काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको बाल्टिक क्षेत्रमा रहेको कालिनिनग्रादमाथि प्रत्यक्ष हमला भए रुसले आफूसँग भएका सबै हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् ।
पुटिनले रुसले कसैलाई धम्की नदिएको स्पष्ट गर्दै आफूले पश्चिमी नेताहरूका भनाइको जवाफ मात्र दिएको बताएका हुन् ।
पश्चिमी नेताहरूले रुस सन् २०२९ वा २०३० सम्ममा युद्धका लागि तयारी गरिरहेको दाबी गर्दै आएका छन् ।
यसै साता रुसले नेटोलाई आफ्नो भूभागको नाकाबन्दीको तयारी गरिरहेको आरोप लगाउँदै आएको छ ।
कालिनिनग्राद लिथुआनिया र पोल्यान्डको बीचमा अवस्थित छ । रुसले पश्चिमले कालिनिनग्रादलाई रुसका अन्य भूभागबाट अलग गर्ने प्रयास गरे परमाणु हतियारसमेत प्रयोग गर्न तयार रहेको चेतावनी दिएको छ ।
नेटोले भने तनाव कम गर्ने प्रयास गर्दै आफू रक्षात्मक गठबन्धन भएको दोहोर्याएको छ । साथै नेटोले रुसलाई आफ्ना ‘परमाणु धम्की’ बन्द गर्न आग्रह गरेको छ ।
पछिल्ला महिनाहरूमा पश्चिमी सहयोगी राष्ट्रहरूले तथाकथित हाइब्रिड युद्धसँग सम्बन्धित घटनामा वृद्धि भएको सामना गरेका छन् । यस्ता घटनामा रुसको संलग्नता रहेको आरोप लगाइएको छ । विशेषगरी पोल्यान्ड र बाल्टिक क्षेत्रमा यस्ता गतिविधि बढेका छन् ।
गत साता मात्रै पोल्यान्डले रुसको कालिनिनग्रादबाट आएको एउटा हेलिकोप्टर आफ्नो सीमावर्ती क्षेत्रमा प्रवेश गरेको बताएको थियो ।
त्यस्तै, लिथुआनियाले रुसी गतिविधिका कारण आफ्ना नागरिकले ‘लगातार खतरा महसुस गरिरहेको’ बताएको थियो । त्यसको एउटा कारण ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्नु पनि रहेको लिथुआनियाको भनाइ छ ।