आजदेखि सुन र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै आजदेखि सुनको असर्फी तथा चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्ने भएको छ ।

राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गरिनेछ । बैंकका अनुसार सिक्का बिक्री आज र भोलि (कात्तिक १९ र २० गते) दुई दिनसम्म सञ्चालन हुनेछ ।

यस वर्ष राष्ट्र बैंकले लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन बिक्री गर्ने जनाएको छ । साथै, वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी त्यसबाट असर्फी तयार पारेर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार एक जना व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा दुईवटा चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् । चाँदीका मेडालियन लक्ष्मी र गणेश अंकित एक–एक थानका दरले उपलब्ध गराइनेछ ।

असर्फी तथा मेडालियनको मूल्य बिक्री हुने दिन बिहान करिब ११ बजे निर्धारण गरिनेछ । सुनचाँदीको दैनिक बजार मूल्यका आधारमा मूल्य तोकिने भए पनि सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ । मूल्य निर्धारण भएपछि मात्र बिक्री सुरु हुनेछ ।

सिक्का खरिद गर्न चाहने व्यक्तिले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुल्ने अन्य परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन ।

Share News