गोदावरी फूलको प्रदर्शनीमा डेढ करोडको कारोबार

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा सम्पन्न १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रदर्शनीको अन्तिम दिन बुधबार ६ हजार ५८१ जनाले अवलोकन गरेका छन् । उक्त दिन २४ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालको सचिवालयले जनाएको छ ।

प्रदर्शनी अवधिमा मौसम प्रतिकूल रहे पनि कारोबार र अवलोकनकर्ताको उपस्थिति अपेक्षाअनुसार नै भएको मेला संयोजक सुमन महर्जनले बताए ।

उनका अनुसार प्रदर्शनीको पहिलो दिन ८ हजार ९००, दोस्रो दिन ४ हजार २००, तेस्रो दिन १० हजार ७००, चौथो दिन ७ हजार २५० र पाँचौँ दिन ६ हजार ७५६ जनाले प्रदर्शनी अवलोकन गरेका थिए ।

प्रदर्शनीको पाँचौँ दिन २१ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो । बुधबार छैटौँ तथा अन्तिम दिन कारोबार बढेर २४ लाख ९० हजार रुपैयाँभन्दा बढी पुगेको एसोसिएसनले जनाएको छ ।

प्रदर्शनीको समापनका अवसरमा सहभागी पुष्प व्यवसायीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै, आउँदै गरेको शुभदीपावलीको अवसरमा एसोसिएसनका सदस्य पुष्प व्यवसायीहरूबीच सांस्कृतिक कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान गरिएको थियो ।

Share News