भारतीय नागरिकलाई बंगलादेशले ‘जासुस’ भन्दै थुन्यो, के हो घटना ?

काठमाडौं । बंगलादेश सरकारले ४४ वर्षीय भारतीय नागरिक रबिबुल इस्लामलाई भारतको जासुस भएको आरोप लगाउँदै जेल पठाएको छ । 

उनीविरुद्ध ‘अफिसियल सेक्रेट एक्ट’ अन्तर्गत मुद्दा दर्ता गरिएको हो । इस्लामले विदेशी गुप्तचर निकायसँग सम्पर्क राख्दै संवेदनशील सूचना पठाएको आरोप लगाइएको छ ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार रबिबुल इस्लामलाई गत साता ढाकामा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

बंगलादेशको ढाका मेट्रोपोलिटन प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । इस्लाम भारतको पश्चिम बंगाल राज्यका नागरिक रहेको दाबी गरिएको छ ।

पक्राउपछि इस्लामलाई प्रहरी हिरासतमा पठाइएको छ । बंगलादेश प्रहरीले दर्ता गरेको मुद्दामा उनलाई भारतीय नागरिक भनिएको छ । उनको पासपोर्टमा जन्मस्थान साउदी अरबको रियाद उल्लेख रहेको बताइएको छ ।

प्रहरीको उजुरीअनुसार सोधपुछका क्रममा इस्लामले पछिल्लो १२ वर्षमा आफू पटक–पटक बंगलादेश आएको स्वीकार गरेका छन् । उनले यस क्रममा पर्यटक वा व्यापारिक भिसा प्रयोग गरेको बताइएको छ ।

बंगलादेश प्रहरीले इस्लाममाथि व्यापारिक गतिविधिको बहानामा जासुसी गरेको आरोप लगाएको छ । उनले विदेशी गुप्तचर निकायसँग सम्पर्क राख्दै विभिन्न सूचना उपलब्ध गराएको प्रहरीको दाबी छ ।

बंगलादेशी अनुसन्धानकर्ताका अनुसार इस्लाम सेप्टेम्बर १४ मा भोमरा ल्यान्ड पोर्ट हुँदै बंगलादेश प्रवेश गरेका थिए । उनलाई सेप्टेम्बर २२ मा पक्राउ गरिएको बताइएको छ ।

बंगलादेशी अनुसन्धान अधिकारीहरूले इस्लामले महत्वपूर्ण सरकारी संरचनाका तस्बिर खिचेर विदेशी गुप्तचर निकायलाई पठाएको दाबी गरेका छन् ।

अनुसन्धानकर्ताहरूले इस्लामको परिचयपत्र र ड्राइभिङ लाइसेन्समा उल्लेख जन्ममिति तथा पासपोर्टमा रहेको जन्ममिति फरक रहेको समेत बताएका छन् । सोधपुछका क्रममा उनले यी विषयमा स्पष्ट जवाफ नदिएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार इस्लामले आफू पटक–पटक बंगलादेश आउनुको कारणसमेत स्पष्ट रूपमा बताउन सकेका छैनन् । उनलाई पश्चिम बंगालको उत्तर २४ परगना जिल्लास्थित गौरीभोज गाउँका बासिन्दा भएको दाबी गरिएको छ ।

भारत र बंगलादेशबीच सीमामा अवैध घुसपैठको विषयलाई लिएर तनाव कायम रहेका बेला बंगलादेशले भारतीय नागरिकलाई जासुसीको आरोपमा पक्राउ गरेको हो ।

Share News