समस्याग्रस्त सहकारीको घरजग्गा ४० लाखमा बिक्रीमा, प्रतिआना ११ लाख रुपैयाँ

काठमाडौं । समस्याग्रस्त लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको घरजग्गा लिलाम बिक्रीमा राखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले संस्थाको नाममा दर्ता रहेका घरजग्गा बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

समितिले लालीगुराँस बहुउद्देश्यीय सहकारीको नाममा रहेको भक्तपुरको ताथली-४ स्थित कित्ता नम्बर ६४७ को ०-८-३-३ क्षेत्रफलको जग्गा बिक्रीमा राखेको छ । उक्त जग्गाको न्यूनतम मूल्य प्रतिआना ११ लाख रुपैयाँका दरले कुल ९८ लाख ३१ हजार २५० रुपैयाँ तोकिएको छ । जग्गाको अगाडि २० फिटे ढलान बाटो रहेको समितिले जनाएको छ ।

यस्तै, लालीगुराँस बहुउद्देश्यीय सहकारीकै नाममा रहेको ललितपुर महानगरपालिका-२२ स्थित कित्ता नम्बर ११३९ को ०-०-३-० क्षेत्रफलको जग्गा तथा त्यसमा रहेको घर पनि बिक्रीमा राखिएको छ । उक्त घरजग्गाको न्यूनतम मूल्य प्रतिआना ३० लाख रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको काठमाडौं महानगरपालिका-१५ स्थित कित्ता नम्बर ७९ को ३१.७९ वर्गमिटर क्षेत्रफलको जग्गा तथा त्यसमा रहेको घर बिक्रीमा राखिएको छ । उक्त घरजग्गाको न्यूनतम मूल्य प्रतिआना ४० लाख रुपैयाँ तोकिएको समितिले जनाएको छ ।

सहकारी संस्थाका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकले बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व फरफारक नगरेपछि संस्थाको नाममा दर्ता रहेका घरजग्गा लिलाम बिक्रीमा राखिएको समितिले जनाएको छ ।

सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७५ बमोजिम तोकिएको न्यूनतम मूल्यभन्दा कम नहुने गरी घरजग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।

समितिले लिलाम बिक्रीमा राखिएका सम्पत्तिको न्यूनतम मूल्य चलनचल्तीको मूल्यका आधारमा कायम गरिएको जनाएको छ ।

Share News