असारमा ब्रोकरको कमिसन साढे ३८ करोड, मनी वर्ल्डको १ हजार मात्र
काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले असारमा साढे ३८ करोड रुपैयाँ कमिसन आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार असारमा ९२ वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले कुल ३८ करोड ५१ लाख ३० हजार रुपैयाँ कमिसन आर्जन गरेका हुन् । यो कमिसन जेठ महिनाको तुलनामा ५.१६ प्रतिशत अर्थात् १ करोड ८९ लाख रुपैयाँ बढी हो । जेठ महिनामा ब्रोकर कम्पनीहरूले कुल ३६ करोड ६२ लाख २९ हजार रुपैयाँ कमिसन आर्जन गरेका थिए । नेप्सेले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असारमा सबैभन्दा बढी कमिसन नासा सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले आर्जन गरेको छ । उक्त कम्पनीले असारमा २ करोड ४९ लाख ८८ हजार रुपैयाँ कमिसन कमाएको हो । यस्तै, नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)ले २ करोड ४९ लाख ८८ हजार रुपैयाँ, अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९)ले १ करोड ४३ लाख ९९ हजार रुपैयाँ, सानी सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४२)ले १ करोड २७ लाख २६ हजार रुपैयाँ, भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)ले १ करोड २६ लाख १९ हजार रुपैयाँ, इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं. ४५)ले १ करोड ९ लाख ६४ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । नबिल स्टक डिलर (ब्रोकर नं. ७७)ले १ करोड ६ लाख ३० हजार रुपैयाँ, ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट(ब्रोकर नं. ४)ले १ करोड ६ लाख २ हजार रुपैयाँ, त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८)ले १ करोड १ लाख ५९ हजार रुपैयाँ, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं. ४४)ले ९८ लाख २ हजार रुपैयाँ, लिन्च स्टक मार्केट (ब्रोकर नं. ४१)ले ८४ लाख ७७ हजार रुपैयाँ कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ । यस्तै, सबैभन्दा कम कमिसन भने मनी वल्र्ड (ब्रोकर नं. ७३)दे सेयर एक्सचेन्जले गरेको छ । असारमा मनि वल्र्डले १ हजार १ रुपैयाँ मात्रै कमिसन आर्जन गरेको नेप्सेले जनाएको छ । नेप्सेको तथ्याङ्क अनुसार पाहि इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९)ले ७७ हजार ६५० रुपैयाँ, बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३)ले १ लाख ४२ हजार रुपैयाँ, ट्रेडमो सेक्युरिटिज (ब्रोकर नं. ९८)ले ४ लाख ७ हजार रुपैयाँ, गरिमा सेक्युरिटिज (ब्रोकर नं. ७८)ले ५ लाख ७२ हजार रुपैयाँ, सजिलो ब्रोकर (ब्रोकर नं. ९०)ले ६ लाख ९२ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् । माछापुच्छ्रे सेक्युरिटिज (ब्रोकर नं. ७६)ले ८ लाख ३९ हजार रुपैयाँ, सगरमाथा सेक्युरिटिज (ब्रोकर नं.१८)ले ८ लाख ४९ हजार रुपैयाँ, एलिट स्टक हाउस (ब्रोकर नं. ६८)ले ९ लाख ३२ हजार रुपैयाँ र भोले गणेश सेक्युरिटिज (ब्रोकर नं. ६१)ले ९ लाख ३७ हजार रुपैयाँ कमिसन आर्जन गरेका छन् ।
बुद्ध एयरको आम्दानी १०.३१ अर्ब, लाभांश १ प्रतिशत
