सामाजिक सञ्जालको प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्य उच्च जेखिममा
काठमाडौं । अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुइ घण्टा भन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ । अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) ले शुक्रबार जारी गरेको विज्ञप्तिमा १२–१८ वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्ष पछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ । अष्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस अध्ययनले मेलबर्नमा ९ देखि १९ वर्ष उमेर समूहका करिब एक हजार २०० सहभागीहरुको बीचमा अध्ययन गरेको जनाइएको छ । अध्ययनको लागि सन् २०२५ मा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क सङ्कलन गरेको जनाइएको छ । अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुव्र्यवहार लगायत सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिमले बढेको चेतावनी दिएको छ । अध्ययनका अनुसार यसको प्रभाव १२ देखि १३ वर्ष उमेर समुहका केटीहरूमा सबै भन्दा बढी देखिएको थियो, भने दुवै लिङ्गहरूमा उच्च जोखिम देखिएको थियो । अध्ययनको निष्कर्षले प्रारम्भिक किशोरावस्थालाई बालबालिकाको जिवनको महत्वपुर्ण समयको रूपमा लिइ अध्ययन गरेको प्रमुख लेखक नन्दी विजयकुमार, एमसीआरआई र डीकिन विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगीले बताएका छन् । सह–लेखक, एमसीआरआई प्रोफेसर सुसान सायरले अध्ययनबाट आएका निष्कर्षहरूले उमेर–उपयुक्त सीमाहरू, राम्रो डिजिटल साक्षरता कार्यक्रमहरू, र मानसिक स्वास्थ्य जोखिमहरू कम गरी अभिभावकको मार्गदर्शनलाई बलियो बनाउने बताएका छन् । अघिल्लो एमसिआरआइ अनुसन्धानले लगभग तीन चौथाई अस्ट्रेलियाली किशोरकिशोरीहरूले मानसिक रोग तथा चिन्ताको अनुभव गरेको जनाएको थियो । रासस
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ । नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा हरेक दिन बिहान ८ः३० बजेदेखि बिरामी दर्ता सुरु हुने र दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँले जानकारी दिए । अस्पतालले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अनुभवी नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट, नर्सिङ तथा प्राविधिक जनशक्तिमार्फत आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा हाल १६ जना नेत्र विशेषज्ञ, १ जना एनेस्थेसियोलोजिष्ट, ७ जना अप्टोमेट्रिष्ट, ३ जना फेलो समेत गरी जम्मा १५० जना कर्मचारी छन् । अस्पतालमा दैनिक करिव ७०० देखि ९०० बिरामीले सेवा लिने गरेका छन् भने मोतिबिन्दु, रेटिना, जलविन्दु, कर्निया तथा बाल आँखा रोग सम्बन्धी जटिल उपचार तथा शल्यक्रियासमेत नियमित रूपमा सञ्चालन हुने गरेको छ । नेपाल आँखा अस्पतालबाट बहिरङ्ग सेवा, विशेषज्ञ परामर्श सेवा, मोतिबिन्दु क्लिनिक, बाल आँखा सेवा, अर्थोप्टिक्स सेवा लगायतका विविध उपचार सेवा उपलब्ध छन् । त्यसैगरी, २४ सै घण्टा आकस्मिक सेवा तथा अन्तरङ्ग (इन-पेसेन्ट) सेवा सञ्चालनमा रहेकाले आकस्मिक अवस्थामा समेत बिरामीले निरन्तर सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । शल्यक्रिया सेवाअन्तर्गत मोतिबिन्दु, रेटिना, ग्लुकोमा, कर्निया तथा बाल नेत्ररोगसम्बन्धी शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन भइरहेको छ ।
एनआईसी एशिया बैंकद्वारा पर्वतको देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको देउपुरस्थित देउपुर स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री सहयोग उपलब्ध गराएको छ । स्थानीयस्तरमा बिरामी तथा सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको उक्त स्वास्थ्य चौकीको सेवा अझ प्रभावकारी र सहज बनाउने उद्देश्यले बैंकले ह्वीलचियर, डस्बिन, फुट स्टेप, कुर्ची, स्युचर सेट लगायतका आवश्यक सामग्री हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले मोदी गाउँपालिका वडा नं. २ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कार्की क्षेत्री र स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रम २०८३ साल ज्येष्ठ २८ गते सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी, बैंकका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । बैंकले प्रदान गरेको सहयोगले स्वास्थ्य चौकीबाट प्रदान गरिँदै आएको सेवा अझ प्रभावकारी बन्ने र स्थानीय सेवाग्राहीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने विश्वास बैंकले लिएको छ ।