खानामा किरा परेको उजुरीपछि मन्त्र थकालीलाई साढे २ लाख जरिवाना

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित मन्त्र थकालीमा भान्साको सरसफाइमा लापरबाही गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

खाद्यान्नमा किरा परेको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त अनुगमन टोलीले गरेको निरीक्षणमा भान्सामा विभिन्न कैफियत भेटिएको हो ।

अनुगमनका क्रममा ग्रिन तारा हस्पिटालिटी प्रालिद्वारा सञ्चालित उक्त रेस्टुरेन्टको भान्सामा साङ्ला र भुसुना देखिनुका साथै पकाइएका खाद्य पदार्थ खुला राखिएको पाइएको थियो । 

फ्रिज तथा भान्सामा खाद्य सामग्री अव्यवस्थित रूपमा भण्डारण गरिएको र ड्रेनेज तथा खुला डस्टबिनको सरसफाइमा समेत लापरबाही भएको टोलीले जनाएको छ ।

त्यस्तै, फ्राइ गरिएको आलु पत्रिकामा बेरेर राखिएको पाइएको थियो । अस्वस्थकर अवस्थामा राखिएको करिब एक किलोग्राम फ्राइ आलु अनुगमन टोलीले नष्ट गरेको छ । 

कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

टोलीले किट नियन्त्रणको प्रभावकारी व्यवस्था गर्न, भान्साको सरसफाइमा ध्यान दिन, खाद्य पदार्थ छोपेर राख्न र मसी लागेका कागजमा खाद्य वस्तु राख्ने अभ्यास पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ ।

अनुगमन टोलीले देखिएका सबै कैफियत सात दिनभित्र सुधार गरी त्यसको प्रमाणसहित विभागमा उपस्थित हुनसमेत निर्देशन दिएको छ । तोकिएको अवधिमा सुधार नगरे प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप कारबाही गरिने विभागले जनाएको छ ।

Share News