नेपाल लाइफको २५औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर, ११०० बढी लाभान्वित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा निस्शुल्क स्वास्थ्य शिविर तथा देशव्यापी बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यी कार्यक्रमबाट एक हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । कम्पनीले वैशाख २१ र २२ गते काठमाडौंस्थित प्रधान कार्यालय परिसरमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल तथा युरिक एसिडलगायतका परीक्षण निःशुल्क रूपमा गरिनुका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्रदान गरिएको थियो। दुई दिने उक्त शिविरबाट कुल ६०१ जनाले सेवा लिएका छन् । यसैगरी, कम्पनीले देशका सातै प्रदेशका १३ स्थानमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५ र जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६ र बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३ र भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ । यसरी कुल ५०५ पिन्ट रगत संकलन भएको छ । ‘किनकि, जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात् गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो । कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको र २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको जनाएको छ । देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्तामार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अध्यक्ष, सञ्चालकहरू, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी तथा नियामक निकायलगायत सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा पनि यस्तै सहयोग, विश्वास र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा उनले व्यक्त गरेका छन् ।
बिपी राजमार्ग : जानकारी लिएर मात्र यात्रा गर्न आग्रह
काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ । समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो । बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने भएकाले मङ्गलबारदेखि रातिको समयमा अनिश्चितकालीन रागमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार मौसमी अवस्थाअनुसार पुनः राजमार्गमा आवागमन नियमित गराइनेछ । यसैबीच सोमबारको वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका यात्रुको राति उद्धार गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाँचवटा माइक्रोबसका ८९ यात्रुलाई आज बिहान १ः०० बजे सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएका हुन् । वर्षात्पछिको बाढीले रोशी क्षेत्रमा बिपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ ५ः०० बजेदेखि नै उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो । प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिनको समयमा यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रुलाई अपिलसमेत गरिएको छ । बेमौसमी वर्षाका कारण पटकपटक रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो । गत सालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
राजमार्गका १५ मिटरभित्रका संरचना हटाउन १५ दिनको ताकेता
