काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका लागि पार्टीभित्र प्रारम्भिक रूपमा दुई धार देखिन थालेका छन् । वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्वमा निरन्तरता खोजिरहेका बेला संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको एजेन्डासहित अध्यक्षमा दाबी गर्ने तयारी थालेका हुन् ।
राप्रपाले आगामी मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ । महाधिवेशनको औपचारिक कार्यतालिका र निर्वाचन प्रक्रियाले अन्तिम रूप पाएसँगै अध्यक्ष पदको प्रतिस्पर्धा थप स्पष्ट हुने भए पनि अहिले नै पार्टीभित्र नेतृत्वलाई लिएर दुईवटा धारको बहस सुरु भएको छ ।
लिङ्देन निकट नेताहरूका अनुसार वर्तमान अध्यक्ष एक कार्यकाल थप नेतृत्व गर्न इच्छुक छन् । पार्टीको पछिल्लो राजनीतिक विस्तार र संगठन निर्माणलाई निरन्तरता दिन अहिले नेतृत्व परिवर्तन उपयुक्त नभएको उनीहरूको तर्क छ ।
वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधान पनि अहिलेको परिस्थितिमा नेतृत्वको निरन्तरता आवश्यक रहेको बताउँछन् । उनका अनुसार पार्टी सम्वर्द्धनवादको राजनीतिक धारमा अघि बढिरहेको अवस्थामा नेतृत्व परिवर्तनभन्दा वर्तमान नेतृत्वलाई निरन्तरता दिँदै पार्टीको राजनीतिक र सांगठनिक आधार थप बलियो बनाउनुपर्ने आवश्यकता छ ।
‘अहिले पार्टी संवर्द्धनवादको पक्षमा रहेको छ । त्यसकारण नेतृत्व हस्तान्तरणभन्दा निरन्तरता अहिलेको आवश्यकता हो,’ प्रधानले भने ।
लिङ्देनको दाबी, निरन्तरताबाट संगठन सुदृढीकरण
२०७८ सालमा भएको राप्रपाको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका लिङ्देनले त्यसयता पार्टीको नेतृत्व गर्दै आएका छन् । उनको नेतृत्वमा राप्रपाले संघीय निर्वाचनमा उल्लेख्य उपस्थिति जनाएको थियो । त्यसपछि पार्टी सरकारमा समेत सहभागी भयो ।
लिङ्देन पक्षले यी राजनीतिक उपलब्धिलाई आगामी महाधिवेशनमा आफ्नो पक्षको आधारका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । लिङ्देनलाई सर्मथन गर्ने एक सहमहामन्त्री पछिल्लो २०८३ को आम निर्वाचनलाई आधार बनाएर हालको नेतृत्व असक्षम भएको मान्यता बनाउन नहुने बताउँछन् । ‘पछिल्लो निर्वाचनको परिवेश फरक हो,’ उनले भने ।
उनी पार्टीको संगठन विस्तार, निर्वाचनमा उपस्थिति र राप्रपाको परम्परागत राजनीतिक एजेन्डालाई निरन्तरता दिन वर्तमान नेतृत्व आवश्यक रहेको तर्क गर्दछन् ।
लिङ्देनलाई पुनः अध्यक्ष बनाउने पक्षमा रहेका नेताहरूका अनुसार नेतृत्व परिवर्तनको बहस गर्नुअघि वर्तमान नेतृत्वले थालेका संगठनात्मक कामलाई पूर्णता दिनुपर्ने आवश्यकता छ । उनीहरूका अनुसार छोटो अवधिमा नेतृत्व परिवर्तन हुँदा पार्टीभित्र पुनः गुटगत प्रतिस्पर्धा बढ्न सक्ने भएकाले अहिले स्थायित्वलाई प्राथमिकता दिनुपर्छ ।
लिङ्देनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिनसके पनि उनी निकट नेताहरूले भने उनको पुनः अध्यक्ष बन्ने चाहना रहेको बताउँदै आएका छन् । महाधिवेशनको तयारी अगाडि बढ्दै जाँदा उनी पक्षले पनि प्रतिनिधि तहसम्म आफ्नो समीकरण बलियो बनाउने तयारी गर्ने देखिन्छ ।
