एनपीएलमा आज लुम्बिनी-जनकपुर र विराटनगर-काठमाडौं भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

लिग तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनीले तीन खेल खेलेकोमा दुई खेलमा जित निकालेको छ । वर्षाका कारण एक खेल रद्द भएपछि लुम्बिनी र प्रतिस्पर्धी टोलीले अंक बाँडेका थिए । यस्तै, जनकपुर बोल्ट्स चार खेलबाट दुई जित र दुई हारसहित तालिकाको चौथो स्थानमा छ ।

आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किङ्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेल खेलेकोमा दुई जित र दुई हार बेहोरेको छ । काठमाडौं गोर्खाज भने दुई खेलबाट एक जित र एक हारसहित सातौँ स्थानमा छ ।

आजका दुवै खेलले लिग तालिकामा टोलीहरूको स्थान र आगामी यात्रालाई थप प्रभाव पार्नेछन् ।

Share News