काठमाडौं । सडक सीमा खाली गर्न निर्देशन दिएको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्ज (बाँके) ले १५ दिनभित्र सडक अतिक्रमण हटाउन अल्टिमेटम दिएको हो । हुलाकी राजमार्ग नेपालगन्ज-गुलरिया सडकखण्डअन्तर्गत धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको क्षेत्रमा सडक सीमा अतिक्रमण हटाउन निर्देशन दिएको हो । कार्यालयका अनुसार सडकको केन्द्र बिन्दुदेखि दायाँ-बायाँ १५/१५ मिटरभित्र विभिन्न व्यक्ति तथा संस्थाले घर, टहरा, पर्खाल, ठेलागाडालगायतका संरचना निर्माण गरी सार्वजनिक सडक ऐन, २०३१ विपरीत अतिक्रमण गरेका छन् । यसले यातायात सञ्चालनमा बाधा पुर्याउनुका साथै सडक सुरक्षामा समेत गम्भीर असर परेको जनाइएको छ । उक्त सडक खण्ड विस्तारका लागि अतिक्रमित संरचना १५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना संरचना आफैँ हटाई सडक सीमा खाली गर्न निर्देशन दिएको हो । तोकिएको समयभित्र अतिक्रमण नहटाएमा कार्यालयले प्रचलित कानूनअनुसार बल प्रयोग गरी संरचना हटाउने र त्यसक्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनीसमेत कार्यालयको छ ।
‘निजी क्षेत्र माग्ने मात्र होइन, साझेदार हो’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी पदबाट बिदा हुँदैछन् । कोभिड-१९ महामारीपछिको आर्थिक पुनरुत्थान, रुस-युक्रेन युद्धको असर र देशभित्रको राजनीतिक अस्थिरताबीच उद्योग-व्यवसायले भोगेका चुनौतीहरूको स्मरण गर्दै उनी राज्य र निजी क्षेत्रबीचको सहकार्यलाई समाधानको मुख्य आधार मान्छन् । करिब ६ दशक पुरानो महासंघको नेतृत्व सम्हाल्दै निजी क्षेत्रको भूमिका बलियो बनाउन प्रयासरत ढकालसँग कार्यकालको अनुभव, चुनौती र उपलब्धिबारे गरिएको कुराकानीको अंश: नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वबाट बिदा हुँदै गर्दा तपाईंले आफ्नो कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ? मैले नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको थियो । कोभिड महामारीको असर हाम्रो अर्थतन्त्रमा देखा पर्दै थियो । रुस-युक्रेन युद्धले विश्वभरीकै आपूर्ति शृङ्खलामा असर गर्दै थियो । बैंकको ब्याजदर बढेर उच्च बिन्दुमा पुगेको थियो । वित्तीय संस्थामा तरलताको अभाव थियो । राजनीतिक अस्थिरता दीर्घकालीन समस्या जस्तै बनेको थियो । सरकार नै पिच्छे नीति र प्राथमिकताहरु फेरिने समस्या पनि उत्तिकै थियो । त्यसैले यस्तो अवस्थामा मैले निजी क्षेत्रको मनोबल बढाउँदै आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने दायित्व बोकेर महासङ्घको कार्यभार सम्हाल्दै थिएँ । कार्यकाल सम्हाल्दै गर्दा मैले भनेको थिएँ, अब निजी क्षेत्र परम्परागत सोच र शैलीबाट होइन, आधुनिक सोच र शैलीबाट चल्नुपर्छ । त्यही भएर मेरो कार्यकालमा हामीले लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत अवरोध पहिल्याउँदै त्यस्ता अवरोध हटाउन पहल गर्ने र सरकार र निजी क्षेत्र भनेका एक-अर्काका परिपूरक हुन् भन्ने तथ्य स्थापित गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्न थाल्यौँ । हामीले केवल औपचारिक माध्यमबाट सुझावहरु राख्ने मात्रै होइन, संवादलाई प्राथमिकता दिँदै सार्थक र वस्तुनिष्ठ सुझावहरु प्रस्तुत गर्छ भन्ने मान्यता स्थापित गरायौँ । पहिला त हामीले लगानी तथा आर्थिक विकासका बाधक यी यी कानुनहरू यो यो कारणले सुधार गर्नुपर्छ, संशोधन गर्नुपर्छ भनेर तर्क र तथ्यसहित प्रस्तुत भयौँ । निरन्तर फलोअप गर्ने काम गर्यौं । यसकारण हामीले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न र निजी क्षेत्रमैत्री कानुन निर्माणमा उत्साहजनक सफलता हासिल गरेका छौँ । मेरो जीवनको एउटा उर्वर समय मैले महासङ्घमा बिताए, देशभरिका उद्योगी व्यवसायी साथीहरूको साथ, सहयोग र उहाँहरूको चाहनाले अध्यक्षसम्म भएँ । अब मुलुकले स्थिर सरकार पाएको छ । नयाँ सरकारले सिङ्गो निजी क्षेत्र र नेपाली जनताको भावना अनुरूप आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर लगानीकर्ता र उद्योगी व्यवसायीहरूलाई प्रोत्साहन गर्ने खालका नीतिहरू अघि सार्नेछ र त्यसमा निजी क्षेत्रलाई साझेदार बनाउनेछ भन्नेमा म विश्वस्त छु । यहाँको कार्यकालमा नीतिगत र कानुनी उल्झनबाट निजी क्षेत्रलाई मुक्त गर्ने सन्दर्भमा हासिल भएका स्मरणीय उपलब्धिहरू के-के हुन् ? हामीलाई तथ्य र वस्तुनिष्ठ पहलकदमी लिनुपर्ने दायित्व थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरूले अर्थतन्त्रमा प्रभाव पारेको समय हुनाले हामीले सार्थक र नतिजामुखी पहल गर्नुपर्ने जिम्मेवारी पनि थियो । नीतिगत सुधारमा सरकार, संसदीय समिति, मन्त्रालय, विभाग कहाँ कहाँ धाउनुपर्ने हो, त्यहाँ धाउने र सार्थक पहल गर्ने रणनीतिअनुसार अघि बढ्ने प्रण मैले गरेको थिएँ, त्यसैअनुसार काम पनि भयो । हामी आएपछि सुरुदेखि आजका मितिसम्म पनि यो क्रम जारी नै छ । नीति निर्माण प्रक्रियामै निजी क्षेत्रको प्रतिनिधित्व हुनुपर्छ भनेर आवाज उठायौँ । बागलुङको ढोरपाटनमा बसेको महासङ्घको तेस्रो कार्यकारिणी समिति बैठकले बृहत राष्ट्रिय आर्थिक बहस कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । त्यसको मुख्य उद्देश्य राजनीतिक दल, सरोकारवाला निकाय सबैलाई आर्थिक मुद्दामा केन्द्रित गराउने र आर्थिक एजेन्डामा एकरूपता ल्याउने थियो । हामीले त्यो बहस कार्यक्रममार्फत राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्र लगायत सबैलाई एक ठाउँमा उभ्याउन सफल भयौँ । हामीले त्यो कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनाउनुपर्छ भनेर माग गर्यौं । पछि सरकारले पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने गरी उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनायो । खनाल अन्तरिम सरकारमा अर्थमन्त्री बन्नुभयो र छोटो समयमा उहाँले केही सुधारात्मक कामको थालनी पनि गर्नुभयो । त्यो आयोगले लगानीमैत्री वातावरण निर्माणका लागि ३० भन्दा बढी कानुनमा सुधार गर्न सिफारिस गरेको छ । यो हाम्रो कार्यकालमा हासिल भएको महत्वपूर्ण उपलब्धि हो भन्छु म । सरकारले लगानी सम्मेलन गर्ने भनेको थियो, तर कानुनी सुधार बिनाको लगानी सम्मेलन खासै उपलब्धिमूलक हुँदैन भनेर मैले नै तत्कालीन सरकारलाई यी यी कानुनमा सुधार गरौँ, त्यो सन्देश लगानी सम्मेलनमा आएका विदेशीहरुलाई दिने वातावरण बनाउँ भनेर पहल गरेँ । त्यो भयो पनि । तपाईंको कार्यकालमा सरकार-निजी क्षेत्रबीचको सम्बन्ध वा सहकार्य के कस्तो रह्यो ? म महासङ्घमा अध्यक्ष भएर आएपछि सरकार र निजी क्षेत्रीय सहकार्य र सहयात्राको अवधारणा विकास गर्यौं । महासङ्घ निजी क्षेत्रको छाता सङ्गठन भएकाले सरकारले औपचारिक रुपमा बोलाउने, छलफल गर्ने कुरा विगतमा पनि हुन्थे । तर, हामीले नीतिगत रुपमै सुधार गर्ने कुरालाई बढी जोड गर्यौं । मेरो कार्यकालमा इतिहासमै सबैभन्दा बढी निजी क्षेत्रमैत्री ऐन र कानुनमा सुधार भएको छ । जुन विषयहरू अनुसन्धान गर्न सक्नुहुनेछ । राज्यलाई निजी क्षेत्रले अर्थतन्त्र, रोजगारी र राजस्वमा दिएको योगदान बुझाउने प्रयास गर्यौं । एउटा कुरा स्मरण गरौँ, तत्कालीन सरकारले निजी क्षेत्रलाई अख्तियारको दायराभित्र राख्ने कुरा अघि बढाएको थियो । हामीले महासङ्घमार्फत संसदका विभिन्न समितिहरु, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, विभिन्न दलका नेता र सचेतकहरू, मुख्यसचिव, सचिवलगायतका अधिकारीहरू, संवैधानिक निकाय सबैसँग संवाद गरेर यो उचित छैन र आवश्यक पनि छैन भनेर कन्भिन्स गरायौँ । फलस्वरुप, उक्त प्रस्ताव स्थगित भयो । यसले तत्कालीन समयमा लगानीको वातावरण जोगाउन ठूलो राहत प्रदान गर्यो । यसरी