काठमाडौं । नेशनल मेडिकल कलेजमा विद्यार्थीका मागलाई लिएर आन्दोलन चर्किएपछि कलेजका अध्यक्ष डा. जैनुद्दीन अन्सारीले विद्यार्थीलाई आन्दोलन छाडेर पढाइमा फर्किन आग्रह गरेका छन् ।
काठमाडौंमा निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अन्सारीले कलेजले विद्यार्थीमाथि शोषण नगरेको दाबी गरे ।
उनले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको व्यवस्थाअनुसार नै विद्यार्थीले काम गर्नुपर्ने बताए ।
अन्सारीले आर्थिक वर्षको अन्त्य भएका कारण यसपटक विद्यार्थीको स्टाइपेन्ड भुक्तानीमा केही ढिलाइ भएको स्वीकार गरे ।
उनका अनुसार एक महिना ढिला भए पनि बैंकबाट ऋण लिएर भए पनि स्टाइपेन्ड उपलब्ध गराउने तयारी कलेजको छ ।
‘आर्थिक वर्षको अन्त्यमा भएकाले यसपल्ट स्टाइपेन्ड अलि ढिला हुन्छ भन्यौं । एक महिना भइसक्यो भने तुरुन्तै बैंकबाट ऋण लिएर भए पनि हामी दिन्छौं,’ उनले भने ।
विद्यार्थीले सातामा ४६ घण्टाभन्दा बढी काम गराइएको र कामको बोझ रहेको गुनासो गरिरहेका बेला अन्सारीले भने कलेजले ४६ घण्टाभन्दा बढी काम नगराउने दाबी गरे ।
उनले विद्यार्थीले आफूखुसी कामको सीमा तोक्न नमिल्ने बताए । विश्वविद्यालयले तोकेको व्यवस्थाअनुसार नै विद्यार्थीले काम गर्नुपर्ने उनको भनाइ छ ।
‘हामीले शोषण गरेका छैनौं । हप्तामा ४६ घण्टाभन्दा बढी हामी काम गराउँदैनौं । तपाईंहरू पढ्न आउनुभएको हो,’ उनले भने, विश्वविद्यालयले जे भन्छ, त्यहीअनुसार हामी गर्ने हो ।’
विद्यार्थीले चिकित्सा शिक्षा आयोगसम्म पुगेर गुनासो गरेपछि विषय थप गम्भीर बनेको पनि उनले बताए ।
विश्वविद्यालय र आयोगको निर्देशनअनुसार नै समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।
अन्सारीले विद्यार्थीलाई आन्दोलनका कारण आफ्नो पढाइ र भविष्य प्रभावित नपार्न आग्रह गरे । ‘तपाईंहरू आएर पढ्नूस्, आफ्नो जीवन बर्बाद नगर्नूस्,’ उनले विद्यार्थीहरूलाई आग्रह गरे ।
कलेजभित्र समस्या भए आन्दोलनमा जानुभन्दा पहिले सम्बन्धित निकायमा गुनासो गर्न पनि उनले आग्रह गरेका छन् ।
प्रिन्सिपल, शिक्षक, पोस्ट ग्राजुएट गाइड, पोस्ट ग्राजुएट कोअर्डिनेटर वा विभागीय प्रमुखसमक्ष समस्या राखे समाधान हुने उनको दाबी छ ।
कार्यक्रममा अन्सारीले आफूलाई समेत विद्यार्थीले ‘खडेबाबा’को सूचीमा राखेको प्रसंगसमेत उल्लेख गरे । ‘२२ जनाको नाम खडेबाबा भनेर दिएको छ । त्यसमा मेरो पनि नाम छ । म पनि खडेबाबा हुँ,’ उनले भने ।