७२ को भूकम्पका बेलाको एउटा अफवाह सम्झौं । पङ्तिकारको उक्त अनुभव अहिलेको सन्दर्भमा पनि सान्दर्भिक हुनसक्छ ।  वैशाख १२ गते शनिबारको दिन बिहान ११ बजेर ५५ मिनेटमा नेपालगन्जमा पनि भूकम्पले मज्जैले हल्लायो । घरको तेस्रो तलामा आमा र म थियौं । सावधानीपूर्वक भागेर बारीमा पुग्यौं । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प आएको रहेछ । विस्तारै काठमाडौंमा भयानक क्षति भएको खबर थाहा पाएपछि म मेरो विदाको दिन भए पनि तत्काल एफएम पुगेँ ।  कृष्णसार जत्तिकै तेज....नाराका साथ स्थापित कृष्णसार एफएमको पहिचान नै बनेको थियो कि हरेक विपद वा उत्सवमा अझ बढि स्रोता सहभागिता सहितका सामग्री पस्कने ।  दिउँसो १ बजेको समाचारमा ‘लाइभ कल’हरू लिने तत्काल निष्कर्ष निकाल्यौं र सुरुमा म नै ‘अन एअर’ गएँ । भूकम्पबाट आफ्नो, वरपर र छिमेकीमा परेको प्रभाव वा काठमाडौंमा रहेका आफन्तको अवस्था, समस्या आदि विषयमा स्रोताहरुको कल लिने र जानकारी दिनका लागि काठमाडौंमा रहेका निकटका सञ्चारकर्मीसमेत स्रोत व्यक्तिहरूसँग कुराकानी गर्ने योजनाका साथ काम गरिरहेका थियौं ।  बाँकेको खजुराबाट एउटा फोन आयो– ‘खानेपानीको धाराबाट रातो रगत मिसिएको पानी आयो । त्यो पानी खाएर एउटा बालकको मृत्युसमेत भयो ।’ तराईंतिर अधिकांश पिउने पानीको स्रोत जमीनमुनि धारा गाडेर हातले चलाएर तान्ने हो । यस्ता धारालाई कतै चापाकल कतै नल्का, बम्बा पनि भन्ने चलन छ ।  यो खबर ती स्रोताले सुनाउनेबित्तिकै विषयान्तर गर्दै तपाईंलाई हामी ‘अफलाइन’मा कल गर्छौं, यो हल्ला मात्रै हुन सक्छ । यसको विस्तृत र सही खबर पत्ता लगाएर हामी जानकारी दिइरहनेछौं भनेर केहीबेर ‘ब्रेक’ लिएँ । तर, यो भयानक खबर लाग्यो । हामी एफएममा रहेका सबै जना आत्तियौं । एफएम पछाडिको धारातिर ध्यान गयो । तर, कार्यालयमा खानेपानी संस्थानकै धाराको पानी पर्याप्त हुने भएकाले उहिल्यै बन्द भएकाले पानी तान्न पाइने कुरै भएन । सुरक्षा गार्डले भूकम्प आइरहेका बेला पाइप निकै जोडले सुसाएको बताए ।  तत्काल बाँकेको जनस्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, जिल्ला प्रशासन कार्यालय र केही अधिकारकर्मीहरूलाई खबर गरें । सबैले बुझेर खबर गर्छौं भनेपनि कसैले गम्भीरतापूर्वक लिएको पाइएन । जबकि बाँके र बर्दियाका गाउँगाउँमा यस्तो हल्लाले त्राहिमाम बनाइसकेको रहेछ ।  