विकासन्युज

अमेरिका जान झुटो बोली अन्तवार्ता दिए सधैंका लागि प्रवेशमा रोक

काठमाडौं । अमेरिकन दूतावासले भिसा अन्तवार्ताका क्रममा झुटो नबोल्न आग्रह गरेको छ ।  झुटो बोलेमा अमेरिकाको भिसा सधैंका लागि नलाग्ने दूतावासले चेतावनीसमेत दिएको छ । ‘भिसाको अन्तवार्ताको क्रममा  सधैँ सत्य बोल्नुहोस्,’ दूतावासले भनेको छ, ‘झुटो बोलेमा तपाईंलाई भविष्यमा भिसा वा अमेरिका प्रवेशका लागि स्थायी रूपमा प्रतिबन्ध लाग्न सक्नेछ ।’ कन्सुलर अधिकारीहरूले विगतमा अध्यागमनसम्बन्धी नियम उल्लङ्घनबारे गरिएका गतिविधिका बारेमा जानकारी राख्ने पनि दूतावासले बताएको छ । त्यसैगरी, दूतावासबाहिर कसैले ‘दूतावासमा आफ्नो चिनजान छ’ भन्दै भिसा अन्तर्वार्ताको समय छिटो मिलाइदिने भने गरेको पाइएमा त्यो ठग हो भनेर बुझ्न पनि दूतावासले आग्रह गरेको छ । अन्तर्वार्ताको समय लिन वा परिवर्तन गर्न चाहेमा अमेरिकी दूतावासको आधिकारिक वेबसाइटमा जानुपर्ने पनि दूतावासले जनाएको छ ।

मस्कलाई एकैदिन ८९.६ अर्ब डलर घाटा

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थमा बुधबार ठूलो गिरावट आएको छ । उनको कम्पनी स्पेशएक्सका सेयरमा बुधबार १३.६१ प्रतिशत गिरावट आएको थियो भने टेस्लाको सेयर पनि १.७७ प्रतिशतले घटेको थियो । ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार सेयर बजारमा आएको गिरावटका कारण मस्कको नेटवर्थ ८९.६ अर्ब अमेरिकी डलरले घटेको छ ।  यो  मुकेश अम्बानीको नेटवर्थ ८५.७ अर्ब डलरभन्दा पनि बढी हो । यससँगै मस्कको कुल सम्पत्ति ६८७ अर्ब डलरमा झरेको छ । यद्यपि, यस वर्ष उनको नेटवर्थ अझै ६८.१ अर्ब डलरले बढेको छ । बुधबार विश्वका शीर्ष १० धनीमध्ये आठ जनाको नेटवर्थमा गिरावट आएको छ । मस्कपछि सबैभन्दा ठूलो क्षति ल्यारी पेजलाई भएको छ । गुगलका सहसंस्थापक पेजको नेटवर्थ ११.५ अर्ब डलरले घटेर ३०९ अर्ब डलरमा झरेको छ । त्यस्तै, उनका सहसंस्थापक सर्गेई ब्रिनको नेटवर्थमा १०.५ अर्ब डलरको कमी आएको छ । उनी २८८ अर्ब डलरको नेटवर्थसहित विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा पुगेका छन् । जेफ बेजोस २९२ अर्ब डलरको नेटवर्थसहित तेस्रो स्थानमा छन् । यस वर्ष सबैभन्दा धेरै ९९.३ अर्ब नेटवर्थ थपेका माइकल डेल २३९ अर्ब डलरसहित पाँचौं स्थानमा छन् । त्यस्तै, मार्क जुकरबर्ग २१० अर्ब डलरसहित छैटौं, ल्यारी एलिसन १९७ अर्ब डलरसहित सातौं, जेन्सेन हुआङ १८२ अर्ब डलरसहित आठौं, स्टिभ बाल्मर १७१ अर्ब डलरसहित नवौं र बर्नार्ड आर्नो १६३ अर्ब डलरसहित दशौं स्थानमा छन् । भारत तथा एसियाका धनीमध्ये अग्रस्थानमा रहेका गौतम अडानी ११३ अर्ब डलरको कुल सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा १७औं स्थानमा छन् ।  अडानीको सम्पत्तिमा बुधबार २७.२ करोड डलर वृद्धि भएको छ । यस वर्ष उनको कुल सम्पत्ति २८.१ अर्ब डलरले बढेको छ । अर्कोतर्फ, अम्बानीको नेटवर्थमा बुधबार ५१.४ करोड डलरको गिरावट आएको छ । यस वर्ष भने उनको नेटवर्थ २२ अर्ब डलरले घटिसकेको छ ।