शाहीको तयारी, नयाँ पुस्तालाई नेतृत्व
अर्कोतर्फ संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भने राप्रपाको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने धारणा अघि सारेका छन् । शाही निकट नेताहरूका अनुसार आगामी महाधिवेशनलाई पार्टीमा पुस्तान्तरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने निष्कर्षसहित उनी अध्यक्ष पदका लागि तयारीमा छन् ।
शाही पक्षको मुख्य तर्क पार्टीको राजनीतिक एजेन्डा परिवर्तन गर्नुभन्दा नेतृत्व र संगठन सञ्चालनको शैलीमा नयाँ पुस्तालाई स्थापित गर्नुपर्ने भन्ने छ ।
उनीहरूका अनुसार राप्रपाले नयाँ मतदाता, विशेषगरी युवापुस्तालाई आकर्षित गर्न नयाँ नेतृत्व र नयाँ राजनीतिक शैली आवश्यक छ ।
शाही निकट एक नेताका अनुसार आगामी महाधिवेशनबाट राप्रपाको नेतृत्व युवापुस्तामा ल्याउन सके पार्टीलाई संगठनात्मक रूपमा थप सबल बनाउन सकिन्छ ।
‘पार्टीको राजनीतिक एजेन्डालाई निरन्तरता दिँदै नेतृत्वमा पुस्तान्तरण गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर संगठनलाई थप प्रभावकारी बनाउन सकिन्छ,’ ती नेताले भने ।
शाहीको दाबी केवल अध्यक्ष पदमा व्यक्तिको परिवर्तनसँग मात्र सम्बन्धित नभई पार्टीको संगठनात्मक पुनर्संरचना र राजनीतिक प्रस्तुतिसँग पनि जोडिएको उनी पक्षको भनाइ छ ।
व्यक्ति होइन, नेतृत्वको दिशामाथि बहस
राप्रपाभित्र सुरु भएको नेतृत्वको बहसलाई दुई व्यक्तिबीचको प्रतिस्पर्धाका रूपमा मात्र हेर्न नहुने नेताहरू बताउँछन् । आगामी महाधिवेशनले पार्टीको नेतृत्व शैली, संगठन परिचालन र भावी राजनीतिक रणनीतिमा समेत प्रभाव पार्ने भएकाले यसलाई नेतृत्वको दिशासँग जोडेर हेर्नुपर्ने उनीहरूको भनाइ छ।
लिङ्देन पक्षले निरन्तरता र स्थायित्वलाई प्राथमिकता दिएको छ भने शाही पक्षले हस्तान्तरण र पुस्तान्तरणलाई मुख्य एजेन्डा बनाएको छ । दुवै पक्ष राप्रपाको मूल राजनीतिक धारबाट अलग देखिँदैनन् । फरक भनेको त्यसलाई अघि बढाउने नेतृत्व र संगठन सञ्चालनको शैलीमा देखिएको राप्रपाका नेताहरूले बताएका छन् ।
प्रतिनिधि समीकरण निर्णायक
राप्रपाको महाधिवेशन निर्वाचन समितिका सदस्य अमृत पुडासैनीका अनुसार पार्टीको महाधिवेशनमा करिब ४ हजार ६ सय महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् । उनले दिएको जानकारी अनुसार हालसम्म ५६ जिल्ला अधिवेशन सम्पन्न भएको छ र करिब ७ सय प्रतिनिधि मात्रै निर्वाचित भएका छन् ।
प्रदेश सभापति, जिल्ला सभापति, सँघिय प्रतिनिधि सभा निर्वाचन क्षेत्र सभापति, प्रदेश सभा निर्वाचन क्षेत्र सभापति र पालीकाहरुका सभापति स्वत महाधिवेशन प्रतिनिधि रहने उनले जानकारी दिए । त्यसबाहेक प्रत्यक्ष निर्वाचित २ हजार ७ सय जति महाधिवेशन प्रतिनिधि निर्वाचित हुने उनले बताए ।
अध्यक्ष पदमा कसले दाबी गर्छ भन्नेबाहेक महाधिवेशनमा प्रतिनिधिको समीकरण निर्णायक हुने देखिन्छ । विगतको महाधिवेशनमा पनि अध्यक्ष पदमा भएको प्रतिस्पर्धाले राप्रपाभित्रको शक्ति समीकरणलाई स्पष्ट रूपमा प्रभावित गरेको थियो ।
