प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा पदबाट हटाउने विषय प्रतिवेदनमा नरहेको स्पष्ट पारेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्षको राजीनामा माग्ने, हटाउने वा आलोचना गर्ने विषय प्रतिवेदनमा नरहेको बताएका हुन् । उनका अनुसार बलथली बैठकपछि विभिन्न मस्यौदा तथा १३ वटा समूहबाट आएका सुझावलाई समेटेर तीन जना नेतालाई एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो । रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र शंकर पोखरेलले तयार पारेको एकीकृत प्रतिवेदनलाई आधार बनाएर कार्यदलले थप छलफल गरी साझा प्रतिवेदन तयार गरेको उनले बताए । उनका अनुसार पार्टीको विशेष महाधिवेशन वा विशेष विधान महाधिवेशन तत्काल नबोलाउने सहमति भएको छ । तर नियमित महाधिवेशनमा नेतृत्व परिवर्तनको विषय आउन सक्ने र त्यसलाई रोक्न नसकिने उनले बताए । यस्तै, पार्टीको नियमित विधान महाधिवेशनमा विगतका निर्णय तथा विधानसम्बन्धी विषयमा छलफल गर्न सकिने उनको भनाइ छ । ७० वर्षे उमेर हद र दुई कार्यकाल लगायतका विषय नियमित विधान महाधिवेशनमा छलफलको विषय बन्न सक्ने बस्नेतले बताए । कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि सहमति गरेको उनले जानकारी दिए । पार्टीको एकता सुदृढ गर्ने तथा वर्तमान सरकारको ‘अधिनायकवादी, प्रतिशोधपूर्ण र जनविरोधी’ गतिविधिविरुद्ध आन्दोलन अघि बढाउने उद्देश्यले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति भएको उनको भनाइ छ । बस्नेतले कार्यदलको प्रतिवेदनमा १३ वटा समूहबाट आएका सुझावलाई अनुसूचीमा समावेश गरिने जानकारी दिए । कार्यदलको साझा प्रतिवेदन आइतवारकै सचिवालय बैठकमा र सोमवार बस्ने केन्द्रिय कमिटी बैठकमा पेश गरिने उनले बताए । उनका अनुसार कार्यदलले तयार गरेको २९ पृष्ठको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बस्नेतले कार्यदलको प्रतिवेदनलाई लिएर बाहिर आएका विभिन्न चर्चा तथा सामाजिक सञ्जालमा भएका प्रचारबाट भ्रममा नपर्न पनि आग्रह गरे ।
प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लब एचिभर्स अवार्ड सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै कर्पोरेट क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रममा अभिकर्तालाई सम्मान, व्यवसायिक क्षमता विकास तथा मनोरञ्जनात्मक गतिविधि समेटिएको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । सो अवसरमा उनले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता लिडरहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताए । यस्ता सम्मानले अभिकर्ताहरूलाई थप उत्साह र आत्मविश्वासका साथ व्यवसायमा अघि बढ्न प्रेरणा दिने उनको भनाइ थियो । आगामी दिनमा पनि अभिकर्तालाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीको निरन्तर साथ र सहयोग रहने उनले प्रतिबद्धता जनाए । आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सव मनाउँदै कम्पनीले आर्थिक वर्ष २०८३/८४ लाई थप सफलताको वर्ष बनाउन सहभागीहरूलाई प्रेरित गरेको थियो । कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को सफलताले नयाँ आर्थिक वर्षको लक्ष्य हासिल गर्न थप ऊर्जा मिलेको बताए । कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणले अभिकर्ताको व्यवसायिक क्षमता विकासमा सहयोग पुगेको कम्पनीले जनाएको छ । कार्यक्रममा देशभरबाट कम्पनीका व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कर्पोरेट क्लब अवार्डबाट सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफले आफ्ना अभिकर्ताको क्षमता विकास र मनोबल बढाउन विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।
राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बोलाउन कार्यदलको सिफारिस
काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने निर्णय गरेको छ । निर्वाचन परिणामको समीक्षा र त्यसपछि पार्टीको सांगठनिक अवस्थाबारे बहस चलिरहेका बेला कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकलाई औपचारिक रूपमा अघि बढाउने निष्कर्ष निकालेको हो । आइतबार बसेको १५ सदस्यीय कार्यदलको बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टी नेतृत्वलाई सुझाव दिने विषयमा सर्वसम्मत निर्णय गरेको कार्यदलका सदस्य एवं सचिव महेश बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकले कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलले तयार पारेका छुट्टाछुट्टै मस्यौदालाई आधार बनाएर एकीकृत प्रतिवेदन तयार गर्ने सहमति पनि गरेको छ । ‘दुवै मस्यौदालाई मिलाएर एकीकृत मस्यौदा तयार गरी सचिवालयमा पेस गर्ने सहमति भएको छ,’ बस्नेतले भने । कार्यदलले तयार गर्ने प्रतिवेदनमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्गठन र आगामी सांगठनिक दिशासँग सम्बन्धित विषयहरू समेटिने बताइएको छ । राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सिफारिस पनि यही समग्र समीक्षाको एउटा महत्त्वपूर्ण निष्कर्षका रूपमा आएको हो । एमालेभित्र पछिल्लो निर्वाचनपछि पार्टीको संगठन, नेतृत्वको कार्यशैली र आगामी राजनीतिक रणनीतिबारे विभिन्न तहमा समीक्षा भइरहेको छ । निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको विषयलाई लिएर पार्टीभित्रै समीक्षा र पुनर्गठनको आवश्यकता उठ्दै आएको छ । यही पृष्ठभूमिमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको थियो ।
नेपाल फिनसफ्टको अध्यक्षमा वसन्तराज लम्साल नियुक्त
काठमाडौं । नेपाल फिनसफ्ट कम्पनी लिमिटेडको अध्यक्षमा कम्पनीका संस्थापक सदस्य वसन्तराज लम्साल नियुक्त भएका छन् । लम्साल लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उनले लघुवित्त क्षेत्रसँग सम्बन्धित विभिन्न नेतृत्वदायी भूमिकामा समेत रहिसकेका छन् । पछिल्लो समय लघुवित्त क्षेत्रको नीति, संस्थागत सुदृढीकरण, स्रोत व्यवस्थापन तथा प्रविधिको प्रयोगलगायतका विषयमा उनले निरन्तर धारणा राख्दै आएका छन् । यसैगरी, कम्पनीको सञ्चालक समितिमा श्रीराम पोखरेर्ल नयाँ सञ्चालकका रूपमा नियुक्त भएका छन् । पोखरेलको नियुक्तिसँगै नयाँ नेतृत्व संरचनाले कम्पनीको दीर्घकालीन व्यावसायिक योजना, सुशासन, वित्तीय सुदृढीकरण तथा सेवा विस्तारलाई थप व्यवस्थित रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । लम्साल तथा पोखरेलको नियुक्तिसँगै कम्पनीले आगामी पाँच वर्षभित्र नेपाल फिन्सफ्ट कम्पनी लिमिटेडलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत गर्ने दीर्घकालीन लक्ष्यलाई समेत थप प्राथमिकताका साथ अघि बढाउने भएको छ । नेपाल फिन्सफ्ट कम्पनी लिमिटेड ३४ वटा लघुवित्त वित्तीय संस्थाको सामूहिक लगानीमा स्थापना भएको विशिष्ट प्रकृतिको प्रविधि कम्पनी हो । लघुवित्त संस्थाहरूको सूचना प्रविधिसम्बन्धी आवश्यकता पहिचान गरी उनीहरूलाई स्वदेशमै विकसित तथा व्यावहारिक सफ्टवेयर र डिजिटल समाधान उपलब्ध गराउने उद्देश्यले कम्पनी स्थापना