हामी यस्तो एड्भोकेसी गर्यौँ कि निजी क्षेत्र भनेको सधैँ माग्ने र सरकार दिने जस्तो मानसिकता थियो । त्यस्तो होइन भन्ने तथ्य हाम्रा पछिल्ला ‘एड्भोकेसी’हरुले प्रमाणित गरेको छ र राज्य र निजी क्षेत्रबीच सहकार्य साझेदारी आवश्यक छ भन्ने कुरा थप प्रमाणित भएको छ जस्तो मलाई लाग्दछ । नेपालमा लगानीको अवसर छैन, काम गर्ने माहोल छैन भन्ने खालको भाष्य बनेको छ । महासङ्घको अध्यक्षको हैसियतले यसलाई कसरी लिनुहुन्छ ? मैले बारम्बार सार्वजनिक रुपमै पनि भन्दै आएको छु नेपालमा अवसर नै अवसर छन् । यहाँ केही हुँदैन, केही गर्न सकिँदैन, लगानी पाइँदैन, अवसर मिल्दैन भन्ने कुरासँग म कहिल्यै पनि सहमत छैन । हामीले महासंघमार्फत पनि यस्तो गलत भाष्य चिर्नका लागि पहल गरेका छौँ । यसको पहल स्वरूप हामीले १० अर्ब रुपैयाँ पूँजीको एउटा पब्लिक कम्पनी बनाएका छौँ । मेरै अगुवाइमा देशभित्र र देश बाहिर रहेका नेपालीहरूबाट स-सानो पूँजी संकलन गरेर बनाइएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीले ठूला पूर्वाधार, उत्पादनमूलक उद्योग तथा स्टार्टअपमा लगानी गर्छ । यसले काम पनि सुरु गरिसकेको अवस्था छ । यो हामीले किन गरेका हौँ भन्दा, आन्तरिक पूँजी परिचालनमार्फत पनि ठूला आयोजनाहरू बनाउन सकिन्छ है भन्ने उदाहरण दिनका लागि हो । यस्तै, हामीले महासंघमा महिला उद्यमी, युवा तथा स्टार्टअप, साना र मझौला उद्यम व्यवसायहरूलाई सहयोग गर्नका लागि क्रमशः युनिटहरू बनाउँदै लगेका छौँ । अहिले देशभर नै महिला उद्यमी दिदीबहिनीहरुको संख्या बढिरहेको छ, स्टार्टअपका काममा पनि महासंघले सरकार र स्टार्टअप उद्यमीहरुलाई स्टार्टअप फोरमबाट सहयोग गर्दै आएको छ । हामीले नै स्टार्टअप नीतिका लागि पहल गरेर नीति ल्याउन पनि सफल भएका छौँ । बाह्य लगानी भित्र्याउनका लागि विभिन्न देशका उद्यमी व्यवसायीहरूसँग अन्तरक्रिया र छलफलले तीव्रता पाएको छ । बाह्य लगानीको वातावरण निर्माणमा पनि महासंघले कानुनी र नीतिगत सुधारमा पहल गरिरहेको छ । निजी क्षेत्रको अर्को प्राथमिकता रोजगारी हो । हामीले कसरी धेरैभन्दा धेरै युवालाई स्वदेशमा रोजगारी दिन सकिन्छ र त्यसका लागि कस्तो जनशक्ति आवश्यक छ भन्ने सन्दर्भमा बजार सर्भे गरेर पाठ्यक्रम निर्माण गर्नुपर्छ भनेर पहल गरिरहेका छौँ । प्राविधिक र सीपमूलक शिक्षाका लागि सरकारसँग सहकार्य गर्छौँ भनेर सार्वजनिक रुपमै भनिरहेका छौँ । भदौ २३ र २४ को आन्दोलनमा युवाहरूले रोजगारीलाई मुख्य विषयका रुपमा उठाएका थिए । तर, आन्दोलनमा घुसपैठ हुँदा रोजगारी दिने कम्पनी र उद्योगहरूमाथि आगजनी भयो । उद्योग व्यवसायसहित उद्यमी व्यवसायीका निजी निवासमा समेत आगजनी भए । निजी क्षेत्रले ८४ अर्बभन्दा बढीको क्षति व्यहोर्यो । तर पनि हामीले हिम्मत हार्नु हुँदैन, यो देशलाई खरानीबाट उठाउने दायित्व हाम्रो पनि हो भनेर पुनः उठ्ने प्रयास गर्यौं । हामीले उक्त आन्दोलन लगत्तै आयोजना गरेको कार्यक्रमबाट शान्ति, स्थायित्व र समृद्धिका लागि निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति (पीएसपीपी) अवधारणाको आवश्यकता औंल्यायौँ । निजी क्षेत्र रोजगारी सृजनाकर्ता, वस्तु उत्पादक, सेवा प्रवाहक, राजश्व संकलक भएकोले यसको लागि सरकारले आवश्यक व्यावसायिक वातावरण बनाउनुपर्छ भनेर अवधारणा पत्र नै बनाएर सरकारलाई बुझाएका थियौँ, नयाँ बनेको सरकारले त्यो अवधारणा कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । उक्त अवधारणालाई स्वीकार गर्दै कार्यान्वयन नै गर्ने सरकारको प्रतिवद्धता र निर्णयले निजी क्षेत्रको मनोबल बढाएको छ । यसका लागि म सरकारलाई धन्यवाद दिन चाहन्छु । राजनीतिक स्थिरताको