गाउँमा पानी किनेर कहिल्यै नखाने मानिसले पनि पसलमा जार, बोतल जे पाइन्छ किन्दै घरघरमा थुपारेछन् । ससाना बजारमा यात्रुहरूका लागि बिक्रीका लागि राखिएको पानी सकिएर हाहाकार भैसकेको जानकारी विभिन्न स्रोतबाट पुष्टि भयो ।  जमिनमा गाडेका धारामा रातो पानी आउनाको कारण स्थानीय कसैले बताउन नसक्ने देखियो । अनि झट्ट भूकम्प प्रविधि राष्ट्रिय महासंघ (एनसेट)को याद आयो । भूकम्प लगायतका विपदका बारेमा यो संस्थासँग मिलेर हामीले रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका थियौं । एनसेटका एडभोकेसी म्यानेजर खड्गसेन वलीलाई फोन गरेर धाराबाट रातो पानी आएपछिको त्रास बताएँ । उहाँले टीममा सल्लाह गरेर खबर गर्छु भन्नु भयो ।  रेडियोबाट ‘लाइभ’मा हामीले धारामा रातो पानी आउनुको कारण पत्ता लगाउन कोशिस जारी राखेको बताउँदै स्रोताहरूलाई नआत्तिन अपील गरिरहेका थियौं । रातो पानीले बच्चा मरेको खबर पनि गलत भएको सूचना दियौं । धाराको पानी खानु अनि बच्चा बिरामी हुनु संयोग परेपछि स्थानीयले अनुमानका आधारमा त्यस्तो हल्ला चलाएको तथ्य संकलन गरी हामीले प्रत्यक्ष प्रसारणमा जानकारी दियौं ।  रातो पानी लगभग बाँके बर्दियाका अधिकांश जमीनमुनिबाट पानी तान्ने धाराबाट आएको रहेछ । एकातिर भूकम्पको डर अर्कोतिर खानेपानीका बारेमा फैलिएको हल्लाले हामीलाई समेत बेचैन बनाइरहेको थियो ।  फिल्डमै गएर बुझ्नु पर्ने टुंगोमा पुगेर इन्सेकका क्षेत्रीय प्रमुख भोला महतलाई खजुरा क्षेत्रको स्थलगत अध्ययनमा जान प्रस्ताव गरें । केही सञ्चारकर्मीसँगै हामी उहाँकै गाडीमा त्यसतर्फ लाग्यौं । अधिकांश घरका धारामा रातोपानी आएको सुनियो । हामी खजुराबाट अलिपर पुगेर उत्तर दिशा हुँदै कोहलपुर भएर नेपालगन्ज फर्कने निधो गरेर अघि बढ्यौं ।  मलाई आफैले धारा चलाएर रातो पानी आएको हेर्न मन लाग्यो । एउटा घरमा आँगनमै धारा देखेपछि नजिकै सडकमा गाडीबाट ओर्लेर मैले धारा चलाएँ । सुरुमा रातो, अनि हल्का पहेँलो जस्तो पानी आए पनि धेरैवेर चलाउँदा पछि विस्तारै सफा पानी आउन थाल्यो । हामी अचम्मित हुँदै अघि बढ्यौं ।  एनसेटबाट खड्गसेन वलीको फोन आयो । उहाँले यस्तो विदेशतिर कतै पनि नदेखिएको नौलो घटना भएको बताउनु भयो । तर, भूकम्प र जमीनमुनिको पानीबीच कुनै सम्बन्ध नभएको भन्दै आफ्नो टीमले जमीनमुनिको पानीको पाइपको वर्षौं पुरानो खियाका कारण पानी रातो आएको अनुमान गरेको बताउनु भयो ।  