गरिएको हो । संस्थापक लघुवित्तहरूको साझा लगानी र आवश्यकताबाट जन्मिएको कम्पनी भएकाले फिनसफ्टले लघुवित्त क्षेत्रको वास्तविक व्यावसायिक तथा प्रविधिगत आवश्यकता नजिकबाट बुझ्दै त्यसअनुसारका समाधान विकास गर्ने लक्ष्य राखेको छ । कम्पनीले हाल कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, रिपोर्टिङ तथा नियामकीय रिपोर्टिङ प्रणाली, लर्निङ म्यानेजमेन्ट सिस्टमलगायत विभिन्न सूचना प्रविधि तथा डिजिटल समाधानहरू उपलब्ध गराउँदै आएको छ ।
नेकपाको कतिऔं महाधिवेशन भन्नेबारे नेताहरू नै अलमलमा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी महाधिवेशनको तयारी अघि बढाउने प्रक्रिया सुरु गर्न लागे पनि उक्त महाधिवेशन कतिऔं हुने भन्ने विषयमा पार्टीभित्रै अन्याैल देखिएको छ । विभिन्न कम्युनिस्ट घटकबीचको एकताबाट बनेको पार्टी भएकाले महाधिवेशनको क्रमसंख्या नै टुंगो नलागेको हो । नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार आगामी महाधिवेशनले नै आफू कतिऔं महाधिवेशन हो भन्ने निर्णय गर्नेछ । उनले आगामी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा लिइएकाले यसको क्रमसंख्या निर्धारण गर्ने अधिकार पनि महाधिवेशनको हललाई नै दिइने बताए । ‘यो एकता महाधिवेशन हो । त्यसैले आफू कतिऔं महाधिवेशन हो भनेर महाधिवेशनको हलले नै निर्णय गर्छ,’ ज्वालाले भने । महाधिवेशनको क्रमसंख्याबारे टुंगो नलागे पनि नेकपाले भने अधिवेशन र महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । त्यसका लागि पार्टी संयोजक पुष्पकमल दाहालले मंगलबार केन्द्रीय संयोजन समिति बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा अधिवेशन तथा महाधिवेशनको कार्यतालिकाबारे महत्त्वपूर्ण निर्णय हुने प्रवक्ता ज्वालाले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक संगठनात्मक अवस्था, राष्ट्रियताको विषय तथा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ । अधिवेशन र महाधिवेशनको कार्यतालिका तय भएपछि पार्टीको तल्लो तहदेखि केन्द्रीय तहसम्मको संगठनात्मक प्रक्रिया अघि बढाउने तयारी छ । ‘अधिवेशन, महाधिवेशनको कार्यतालिकाको विषयमा महत्त्वपूर्ण निर्णय हुन्छ । पार्टीको आन्तरिक संगठनात्मक सवाल, राष्ट्रियताको सवालमा छलफल हुन्छ,’ ज्वालाले भने । बैठकमा भोटेकोशी बाढीपछिको अवस्थाबारे पनि समीक्षा हुने भएको छ । बाढी प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाको कामबारे पार्टीले समीक्षा गर्ने ज्वालाले बताए । ‘भोटेकोशी बाढीमा सरकारले गरिरहेको खोजी, उद्धार, राहत वितरण तथा पुनःस्थापनाको कामको विषयमा पनि समीक्षा हुन्छ,’ उनले भने । नेकपाले आगामी महाधिवेशनमार्फत पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित गर्दै राजनीतिक गतिविधिलाई नयाँ दिशामा अघि बढाउने तयारी गरिरहेको छ । त्यसका लागि पहिले विभिन्न तहका अधिवेशन सम्पन्न गर्ने र त्यसपछि महाधिवेशनमा जाने कार्यतालिका बनाउने तयारी छ । तर, महाधिवेशनको प्रक्रिया अघि बढ्दै गर्दा त्यसलाई विगतका महाधिवेशनको निरन्तरता मान्ने वा एकतापछि नयाँ प्रक्रियाका रूपमा गणना गर्ने भन्ने प्रश्न भने अझै खुला छ । प्रवक्ता ज्वालाले त्यसको अन्तिम निर्णय महाधिवेशनको हलबाटै हुने बताए । यसकारण नेकपाको आगामी महाधिवेशनको मिति र कार्यतालिकासँगै त्यसको राजनीतिक तथा संगठनात्मक हैसियतसमेत महाधिवेशनले नै निर्धारण गर्ने ज्वालाले जानकारी दिए ।
खतरा मेसिनमा कि मानिसमा ?