अभावमा मुलुकमा लगानीको वातावरण नभएको भनेर तपाईंहरूको धारणा आउँथ्यो । तर यसपालि एकल बहुमत सहितको नयाँ सरकार बनेको छ, निजी क्षेत्रका अपेक्षा के छन् ? लगानीका लागि जहिल्यै पनि कानुनी स्थिरता र स्थिर सरकारको आवश्यकता हुन्छ । जुन देशको सरकार स्थिर छ, जुन देशका कानुनहरू लामो समयका लागि स्थिर छन्, जुन देशमा राजनीतिक अस्थिरता र द्वन्द्व छैन, ती देशहरूको आर्थिक विकास तीव्र हुन्छ र भएको छ । अब हामी कहाँ पनि स्थिरताको सुरुवात भएको छ भन्छु म । संसद् एकल बहुमत भएको दलको सरकार छ, मन्त्रिपरिषदमा पनि विज्ञ र युवा व्यक्तिहरू हुनुहुन्छ । युवा र तत्काल निर्णय गर्न सक्ने क्षमताका सांसदहरू हुनुहुन्छ । सरकारले गठन लगत्तै १०० वटा कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत गरेर कार्यान्वयन नै सुरु गरिसकेको छ । सरकारले राजस्व अनुसन्धान विभाग खारेज गरेर निजी क्षेत्रमैत्री र लगानीकर्तामैत्रीको सन्देश दिएको छ । अब क्रमशः यस्ता सुधार हुँदै जानेछन् भन्ने हाम्रो विश्वास छ । रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्दै जाँदा पनि धेरै कुराहरू सुधार हुँदै जान्छन् । हामी आशावादी छौँ । महासङ्घको विधान संशोधन गर्ने विषय लामो समयदेखि बहसमा थियो, तर टुङ्गोमा पुगेको थिएन । तपाईंले सहमतिमै टुङ्ग्याउनुभयो । आउने नेतृत्वले यस्ता दीर्घकालीन महत्वका विषयमा काम गर्दा के कस्ता विधि अपनाउनु पर्ला ? सर्वसम्मत महासङ्घको विधान संशोधन हुनु मेरो कार्यकालको अविस्मरणीय उपलब्धि हो । समितिहरु बन्ने, तर त्यहीँ विवाद हुने र टुङ्गोमा नपुग्ने गरेको विषय थियो यो । मैले सर्वसम्मतका साथ टुङ्गोमा पुर्याए । मैले कार्यकालको सुरुवातमै विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष चयन गर्ने प्रावधान राख्ने घोषणा गरेको थिएँ । त्यसैअनुसार सबै साथीहरूको राय र सुझाव लिएर, कतिपय अवस्थामा कन्भिन्स पनि गराएर सर्वसम्मत रुपमा विधान संशोधन गरायौँ । अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हट्छ । अर्को पटकदेखि अध्यक्षमै प्रत्यक्ष चुनाव हुन्छ । विधानमा गरिएको यो परिवर्तनले अध्यक्षलाई सदस्यहरूप्रति थप जिम्मेवार र उत्तरदायी बनाउने छ । अर्को कुरा, जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरुले महासङ्घभित्र आफ्नो उपस्थिति कमजोर देख्ने, महासङ्घले आफूलाई त्यति ‘स्पेस’ दिएको महसुस नै नगरेको हो कि जस्तो कुराहरू पनि आउँथे । हामीले जिल्ला नगरको ५० प्रतिशत मत भारलाई मध्यनजर गर्दै विधानमा जिल्ला नगरबाट दुई जना उपाध्यक्षको व्यवस्था गरेका छौँ । महासङ्घमा महिलाको सहभागी बढाउनका लागि हामीले महिला उपाध्यक्षको प्रावधान राखेका छौँ । यस्ता धेरै सकारात्मक व्यवस्थाहरुसहित विधान संशोधन गर्न सफल भयौँ । म यस सम्बन्धमा सबै पदाधिकारी र केन्द्रीय कार्यकारिणी समितिका साथीहरूलाई धन्यवाद पनि दिन चाहन्छु । आगामी दिनमा पनि म मेरो अनुभव र क्षमतालाई नेपालभित्रै उद्यमशीलताको विकास, रोजगारीको सिर्जना र समग्र देशको आर्थिक उन्नतीमा खर्चिने छु । मेरो कार्यकाललाई सफल बनाउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद । रासस
टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १२ लाख कित्ता स्थानीय बासिन्दा, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ५ प्रतिशत अर्थात् १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ६० हजार ६१३ कित्ता सेयरमा कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँको २५ लाख १५ हजार ४५५ कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले वैशाख २३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ ६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
