राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
काठमाडौं । राजनीति विश्लेषक, चिन्तक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन् । मोरङको बेलबारीस्थित प्रहरी कार्यालयले उनलाई पक्राउ गरेको हो । आइतबार बिहान राजनीतिक छलफलका लागि मोरङ पुगेका दाहाललाई सुन्दरहरैचा-८ सलकपुरबाट पक्राउ गरिएको हो । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा दाहाललाई पक्राउ गरिएको हो ।
सुनको मूल्य तोलामा ३ लाख ५ हजार २०० रुपैयाँ पुग्यो
काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ४ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
एमालेमा पुनर्गठन प्रतिवेदन अन्तिम चरणमा, दिउँसो सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको बैठकले निर्वाचन परिणामको समीक्षा गर्दै पार्टी पुनर्गठनका लागि प्रस्तावित विषयलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ । कार्यदलको बैठकपछि प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरिनेछ । त्यसपछि उक्त प्रतिवेदनमाथि पार्टी सचिवालयमा छलफल गरी अनुमोदन गर्ने र आगामी केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी एमालेको छ । यसैबीच, एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा पनि छलफल हुने सम्भावना छ । कार्यदलबाट प्रतिवेदन प्राप्त भएपछि त्यसका सुझाव र प्रस्तावलाई सचिवालयले आवश्यक छलफलसहित अन्तिम रूप दिने तयारी गरेको छ । निर्वाचनपछि एमालेले पार्टीको संगठनात्मक अवस्था, निर्वाचन परिणाम र आगामी राजनीतिक भूमिकाको समीक्षा गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले संगठनको पुनर्संरचना, पार्टी सञ्चालनका कमजोरी तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा केन्द्रित भएर सुझाव तयार पारिरहेको छ । यसै क्रममा अध्यक्ष ओलीको निर्देशनमा कार्यदलका सदस्य नरहेका नेता प्रदीप ज्ञवालीले पनि पार्टी पुनर्गठनसम्बन्धी छुट्टै प्रस्ताव तयार पारेका छन् । उक्त प्रस्तावलाई समेत कार्यदलको छलफलमा समेटेर प्रतिवेदनलाई निष्कर्षमा पुर्याउने प्रयास भइरहेको छ । अब कार्यदलको प्रतिवेदन, सचिवालयको छलफल र केन्द्रीय कमिटीको निर्णयबाट एमालेको आगामी संगठनात्मक पुनर्गठनको खाका तय हुने भएको छ । असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकलाई त्यसैकारण पार्टीको आगामी संगठनात्मक दिशा निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।
बाढीपीडितका लागि नाडाले दियो राहत सामग्री
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । गत भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडाले विभिन्न प्रकारका राहत सामग्री उपलब्ध गराएको हो । नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई राहत सामग्री हस्तान्तरण गरेको हो । नाडाका अनुसार बाढीपीडितका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइएको छ । यसअघि नाडाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ नगद सहयोगसमेत गरेको थियो । भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो । नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ । बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने नाडाले जनाएको छ ।
गुडिरहेको विद्युतीय बसमा आगलागी
काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित महेन्द्र राजमार्गमा गुडिरहेको विद्युतीय (ईभी) मिनि बसमा आइतबार बिहान आगलागी भएको छ । बर्दिया जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बसमा आगलागी भएको जानकारी दिए । घटनामा चालक र सहचालक सकुशल रहेका छन् भने गाडीमा रहेको नगद र कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान करिब ६:५० बजे कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र ०१–००२ ज ४३३ नम्बर को भाडाको ईभी गुडिरहेको अवस्थामा एक्कासि आगलागी भएको थियो । गाडी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ निवासी ३८ वर्षीय नरेन्द्र नेगी रहेको प्रहरीले जनाएको छ । आगलागी हुँदा गाडीमा चालक र सहचालक मात्रै सवार भएकाले कुनै मानवीय क्षति भएको छैन । आगलागीबाट गाडीमा रहेका आवश्यक कागजात तथा ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ । घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो । ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाउने काम गरिएको र बिहान ८ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाका कारण महेन्द्र राजमार्गमा यातायात सञ्चालन भने अवरुद्ध भएको छैन ।
फ्रान्समा डिजेलको मूल्यले कीर्तिमान तोड्दा साना व्यवसाय प्रभावित
काठमाडौं । फ्रान्समा डिजेलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेपछि सडक यातायातमा निर्भर साना व्यवसायहरू आर्थिक दबाबमा परेका छन् । सरकारी इन्धन मूल्यसम्बन्धी वेबसाइटमा रिपोर्ट भएका करिब ९ हजार पेट्रोल पम्पका तथ्यांकलाई एएफपीले गरेको विश्लेषणअनुसार शुक्रबार देशभर डिजेलको औसत मूल्य प्रतिलिटर २.३९ युरो अर्थात् करिब २.७५ अमेरिकी डलर पुगेको छ । पेट्रोलको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सबैभन्दा धेरै बिक्री हुने पेट्रोलको मूल्य प्रतिलिटर २.१७ युरो अर्थात् करिब २.४९ डलर पुगेको छ । यो मूल्य लगातार १० दिनभन्दा बढी समयदेखि सन् २०२२ को अघिल्लो उच्च स्तरभन्दा माथि रहेको छ । देशका ७०० भन्दा बढी पेट्रोल पम्पमा डिजेलको मूल्य २.५० युरोभन्दा माथि छ भने करिब ७० वटा पम्पमा २.७० युरोभन्दा बढी मूल्य पुगेको छ । फ्रान्सको राष्ट्रिय तथ्यांक तथा आर्थिक अध्ययन संस्थान इन्सेका अनुसार, इन्धनको मूल्यवृद्धि समग्र मुद्रास्फीतिभन्दा निकै तीव्र छ । अगस्टमा डिजेलको मूल्य वार्षिक आधारमा ३६.४ प्रतिशत बढेको थियो । सोही अवधिमा पेट्रोल १९.१ प्रतिशत र समग्र ऊर्जाको मूल्य १६.७ प्रतिशत बढेको थियो, जबकि समग्र मुद्रास्फीति २.४ प्रतिशत मात्र थियो । फ्रान्सको निर्माण क्षेत्र इन्धन मूल्यवृद्धिबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ । साना निर्माण व्यवसायहरूको प्रतिनिधित्व गर्ने संस्थाले वसन्त ऋतुमा गरेको सर्वेक्षणअनुसार ९२ प्रतिशत हस्तकला तथा साना निर्माण व्यवसायले इन्धन मूल्यवृद्धिको प्रभाव महसुस गरिरहेका छन् । तथ्यांकअनुसार वार्षिक इन्धन खर्चमा करिब ६ हजार युरो (लगभग ६,८९३ डलर) थपिएको छ । फ्रान्सेली सरकारले समग्र रूपमा इन्धन कर कटौती गर्ने विकल्प नअपनाई लक्षित सहायता कार्यक्रम अघि सारेको छ । सरकारले विभिन्न क्षेत्रका लागि कुल १.४ अर्ब युरो (करिब १.६१ अर्ब डलर) सहायता प्रतिबद्ध गरेको छ । यसअन्तर्गत साना निर्माण व्यवसायका लागि अफ–रोड डिजेलमा प्रतिलिटर २० सेन्टको अनुदान तथा कृषि, माछापालन र सडक ढुवानी क्षेत्रका लागि छुट्टाछुट्टै सहायता योजना समावेश छन् । यसका साथै, कम आय भएका १५ लाख कर्मचारीलाई १०० युरो (करिब ११४ डलर) को सहायता उपलब्ध गराइएको छ । सरकारले यस्तो सहायता पाउन योग्य मानिसको संख्या करिब ३० लाख रहेको अनुमान गरेको छ ।
मकै–कोदो छाडेर सिल्भर डलर खेती, बजारको माग धान्नै मुस्किल
