काठमाडौं । बैंकिङ क्षेत्रमा जीवनको लामो समय बिताएका प्रताप सुवेदी अब नेपालको पुँजी बजारको नेतृत्वमा पुगेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै उनको यात्राले नयाँ मोड लिएको छ ।
कृषि विकास बैंकको उच्च व्यवस्थापनदेखि कर्जा, सञ्चालन, संस्थागत सुशासन र वित्तीय व्यवस्थापनसम्मका जिम्मेवारी सम्हालेका सुवेदीका लागि नेप्सेको नेतृत्व नयाँ कार्यक्षेत्र भए पनि वित्तीय क्षेत्रको अनुभव भने पुरानो छ ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्तिपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुवेदीलाई नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।
बैंकिङ क्षेत्रको अनुभवलाई अब पुँजी बजारको विकास र व्यवस्थापनमा उपयोग गर्ने जिम्मेवारी सुवेदीको काँधमा आएको छ ।

पर्वतको कुश्मा नगरपालिका-११ स्थायी ठेगाना भएका सुवेदीको जन्म २०२८ माघमा भएको हो । उनले सन् १९९६ देखि २००० सम्म राष्ट्र बैंकमा सहायक पदबाट जागिर सुरू गरेका थिए । सुवेदी त्यसपछि कर्मचारी सञ्चय कोषको भैरहवा शाखामा केही समय शाखा अधिकृतका रूपमा काम गरे । उनी सन् २००० देखि कृषि विकास बैंकमा आबद्ध भएका थिए ।
कृषि विकास बैंकमा विभिन्न क्षेत्रीय तथा केन्द्रीय जिम्मेवारी सम्हाल्ने क्रममा उनले कर्जा व्यवस्थापन, निक्षेप परिचालन, योजना निर्माण र सञ्चालन सुधारका क्षेत्रमा काम गरेका छन् । सन् २०१८ देखि २०१९ सम्म काठमाडौं क्षेत्रीय कार्यालयको प्रमुख तथा निमित्त उपमहाप्रबन्धकका रूपमा कार्यरत रहँदा उनले काठमाडौं र चितवन क्षेत्रका ६५ भन्दा बढी शाखाको व्यवस्थापन गरेका थिए ।
सन् २०१९ को मेदेखि सन् २०२४ को मार्चसम्म उनले कृषि विकास बैंकको प्रमुख कर्जा अधिकृतका रूपमा काम गरे । यस अवधिमा वार्षिक योजना तथा बजेट निर्माण, कर्जा फाइल स्वीकृति, कर्जा नीतिको परिमार्जन र निष्क्रिय कर्जा व्यवस्थापनमा उनको भूमिका थियो ।
त्यसपछि सन् २०२४ को मार्चदेखि सन् २०२५ को मार्चसम्म उनले उपमहाप्रबन्धक तथा प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाले । यस क्रममा कर्जा प्रशासनसम्बन्धी कार्यको केन्द्रीकरण, कर्जा स्वीकृति समितिको सक्रियता, ग्राहक पहिचान विवरण अद्यावधिक तथा नयाँ निक्षेप योजना विकासमा उनले नेतृत्व गरेका थिए ।
यसअघि सन् २०२२ मा उनले केही समय कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत काम गरेका थिए ।
बैंकबाहिरका वित्तीय तथा अन्य संस्थामा सञ्चालकका रूपमा काम गरेको अनुभव पनि सुवेदीसँग छ । उनी २०८० कात्तिक १४ देखि नेको इन्स्योरेन्सको सञ्चालकका रूपमा कार्यरत थिए । यसअघि २०७९ चैत २३ देखि २०८० कात्तिक १३ सम्म फन्ड म्यानेजमेन्ट कम्पनीको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै, २०७६ चैत २१ देखि २०७९ चैत २२ सम्म साना किसान विकास लघुवित्त वित्तीय संस्था र २०७५ फागुन १० देखि २०७६ चैत २० सम्म डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक रहेका थि ।
कृषि विकास बैंकको कर्मचारी अवकाश कोषको सञ्चालक समितिमा पनि उनी २०७६ जेठ १८ देखि आबद्ध छन् । बैंकमा कर्मचारी भर्ना प्रक्रियाको नेतृत्व गरेको अनुभव पनि उनीसँग छ । कर्मचारी भर्ना समितिको अध्यक्षका रूपमा उनले आन्तरिक प्रतिस्पर्धा तथा खुला प्रतियोगिताबाट कर्मचारी छनोट, पाठ्यक्रम निर्माण, लोक सेवा आयोगबाट स्वीकृति, विज्ञापन प्रकाशन, अन्तर्वार्ता र नियुक्तिसम्मका प्रक्रियामा काम गरेका थिए ।
उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट दर्ता प्राप्त प्रथम श्रेणीका लेखापरीक्षक पनि हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट सन् १९९५ मा मार्केटिङमा स्नातकोत्तर गरेका सुवेदीले बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि अध्यापनसमेत गरेका थिए । उनले पर्वतस्थित जनता सुदर्शन बहुमुखी क्याम्पसमा पूर्णकालीन सहायक प्राध्यापकका रूपमा अध्यापन गरेका थिए । त्यस्तै, कीर्तिपुरस्थित शहीद स्मारक कलेज र मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा आंशिक सहायक प्राध्यापकका रूपमा काम गरेका थिए । उनले आईकम, बीबीएस र एमबीए तहमा लेखा, बजार व्यवस्थापन, बैंकिङ तथा बिमा विषय अध्यापन गरेका थिए ।
फिलिपिन्स, अस्ट्रेलिया, सिंगापुर, भारत, इन्डोनेसिया, श्रीलंका, थाइल्यान्ड, बहराइन र इजरायललगायतका देशमा आयोजित तालिम तथा अध्ययन भ्रमणमा उनी सहभागी भएका छन् ।
सन् २०२५ डिसेम्बरमा अस्ट्रेलियाको मेलबर्नस्थित भिक्टोरिया विश्वविद्यालयमा आयोजित नेतृत्व विकास कार्यक्रममा सहभागी भएका सुवेदी सन् २०२६ फेब्रुअरीमा बहराइनमा आयोजित १२औँ प्रोटेक्सन रिइन्स्योरेन्स सेमिनारमा पनि सहभागी भएका थिए । यसअघि सन् २०२२ मा फिलिपिन्सको मनिलामा आयोजित उन्नत बैंकिङ व्यवस्थापन तालिममा उनले भाग लिएका थिए ।
उनले एसियाली विकास बैंकको प्राविधिक सहायता कार्यक्रमअन्तर्गत सन् २००६ मार्च १२ मा योग्य प्रशिक्षकको प्रमाणपत्रसमेत प्राप्त गरेका छन् । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा विभिन्न तालिम संस्थामा प्रशिक्षकका रूपमा काम गरेको अनुभव पनि उनीसँग छ ।