काठमाडौं । अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्डको सजाय पाएकी क्रिस्टा पाइकलाई दुई पटक घातक इन्जेक्सन दिइए पनि उनको मृत्यु नभएपछि उनलाई अस्पताल लगिएको छ ।
५० वर्षीया पाइकलाई बुधबार राति नासभिलस्थित रिभरबेन्ड म्याक्सिमम सेक्युरिटी इन्स्टिच्युसनमा पेन्टोबार्बिटलका दुईवटा सिरिन्ज दिइएको थियो ।
इन्जेक्सन दिएपछि पनि पाइकको मुटु धड्किरहेको र उनी सास फेरिरहेको आवाज सुनिएको भन्दै उनका वकिलहरूले तत्काल अदालतमा आपतकालीन निवेदन दिएका थिए ।
निवेदनमा उनी बेहोस भए पनि मुटुको धड्कन कायम रहेको र घुर्ने जस्तो आवाज आइरहेको उल्लेख गरिएको थियो । घटनाका साक्षीहरूले पनि उनी अझै जीवित रहेको र सास फेरिरहेको बताएका छन् ।
पाइकका वकिलका अनुसार उनलाई तत्काल जीवनरक्षा गर्ने उपचार आवश्यक परेको थियो । अदालतको आदेशपछि उनलाई कारागारबाट बाहिरी अस्पताल लगिएको हो ।
टेनेसीको सुधार विभागले भने राज्यले स्वीकृत मृत्युदण्ड प्रक्रियाको हरेक चरण पालना गरिएको दाबी गरेको छ ।
विभागका अनुसार प्रयोग गरिएको घातक औषधि यसअघि प्रभावकारी रहँदै आएको थियो र त्यस प्रक्रियामा थप कदम चाल्ने व्यवस्था थिएन ।
चिकित्सा विशेषज्ञ जोएल जोभोटले पर्याप्त मात्रामा पेन्टोबार्बिटल रगतमा नपुगेका कारण श्वासप्रश्वास र मुटुको कार्य बन्द हुन नसकेको हुनसक्ने बताएका छन् ।
१९ वर्षीया युवतीको हत्या गरेको अभियोग
पाइकलाई सन् १९९५ मा १९ वर्षीया कोलीन स्लेमरको हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाइएको थियो । अपराध हुँदा पाइक १८ वर्षकी थिइन् ।
अभियोजन पक्षका अनुसार पाइक, उनका तत्कालीन प्रेमी टेडारिल शिप र अर्की युवतीले स्लेमरलाई आक्रमण गरेका थिए । उनीहरूको भेट समस्यामा परेका किशोरकिशोरीका लागि सञ्चालित रोजगार तालिम कार्यक्रममा भएको थियो ।
स्लेमरलाई कुटपिट र यातना दिएर हत्या गरिएको थियो । घटनापछि उनको शरीरमा पेन्टाग्रामको चिन्हसमेत काटिएको पाइएको थियो । पाइकले उक्त चिन्ह आफूले बनाएको अस्वीकार गरेकी छन् ।
पाइकले हालैको क्षमादान निवेदनमा आफूले स्लेमरलाई कुटपिट गर्ने उद्देश्य राखे पनि हत्या गर्ने उद्देश्य नरहेको दाबी गरेकी थिइन् । उनले आफूले बाल्यकालमा भोगेको यौन दुव्र्यवहार र अन्य मानसिक आघातलाई पनि अदालतले सजाय निर्धारण गर्दा पर्याप्त रूपमा विचार नगरेको दाबी गरेकी थिइन् ।
टेनेसीका गभर्नर बिल लीले उनको क्षमादान निवेदन अस्वीकार गरेका थिए । अमेरिकी सर्वोच्च अदालतले पनि मृत्युदण्ड रोक्ने पछिल्ला कानुनी प्रयासलाई अस्वीकार गरेपछि प्रक्रिया अघि बढाइएको थियो ।
पाइक टेनेसीको मृत्युदण्डको सूचीमा रहेकी एक मात्र महिला हुन् । सन् १९७६ मा अमेरिकामा मृत्युदण्ड पुनः सुरु भएयता १८ जना महिलालाई मृत्युदण्ड दिइएको छ, जबकि पुरुषको संख्या १ हजार ६६३ रहेको छ ।