काठमाडौं । जंगली जनावरले मकै, गहुँलगायतका अन्नबाली नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेका किसान रमेश रानामगरले परम्परागत खेतीको विकल्प खोजे । अन्नबालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि उनले सुरु गरेको सिल्भर डलर (युकालिप्टस) खेती अहिले उनको आम्दानीको नयाँ आधार बन्न थालेको छ । रानामगरले ३१ रोपनी क्षेत्रफलमा करिब दुई हजार सिल्भर डलरका बिरुवा लगाएका छन् । उनका अनुसार एउटा बिरुवाको मूल्य करिब १ हजार ४ सय रुपैयाँ पर्छ । ठूलो लगानीमा सुरु गरिएको खेतीबाट रोपेको ७ देखि ८ महिनामै उत्पादन लिन सकिने र बजारमा मागसमेत उच्च रहेकाले उनी उत्साहित छन् । ‘मकै, गहुँ, कोदो, फापर लगाउँदा जंगली जनावरले नष्ट गरिदिन्थे । त्यसपछि केही नयाँ खेती गर्नुपर्छ भनेर सिल्भर डलर लगाउन थालेँ,’ रानामगरले भने । हाल त्यहाँ चार किसानले करिब एक सय रोपनी क्षेत्रफलमा यसको व्यावसायिक खेती गरिरहेका छन् । सात–आठ महिनामै उत्पादन सिल्भर डलर खेतीको मुख्य आकर्षण छोटो समयमै उत्पादन लिन सकिनु हो । किसानका अनुसार रोपेको ७ देखि ८ महिनापछि पहिलोपटक हाँगा काट्न सकिन्छ । त्यसपछि गोडमेलको आधारमा प्रत्येक एक–दुई महिनामा उत्पादन लिन सकिन्छ । कोगटेका अर्का किसान वासुदेव चुनी मगरले गत फागुनमा तीन सय बिरुवा खरिद गरी चार रोपनी क्षेत्रफलमा सिल्भर डलर खेती सुरु गरेका हुन् । करिब ४ लाख ४७ हजार रुपैयाँ लगानीमा सुरु गरिएको खेतीबाट उनले उत्पादन लिन थालिसकेका छन् । हालसम्म उनले दुई सय किलोग्रामभन्दा बढी सिल्भर डलर बिक्री गरिसकेका छन् । थप उत्पादन पनि बजारमा पठाउने तयारीमा रहेको उनले बताए । किसानका अनुसार सिल्भर डलर प्रतिकिलो करिब ३ सय रुपैयाँमा बारीबाटै बिक्री हुन्छ । छोटो समयमै उत्पादन सुरु हुने र त्यसपछि नियमित रूपमा हाँगा काट्न सकिने भएकाले यसबाट दीर्घकालीन आम्दानीको सम्भावना रहेको उनीहरूको भनाइ छ । एउटै बोटबाट लामो समयसम्म उत्पादन सिल्भर डलर एउटै बोटबाट लामो समयसम्म उत्पादन लिन सकिन्छ । किसानका अनुसार राम्रो मलजल र गोडमेल गरी स्याहार गर्न सके एउटै बोटबाट दशकौँसम्म हाँगा उत्पादन गर्न सकिन्छ । यसको आयु सामान्यतया ३० देखि ५० वर्षसम्म हुने बताइन्छ । सुरुमा बिरुवा खरिद, जग्गा तयारी र खेती विस्तारमा लगानी गर्नुपर्ने भए पनि त्यसपछि लामो समयसम्म नियमित आम्दानी लिन सकिने किसानको विश्वास छ । यद्यपि, सुरुवाती लगानी किसानका लागि चुनौतीपूर्ण छ । एउटा बिरुवाकै मूल्य करिब १ हजार ४ सय रुपैयाँ पर्ने भएकाले ठूलो क्षेत्रफलमा खेती विस्तार गर्दा धेरै रकम आवश्यक पर्छ । त्यसबाहेक जग्गा तयारी, रोप्न, सिँचाइ, गोडमेल तथा अन्य खर्चसमेत थपिन्छ । फूल सजावटदेखि अरोमा थेरापीसम्म अस्ट्रेलियाको रैथाने मानिने सिल्भर डलर युकालिप्टस सुगन्धित वनस्पति हो । चाँदीजस्तो देखिने गोलाकार पात यसको प्रमुख विशेषता हो । यसको पातसहितको हाँगा फूलका बुके, माला तथा घर सजावटमा प्रयोग गरिन्छ । पछिल्लो समय होटल, रेस्टुरेन्ट, विभिन्न कार्यक्रम तथा समारोहको सजावटमा समेत यसको प्रयोग बढ्दै गएको किसान बताउँछन् । यसका पातबाट सुगन्धित तेल निकालेर अरोमा थेरापीमा समेत प्रयोग गरिने बताइन्छ । सजावट तथा फ्लोरिकल्चर क्षेत्रमा यसको प्रयोग बढ्दै गएसँगै यसको बजार माग पनि बढिरहेको किसानको भनाइ छ । चिसो हावापानीमा राम्रो हुने भएकाले नेपालको एक हजारदेखि एक हजार पाँच सय मिटर उचाइका मध्यपहाडी क्षेत्रमा यसको व्यावसायिक खेतीको सम्भावना रहेको किसान तथा वनस्पति विज्ञको भनाइ छ । बजारको समस्या छैन, उत्पादनकै अभाव कोगटेका किसानका अनुसार सिल्भर डलरको बजार खोज्न समस्या छैन । उत्पादित सिल्भर डलर बारीबाटै बिक्री हुने गरेको उनीहरूको भनाइ छ । तर मागअनुसार उत्पादन गर्न नसकिएको उनीहरूको भनाइ छ । हाल सीमित किसानले मात्रै व्यावसायिक रूपमा खेती गरिरहेकाले बजारको माग धान्न पर्याप्त उत्पादन हुन सकेको छैन । ‘उत्पादन बढाउन सके बजारको समस्या हुँदैन । अहिले त मागअनुसार उत्पादन पुर्याउनै गाह्रो छ,’ किसानहरू भन्छन् । यसले सिल्भर डलर खेती विस्तारका लागि बजारको राम्रो सम्भावना देखाए पनि उत्पादनको गुणस्तर, नियमित आपूर्ति