एकैदिन तोलामा ८ हजारले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि भएको छ । एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँ र चाँदीको मूल्य ९५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ उकालो लागेको व्यवसायीहरूले बताएका छन् ।

सरकारको दबाबपछि तिब्बतीय अध्यन सम्मेलन स्थगित

काठमाडौं । सरकारको दबाबपछि तिब्बतीय अध्ययन सम्मेलन नहुने भएको छ । काठमाडौंमा विश्वभरका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापक, प्राज्ञ तथा शोधकर्ताहरूको सहभागितामा नेपालमा १७ औं अन्तर्राष्ट्रिय प्राज्ञिक गोष्ठी आयोजना हुने तय भएको थियो ।   तीनदेखि चार वर्षमा विश्वका विभिन्न मुलुकमा आयोजना हुँदै आएको यो अन्तर्राष्ट्रिय गोष्ठी यसपटक सत्रौं संस्करणका रूपमा नेपालमा हुन तयारी भएको थियो । सरकारले वर्तमान अवस्थामा सम्मेलन नगर्न निर्देशन आएकाले सम्मेलन रद्द गरिएको गोष्ठीका संयोजक रहेका प्रा.सागर शर्माले जानकारी दिए । ‘हामीले सरकारको निर्देशन मान्नैपर्यो । राज्यभित्र रहने भएकाले राज्यका कानुन तथा निर्देशन मान्नुपर्छ,’ उनले विकासन्युजसँग भने । काठमाडौं विश्वविद्यालयअन्तर्गतको सेन्टर फर बुद्धिस्ट स्टडिज, राङ्जुङ येशे इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको थियो ।  आगामी भदौको ७ देखि १३ सम्म काठमाडौंमा ‘इन्टरनेसनल एसोसिएसन फर तिब्बती स्टडिज’ को सम्मेलन हुन लागेको थियो । नेपाल प्रहरीका उच्च अधिकृतले सुरक्षा थ्रेटको चुनौतीलाई लिएर पनि तिब्बतीय अध्ययन सम्मेलन रोकिएको बताए । ’सुरक्षा चुनौतीलाई लिएर र देशी–विदेशीले यहाँ खेल्न सक्ने भन्दै चुनौती देखिएको थियो,’ ती प्रहरी अधिकृतले भने । विभिन्न मुलुकका अध्यताहरू आउने र यहाँका वस्तुस्थिति तथा राजनीति विश्लेषण गर्न सक्ने भएकाले पनि सुरक्षाको तहबाट यो उच्च जोखिममा रहेको प्रहरीले निष्कर्ष ​​​ निकालेको उनको भनाइ छ । परराष्ट्रका एक अधिकारीले सरकारको निर्देशन तथा नियमविपरीत सम्मेलन गर्न लागिएका तत्काल कार्यक्रम रद्ध गर्न अनुरोध गरिएको बताए । ‘कतिपय अवस्थामा भू– राजनीतिलाई पनि ख्याल गर्नुपर्ने भएकाले सम्मेलन रद्द गर्नु परेको हो,’ उनले भने ।