जति पुरानो पाइप उति खिया बढी हुने हुनाले रातो पानी आएको हुन सक्ने भन्दै भूकम्पका बेला जसरी जमीन माथि हल्लायो त्यो भन्दा बढ्ता जमीनमुनि हल्लाउने भएकाले पाइपको खिया उत्रिएर रातो पानी आएको हुन सक्ने टीमको निष्कर्ष रहेको उहाँले सुनाउनु भयो । लगातार पानी चलाउँदा पुनः सफा पानी आउन सक्ने उहाँको भनाइ थियो ।  उहाँको कुरा तार्किक रहेकाले मैले ६ बजेको समाचारमा ‘लाइभ’मा यही कुरा राखिदिन आग्रह गरेँ । र, खेतैखेतको शान्त बाटोमा गाडी रोकेर मैले दिउँसो ४ र ५ बजेको समाचारमा चाहिँ आफैले उहाँको भनाइ उद्धृत गर्दै पानी रातो आउनुको कारण ‘लाइभ’ दिएँ ।  यसरी विस्तारै धारामा पानी रातो आउनुको कारणसहितको विस्तृत खबर दिए पछि मानिसहरू आश्वस्त भए र एउटा ठूलो विपदका बेला उठेको अफवाह अर्थात् ‘र्युमर’को पटाक्षेप केहि घण्टामै गर्न सकियो ।  स्थानीय रेडियो तथा सामुदायिक सञ्चारले स्थानीय भूगोल, स्थानीय आवश्यकता र समुदायको अवस्थाअनुसार सूचना प्रवाह गर्न सक्छन् । ठूलो राष्ट्रिय प्रसारणले ‘फलानो क्षेत्रमा खतरा’ भन्न सक्छ । स्थानीय मिडियाले त्यसलाई अझ उपयोगी बनाउन सक्छ, ‘यो गाउँका मानिसले कुन बाटो प्रयोग गर्ने, कुन विद्यालयमा अस्थायी आश्रय छ, कुन नम्बरमा सम्पर्क गर्ने’ भनेर । यही स्थानीयकरणले सूचनालाई समाचारबाट व्यवहारिक निर्देशनमा बदल्छ । विपदमा मिडिया सूचना प्रसारण गर्ने एकतर्फी पाइप मात्र होइन, समुदाय र राज्यबीचको दुईतर्फी पुल पनि हो । स्थानीय नागरिकले ‘हाम्रो टोलमा पानी पस्यो’, ‘यहाँ वृद्ध र बालबालिका अलपत्र छन्’, ‘यहाँ राहत पुगेको छैन’ भन्न पाउने ठाउँ चाहिन्छ । स्थानीय मिडियाले ती आवाजलाई प्रमाणित गरेर सम्बन्धित निकायसम्म पुर्‍याउन सक्छन् । यदि रेडियो स्टेशनको भवन डुब्यो भने ? विद्युत् गयो भने ? इन्टरनेट बन्द भयो भने ? पत्रकार आफै प्रभावित भए भने ? स्टुडियोमा क्षति पुग्यो भने ? स्थानीय मिडियाले यस्ता प्रश्नको उत्तर विपद् आउनुअघि नै खोज्नुपर्छ । ब्याकअप विद्युत्, वैकल्पिक इन्टरनेट, आवश्यक उपकरण, सम्पर्क सूची, आपत्कालीन प्रसारण योजना र वैकल्पिक कार्यस्थलजस्ता विषय अब स्थानीय मिडियाको प्रसारण सुनिश्चितता योजनाको हिस्सा बन्नुपर्छ । किनभने विपद्मा मिडिया चलिरहनु पनि विपद् प्रतिकार्यको एउटा अंग हो । नेपालजस्तो भौगोलिक रूपमा जटिल र डिजिटल पहुँच समान नभएको देशमा स्थानीय रेडियोको भूमिका अझ महत्त्वपूर्ण छ । मोबाइलको ब्याट्री सकिन सक्छ । इन्टरनेट बन्द हुन सक्छ । फेसबुकमा गलत सूचना भाइरल हुन सक्छ । तर रेडियोले न्यूनतम स्रोतमा पनि ठूलो समुदायसम्म सूचना पुर्‍याउन सक्छ । विशेषगरी स्थानीय भाषामा, स्थानीय उच्चारणमा र स्थानीय भूगोल बुझेर गरिएको प्रसारणको प्रभाव फरक हुन्छ ।  ‘नदीको जलस्तर बढेको छ’ भन्नेभन्दा स्थानीय रेडियोले भन्न सक्छ, ‘फलानो पुल नजिकको बस्तीका नागरिक सुरक्षित स्थानतर्फ जानुहोस् ।’ यही अन्तरले सूचना र जीवनरक्षाबीचको दूरी निर्धारण गर्न सक्छ । स्थानीयले वुझ्ने भाषामा यस्तो सूचना दिन सकियो भने मात्र प्रभाकारी हुन्छ ।  स्थानीय मिडिया आफै पनि सावधान हुनुपर्छ । विपद्को समयमा पत्रकारलाई पनि ठूलो दबाब हुन्छ । छिटो समाचार दिनुपर्ने प्रतिस्पर्धा हुन्छ । सामाजिक सञ्जालमा आएको सामग्री तुरुन्तै प्रयोग गर्ने लोभ हुन्छ । तर विपद् पत्रकारितामा पहिलो हुनु भन्दा सही हुनु महत्वपूर्ण हुन्छ ।  एउटा गलत संख्या, एउटा गलत स्थान वा एउटा गलत उद्धरणले हजारौं मानिसलाई प्रभावित गर्न सक्छ । त्यसैले स्थानीय मिडियाले कम्तीमा तीन प्रश्नलाई आफ्नो सम्पादकीय अनुशासन बनाउनुपर्छः स्रोत के हो ? पुष्टि कसरी भयो ? यो सूचना सार्वजनिक गर्दा कसलाई के असर पर्छ ? विशेषगरी मृत्यु, बेपत्ता, उद्धार, स्वास्थ्य जोखिम र बालबालिकासम्बन्धी सूचना प्रकाशन गर्दा थप संवेदनशीलता आवश्यक हुन्छ । पीडितको फोटो खिच्नु र उसको पीडा देखाउनु पत्रकारिता हुन सक्छ । तर पीडालाई सनसनीमा बदल्नु पत्रकारिता होइन ।   विपद्को समयमा मानिसले सबैभन्दा पहिले परिचित र विश्वासिलो आवाज खोज्छ । त्यो आवाज स्थानीय रेडियोको हुन सक्छ । स्थानीय पत्रकारको हुन सक्छ । स्थानीय सञ्चार माध्यम वा पत्रकारको सोसल प्लेटफर्म हुन सक्छ । त्यसैले वर्षभरि समुदायसँग विश्वसनीय सम्बन्ध बनाएको स्थानीय मिडियाले विपद्को समयमा ठूलो सामाजिक पुँजी प्रयोग गर्न सक्छ । यस्तो विश्वास एकै दिनमा बन्दैन । र एउटा गलत सूचनाले त्यसलाई एकै दिनमा भत्काउन सक्छ । त्यसैले स्थानीय मिडियाका लागि विश्वसनीयता नै सबैभन्दा ठूलो विपद् पूर्वतयारी हो । विपद् पत्रकारितालाई नियमित पत्रकारिताभन्दा अलग तयारी चाहिन्छ । स्थानीय मिडियाले आफ्नो क्षेत्रमा जोखिमको नक्सा बनाउन सक्छ । सम्भावित बाढी, पहिरो, आगलागी, महामारी वा अन्य जोखिम क्षेत्र पहिचान गर्न सक्छ । स्थानीय सरकार, प्रहरी, अस्पताल, एम्बुलेन्स, रेडक्रस, उद्धार टोली, स्वयंसेवक र अन्य सरोकारवालाको आपतकालीन सम्पर्क सूची तयार राख्न सक्छ ।  त्यस्तै, ‘फेक सूचना आएको अवस्थामा के गर्ने ?’ भन्ने आफ्नै प्रोटोकल बनाउन सक्छ । सामाजिक सञ्जालका पोस्टलाई स्रोत मान्ने कि प्रमाणित भएपछि मात्र प्रयोग गर्ने ? भाइरल भिडियोको स्थान र समय कसरी जाँच्ने ? आधिकारिक सूचना र प्रत्यक्षदर्शीको सूचनाबीच कसरी क्रसचेक गर्ने ? गलत समाचार प्रकाशित भएपछि कति छिटो र कसरी सच्याउने ? यी प्रश्नको उत्तर विपद् आउनुअघि नै तय हुनुपर्छ । विपद्को समयमा मानिसलाई केवल समाचार चाहिँदैन । उसलाई दिशा चाहिन्छ । उसलाई विश्वास गर्न मिल्ने आवाज चाहिन्छ । उसलाई के भइरहेको छ ? भन्दा पनि अब मैले के गर्ने ? भन्ने प्रश्नको उत्तर चाहिन्छ । स्थानीय मिडियाको वास्तविक परीक्षा यहीँ हुन्छ । विपद् आउँदा स्थानीय मिडियाले सरकारको सूचना पढेर सुनाउने मात्र होइन, त्यसको सत्यता जाँच्न सक्नुपर्छ ।  सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई तथ्यले चुनौती दिनुपर्छ । फेक सूचनालाई कमजोर बनाउनुपर्छ । प्रभावित नागरिकको आवाजलाई ठाउँ दिनुपर्छ । र सबैभन्दा महत्त्वपूर्ण सही सूचना सही समयमा सही मानिससम्म पुर्‍याउनुपर्छ । किनभने विपद्को समयमा गलत सूचना आफैमा एउटा विपद् हो । र त्यसको प्रतिरोध गर्ने सबैभन्दा प्रभावकारी औजारमध्ये एउटा हो, विश्वसनीय स्थानीय मिडिया ।  त्यसैले ‘सही समयमा सही सूचना’ विपद् जोखिम व्यवस्थापनका लागि एक महत्त्वपूर्ण चाबी हो । यो चाबीको सदुपयोग गर्ने दायित्व हामी सबैको हो । 

नयाँ कक्षा, नयाँ किताबको सुगन्ध

२०५४ सालमा काठमाडौं छिर्नेबित्तिकै नयाँ सडकको आरएनएसी भवनअघि पुराना किताब र म्यागाजिनहरू बेच्न राखेको देख्दा मलाई मेरै गाउँको स्कुले समय याद आएको थियो । स्कुल पढ्दा हामी बाध्यताले अघिल्ला छाँवलका दाइदिदीहरूले पढेका पुराना किताब किनेर पढ्थ्यौं । किताब हात परेपछि सफा गर्ने, दोब्रिएका पाना सोझ्याउने, सक्कली गाता च्यातिएका भए टाल्ने वा सिलाउने गर्थ्यौं । पुराना किताब भएपनि जतनले नयाँ गाता हालेर स्नेहले स्याहारेर छातीमा टाँसेर झोलामा राख्थ्यौं ।  यता सहरतिर पनि पुराना किताब किन्ने मानिस हुँदा रहेछन् । गाउँतिर त कहिलेकाहीँ पैसा हुँदा पनि नयाँ किताब पढ्ने भाग्य हुन्थेन । चाहिएको बेला नयाँ किताब पाइँदैन थियो । तर, अधिकांश पैसा नहुने बाध्यताले नै यस्तो गरिन्थ्यो । सहरतिर पनि नयाँ किताब पाइँदैन रहेछ कि नयाँ किताब किन्न नसक्ने मानिस यता पनि हुँदा रहेछन् ? पुराना किताब सुम्सुम्याउँदै नयाँ सडकको पेटीमा मेरो मनमा प्रश्नहरू तेर्सिएका थिए । गाउँमा