काठमाडौं । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयर प्रालिले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १० अर्ब ३१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो, जुन आर्थिक वर्ष २०८०/८१ को १३ अर्ब २२ करोड ६० लाख रुपैयाँको तुलनामा ३.३८ प्रतिशत अर्थात् ४४ करोड ८० लाख रुपैयाँले बढी हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, आव २०७८/७९ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ, आव २०७६/७७ मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ र आव २०७४/७५ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् १९९६ मा स्थापना भएको बुद्ध एयर नेपालका निजी क्षेत्रका सबैभन्दा ठूलो तथा सबैभन्दा लामो समयदेखि सञ्चालनमा रहेको वायुसेवा कम्पनी हो । कम्पनीले मुख्य रूपमा नेपालको प्रमुख आन्तरिक हवाई मार्गमा सेवा दिँदै आएको छ भने काठमाडौंबाट भारतको वाराणसी र कोलकातामा समेत अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ । हाल कम्पनीसँग एक एटीआर-४२ र १४ एटीआर-७२ गरी १५ वटा विमान छन् भने कम्पनीका अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत हुन् । तीन वटा विमान बिक्री तथा सेवामुक्त गरेपश्चात् १५ वटा विमानमा सीमित भएको हो । आन्तरिक हवाई यात्रु संख्याका आधारमा कम्पनीले करिब ५७ प्रतिशत बजार हिस्सा कायम राखेको जनाएको छ । अघिल्लो वर्ष यो हिस्सा करिब ६० प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा हिस्सा घटेपनि बजार नेतृत्व भने कायम रहेको जनाएको छ । कम्पनीले नाफाको अधिकांश हिस्सा सञ्चित गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा खुद नाफाको करिब १ प्रतिशत मात्र लाभांश वितरण गरी बाँकी रकम कम्पनीमै राखिएको जनाएको छ । अतिरिक्त नगद प्रवाहबाट दीर्घकालीन ऋणको नियमित भुक्तानी गर्नुका साथै अल्पकालीन ऋणसमेत घटाउँदै आएको कम्पनीको दाबी छ । भद्रपुरमा भएको विमान दुर्घटनापछि प्राप्त बीमा दाबी रकमबाट केही अल्पकालीन ऋण समयअघि नै चुक्ता गरिएको पनि कम्पनीले जनाएको छ । अप्रिल २०२६ को अन्त्यसम्म सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात करिब ९ प्रतिशत रहेको छ । कम्पनीसँग ७१ प्रतिशत अप्रयुक्त ऋण उपयोग क्षमता (ड्रइङ पावर) रहेको छ, जसमा धितोका रूपमा रहेका ऋणमुक्त विमानहरूको मूल्य पनि समावेश छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा सञ्चालन नाफा मार्जिन ८.२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यो १० प्रतिशत तथा त्यसअघिको वर्ष १९.४ प्रतिशत रहेको थियो । इन्जिन मर्मत तथा ओभरहोल खर्च बढ्नु र पश्चिम एसियाको भू-राजनीतिक तनावका कारण हवाई इन्धन (एटीएफ) महँगिनुले नाफामा दबाब परेको कम्पनीले जनाएको छ । प्रति उपलब्ध सिट-किलोमिटर आम्दानी (आरएएसके) अप्रिल २०२६ सम्म महामारीअघिकै स्तरमा पुगेर करिब २१.२ रुपैयाँ पुगे पनि कर्मचारी तथा मर्मत-सम्भार खर्च बढ्दा प्रति उपलब्ध सिट-किलोमिटर लागत (सीएएसके) पनि बढेको छ । यसका कारण आम्दानी र लागतबीचको अन्तर २.८ रुपैयाँमा सीमित भएको छ, जुन पछिल्लो पाँच-छ वर्षयताकै न्यून स्तर हो । सन् २०१९ मा यो अन्तर ८.