पवन मुडभरी

रङ्गीन तस्बिरमा उजाडिएका मन

काठमाडौं । ‘आमा ! अब ड्युटी जाने बेला भयो । फोन राखें है ।’ रोल्पाकी आश्मा विकका छोरा सुनिल विकले आमासँग फोनमा बोलेको अन्तिम वाक्य थियो यो । त्यो वाक्यले आश्माको कानलाई अझैं रन्थनाइरहेको छ । आश्मालाई अझैं आशा छ कि मेरो छोरो पक्कै भेटिनेछ ।  काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका भित्ताहरूमा टाँसिएका तस्बिरका भीडमा उनी आफ्नो छोराको अनुहार खोजिरहेकी छन् । आश्माका २० वर्षीय छोरा सुनिल विक नेपाली सेनामा कार्यरत थिए । नन्द पूर्णिमा विकको साथमा चितवन, त्रिशूली हुँदै टिचिङसम्म आइपुगेकी आश्माका अनुसार घटना भएको दिन बिहान ७ बजे उनले छोरासँग कुराकानी गरेकी थिइन् । त्यसपछि उनका छोरा सम्पर्कविहीन छन् ।  आश्मा विक ।  चित्लाङ, हरिहरपुरका अनुज बेत्रावतीमा हाइड्रोपावरमा काम गर्थे । बाढी आएको दिनदेखि बेपत्ता अनुजको खोजीमा उनकी आमा सञ्जिता कुमारी बाढी प्रभावित क्षेत्रका विभिन्न अस्पताल चहार्दै टिचिङसम्म आइपुगेकी छन् । बिहान ९ बजे घरमा फोन गरेका अनुजले ११ गते घरमा आउने र रक्षाबन्धन मनाएर फर्किने वाचा गरेका थिए । त्यो वाचा पूरा भएन । बाढी आएको दिनदेखि अनुजको अहिलेसम्म अत्तोपत्तो छैन । अस्पतालको भित्तामा टाँसिएको अनुजको फोटो देखाउँदै सञ्जिता भक्कानिइन्, ‘यतिका दिन भइसक्यो । केही खबर आएन । बाबु, कहाँ छौ ?’ उनको यो प्रश्नको जवाफ अहिले कसैसँग छैन । तर, आमाको मनले अझै हार मानेको छैन । अस्पतालका भित्तामा टाँसिएका सयौं तस्बिरमध्ये आफ्नो छोराको तस्बिर हेर्दै उनी कतैबाट एउटा खबर आउने प्रतीक्षामा छिन् । जुम्लाका रामबहादुर बोहरा यतिबेला काठमाडौंका विभिन्न अस्पतालमा आफ्नो छोराको खोजीमा भौँतारिइरहेका छन् । भदौ १० गते रसुवामा आएको बाढीपछि जुम्लाको पातारासी गाउँपालिका–४ का १८ वर्षीय विनोद बोहरा परिवारको सम्पर्कमा छैनन् ।  विनोद केही महिनाअघि मात्रै रसुवाको हाकुबेँसी अर्थात् हाकुपाखामा रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा काम गर्न पुगेका थिए । तर, बाढी आएको दिनदेखि उनी सम्पर्कमा छैनन् ।  छोराको खोजीमा रामबहादुर मात्रै काठमाडौं आएका होइनन् । जुम्लाबाट तीन दिन लामो यात्रा गरेर अन्य आफन्तसहित १२ जना काठमाडौं आइपुगेका छन् । शिक्षण अस्पताल पुग्दा उनीहरू विभिन्न सञ्चारमाध्यममार्फत आफ्ना आफन्तको खोजीमा सहयोग गरिदिन आग्रह गरिरहेका थिए । उनीहरूका हातमा आफन्तका तस्बिर छन्, आँखामा चिन्ता छ र मनमा एउटै प्रश्न—‘हाम्रो मान्छे कहाँ छ ?’ रामबहादुरसँगै भाइको खोजीमा काठमाडौं आएका छन् दलबहादुर बोहरा । आफन्तको खोजीमा गाउँबाट काठमाडौं आउने क्रम रोकिएको छैन ।  करिब ८४० किलोमिटरको यात्रा गरेर आएका उनीहरूमध्ये केहीले हिजो मात्रै काठमाडौंको होटलमा रात बिताए । तर, आज कहाँ बस्ने भन्ने टुंगो छैन । घरबाट निस्कँदा उनीहरूसँग एउटा आशा थियो- काठमाडौं पुगेपछि आफन्तको खबर पाइएला । तर, काठमाडौं आइपुग्दा पनि उनीहरूको यात्रा रोकिएको छैन । एउटा अस्पतालबाट अर्को अस्पताल, एउटा शवगृहबाट अर्को शवगृह र एउटा तस्बिरबाट अर्को तस्बिरसम्म उनीहरू आफन्तको अनुहार खोजिरहेका छन् । गाउँका छिमेकीहरू आफन्तको खोजीमा काठमाडौं आएको थाहा पाएपछि उनीहरूसँगै देवरभाइको खोजीमा टिचिङ अस्पताल पुगेकी हुन् निर्मला थिङ । कोही छोराको खोजीमा छन्, कोही भाइको, त कोही आफ्ना आफन्तको ।  काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालका भित्ताहरू अहिले उपचार, औषधी र स्वास्थ्यसम्बन्धी सूचनाले मात्रै भरिएका छैनन् ।  ती भित्ताहरूमा भोटेकोशी बाढीमा हराइरहेका मानिसहरूका तस्बिर टाँसिएका छन् । हरेक तस्बिरसँग एउटा परिवारको आशा जोडिएको छ, एउटा आमाको प्रतीक्षा छ र एउटा आफन्तको अधुरो कथा छ । गत भदौ १० गते अचानक आएको विनाशकारी बाढीमा परी १ हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ४ हजारभन्दा बढी मानिस हराइरहेको तथ्यांक छ ।  लामो समय बितिसक्दा पनि केही खबर नआएपछि कतिपय आफन्तले काजकिरिया गरेर अन्तिम संस्कारसमेत गरिसकेका छन् । तर, केहीका आफन्त भने अझै भेटिने आशामा अस्पतालहरू चहारिरहेका छन् । टिचिङ अस्पतालका भित्तामा टाँसिएका तस्बिर अगाडि दैनिक सयौंको भीड लाग्छ । कोही ती तस्बिरमा आफ्ना आफन्त खोज्छन् । कोही भेटिने आशामा भित्तामा आफ्ना आफन्तको फोटो टाँस्छन् ।  अस्पतालको शवगृह बाहिरको भित्तामा ज्यान गुमाएकाहरूका तस्बिर छन् । ती तस्बिरमुनि लेखिएका नाम र ठेगाना पढ्दै मानिसहरू आफ्ना आफन्तको अनुहार खोजिरहेका हुन्छन् । सबैको उद्देश्य एउटै छ- बेपत्ता आफन्तको अवस्था थाहा पाउनु । बेपत्ता आफन्त खोज्नेहरूको भीडभाड रहेको अस्पतालमा दैनिकजसो ठूलो संख्यामा शवहरू पनि ल्याउने–लाने क्रम चलिरहेको छ । तर, हालसम्म जम्मा १३ जनाको मात्रै पहिचान भएको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार ती शवहरूको पहिचान नै अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ । उनका अनुसार शवहरूमा अत्यधिक चोटपटक लागेको छ । पानी र लेदोका कारण शवहरू सडेगलेका छन् । त्यसैले पहिचान गर्न कठिन भइरहेको छ । ‘शवहरूको पहिचान नै अहिले सबैभन्दा ठूलो चुनौती हो,’ रोस्याराले भने, ‘पोस्टमार्टम गर्दै व्यवस्थापन गर्ने काम भइरहेको छ ।’ दुई सय शव राख्ने क्षमता रहेको शवगृहमा १६१ वटा शव ल्याइएको थियो । तीमध्ये धेरै शवको व्यवस्थापन गरिसकिएको उनले बताए । तर, शवको व्यवस्थापन सकिँदैमा परिवारको प्रतीक्षा सकिएको छैन । शवगृह बाहिर आफन्त खोज्दै उभिएका मानिसका लागि एउटा तस्बिर, एउटा नाम वा एउटा सानो सूचना पनि ठूलो अर्थ राख्छ । उनीहरू कहिले भित्तातिर हेर्छन्, कहिले हातमा बोकेको तस्बिरतिर । कतिपयका आँखामा आँसु हुन्छ, कतिपयको अनुहारमा बेचैनी । अस्पतालमा अहिले ३६ जना घाइते उपचाररत छन् । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखिएको छ । केहीको शल्यक्रिया गरिएको छ भने बाँकीको सामान्य वार्डमा उपचार भइरहेको सूचना अधिकारी रोस्याराले बताए । कालीप्रसाद रोस्यारा ।  बाढीले शरीरमा मात्रै चोट पु¥याएको छैन । धेरै घाइतेहरू मानसिक आघातमा समेत छन् । अचानक आएको बाढी, आँखैअगाडि देखिएको विनाश, आफन्तको बेपत्ता अवस्था र आफू बाँचेर पनि प्रियजनको कुनै खबर नपाउनु- यी सबैले उनीहरूको मनमा गहिरो चोट छोडेको छ । सूचना अधिकारी रोस्याराका अनुसार घाइतेहरूमा शारीरिकसँगै मानसिक आघात पनि परेको छ । त्यसैले मनोचिकित्सकहरूद्वारा मनोपरामर्श दिने काम पनि भइरहेको छ ।