पुस्तक पसल हुँदैन थिए । स्कुले किताब किन्न तीन/चार घण्टा पैदल हिँडेर राजापुर पुग्नु पर्दथ्यो । त्यहाँ भनेको बेला किताब पाउन सजिलो थिएन । कहिले पाइन्थ्यो, कहिले उति टाढा पुगी खाली हात फर्किनु पर्दथ्यो । एकातिर यो झमेला थियो भने अर्कोतर्फ रुपैयाँको सकस । २०४० देखि २०५० साल आसपासको समयमा गाउँमा ५/१० रुपैयाँको पनि ठूलो महत्त्व हुन्थ्यो ।  गाउँमा सबैजसोले खेतीकिसानी गर्ने भएकाले खानेबस्ने पीर हुन्थेन । तर, नगद आम्दानीका स्रोत नहुनाले लाउने कपडा र अरू सहरबाट किनमेल गर्नुपर्ने कुराको जोरजाम ठूलो कष्टका साथ गर्नुपर्ने अवस्था हुन्थ्यो । कापी, कलम र किताबमा नगद खर्च गर्न अभिभावकहरूलाई गाह्रो हुन्थ्यो । त्यसैले आसपासका गाउँसम्मै आफूले पढ्ने किताब पाइएसम्म पुरानै किनेर पढ्ने चलन थियो । यसबाट टाढा किताब खोज्न जानुपर्ने झन्झट पनि हुँदैन थियो अनि नयाँ किताबमा लाग्ने जति रुपैयाँ खर्च पनि हुँदैन थियो । तीन/चार वर्ष पढेर नफाट्दासम्म पुराना किताब किनबेच हुन्थ्यो । आफूले पनि नयाँ किनिहाले अर्को वर्ष यसैगरी बेच्थ्यौं । एक कक्षा तलमाथिका दाइदिदी हुने घरमा त काइदा हुन्थ्यो । नयाँ कक्षा चढ्दाको रौनक नै छुट्टै हुन्थ्यो । नयाँ किताब पाएको केही दिन त हर्षले भुइँमा खुट्टो हुन्थेन । किताब हात परेपछि सबभन्दा पहिले अनौठो सुवास नाकमा पस्थ्यो । किताबलाई निकै जतनका साथ गाता लगाएर राख्थ्यौं । नयाँ किताब पाएको खुसी र त्यसको निख्खर अनि छापाखानाको छुट्टै गन्धले किताबप्रति झन् बढी स्नेह जोडिएजस्तो हुन्थ्यो । प्रसिद्ध अमेरिकी लेखिका ऐड्रिएना त्रैजियेनीले ‘मेरो लागि त किताबको गन्ध पनि प्रिय छ’ भने झैं हामीलाई पनि त्यो गन्ध निकै प्रिय लाग्थ्यो । अनि किताबलाई बडो जतनले राख्न कम्ती ध्यान लगाउँथ्यौं हामीले । खेतमा हाल्न ल्याएका यूरिया, डिएपी लेखेका रासायनिक मलका बोराभित्र बाक्लो सेतो प्लास्टिक हुन्थ्यो ।  मल खोलेर प्रयोग भैसकेपछि भित्रका प्लास्टिक धोएर सफा बनाएर स्याहारेर राख्थ्यौं । मललाई पानी र हावाबाट जोगाउन सिल गरिएको बोरा भित्रको त्यस्तो प्लास्टिक किताबको गाता हाल्न खास्साको हुन्थ्यो । बाक्लो हुनाले बलियो र पानीबाट जोगाउन मज्जाको हुन्थ्यो ।  यसको गाता लाएर सियोले सिइन्थ्यो । अहिलेजस्तो स्टिच गाउँमा कताबाट पाउनु ? सियोले सिलाउँदा झन् बलियो हुन्थ्यो किताबको गाता । यस्तो गाता लाएका किताब पानीबाट बचाउन पनि सजिलो हुन्थ्यो ।  