९ रुपैयाँ थियो । गत आर्थिक वर्षको साढे ९ महिनामा यात्रु संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेको छ । यात्रु भराइ दर (प्यासेन्जर लोड फ्याक्टर) पनि सन् २०२२ को करिब ९२ प्रतिशतबाट पछिल्ला वर्षमा ८३-८५ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ। हाल कम्पनीसँग ३ अर्ब १२ करोड ६ लाख रुपैयाँ तथा १३.७५ मिलियन अमेरिकी डलर बराबर ऋण रहेको छ । यसमध्ये १ अर्ब १३ करोड ६ लाख रुपैयाँ र १३.७५ मिलियन अमेरिकी डलर दीर्घकालीन ऋण रहेको छ । त्यस्तै, कम्पनीले ८७ करोड रुपैयाँ अल्पकालीन ऋण, ८७ करोड रुपैयाँ ओभरड्राफ्ट सुविधा तथा २५ करोड रुपैयाँ बैंक ग्यारेन्टी उपयोग गरेको छ । कुल बैंक ऋणमध्ये करिब ६३ प्रतिशत अमेरिकी डलरमा रहेको तथा विमान मर्मत-सम्भार र स्पेयर पाट्र्ससम्बन्धी अधिकांश खर्च पनि डलरमै हुने भएकाले विनिमय दरको उतारचढाव कम्पनीका लागि प्रमुख वित्तीय जोखिमका रूपमा रहेको कम्पनीले जनाएको छ ।
इरान युद्ध अपडेट : विश्वलाई असर पार्ने पाँच महत्त्वपूर्ण घटनाक्रम
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गरेको १० दिन बितिसकेको छ । त्यसयता दुवै पक्षले पुनः सैन्य आक्रमण सुरु गरेका छन्, जसले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व भू–राजनीतिमा फेरि अनिश्चितता बढाएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सीईएनटीओएम) ले लगातार १० रात इरानमाथि हवाई आक्रमण गरेको छ । अमेरिकाले यी आक्रमणहरू इरानले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्ने सैन्य क्षमता कमजोर पार्न गरिएको जनाएको छ । युद्धको पछिल्लो अवस्थाबारे जान्नुपर्ने पाँच मुख्य कुरा यस्ता छन् : १. हर्मुज जलडमरूमध्यबाट जहाज आवागमनमा तीव्र गिरावट युद्ध फेरि सुरु भएपछि विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हर्मुज जलडमरूमध्यबाट हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ । लोयड्सका विश्लेषकहरूका अनुसार धेरै जहाजले आफ्नो पहिचान संकेत (ट्रान्सपोन्डर) बन्द गरेर यात्रा गरिरहेका छन् । व्यापारिक तथ्यांक कम्पनी केप्लरका अनुसार गत सप्ताहन्तमा केवल ३० वटा जहाज मात्र उक्त जलडमरूमध्य पार गरेका थिए । जबकि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गर्नुअघि दैनिक १०० भन्दा बढी जहाज यस मार्गबाट आवतजावत गर्थे । यद्यपि ट्रम्प प्रशासनले भने अमेरिकी सैन्य सुरक्षामा हर्मुज जलडमरूमध्य खुला रहेको र दैनिक लाखौं ब्यारेल तेल सुरक्षित रूपमा निर्यात भइरहेको दाबी गरेको छ । २. तेलको मूल्य फेरि उकालो युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य जुलाई २० मा एक महिनापछि पहिलो पटक प्रति ब्यारेल ९० अमेरिकी डलर नाघेको छ । त्यस्तै, अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई) को मूल्य पनि एक महिनायताकै उच्च स्तरमा पुगेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासन (एफआईए) का अनुसार हर्मुज जलडमरूमध्यबाट दैनिक करिब २ करोड ३ लाख ब्यारेल कच्चा तेल तथा पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ । यो विश्वभर समुद्री मार्गबाट हुने तेल व्यापारको करिब २५ प्रतिशत हो । यस मार्गबाट निर्यात हुने करिब ९० प्रतिशत तेल एसियाली बजार विशेषगरी चीन र भारत पुग्ने गर्छ । इनर्जी एस्पेक्ट्सकी संस्थापक तथा बजार विश्लेषक अमृता सेनका अनुसार यदि आपूर्ति अवरोध अगस्टसम्म जारी रह्यो