काठमाडौं । केन्याले लामु काउन्टीमा १६ अर्ब अमेरिकी डलरको लागतमा विशाल पेट्रोकेमिकल प्रशोधन केन्द्र निर्माण कार्य सुरु गरेको छ । केन्याली सरकार र नाइजेरियाका उद्योगपति अलिको डाङ्गोटेको रणनीतिक साझेदारीमा अघि बढाइएको यो परियोजनाले दैनिक ७ लाख ब्यारेल कच्चा तेल प्रशोधन गर्ने लक्ष्य लिएको छ ।
राष्ट्रपति विलियम रुटोले बुधबार एक विशेष समारोहबीच परियोजनाको शिलान्यास गर्दै यसलाई केन्याको ऊर्जा सुरक्षा, औद्योगिकीकरण र पूर्वी अफ्रिकी एकीकरणका लागि एउटा कोसेढुङ्गा साबित हुने बताए ।
यो केन्द्रले तेल प्रशोधनका साथै १,००० मेगावाट विद्युत्समेत उत्पादन गर्नेछ, जसले राष्ट्रिय तथा क्षेत्रीय ऊर्जा माग सम्बोधन गर्न सहयोग पुर्याउनेछ ।
राष्ट्रपति रुटोले सन् २०२४ मा अफ्रिकी निर्यात–आयात बैंकको तथ्याङ्क उद्धृत गर्दै अफ्रिकाको ऊर्जा संकटबारे चर्चा गरे । अफ्रिकाले दैनिक ६.८ मिलियन ब्यारेल कच्चा तेल उत्पादन गरे पनि प्रशोधित इन्धनका लागि आयातमा निर्भर रहनुपर्ने बाध्यता रहेको उनले बताए ।
उनले नयाँ स्थापना गरिएको ‘नेसनल इन्फ्रास्ट्रक्चर फन्ड’ मार्फत यस्ता ठूला पूर्वाधार परियोजनाका लागि आवश्यक दीर्घकालीन पुँजी जुटाउने नीति लिएको जानकारी दिए ।
कार्यक्रममा उद्योगपति अलिको डाङ्गोटेले अफ्रिकाले कच्चा पदार्थ निर्यात गरी तयार वस्तु महँगोमा आयात गर्ने परम्परागत आर्थिक चक्रलाई यो परियोजनाले अन्त्य गर्ने दाबी गरे । लामो समयदेखिको क्षेत्रीय लगानी रणनीतिको यो पहिलो खुड्किलो भएको उनको भनाइ छ ।
परियोजनाले करिब ६० हजार प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ । सञ्चालनका लागि यो रिफाइनरीले मध्यपूर्व र अमेरिकाबाट कच्चा पदार्थ आयात गर्नेछ भने केन्या, तान्जानिया र मोजाम्बिकको आन्तरिक उत्पादन बढ्दै जाँदा त्यसलाई पनि समेट्दै लैजाने रणनीति लिएको छ ।