एउटा फोटोले दिलाउन सक्छ नयाँ एथर स्कुटर, नाइमा एक्स्पोमा दिइँदै मेगा अफर

काठमाडौं । एथर इनर्जी नेपालले यही साउन २६ गतेदेखि आयोजना हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’लाई लक्षित गर्दै ‘मेगा गिभअवे’ अभियान संचालन गरेको छ । गत वर्ष आयोजना गरिएको यस अभियानमा सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि कम्पनीले यस वर्ष पनि यो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो ।  कम्पनीका अनुसार यस अभियान अन्तर्गत एक भाग्यशाली सहभागीले एथरको नयाँ इलेक्ट्रीक स्कुटर जित्ने अवसर पाउनेछन् । अर्थात् अब सामाजिक संजालमा एउटा फोटो, एउटा पोस्ट सेयर गर्दा लक्की ड्रबाट एथरको नयँँ स्कुटर पाउने छन् । यद्यपि, कम्पनीले विजेताले कुन स्कुटर पाउँछन् भन्ने चाहिँ खुलाएको छैन । कम्पनीका अनुसार यस अभियानमा सहभागी हुन ४ प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिला एथर इनर्जी नेपालको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरू फलो गर्नुपर्नेछ । नाइमा मोबिलिटी एक्स्पोमा एथरेको स्टल (हल सी स्टल नम्बर सी२) भिजिट गरी स्टलमा राखिएको एथर स्कुटरसँग एउटा आकर्षक फोटो खिच्नुपर्नेछ । उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दा @AtherEnergyNepal लाई ट्याग गर्नुका साथै आफ्ना दुई जना साथीहरूलाई पनि ट्याग गर्नुपर्नेछ । यी चरण पूरा गर्ने सहभागीहरू स्वतः लक्की ड्रमा समावेश हुने कम्पनीले जनाएको छ । भृकुटीमण्डपमा आयोजना हुने यस एक्स्पोमा एथरको स्टललाई प्रविधिमैत्री र अन्तरक्रियात्मक बनाइएको छ । जहाँ आगन्तुकहरूले एथरका नवीनतम प्रविधि, स्मार्ट फिचरहरू, तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष रूपमा अवलोकन तथा अनुभव गर्न पाउनेछन् ।  विद्युतीय सवारीका पारखी तथा नयाँ ईभी खरिद गर्ने योजनामा रहेका ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले विभिन्न डेमो र गतिविधिहरू प्रस्तुत गर्ने जनाएको छ ।