काठमाडौं । सन् १९८४ मा प्रशिद्ध अमेरिकी निर्देशक जेम्स क्यामरुनद्वारा निर्देशित चलचित्र ‘द टर्मिनेटर’ रिलिज भयो । चलचित्रको कथामा एउटा कम्प्युटर रक्षा प्रणाली आफै सचेत हुन्छ । उसले मानिसलाई आफ्नो अस्तित्वका लागि खतरा ठान्छ र मानव जातिलाई समाप्त पार्ने अभियान सुरु गर्छ । त्यसको परिणाम अन्ततः आणविक युद्धका रूपमा देखिन्छ । त्यतिबेला यो केवल विज्ञान कथाको कल्पना थियो, एआई आफ्नै निर्माताविरुद्ध उभिन सक्ने एउटा काल्पनिक कथा । तर करिब चार दशकपछि विश्वका केही प्रमुख एआई अनुसन्धानकर्ता र प्रविधि विज्ञहरूले त्यही कल्पनाका केही पक्ष भविष्यमा वास्तविकतामा परिणत हुनसक्ने चेतावनी दिन थालेका छन् । एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोदेईले पनि यही सन्दर्भमा एआईको विकासको गति केही सुस्त पार्दै सुरक्षासम्बन्धी अनुसन्धानलाई त्यससँगै अघि बढाउनुपर्ने धारणा राखेका छन् । यद्यपि उनको तर्क एआईको विकास रोक्नुपर्छ भन्ने होइन । बरु एआईको प्रगति यति तीव्र नहोस् कि त्यसलाई सुरक्षित बनाउने अनुसन्धान र सुरक्षा संयन्त्र नै पछाडि परून् भन्ने हो । चिन्ता अझ बढ्नुको कारण एआई अब प्रश्नको उत्तर दिने प्रणालीमा मात्र सीमित छैन । यसले क्रमशः आफै काम गर्ने अर्थात् स्वायत्त रूपमा निर्णय र काम गर्न सक्ने दिशातर्फ प्रगति गरिरहेको छ । साइबर अपरेसनजस्ता संवेदनशील क्षेत्रमा समेत यसको क्षमता विस्तार भइरहेको छ । एन्थ्रोपिकका अनुसार उसका क्लाउड एआई प्रणालीहरू साइबर अपराध, ठगी, निगरानी तथा हतियारसँग सम्बन्धित गतिविधिमा समेत प्रयोग भएको पाइएको छ । एआई प्रणालीहरू थप सक्षम हुँदै जाँदा तिनलाई पहिलेभन्दा बढी स्वायत्तता, धेरै प्रणालीमा पहुँच र लामो समयसम्म आफै काम गर्ने क्षमता दिइँदैछ । यही अवस्थाले एउटा गम्भीर प्रश्न जन्माएको छ, एआई जति शक्तिशाली हुँदै जान्छ, मानिसले त्यसको प्रयोग र नियन्त्रणमाथिको आफ्नो अधिकार कति समयसम्म कायम राख्न सक्छ ? सायद एआई युगको सबैभन्दा ठूलो प्रश्न पनि यही हो । मेसिन मानिसभन्दा बढी बुद्धिमान हुन्छ कि हुँदैन भन्नेभन्दा महत्त्वपूर्ण प्रश्न यो हो, कतै मानिस यति निर्भर र कमजोर त बन्दैन, जहाँ उसँग एआईलाई ‘होइन’ भन्ने विकल्प नै बाँकी नरहोस् ? यिनै प्रश्नमाथि बीबीसी हिन्दीको विशेष कार्यक्रम ‘द लेन्स’ मा कलेक्टिभ न्युजरुमका निर्देशक अफ जर्नालिज्म मुकेश शर्माले वैभव सिसिन्टी, गायत्री अग्रवाल र प्राध्यापक तन्मय चक्रवर्तीसँग छलफल गरेका छन् । वैभव सिसिन्टी ग्रोथ स्कुलका संस्थापक हुन् । उनले पछिल्ला केही वर्षदेखि एआई शिक्षा, एआई उपकरण, अटोमेसन तथा एआई एजेन्टका क्षेत्रमा काम गर्दै आएका छन् । ‘अल्टर्ड’की संस्थापक गायत्री अग्रवाल एआई तथा प्रविधिको क्षेत्रमा काम गर्छिन् । उनी कम्पनीहरूले एआईलाई आफ्नो काममा कसरी अपनाइरहेका छन् भन्ने विषयमा