भने खाडी क्षेत्रको उत्पादन घट्न सक्छ र तेलको मूल्य फेरि तीन अंक (१०० डलरभन्दा माथि) पुग्ने सम्भावना छ । ३. इरानसँग अझै पनि जवाफी आक्रमण गर्ने क्षमता अमेरिकी आक्रमणका बाबजुद इरानसँग अमेरिका, उसका साझेदार र मध्यपूर्वमा रहेका अमेरिकी सम्पत्तिलाई क्षति पुर्याउने क्षमता अझै कायम रहेको विश्लेषण गरिएको छ । इरानसँग सम्बन्धित आक्रमणका कारण व्यावसायिक जहाजहरू पनि जोखिममा परेका छन् । ग्रीक कम्पनी डाइनाकमद्वारा सञ्चालित एउटा जहाज हर्मुज जलडमरूमध्यमा अज्ञात प्रहारपछि आगलागी भएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । तेहरानले अझै पनि क्षेप्यास्त्र र ड्रोन प्रहार गर्न सक्ने क्षमता राखेको छ । अमेरिकी सैन्य अड्डा रहेका देशहरूमा भएका पछिल्ला आक्रमणमा थप तीन अमेरिकी सैनिक मारिएको बताइएको छ । यसपछि राष्ट्रपति ट्रम्पले तेहरानले यसको ‘धेरै गुणा मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन्। साथै उनले हर्मुज जलडमरूमध्य इरानबाहेक सबैका लागि खुला रहने बताएका छन् । ४. युद्ध अन्त्य गर्ने सहज विकल्प देखिँदैन अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार कतार र पाकिस्तानले अमेरिका तथा इरानबीच १० दिनको युद्धविराम प्रस्ताव गरेका छन् । तर वार्ता असफल हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै वासिङ्टनले थप सैन्य तयारी पनि गरिरहेको छ । उक्त रिपोर्टअनुसार इजरायलले केही दिनभित्र युद्धलाई अझ व्यापक र समन्वित सैन्य अभियानमा विस्तार गर्ने तयारी गरिरहेको छ । पर्यवेक्षक रिसर्च फाउन्डेसनका भू–राजनीति विज्ञ क्लेमेन्स चेका अनुसार अहिलेको अवस्था नियन्त्रणभित्र देखिए पनि क्रमशः थप खतरनाक बन्दै गएको छ । उनका अनुसार अमेरिकासँग अहिले कुनै पनि सजिलो विकल्प छैन । उसले या त इरानको दीर्घकालीन दबाब सहनुपर्नेछ वा युद्ध अझ विस्तार गर्नुपर्नेछ अथवा केही विशेष छुट दिनुपर्ने अवस्था आउन सक्छ । उनले हर्मुज जलडमरूमध्य इरानका लागि ‘चाहेको बेला खोल्न र बन्द गर्न सकिने रणनीतिक हतियार’ जस्तै रहेको भन्दै हर्मुजसँगै बाब अल–मन्देब जलडमरूमध्य पनि अवरुद्ध भए विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । ५. अर्को महत्त्वपूर्ण समुद्री मार्ग पनि जोखिममा सोमबार राति यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी तत्काल लागू गर्ने घोषणा गरेका छन् । यसले इरानका कारण हर्मुज जलडमरूमध्यमा देखिएको तेल आपूर्ति संकटलाई अझ गम्भीर बनाउन सक्ने अनुमान गरिएको छ । हुथीहरूले यसअघि पनि अमेरिका–इरान युद्धका क्रममा बाब अल–मन्देब जलडमरूमध्य बन्द गर्ने चेतावनी दिँदै आएका थिए । यो मार्ग पनि अन्तर्राष्ट्रिय व्यापार तथा साउदी अरेबियाको तेल निर्यातका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। हर्मुज जलडमरूमध्य अवरुद्ध भएपछि साउदी अरेबियाले दैनिक लाखौं ब्यारेल तेल पाइपलाइनमार्फत लाल सागरस्थित निर्यात टर्मिनलतर्फ पठाइरहेको छ । यसले हालसम्म विश्व तेल बजारमा केही राहत दिएको छ। तर यदि बाब अल–मन्देब पनि बन्द भयो भने त्यो वैकल्पिक मार्गसमेत अवरुद्ध हुनेछ र विश्वव्यापी तेल आपूर्ति संकट अझ गहिरिने विश्लेषकहरूको चेतावनी छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)