जमल डुबानको कारण खुल्यो, निकासभन्दा तीन गुणा बढी पानी भित्रिने

काठमाडौं । काठमाडौंको जमल क्षेत्र वर्षायाममा बारम्बार डुबानमा पर्नुको मुख्य कारण पानी भित्रिने र बाहिरिने पूर्वाधारको क्षमता नमिल्नु रहेको प्राविधिक अध्ययनले देखाएको छ । चारैतिरबाट आउने पानीको कुल प्रवाह क्षमता ०.८२६ वर्गमिटर रहे पनि निकासको क्षमता ०.२८३ वर्गमिटर मात्रै भएकाले पानी सडकमै जम्ने गरेको निष्कर्ष निकालिएको छ । प्राविधिक प्रतिवेदनअनुसार ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, येल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासका पाइपमार्फत वर्षाको पानी जमल चोकमा आइपुग्छ । यी सबैबाट आउने पानीको कुल प्रवाह क्षेत्रफल ०.८२६ वर्गमिटर पुग्छ । तर, त्यति पानी बाहिर निकाल्ने व्यवस्था भने ६० सेन्टिमिटर व्यासको एउटै ढलमार्फत गरिएको छ । यसको निकास क्षमता ०.२८३ वर्गमिटर मात्रै भएकाले पानीको बहाव थामिन नसकी सडकमै जम्ने गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले टुकुचा खोलाको सतह र ढलको निकासबीच उचाइको अन्तर निकै कम रहेकाले ठूलो वर्षा हुँदा टुकुचाको पानी उल्टै ढलभित्र पस्ने र निकास थप अवरुद्ध हुने समस्या पनि औँल्याएको छ । यसलाई माइतीघर मण्डलामा देखिएको जस्तै ‘बोटलनेक’ समस्या भनिएको छ । जमलमा पटक–पटक डुबान हुन थालेपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्बन्धित निकायलाई संयुक्त प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् । त्यसपछि महानगरपालिकाको विपद् व्यवस्थापन विभागको समन्वयमा विभिन्न निकायका प्राविधिकले स्थलगत अध्ययन गरेका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा गठित प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा डुबान समाधानका लागि तत्काल, मध्यकालीन र दीर्घकालीन योजना अघि सारिएको छ । तत्कालका लागि जमलदेखि केशरमहलसम्म थप क्याचपिट निर्माण, ढल, म्यानहोल र क्याचपिटमा थुप्रिएको लेदो, बालुवा र फोहोर नियमित सफा गर्ने तथा टुकुचा खोलाको पिँध सफा गरेर बहाव सहज बनाउने सुझाव दिइएको छ । मध्यकालीन योजनाअन्तर्गत हालको ६० सेन्टिमिटर व्यासको निकास पाइप हटाएर ठूलो क्षमताको ट्रंक लाइन निर्माण गर्नुपर्ने, पानीको चाप घटाउन डाइभर्सन प्रणाली अपनाउनुपर्ने र पुरानो ढल प्रणाली सञ्चालनमा ल्याउन अध्ययन गर्नुपर्ने उल्लेख छ । त्यसैगरी वर्षाको पानी जमिनमा पुनःभरण गर्ने प्रणाली विस्तार गर्न पनि सुझाव दिइएको छ । दीर्घकालीन रूपमा भने जमल क्षेत्रका भवनमा वर्षाको पानी सङ्कलन (रेन वाटर हार्भेस्टिङ) र भूजल पुनःभरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणाली अनिवार्य गर्न तथा वर्षाको पानीका लागि छुट्टै स्टोर्म वाटर ड्रेनेज निर्माण गर्नुपर्ने प्रतिवेदनको सुझाव छ । प्राविधिक टोलीले सन् २०१८ मा तयार गरिएको काठमाडौंको कोर सिटी क्षेत्रको ढल पुनर्संरचना डिजाइनलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान सके जमलको डुबान समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिने निष्कर्ष निकालेको छ ।

एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकलाई एक्यान अध्यक्ष नेपालको आग्रह

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले मुलुकको अर्थतन्त्रमा पारदर्शिता र वित्तीय सुशासन कायम गर्न लेखापरीक्षण क्षेत्रको भूमिका मेरुदण्डसरह रहेको बताएका छन् । नेपाल अडिटर्स एसोसिएसन (अडान) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राज्यको राजस्व सङ्कलनलाई पारदर्शी बनाउन र व्यावसायिक क्षेत्रमा विश्वास अभिवृद्धि गर्न अडानमा आबद्ध लेखापरीक्षकहरूको योगदान उच्च प्रशंसनीय रहेको उल्लेख गरे । उनले एक्यान र अडान दुवै संस्थाको साझा लक्ष्य नेपाली लेखा व्यवसायलाई थप मर्यादित, पारदर्शी र उत्तरदायी बनाउनु रहेको बताउँदै आगामी दिनमा पेसागत हकहित र नीतिगत सुधारका लागि सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे । आजको प्रविधिमैत्री युगमा अन्तर्राष्ट्रिय लेखापरीक्षण मापदण्ड र कर प्रणालीका नयाँ चुनौतीको सामना गर्न दक्षता अभिवृद्धि अपरिहार्य रहेको उनको भनाइ छ । पछिल्लो समय लेखापरीक्षकहरूमा देखिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी संशय वा त्रासबारे धारणा राख्दै उनले प्रविधिलाई केवल एउटा साधनका रूपमा लिन आग्रह गरे । उनले भने, ‘सन् ८० वा ९० को दशकमा जब क्याल्कुलेटरको आविष्कार भयो, त्यसको प्रयोग गर्नु हुँदैन भनेर आन्दोलन नै चलेको थियो । तर आज क्याल्कुलेटर एउटा सामान्य र अनिवार्य साधन बनिसकेको छ । आगामी १० वर्षभित्र एआईको अवस्था पनि त्यस्तै हुनेछ ।’ प्रविधिलाई सहज रूपमा ग्रहण गर्न सके यसले कार्यसम्पादनमा प्रभावकारिता र सहजता ल्याउने उनले बताए । पेसागत मर्यादाको रक्षाका लागि उच्च व्यावसायिक नैतिकता, निष्पक्षता र इमानदारिता नै मूल आधार हुनुपर्नेमा उनले जोड दिए । यस्ता गुणले नै समाज र राज्यको लेखापरीक्षण पेसाप्रतिको विश्वासलाई थप मजबुत बनाउने उनको तर्क छ ।

