नर्सिङ कार्यक्रम पुनः सञ्चालन गर्ने बाटो खुल्यो, थप २ हजार विद्यार्थीले पढ्न पाउने
काठमाडौं । झण्डै ६ वर्षदेखि रोकिएको नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको छ । एक सय वा त्योभन्दा माथि बेड क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम पुनः सञ्चालन गर्न पाउने भएका हुन् । सोमबार सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले राष्ट्रिय चिकित्सा शिक्षा आयोग तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको छ । जुन पहिले नै उच्च अदालत पाटनले कानुनअनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको फैसला गरिसकेको थियो । तर, उक्त फैसला कार्यान्वयन नभएपछि चिकित्सा शिक्षा आयोगका पूर्वसदस्य डा. पदम खड्काले फैसला कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दिएका थिए । उक्त निवेदनमा सोमबार निर्देशनालयले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिएको हो । जस अनुसार अब एक सय वा त्योभन्दा माथि बेड क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने छन् । निर्देशनालयको यो निर्देशनसँगै थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउनेछन् । आयोगले ३० साउन २०७७ मा गरेको निर्णयमार्फत एउटै संस्थाले बीएन, बीएस्सी वा एमएनमध्ये एउटा मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरेपछि धेरै संस्थामा पीसीएल नर्सिङ कार्यक्रम बन्द भएको थियो । चिकित्सा शिक्षा ऐनमा नभएको व्यवस्था कार्यकारी समितिबाट लागू गरिएको आरोप लगाउँदै आयोगको निर्णय खारेजको माग गर्दै उच्च अदालत पाटनमा रिट परेको थियो । अदालतले कानुनअनुसार कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको गत वर्ष फैसला गरेको थियो ।
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
चितवन । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको हो । अस्पतालले ८९ अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डा. श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका १४ वटा सङ्घीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो । मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि एक हजार ४ सय ९७ विभिन्न सूचकहरु बनाएर परीक्षण गरेको हो । गत वर्ष अस्पतालले ८८ अङ्कसहित उत्कृष्ट बनेको थियो । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षभन्दा चालु आवमा अस्पतालले अझै राम्रो गरेको बताए । बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, कामको तालिका, सरसफाइ, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अद्यावधिक गरेको उनको भनाइ छ । कूल ६ सय शैयाको भरतपुर अस्पतालमा दैनिक दुई हजार ५ सय देखि तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् । अस्पतालले १४ वटा अतिविशिष्ट सेवा सञ्चालन गर्दै आएको छ । जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बिमा बन्द भएपछि बिमाका बिरामीको चाप यहाँ बढेको छ । सूचक राम्रो देखिए पनि बिरामीको उच्च चाप र न्यूनतम स्रोतसाधनमा काम गर्नुपर्दा चाहेर पनि बिरामीको अपेक्षाअनुसार अझै सेवा दिन नसकिएको बगालेले बताए ।
ओम मेगाश्रीले रोयल फर्मास्युटिकल्स गाभ्दै, नयाँ औषधि उत्पादन गर्ने
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रालिलाई गाभ्ने भएको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सञ्चालक समितिको बैठकले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने निर्णय गरेको हो । रोयल फर्मास्युटिकल्सलाई गाभ्ने विशेष प्रस्ताव पारित गर्न ओम मेगाश्री फर्मास्युटिकल्सले असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९, जुगेडीस्थित कम्पनी उद्योग परिसरमा विशेष साधारण सभा बोलाएको छ । सभाले रोयल फर्मास्युटिकल्स प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन, ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिवेदन, सम्पत्ति तथा दायित्व मूल्याङ्कन, सेयर स्वाप अनुपात तथा प्राप्ति योजना स्वीकृत गर्नेछ । यस्तै, प्राप्ति प्रक्रिया सम्पन्न भएपछि रोयल फर्मास्युटिकल्सका सेयरधनीलाई स्वीकृत सेयर स्वाप अनुपातअनुसार ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पनि सभाबाट पारित गर्नेछ । प्राप्ति प्रक्रियाका कारण कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी, सेयर संरचना, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न तथा नियामक निकायबाट प्राप्त हुने निर्देशनअनुसार आवश्यक निर्णय र कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । विशेष साधारण सभा प्रयोजनका लागि असार २२ गते सेयर दाखिला-खारेज (बुक क्लोज) हुने कम्पनीले जनाएको छ । उक्त मितिसम्म कायम सेयरधनीले मात्रै सभामा सहभागी हुन पाउनेछन् । ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष डा. अर्जनु कुमार श्रेष्ठले नेपाली औषधि उद्योगमा बढ्दो प्रतिस्पर्धा, सानो बजार र एउटै प्रकृतिका औषधि उत्पादन गर्ने कम्पनीको संख्या धेरै भएकाले रोयल फर्मास्युटिकल्सलाई गाभ्ने निर्णय गरिएको बताए । उनका अनुसार नेपालमा औषधि उत्पादन गर्ने कम्पनी धेरै भए पनि अधिकांशले एउटै प्रकारका औषधि उत्पादन गरिरहेका छन् । साथै, नेपाल एलडीसी (अल्पविकसित देश) बाट स्तरोन्नति भएपछि औषधि उद्योगले थप प्रतिस्पर्धाको सामना गर्नुपर्ने भएकाले लागत घटाउन, प्रतिस्पर्धात्मक क्षमता बढाउन र नयाँ किसिमका औषधि उत्पादन गर्न मर्जर आवश्यक रहेको उनले बताए । उनले मर्जर प्रक्रिया अन्तर्गत ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिँदै विशेष साधारण सभाबाट प्रस्ताव पारित भएपछि प्रक्रिया तीव्र रूपमा अघि बढ्ने बताए । डीडीए प्रतिवेदन आएपछि दुवै कम्पनीबीचको सेयर स्वाप रेसियो निर्धारण गरिने उनको भनाइ छ । हाल ओम मेगाश्री फर्मास्युटिकल्सको चुक्ता पुँजी ६० करोड रुपैयाँ र रोयल फर्मास्युटिकल्सको ४१ करोड रुपैयाँ रहेको छ। रोयल फर्मास्युटिकल्सको वर्किङ क्यापिटललाई समेत समायोजन गर्ने विषयमा छलफल भइरहेको र अन्तिम निर्णय डीडीए प्रतिवेदनका आधारमा हुने अध्यक्ष श्रेष्ठले बताए ।