काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा सार्वजनिक मर्यादा तथा शान्ति भंग गर्ने, लागूऔषध तथा यौनजन्य गतिविधि गर्नेलाई दुई दिनमा प्रहरीले ४७ जनालाई मुद्दा चलाएको छ ।
काठमाडौं प्रहरी परिसरका अनुसार रात्रीकालीन व्यवसायमा बिचौलियाको रूपमा काम गर्ने आरोपमा १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
मंगलबार २२ महिला, १३ पुरुष र बुधबार ६ पुरुष ६ महिला गरि जम्मा ४७ जना उपर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।
काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा मंगलबार बिहान २ बजेदेखि ६ बजेसम्म उनीहरूले सार्वजनिक स्थल तथा सडकमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक र सर्वसाधारणलाई दुःख हैरानी दिने, अभद्र व्यवहार गर्ने, लागूऔषध तथा यौनजन्य गतिविधि गर्ने गरेका थिए ।
डान्स, दोहोरी, बार र क्लबजस्ता रात्रीकालीन व्यवसायमा बिचौलियाको भूमिका निर्वाह गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा १४ जनालाई नियन्त्रणमा लिइएको थियो।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नियन्त्रणमा लिएकामध्ये प्रारम्भिक छानबिन तथा अनुसन्धानका क्रममा ६ पुरुष र ६ महिला गरी १२ जनाको उल्लिखित गतिविधिमा संलग्नता देखिएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराई पाँच दिनको म्याद थप गरिएको छ।