रेजिडेन्ट डाक्टरको गुनासो सुन्न मन्त्रालयमा छलफल

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । 

२४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरहरूले सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर आफ्ना गुनासा र माग प्रस्तुत गरेका हुन् । 

मन्त्रालयमा आयोजित छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दा बढी रेजिडेन्ट डाक्टरले कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोग्दै आएका समस्या मन्त्रालयका उच्च अधिकारीसमक्ष राखेका थिए ।

रेजिडेन्ट डाक्टरहरूले कलेज व्यवस्थापनबाट विद्यार्थीलाई अनावश्यक दबाब तथा टर्चर दिइएको र अध्ययनका लागि आवश्यक शैक्षिक वातावरण नरहेको आरोप लगाएका छन् । 

उनीहरूले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण निर्माण गरी अध्ययनमा फर्कने अवस्था बनाउन सरकारसँग आग्रह गरेका छन् । 

छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । 

रेजिडेन्ट डाक्टरहरूले आफूहरू सरकारप्रति आशावादी रहेकाले समस्या समाधानको पहलका लागि मन्त्रालयसम्म आएको बताएका छन् । 

‘यो सरकारसँग आशा छ, त्यही भएर यहाँसम्म आएका हौं,’ उनीहरूले भने ।

रेजिडेन्ट डाक्टरहरूले अन्य निजी मेडिकल कलेजमा समेत ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न माग गरेका छन् । त्यस्ता गतिविधिमा संलग्न चिकित्सक तथा सम्बन्धित व्यक्तिमाथि आवश्यक कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

आन्दोलनरत डाक्टरहरूले कलेजमा तत्काल फर्किएर अध्ययन गर्ने वातावरण नरहेको बताएका छन्। उनीहरूले आफ्ना समस्या सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संकेतसमेत दिएका छन् ।

मन्त्रालयले रेजिडेन्ट डाक्टरहरूले उठाएका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ । 

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले रेजिडेन्ट डाक्टरका वास्तविक समस्या उनीहरुबाटै सुन्ने र समस्या समाधानकालागि सरकारकोतर्फबाट के कस्ता पहल गर्न सकिन्छ भन्ने उद्देश्यले छलफल गरिएको बताए ।

‘यो विषयमा सरकार गम्भीर छ। शिक्षामन्त्रीज्यूले पनि गम्भीरताका साथ यसलाई हेर्नुभएको छ । तपाईं आशा लिएर जानुस्, हामी यथाशिघ्र छिटो यसलाई सम्बोधन गर्छौं,’ झाले भने ।

कलेजमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

रेजिडेन्ट डाक्टरहरूले भने सरकारको पहलबाट आफूहरूको समस्या समाधान हुने र कलेजमा पुनः शान्तिपूर्ण रूपमा अध्ययन गर्ने वातावरण बन्ने अपेक्षा गरेका छन् ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्माले पनि विद्यार्थीको समस्यालाई लिएर आयोग गम्भीर रहेको र यसको समाधानमा आवश्यक पहल गर्ने  बताएका छन् ।

Share News