काठमाडौं । दुबईबाट इजरायलको राजधानी तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा बुधबार (हिजो) भएको घटनाले विश्वभरको उड्डयन क्षेत्रमा तरंग ल्याएको छ ।
फ्लाई दुबईको एफजेड–१०७३ उडानमा ककपिटभित्रै एक पाइलटले अर्को पाइलटलाई चक्कु प्रहार गरेपछि विमान केही समय नियन्त्रण गुमाउने अवस्थामा पुगेको थियो । चक्कु प्रहारपश्चात विमान तीव्र गतिमा तल झरेको बताइएको छ ।
तर यात्रु र विमानमा रहेका चालक दलका सदस्यले समयमै हस्तक्षेप गरेपछि विमान सम्भावित ठूलो दुर्घटना बचेको छ । विमानलाई अन्ततः साउदी अरबको ताबुकमा आपतकालीन अवतरण गराइएको थियो ।
विमानमा रहेका सबै यात्रुलाई फ्लाई दुबईको विमानमार्फत सुरक्षित रूपमा इजरायल पुर्याइएको छ ।
घटना दुबईबाट उडेको करिब साढे दुई घण्टापछि भएको थियो । फ्लाइट ट्र्याकिङ विवरणअनुसार बोइङ ७३७ विमान करिब ३३ हजार फिट उचाइमा उडिरहेको थियो । त्यस क्रममा विमान एकाएक तीव्र गतिमा तल झर्न थाल्यो ।
केही विवरणअनुसार विमान करिब एक मिनेटभित्र ३३ हजार फिटबाट १७ हजार फिट आसपासमा झरेको थियो भने रोयटर्सले ३० सेकेन्डभन्दा कम समयमा करिब १४ हजार फिटको अवरोह भएको जनाएको छ । घटनाको विभिन्न चरण र तथ्यांकअनुसार अवरोहको समय तथा उचाइमा केही फरक विवरण आएका छन् ।
फ्लाइट ट्र्याकिङ विवरणले पनि विमानको असामान्य गतिविधि देखाएको छ । विमानले सुरुमा ‘७७००’ आपतकालीन संकेत प्रसारण गरेको थियो । त्यसपछि केही समयका लागि ‘७५००’ कोड प्रयोग भएको थियो । ७५०० अन्तर्राष्ट्रिय उड्डयनमा विमान अपहरण वा गैरकानुनी हस्तक्षेप भएको संकेतका रूपमा प्रयोग हुँदै आएको छ ।
यसपछि विमानको दिशा पनि परिवर्तन भएको थियो । यही कारण इजरायली पक्षले सुरुमा विमान अपहरण भएको हुनसक्ने आशंका गरेको थियो । विमानमा अधिकांश यात्रु इजरायली नागरिक रहेको बताइएको छ । आपतकालीन संकेत र विमानको असामान्य उडानका कारण इजरायलले आफ्ना लडाकु विमानसमेत तयारी अवस्थामा राखेको थियो।
तर विमानभित्रको वास्तविक अवस्था अझ डरलाग्दो थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दिएको विवरणअनुसार ककपिटमा एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरेका थिए ।
आक्रमणमा परेका क्याप्टेन गम्भीर रूपमा घाइते भए पनि उनले प्रतिरोध गर्दै ककपिटको ढोका खोल्न सफल भएको बताइएको छ । त्यसपछि यात्रु र चालक दलका सदस्य ककपिटमा प्रवेश गरेका थिए ।
विमानमा संयोगवश फ्लाई दुबईकै केही ‘अफ–ड्युटी’ चालक दलका सदस्य पनि यात्रुका रूपमा रहेका थिए । उनीहरूले विमानको नियन्त्रण पुनःस्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको फ्लाई दुबईले जनाएको छ ।
केही यात्रुका अनुसार ककपिटभित्र रगत देखिएको थियो भने पाइलटहरूबीचको संघर्षपछि विमान एकाएक तल झरेको थियो । यात्रुहरूमा ठूलो त्रास फैलिएको थियो ।
इजरायली सञ्चारमाध्यमसँग कुरा गरेका यात्रुमध्ये केहीले विमान एकाएक डुब्न थालेपछि आफूहरूले विमान दुर्घटना हुन लागेको ठानेको बताएका छन् । केही यात्रु ककपिटतर्फ दौडिएका थिए । त्यही क्रममा आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिइएको थियो । यात्रुहरूले उनलाई ककपिटबाट हटाएर नियन्त्रणमा लिएपछि विमानको अवस्था क्रमशः स्थिर भएको थियो ।