सबैभन्दा कम उमेरका सचिनलाई सर्वाधिक मत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा एशोसिएट सदस्यतर्फ सचिन ढकाल सर्वाधिक मतसहित विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार उनले १ हजार ३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका हुन्। महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा १७ पदका लागि ३३ जना उम्मेदवार मैदानमा उत्रिएका थिए। तीमध्ये ढकालले सबैभन्दा बढी मत प्राप्त गर्न सफल भएका हुन्। निर्वाचन समितिका अनुसार उनी उक्त प्रतिस्पर्धामा सबैभन्दा कम उमेरका उम्मेदवारसमेत हुन् । आईएमई ग्रुपबाट प्रतिनिधित्व गर्ने ढकाल महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् ।
महासंघको एसोसियटतर्फ १७ सदस्य निर्वाचित, को-को भए विजयी ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनअन्तर्गत एसोसियट सदस्यतर्फ १७ जना उम्मेदवार निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार सर्वाधिक मत प्राप्त गर्ने १७ जना उम्मेदवार विजयी भएका हुन् । निर्वाचनमा सचिन ढकालले सर्वाधिक १३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन् । यसैगरी, हेमन्त गोल्छाले १ हजार २०२ मत, अम्बिकाप्रसाद पौडेलले १ हजार १८३ मत, उज्ज्वल कुमार श्रेष्ठले १ हजार १५६ मत, शक्ति कुमार वेगानीले १ हजार १४२ मत, ऋषि अग्रवालले १ हजार १२२ मत र सुशिल थापाले १ हजार ९४ मत प्राप्त गरी विजयी भएका छन्। त्यस्तै, राजेश कुमार अग्रवालले १ हजार ८२ मत, सुयस प्याकुरेलले १ हजार ६९ मत, रामशरण भण्डारीले १ हजार ४३ मत, बाबु काजी कार्कीले १ हजार ६ मत, दिवश न्यौपानेले ९९१ मत, कृष्णलाल महर्जनले ९७४ मत, प्रियराज रेग्मीले ९५४ मत, इश्वरबहादुर जीसीले ९४९ मत, सुरज उप्रेतीले ९०७ मत र बटु लामिछानेले ८६० मत प्राप्त गर्दै विजयी भएका छन् । एसोसिएटतर्फ प्रबल जंग पाण्डे र ज्योत्सना श्रेष्ठ समूहबीच प्रतिस्पर्धा भएको थियो । जसमा पाण्डे समूहबाट अधिकांश उम्मेदवार विजयी भएका छन् । सचिन ढकाल दुईटै समहूबाट साझा उम्मेदवार थिए । साथै, पाण्डे समूहबाट हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्ति कुमार वेगानी, ऋषि अग्रवाल, सुशिल थापा, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, इश्वरबहादुर जीसी र सुरज उप्रेती विजयी भएका छन् । त्यस्तै ज्योत्सना श्रेष्ठ समूहबाट बटु लामिछाने मात्र विजयी भएका छन् ।
अवरुद्ध मुख्य राजमार्गमा यातायात सुरु, केही सडक अझै पूर्ण बन्द
काठमाडौं । वर्षासँगै आएको बाढी पहिराेका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगै पहिराेका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका-३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका-५ हाङगाङदाङ थुकिम्बा-दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका-८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनले भने, ‘वर्षा सँगैको पहिराेका कारण अवरुद्ध भएका केही राजमार्ग मङ्गलबार साँझदेखि केही पूर्णरुपमा सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भएका छन् ।’ यसैगरी इलामस्थित इलाम रोङ गाउँपालिका-६ सलकपुर डखेप हुँदै झापा जाने भित्रि कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा र रोशी गाउँपालिका-७ घुमाउने ४०० बेँसीस्थित बीपी राजमार्ग सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता काफ्लेले बताए । वर्षान्तको समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।