राजनीति सेवा हुनुपर्छ, पेसा होइन : सांसद केरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले राजनीतिलाई पेसा नभई सेवाका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन् । नेपाल अडिटर्स एसोसिएसन (अडान) द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद केरुङले हरेक राजनीतिक व्यक्तित्वको आफ्नै मौलिक पेसा हुनुपर्ने र राजनीतिलाई मात्र आर्जनको माध्यम बनाउँदा समाजमा भ्रष्टाचार र विकृति बढ्ने बताए । आफू पनि लेखा व्यवसायबाटै आएको स्मरण गर्दै उनले संसदीय कार्यकालका लागि आफ्नो पेसागत प्रमाणपत्र (लाइसेन्स) पाँच वर्षका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा स्थगन गराएको जानकारी दिए । सांसद केरुङले मुलुकको आर्थिक अनुशासन कायम गर्न र पारदर्शिता सुदृढ बनाउन लेखापरीक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । टोल विकास समितिदेखि अर्बौं रुपैयाँ कारोबार गर्ने कर्पोरेट हाउसहरूको हिसाबकिताब हेर्ने जिम्मेवारी लेखापरीक्षककै काँधमा रहेको उनको भनाइ छ । सांसद केरुङले मुलुकमा दर्तावाला लेखापरीक्षक (आरए) को संख्या क्रमशः घट्दै गएकोमा गम्भीर चासो व्यक्त गरे । नयाँ दर्ता प्रक्रिया रोकिएका कारण भविष्यमा दुर्गम क्षेत्रका साना संघ–संस्था र टोल विकास समितिको लेखापरीक्षण गर्ने जनशक्तिको अभाव हुन सक्ने उनले औँल्याए । उनले भने, ‘राजनीतिलाई नै पेसा ठान्ने हो भने भ्रष्टाचारको दुर्गन्ध बाहिर आउँछ । त्यसैले स्वच्छ समाज निर्माणका लागि राजनीति गर्ने व्यक्तिमा सेवाभाव र छुट्टै पेसागत पहिचान हुनु अनिवार्य छ । चार्टर्ड एकाउन्टेन्ट (सीए) हरू गाउँका साना उपभोक्ता समिति वा ५० हजार रुपैयाँ कारोबार गर्ने टोल विकास संस्थाको लेखापरीक्षण गर्न पुग्न कठिन हुन्छ ।’ आइक्यानबाट उत्पादित जनशक्तिको संख्या न्यून रहेको र धेरै विद्यार्थी पलायन भइरहेको भन्दै उनले पाठ्यक्रम परिमार्जनको आवश्यकता रहेको बताए । आफू जनप्रतिनिधिको भूमिकामा रहे पनि कार्यकाल सकिएपछि पुनः आफ्नै पेसामा फर्किने उनले उद्घोष गरे ।