घटनापछि विमानलाई इजरायलतर्फ अघि बढाउनुको सट्टा साउदी अरबको ताबुकतर्फ मोडियो । ताबुक विमानस्थलका अनुसार स्थानीय समयअनुसार बिहान ८ः४४ बजे विमानले आपतकालीन अवतरणका लागि अनुमति मागेको थियो ।
त्यसको करिब एक घण्टापछि विमान सुरक्षित रूपमा ताबुक विमानस्थलमा अवतरण गरेको थियो । घाइते दुवै पाइलटलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
अवतरणपछि विमानमा रहेका यात्रुहरूलाई विमानस्थलमै आवश्यक सहयोग उपलब्ध गराइएको थियो । फ्लाई दुबईले यात्रुहरूलाई इजरायल फर्काउन अर्को विमान पठाएको थियो । पछि यात्रुहरू तेल अभिभस्थित बेन गुरियन विमानस्थल पुगेका थिए ।
घटनामा संलग्न आक्रमणकारी पाइलटको पहिचान र राष्ट्रियताबारे पनि विभिन्न विवरण सार्वजनिक भएका छन् । इजरायली अधिकारीहरूले उनलाई ओमानका नागरिकका रूपमा उल्लेख गरेका छन् । तर केही प्रारम्भिक विवरणहरू स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन् ।
आक्रमणमा परेका क्याप्टेनलाई भारतीय नागरिक स्मित मच्छरका रूपमा इजरायली प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
सबैभन्दा ठूलो प्रश्न भने आक्रमण किन भयो ? भन्ने हो । यसको स्पष्ट उत्तर अहिलेसम्म आएको छैन । फ्लाई दुबईले ककपिटमा ‘घटना’ भएको पुष्टि गर्दै त्यसको कारण र उद्देश्यबारे जानकारी अहिलेसम्म स्पष्ट नभएको जनाएको छ । कम्पनीले कारण र उद्देश्य औपचारिक अनुसन्धानबाट मात्रै खुल्ने बताएको छ ।
इजरायली अधिकारीहरूले भने यसलाई विमान दुर्घटनामा पार्ने प्रयास वा सम्भावित आतंकवादी गतिविधिका रूपमा अनुसन्धान गरिरहेका छन् । नेतान्याहूले आक्रमणपछि पाइलटले विमान नै खसाल्न खोजेको देखिएको बताएका छन् ।
तर अहिलेसम्म कुनै आतंकवादी संगठनले घटनाको जिम्मेवारी लिएको छैन र आक्रमणकारीको कुनै संगठनसँग सम्बन्ध रहेको प्रमाण पनि सार्वजनिक भएको छैन । त्यसैले घटनालाई अहिले नै निश्चित रूपमा आतंकवादी हमला भन्न सकिने अवस्था छैन ।
घटनाको अर्को महत्त्वपूर्ण पाटो विमानको ‘ब्ल्याक बक्स’ अनुसन्धान हो । फ्लाई दुबईका अधिकारीहरूले घटनाको वास्तविक क्रम र कारण पत्ता लगाउन ब्ल्याक बक्सलगायत प्रमाण महत्त्वपूर्ण हुने बताएका छन् । विमानको पुच्छरतर्फको रडरमा समेत क्षति पुगेको विवरण सार्वजनिक भएको छ ।
घटनापछि फ्लाई दुबईले इजरायल जाने र इजरायलबाट आउने आफ्ना उडानहरू अनुसन्धान जारी रहेसम्म स्थगित गर्ने निर्णयसमेत गरेको छ । संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन प्राधिकरणले पनि घटनालाई ‘सुरक्षा घटना’का रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।
यस घटनाले एउटा गम्भीर प्रश्न भने उठाएको छ, हजारौं फिट माथि उडिरहेको व्यावसायिक विमानको ककपिटमै पाइलटबीच हिंसात्मक घटना भएमा यात्रु र अन्य चालक दलले कति छिटो प्रतिक्रिया दिन सक्छन् ?
फ्लाई दुबईको यो घटनामा यात्रु तथा अफ–ड्युटी चालक दलको तत्काल हस्तक्षेपकै कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको देखिन्छ ।