क्याप्टेन स्मित : जसले हनुमान चालिसा पढ्दै १७४ यात्रुको ज्यान जोगाए

काठमाडौं । फ्लाई दुबई विमान दुर्घटनामा गम्भीर घाइते भए पनि यात्रुको ज्यान जोगाउन ककपिटको ढोका खोल्ने साहस गरेका क्याप्टेन स्मित मच्छरले अप्ठ्यारो समयमा हनुमान चालिसा पढ्दै आफूलाई हौसला दिएको बताएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन कुराकानीमा उनले आफूलाई भगवानले नै बचाएको विश्वास रहेको बताएका हुन् ।

प्रधानमन्त्रीसँग कुराकानीका क्रममा क्याप्टेन स्मितले चोटको पीडाका क्रममा हनुमान चालिसा पाठ गरिरहेकाले आफूलाई हौसला मिलेको बताए ।

‘म निकै सकारात्मक छु । जब मलाई पीडा हुन्छ, मलाई एउटै कुरा याद आउँछ—म हनुमान चालिसा पढिरहेको हुन्छु । मलाई थाहा छ, भगवानले नै मेरो ज्यान बचाउनुभएको हो,’ उनले भने ।

उनले हरेक बिहान पूजा गर्ने समयमा आफ्नो दुई वर्षीय छोरा काखमा बस्ने र आफूले उसलाई हनुमान चालिसा सुनाउने गरेको पनि बताए । विदेशमा बसे पनि आफ्नो संस्कृति र परम्पराबाट टाढा हुन नहुने उनको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले उनको साहस र सुझबुझको खुलेर प्रशंसा गरे ।

गम्भीर चोट लागेका अवस्थामा पनि यात्रुको ज्यान जोगाउन उनले गरेको निर्णयप्रति पूरै देश गर्वित रहेको मोदीले बताएका छन् ।

‘पूरै देश तपाईंका लागि प्रार्थना गरिरहेको छ । ठाउँ–ठाउँमा महामृत्युञ्जय मन्त्रको जाप भइरहेको छ । तपाईंको साहस, धैर्य र सुझबुझले धेरै मानिसको ज्यान बचाएको छ,’ मोदीले भने, ‘तपाईंले भारतीयहरू ज्यान लिने होइन, ज्यान बचाउने मानिस हुन् भन्ने देखाउनुभएको छ ।’

मोदीले उनको साहसिक कदमले १४० करोड भारतीयको सम्मान बढाएको पनि मोदीले उल्लेख गरे ।

क्याप्टेन स्मितले प्रधानमन्त्रीसँगको कुराकानीमा आफू लडेर धेरै ठाउँमा चोट लागेको बताए । त्यसका बाबजुद विमानभित्रको अवस्था बिग्रिँदै गएको महसुस भएको उनले बताए ।

‘मलाई लाग्यो, यदि म उठिनँ र केही कदम चालिनँ भने अवस्था अझ खराब हुन्छ । म १७ वर्षदेखि विमान उडाइरहेको छु र पछिल्लो ११ वर्षदेखि क्याप्टेन छु । मलाई आँखा बन्द गरेर पनि विमानभित्र के भइरहेको छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘म तल लडिरहेको अवस्थामा पनि अवस्था बिग्रिँदै गएको महसुस गरिरहेको थिएँ ।’

स्मितले अन्तिम प्रयास गर्दै ककपिटको ढोका खोलेपछि अन्य मानिसहरू पनि त्यहाँ आउन सकेको बताए । यो प्रयासमा अन्य व्यक्तिको पनि महत्त्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे ।

‘म आफ्नो ज्यान बचाउने हिसाबले अघि बढिरहेको थिएँ । तर त्यही समयमा मलाई थाहा थियो, म ती मानिसहरूलाई मर्न दिन सक्दिनँ,’ उनले भने ।

प्रधानमन्त्री मोदीले क्याप्टेन स्मितका पिता भूपेन्द्रभाइ, आमा गीताबेन र पत्नी सोनलबेनसँग भएको कुराकानीको पनि स्मरण गरे । 

गीताबेनले स्मितलाई राम्रो संस्कार दिएको भन्दै उनले प्रशंसा गरे । सोनलबेनको साहस र संयमको पनि मोदीले प्रशंसा गरेका छन् ।

सावरकुन्डलासहित भारतका विभिन्न स्थानमा क्याप्टेन स्मितको दीर्घायु र स्वास्थ्यलाभका लागि पूजाअर्चना भइरहेको मोदीले बताए । सम्पूर्ण भारत उनको पूर्ण स्वास्थ्यलाभको प्रतीक्षामा रहेको उनले बताए ।

क्याप्टेन स्मितको उपचार र हेरचाहमा सहयोग गरेकोमा मोदीले साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) सरकारलाई पनि धन्यवाद दिएका छन् । आवश्यक परेको अवस्थामा आफू एक फोनको दूरीमा रहेको उनले बताए ।

‘तपाईंले वास्तवमै भारतको नाम जोगाउनुभएको छ । तपाईं पूर्ण रूपमा स्वस्थ हुनुहोस्, पूरा देश तपाईंको साथमा छ,’ मोदीले भने ।

कुराकानीको अन्त्यमा मोदीले क्याप्टेन स्मित​​​​​​​लाई शीघ्र स्वास्थ्यलाभको शुभकामना दिँदै आफूहरू फेरि भेटेर बाँकी कुराकानी गर्ने बताएका थिए ।

१४ हजार फिट तल झर्यो विमान, यात्रुले जोगाए १७४ जनाको ज्यान

Share News