इरान युद्धमा अमेरिकाको ३३ अर्ब डलर खर्च, सयौं भवन ध्वस्त

काठमाडौं । इरानी हमलाका कारण मध्यपूर्वस्थित अमेरिकी सैन्य अखडामा रहेका ‘सयौं भवन तथा संरचना’ क्षतिग्रस्त वा ध्वस्त भएको तथा ‘दर्जनौं’ अमेरिकी विमानमा क्षति पुगेको अमेरिकी सरकारको प्रतिवेदनले जनाएको छ । यो विवरण जुनको अन्त्यसम्मको मात्र हो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार जुन २९ सम्म इरानसँगको युद्धमा अनुमानित ३३.४ अर्ब डलर खर्च भएको छ।

रक्षा मन्त्रालयले सोमबार अमेरिकी संसद् (कंग्रेस) मा सार्वजनिक गरेको ‘लीड इन्स्पेक्टर जनरल रिपोर्ट’ले जुनको अन्त्यसम्मको युद्धको अवस्थालाई समेटेको छ ।

प्रतिवेदनअनुसार इरानी हमलाबाट इराक, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) गरी चार देशमा रहेका अमेरिकी कूटनीतिक नियोगका संरचनामा मात्रै १८४ मिलियन डलर बराबरको भौतिक क्षति पुगेको छ ।

युद्धका क्रममा अमेरिकी गोला-बारुद तथा हतियारको ठूलो मात्रामा प्रयोग हुँदा रणनीतिक भण्डारमा कमी आएको र हतियार पुनःआपूर्तिका लागि अमेरिकी रक्षा उद्योगको उत्पादन क्षमतामा रहेका अवरोध तथा सीमितता उजागर भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा अमेरिकाले आफ्नो इतिहासकै सबैभन्दा धेरै ‘उत्कृष्ट र विशिष्ट हतियार’ उत्पादन गरिरहेको दाबी गरेका थिए ।

प्रतिवेदनले पाँचौं पुस्ताको एफ–३५ ए लडाकु विमान शत्रुको आक्रमणबाट क्षतिग्रस्त भएको पनि देखाएको छ । एफ–३५ एले युद्धमा क्षति बेहोरेको यो पहिलो घटना भएको जनाइएको छ ।

जुनको अन्त्यसम्म चारवटा एफ–१५ ई लडाकु विमान र एउटा ए–१० स्थल आक्रमण विमान ध्वस्त भएका थिए ।

अमेरिकी वायुसेनाका अनुसार एउटा एफ–३५ ए विमानको लागत ९२ मिलियन डलर पर्छ । त्यस्तै, एफ–१५ ईको सन् १९९८ को लागत ३१.१ मिलियन डलर थियो ।

त्यसैगरी, सातवटा केसी–१३५ इन्धन भर्ने विमान क्षतिग्रस्त वा ध्वस्त भएका छन् । युद्धका क्रममा सातवटा हेलिकप्टर र ३० भन्दा बढी ड्रोन पनि गुमाइएको प्रतिवेदनमा उल्लेख छ ।

Share News