स्कुलबाट फर्किँदा बाटोमा पानीले छोप्यो भने किताबलाई भुइँतिर फर्काएर बोक्दा सकेसम्म पानी तर्काएर बचाउन सकिन्थ्यो । अर्को वर्ष राम्रो मोल पाइयोस् भनेर वर्षभरि जतनले सफासँग पढ्न ध्यान दिइन्थ्यो ।  फटालेका वा केरमेट गरेका किताब बिक्न गाह्रो हुन्थ्यो भने मोल पनि कम आउँथ्यो । त्यसैले सफा किताव राख्नेको चर्चा हुन्थ्यो – ‘फलानाका किताब कस्ता सफा, नयाँ जस्ता हुन्छन् ।’ यसरी पुराना किताबसँग पनि मीठा यादका साथ हुर्किएकाले काठमाडौंमा सडकमै पुराना किताब बेच्न राखेको देख्दा अनौठो मात्र होइन, विगतको सम्झनासमेत ताजा गराएको थियो त्यो क्षणले । यसपालि छोरीले एसईई सकेर ए लेभल पढ्ने तय भयो । सेन्ट जेभियर कलेजमा भर्ना भएपछि पुस्तक किन्नु पर्ने भयो । अधिकांश किताब पाइने एकता बुक्सबाट ह्वाट्सएपमा मूल्यसूची मगाएँ । ओह...एउटा पुस्तकको मूल्य नै ७ हजार रुपैयाँभन्दा बढी हुँदो रहेछ । छोरीले कजेलमै पुराना किताब किनबेच गर्ने डिजिटल प्लेटफर्म भएको पत्ता पाएकी रहिछन् । लिंक खोजेर पठाइदिइन् । त्यो लिंक पछ्याउँदै गोकर्णेश्वर, ढुंगेधाराको एक घरमा पुगेँ । जहाँ अघिल्लो वर्षमात्र यही कलेजबाट ए लेभल सकेका विद्यार्थी असिम कोइरालाको पढ्ने कोठाबाट ए लेभल बुक्स स्टोर चलेको रहेछ । उनी फोन उठाउनसमेत भ्याइन-भ्याइको अवस्थामा देखिए । म पुग्नुअघि एक जोडी अभिभावक मोलमोलाई गरिरहेका थिए। उनका घरका बाबा, बहिनी आदि परिवार पनि उनलाई बेच्न आउनेको किताब रिसिभ गर्न, किन्न आउनेलाई लोकेशन दिन व्यस्त थिए । मैले छानेर पाएसम्म सफा र नफाटेका किताब किनेर फर्किएँ । ७५ सय पर्ने किताब प्रयोग भैसकेकोले ४ हजार ५ सय रुपैयाँमा पाइयो ।  ‘सफा र जतनका साथ राख्दा फेरि अर्को वर्ष पनि यो किताब मजाले बिक्छ अंकल,’ हिँड्ने बेला उनले भने । प्रयोग भएका किताब बेच्न उनले गज्जबको वेबसाइट बनाएका रहेछन् । अनि सोसल साइटहरूमा पनि मज्जाको उपस्थिति बनाएका रहेछन् । यस वर्षमात्रै २ सयभन्दा बढी विद्यार्थीलाई ५ सय बढी किताब बेचेको र यसबाट झण्डै १९ लाख बढीको कारोबार भएको उनले बताए । हाम्रा पालामा पुराना किताब खोज्न बुवाहरू पल्लो गाउँसम्म पुग्थे । अहिले अनलाइनले सजिलै जोडिदियो । प्रयोग भैसकेका पुराना किताब एक सिजनमा झण्डै २० लाख रुपैयाँको बिक्री हुनु आफैमा अपत्यारिलो जस्तो काम हो ।  