र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ । व्यावसायिक प्रवर्द्धन गर्ने गाउँपालिकाको तयारी भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार कोगटेमा सिल्भर डलर खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । गाउँपालिकाले पनि यस खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धन र प्रोत्साहन गर्ने योजना अघि बढाएको उनले बताए । स्थानीय तहबाट आवश्यक सहयोग र प्राविधिक ज्ञान उपलब्ध गराउन सके किसानलाई थप आकर्षित गर्न सकिने गाउँपालिकाको भनाइ छ । तर किसानले भने बिरुवा महँगो हुनुका साथै सरकारी अनुदान र प्राविधिक सहयोगको अभाव रहेको बताएका छन् । खेती प्रविधि, बिरुवा व्यवस्थापन, रोग–कीरा नियन्त्रण, कटाइ तथा बजार व्यवस्थापनबारे पर्याप्त जानकारी नहुँदा नयाँ किसानलाई समस्या हुने उनीहरूको भनाइ छ । परम्परागत खेतीको विकल्प बन्दै परम्परागत मकै, कोदो, गहुँ र तोरी खेतीबाट अपेक्षित आम्दानी लिन नसकिरहेका कोगटेका किसानका लागि सिल्भर डलर नयाँ विकल्पका रूपमा देखिएको छ । रमेश रानामगरको खेतमा अहिले दुई हजार बिरुवा हुर्किरहेका छन् । जंगली जनावरबाट जोगाउन नसकेको अन्नबालीको ठाउँमा उनले बजारमा माग भएको सजावटी वनस्पति रोजेका छन् । ठूलो सुरुवाती लगानी र केही जोखिम भए पनि छोटो समयमै उत्पादन सुरु हुने तथा लामो समयसम्म आम्दानी लिन सकिने सम्भावनाले किसानलाई आकर्षित गरेको छ । तर व्यावसायिक विस्तारका लागि उत्पादन बढाउनु मात्रै पर्याप्त छैन । गुणस्तरीय बिरुवाको सहज उपलब्धता, प्राविधिक सहयोग, सरकारी प्रोत्साहन र बजारको दीर्घकालीन सुनिश्चितता आवश्यक देखिन्छ । किसानले उत्पादन बढाउँदै जाँदा भविष्यमा बजार व्यवस्थापनको चुनौती आउन सक्ने भएकाले उत्पादनसँगै बजारीकरण र मूल्य शृंखलामा पनि ध्यान दिनुपर्ने देखिन्छ । अहिले भने कोगटेका किसानका लागि सिल्भर डलर खेती परम्परागत खेतीको विकल्प मात्रै नभएर नयाँ आम्दानीको सम्भावना बन्दै गएको छ ।
टंगालको भाटभटेनी भोलि खुल्दै, जलेका १२ मध्ये १० स्टोर पुनःसञ्चालनमा
काठमाडौं । टंगालस्थित भाट–भटेनी सुपर स्टोर असोज ५ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । भाट–भटेनीको पहिलो र सबैभन्दा ठूलो स्टोर जेन्जी आन्दोलनको क्रममा पूर्ण रुपमा ध्वस्त भएको थियो । उक्त स्टोर सोमबारदेखि नियमित सञ्चालन हुने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिए । बिहान १० बजेपछि उपभाेक्ताका लागि खुला हुने उनले बताए । आगजनीबाट पूर्ण रुपमा क्षति भएको कोटेश्वरस्थित स्टोर पाँच महिनामा सञ्चालन भएको थियो । जेन्जी आन्दोलनमा जलेर ध्यस्त भएको १२ मध्ये १० वटा स्टोर पुनःसञ्चालनमा ल्याउन सफल भएको उनले जानकारी दिए । जेन्जी आन्दोलनको क्रममा ध्वस्त भएका र सञ्चालनमा आउन बाँकी रहेका दुईवटा स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेका उनले बताए । ‘दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी छ । यी स्टोरबाट पनि छिटो ग्राहक सेवा पुनः सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ’ उनले भने । धेरै ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता नगरी अगाडि बढेकोले एक वर्षभित्रै भाटभटेनी नियमित रुपमा सञ्चालनमा आउन सकेको उनले बताए । कठिन अवस्थामा पनि भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न नदिएको र ग्राहको विश्वास टुट्न पनि नदिएको उनले बताए । ‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिसिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्याएको योगदान सम्झियौँ । र, हामी एउटा निष्कर्षमा पुग्यौँ–खरानीबाट फेरि उठ्ने छौँ’ उनले भने–‘तातो खरानी, तातो फलाम, तातो इँटा पन्छाएर एक हप्ताभित्रै काम थाल्यौँ ।’