यसपटक लिङ्देन वर्तमान अध्यक्ष भएकाले संगठनभित्र उनको स्वाभाविक प्रभाव रहने नेताहरूले बताएका छन् । उनीहरूका अनुसार शाहीका लागि भने पार्टीका विभिन्न तहमा रहेका नेतृत्व परिवर्तनका पक्षधरलाई एउटै समूहमा संगठित गर्नु मुख्य चुनौती हुनेछ ।
‘शाहीले संसदीय दलको नेताका रूपमा बनाएको राजनीतिक पहिचानलाई संगठनात्मक मतमा रूपान्तरण गर्न सके प्रतिस्पर्धा थप रोचक बन्न सक्छ,’ एक पदाधिकारीले भने ।
यद्यपि अध्यक्ष पद जित्नका लागि व्यक्तिगत लोकप्रियताभन्दा महाधिवेशन प्रतिनिधिको संगठनात्मक समर्थन महत्त्वपूर्ण हुने उनी बताउँछन् ।
लिङ्देन पक्षका लागि पनि दोस्रो कार्यकालको दाबी सहज चुनौतीरहित नहुने अर्का एक पदाधिकारीले जानकारी दिए ।
कार्य सम्पादन समितिका सदस्य प्रा. डा. गीताभक्त जोशी वर्तमान नेतृत्वको कार्यसम्पादन, संगठनको अवस्था र पार्टीले पछिल्लो अवधिमा प्राप्त गरेको राजनीतिक परिणामलाई प्रतिनिधिले कसरी मूल्यांकन गर्छन् भन्ने कुराले निर्वाचनको परिणाममा प्रभाव पार्ने बताउँछन् ।
युवापुस्ता निर्णायक बन्ने सम्भावना
राप्रपाको आगामी महाधिवेशनमा युवापुस्ताको भूमिका पनि महत्त्वपूर्ण हुने देखिन्छ । पछिल्ला निर्वाचन र सामाजिक सञ्जालमार्फत राप्रपाको राजनीतिमा नयाँ पुस्ताको चासो बढेको दाबी दुवै पक्षले गर्दै आएका छन् ।
शाही पक्षले यही समूहलाई आफ्नो नेतृत्वको आधार बनाउन खोजेको देखिन्छ । विशेषगरी परम्परागत राजनीतिक दलप्रति असन्तुष्ट युवा मतदातालाई राप्रपाको संगठनमा जोड्न नयाँ नेतृत्व आवश्यक रहेको उनीहरूको तर्क छ ।
लिङ्देन पक्ष भने युवा सहभागिता आवश्यक भए पनि त्यसको अर्थ नेतृत्व परिवर्तन अनिवार्य नभएको बताउँछ । पार्टीको वर्तमान नेतृत्वमै नयाँ पुस्तालाई पर्याप्त अवसर दिँदै संगठन विस्तार गर्न सकिने उनीहरूको धारणा छ ।
राप्रपाको राजनीतिक एजेन्डामा परिवर्तन होला त ?
अध्यक्ष पदको सम्भावित प्रतिस्पर्धासँगै राप्रपाको राजनीतिक एजेन्डामा त्यसले पार्ने प्रभावबारे पनि चर्चा सुरु भएको छ । राप्रपाले संवैधानिक राजसंस्था, हिन्दूराष्ट्रलगायतका मुद्दालाई आफ्नो राजनीतिक आधारका रूपमा अघि सार्दै आएको छ ।
लिङ्देन र शाही दुवै सोही राजनीतिक धारभित्र रहेका कारण अध्यक्ष परिवर्तन भए पनि पार्टीको मूल एजेन्डामा तत्काल ठूलो परिवर्तन आउने सम्भावना कम देखिन्छ । बरु ती एजेन्डालाई कसरी जनस्तरमा स्थापित गर्ने, नयाँ पुस्तालाई कसरी जोड्ने र निर्वाचनमा पार्टीको प्रभाव कसरी विस्तार गर्ने भन्ने विषय आगामी नेतृत्वको मुख्य चुनौती हुने प्रा. डा. जोशीको बुझाइ रहेको छ ।
राप्रपाका लागि अहिलेको अर्को चुनौती संगठनलाई देशव्यापी रूपमा प्रभावकारी बनाउनु हो । विगतका निर्वाचनमा प्राप्त मतलाई स्थायी राजनीतिक आधारमा रूपान्तरण गर्न नसक्दा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको विश्लेषण पनि पार्टीभित्र हुँदै आएको एक उपाध्यक्षले बताए ।