काठमाडौं । दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनापछि संयुक्त अरब इमिरेट्स (यूएई) ले अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ ।
यूएईको विदेश मन्त्रालयले घटनाको गहन अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गरिएको जनाएको छ ।
विदेश मन्त्रालयका अनुसार यूएईका महान्यायाधिवक्ता डा. हमद अल शम्सीले सरकारी अभियोजन विभागका विशेषज्ञ अधिकारीहरू सम्मिलित टोली गठन गर्न निर्देशन दिएका छन् ।
फ्लाई दुबईले विमानको ककपिटमा विवाद भएको जानकारी दिएपछि उक्त निर्णय गरिएको हो ।
अवस्था नियन्त्रणमा लिन विमानमा रहेका फ्लाई दुबईका चालक दलका सदस्यहरूले हस्तक्षेप गरेका थिए । त्यसपछि विमानलाई सुरक्षित बनाइएको थियो ।
मन्त्रालयले विमान यूएईमा दर्ता भएको र यूएईको झन्डा बोकेर उडिरहेको जनाएको छ । त्यसैले लागू कानुनअनुसार घटनाको अनुसन्धान गर्ने अधिकार यूएईका न्यायिक निकायसँग रहेको मन्त्रालयको भनाइ छ ।
यूएईको कानुनअनुसार विमानभित्र हुने अपराधमा यूएईको अधिकार क्षेत्र लागू हुन्छ, घटना देशको सीमाबाहिर भएको भए पनि ।
विदेश मन्त्रालयले अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित सबै पक्ष र यसको सम्भावित कारणबारे छानबिन गरिने जनाएको छ ।
घटनाको कुनै आतंकवादी गतिविधि वा मनसायसँग सम्बन्ध थियो कि थिएन भन्ने विषयमा पनि अनुसन्धान गरिनेछ ।
साथै घटनापछाडि कुनै पूर्वयोजना वा कसैको निर्देशन थियो कि थिएन भन्नेबारे पनि छानबिन हुने मन्त्रालयले जनाएको छ ।
यूएईले घटनाको व्यवस्थापन तथा सहयोगका लागि साउदी अरबका अधिकारीहरूप्रति पनि आभार व्यक्त गरेको छ ।
मन्त्रालयले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट जारी गरिएका सूचनामा मात्रै विश्वास गर्न आग्रह गरेको छ ।
अनुसन्धान पूरा नहुँदासम्म कुनै पनि किसिमका अड्कलबाजी वा अपुष्ट सूचना प्रसार नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।