यसरी एउटा सानो आइडियाले सयौं अभिभावकलाई राहत पुगेको छ भने लाखौं रुपैयाँ विदेशिनबाट जोगिएको छ । अनि पैसा कमाउन, काम गर्न उमेर वा अवस्थाले नभइ सोचले अर्थ राख्छ भन्ने उदाहरण पनि छर्लङ्ग देखिएको छ । क्याम्ब्रिज विश्वविद्यालय, बेलायतको कोर्षका यी नयाँ किताब किन्न साह्रै महँगो भएको, पैसा पनि विदेश जाने भएकाले प्रयोगमा आउन सक्ने अवस्थासम्म किताव ओहोरदोहोर हुनु आफैमा गजबको काम हो । यस्तो काम एउटा विद्यार्थीले सुरु गर्नु झन् प्रशंसनीय हो । पुराना किताब किन्दा सस्तो पर्ने हुँदा अभिभावकलाई पनि राहत हुने नै भयो ।  धेरै विद्यार्थी र अभिभावकसँग नेटवर्क बनेपछि अब ट्युसन पढाउने सोच बनाएको कोइराला बताउँछन् । एक महिना जति त बिहान ६ बजेदेखि बेलुका ९/१० बजेसम्म अस्तव्यस्त भएको सम्झँदै भिन्नभिन्न पृष्ठभूमिका मानिस भेट्दा नौलो अनुभूति भएको उनले सुनाए । हामीलाई बाटोमा पर्ने खोलामा बाढी आएका बेला किताब जोगाउन जुक्ति निकाल्नु पर्दथ्यो । खोला तर्दा टाउकोमा किताब र कपडा बोकेर हुत्तिएर छातीसम्म आउने पानी नाघ्नु पर्दथ्यो । आकाशे पानी पर्दा चाहिँ केराका पातले टाउको र किताब जोगाउने जुगाड गर्दथ्यौं । नयाँ हुन् कि पुराना, मायाले सँगालेका किताब रुझ्दा रुवाबासी हुन्थ्यो । अलि पुराना किताब भए त झन् पानीले भिज्दा गलाउँथ्यो । गाउँको त्यो हाल थियो, यता सहरमा छोरीको उस्तै हाल छ । अधिकांश कलेजले विद्यार्थी बोक्ने सशुल्क गाडी राखेका हुन्छन् । छोरी पढ्ने सेन्ट जेभियर्सको सोच चाहिँ बच्चाहरू सार्वजनिक यातायातमा आफै आउनेजाने गरुन् र बाहिरी संसार बुझ्न थालून् भन्ने रहेछ । त्यसैले छोरी माइक्रोबस चढेर आऊजाऊ गर्छिन् । पब्लिक बस स्कुलसम्मै पुग्ने कुरा भएन । आकाशबाट गाग्री घोप्ट्याए झैं गरी पानी ओइरिएका बेला त उनको बेहाल भएको देख्छु । स्कुलदेखि बस चढ्ने ठाउँसम्म हिँडेर झण्डै साढे एक किलोमिटर पार गर्दा झिजेर निथु्रक्कै हुन्छिन् । अनि पानी परेका बेला ट्राफिक अस्तव्यस्त बनेर समयमा गाडी पाइँदैन । अनि कुरेर लामै समय सडकमा उभिँदा छाता भए पनि झोलाको किताब जोगाउन हम्मे हुने रहेछ । हुन त यसभन्दा धेरै दुःखका बीच अध्ययन गरिरहेका हजारौं बाबुनानीहरू छन् । तर, गाउँका ती दुःख र सहरका यी दुःखका पृष्ठभूमि र अवस्था फरक भए पनि अनुभवका पुलिन्दा उस्तै हुन् । पुरानो किताबको सम्झना भनेको बाल्यकालका दिन, कागजी सुवास र पुराना पानाहरूको ताजा स्मरण जस्तो रहेछ । सम्झिल्याउँदा पुरानै समयमा लिएर जाने । यसले पुरानो स्कुलको झोला, साथीहरू र ती दिनका शिक्षकहरूलाई पनि यादमा ल्याउँदो रहेछ ।