काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमतिपत्र र हुलाक टिकट छपाइका लागि आवश्यक विभिन्न सामग्री तथा उपकरण सोझै खरिद गरेको छ । केन्द्रले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्थाबमोजिम स्मार्ट सवारी चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कच्चा पदार्थ, हुलाक टिकट छपाइका लागि विशेष कागज, सुरक्षा प्रणालीसम्बन्धी सफ्टवेयर तथा छपाइ मेसिनका लागि आवश्यक मसी र अन्य सामग्री खरिद गरेको जनाएको छ ।
केन्द्रले सवारी चालक अनुमतिपत्र छपाइका लागि टेस्लिन, पीईटीजी इनले, ओभरले, स्टिल प्लेट, सिलिकन र ल्यामिनेसन प्याड खरिद गरेको छ । यसअन्तर्गत २४ लाख थान अनुमतिपत्रका लागि आवश्यक सामग्री खरिद गर्न २०८२ माघ २१ गते र थप ८ लाख थान अनुमतिपत्रका लागि सामग्री खरिद गर्न २०८३ वैशाख १६ गते सम्झौता गरिएको छ । यी सामग्रीको आपूर्तिकर्ताका रूपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी रहेको छ ।
त्यस्तै, हुलाक टिकट छपाइका लागि आवश्यक यूभी डल पेपर पनि खरिद गरिएको छ । उक्त खरिदको सम्झौता मिति २०८२ फागुन १५ गते रहेको छ भने आपूर्तिकर्ताका रूपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी नै रहेको छ ।
सवारी चालक अनुमतिपत्र छपाइका लागि जुरा सेक्युरिटी सफ्टवेयर लाइसेन्स, डिजाइन फाइल तथा प्राविधिक सहयोग सेवा पनि खरिद गरिएको छ । केन्द्रले जुरा जेएसपी जिएमबिएचको आधिकारिक बिक्रेताबाट सोझै खरिद गरेको जनाएको छ । यस खरिदको सम्झौता मिति २०८२ फागुन १५ गते भएको छ भने आपूर्तिकर्ताका रूपमा जेएन एक्सपोट्र्स, हङकङ रहेको छ ।
यसैगरी, एचपी इन्डिगो ६ के सेक्युर प्रेस मेसिनका लागि मसी तथा अन्य उपभोग्य सामग्री पनि खरिद गरिएको छ । केन्द्रले हेवलेट प्याकार्डको आधिकारिक बिक्रेताबाट सोझै खरिद गरेको जनाएको छ । यस खरिदको सम्झौता मिति पनि २०८२ फागुन १५ गते रहेको छ । उक्त सामग्रीको आपूर्तिकर्ता फुजिटो प्रालि, सिंगापुर रहेको छ ।