अन्धोपन घट्यो, आँखाका समस्या भने बढ्दै

काठमाडौं । ‘आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं’ भन्ने नाराका साथ बिहीबार (आज) विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ ।

हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने दिवसले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ ।

नेपालमा सन् १९८१ मा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकामा सन् २०२२ को आरएएबी सर्वेक्षणअनुसार यो घटेर शून्य दशमलव २८ प्रतिशतमा पुगेको छ । तर अन्धोपन घट्दै गए पनि आँखासम्बन्धी अन्य समस्या चुनौतीका रूपमा बढिरहेका छन् ।

नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टिदोष बढ्दो चुनौती बनेका छन् । 

बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ जोखिम थपिरहेको उनले बताए ।

सङ्घका अनुसार हालसम्म ५ करोड २ लाख ४८९ जनालाई उपचार सेवा प्रदान गरिएको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । 

संघले २८ आँखा अस्पताल र ४४ जिल्ला शाखाअन्तर्गतका २२६ उपचार केन्द्रमार्फत नेपालीसहित विदेशी नागरिकलाई आँखा सेवा दिँदै आएको छ ।

Share News