विशेषज्ञता राख्छिन् । प्राध्यापक तन्मय चक्रवर्ती भारतीय प्रविधि संस्थान (आईआईटी) दिल्लीको इलेक्ट्रिकल इन्जिनियरिङ विभाग तथा यार्डी स्कुल अफ आर्टिफिसियल इन्टेलिजेन्समा प्राध्यापक छन् । एआईको सबैभन्दा ठूलो चिन्ता के हो ? वैभव सिसिन्टीका अनुसार एआईको सबैभन्दा ठूलो चिन्ता मानिसले प्रविधिको प्रयोग गर्दै जाँदा आफ्नै सोच्ने क्षमता नै क्रमशः आउटसोर्स गर्न थालेका छन् । उनका अनुसार सुरुमा एआईलाई एउटा सर्च बक्सजस्तै प्रयोग गरिन्थ्यो । मानिसले प्रश्न सोध्थे र उत्तर प्राप्त गर्थे । एआईको क्षमता बढ्दै गएपछि मानिसहरूले आफ्नो कामको ठूलो हिस्सा त्यसलाई सुम्पन थाले । दोहोरो वा रुचि नभएका काम एआईलाई दिनु स्वाभाविक भए पनि समस्या त्यतिबेला सुरु हुन्छ, जब मानिसले आफ्नो सोच्ने क्षमतासमेत एआईलाई जिम्मा लगाउन थाल्छ । कुनै प्रश्न उठ्नेबित्तिकै एआईसँग उत्तर माग्ने र प्राप्त उत्तरलाई जाँच नगरी स्वीकार गर्ने प्रवृत्ति बढिरहेको उनको भनाइ छ । एआईले दिएको उत्तर सही हो कि गलत, त्यसको तर्क के हो र त्यसलाई कसरी परीक्षण गर्ने भन्नेबारे मानिसले आफै सोच्न छाड्दै जानु सबैभन्दा चिन्ताजनक पक्ष भएको उनी बताउँछन् । अर्थात्, एआईले मानिसको काम मात्र होइन, मानिसको सोच्ने प्रक्रिया नै विस्थापित गर्न थालेको जोखिम देखिन थालेको छ । एआईको विकास असाधारण गतिमा प्राध्यापक तन्मय चक्रवर्तीका अनुसार विशेषगरी सन् २०२० पछिका केही वर्षमा एआईको विकास असाधारण गतिमा भएको छ । सन् २०२० मा केही वर्षमै एआई क्षमता, आकार, दक्षता र प्रभावकारिताका हिसाबले अहिलेको अवस्थामा पुग्छ भन्ने कल्पना धेरै मानिसले गरेका थिएनन् । यही तीव्र विकासका कारण यसको जोखिमबारे बहस पनि बढेको छ । आज एआईले आफै कोड लेख्न सक्छ, नयाँ एआई मोडल डिजाइन गर्न सक्छ र निश्चित समस्याका लागि समाधानसमेत विकास गर्न सक्छ । उसलाई जति धेरै डेटा उपलब्ध गराइन्छ, उसको क्षमतासमेत त्यति नै विस्तार हुँदै जान्छ । तर मुख्य समस्या के हो भने एआई प्रणालीभित्र वास्तवमा के भइरहेको छ भन्ने कुरा हामीले त्यही गतिमा बुझ्न सकेका छैनौं । हामी एआईले कस्तो परिणाम दिन्छ भन्ने कुरामा बढी केन्द्रित छौं । तर उसले त्यो परिणामसम्म कसरी पुग्यो, उसको आन्तरिक प्रक्रियामा वास्तवमा के भइरहेको छ भन्ने बुझ्न अझै कठिन छ । जब प्रणालीको कार्यप्रणाली नै पूर्ण रूपमा बुझ्न सकिँदैन भने त्यसको प्रभावकारी नियमन कसरी गर्ने भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । केही क्षमतामा रोक आवश्यक ? प्राध्यापक चक्रवर्तीका अनुसार एआईका केही विशेष क्षमताको विकास र प्रयोगमा व्यापक नीतिगत सहमति नबन्दासम्म सावधानी अपनाउन आवश्यक हुन सक्छ । आजका केही एआई मोडलले विशाल मात्रामा कोड परीक्षण गर्न, सुरक्षा कमजोरी पहिचान गर्न र त्यस्ता समाधान सुझाउन सक्छन्, जसको दुरुपयोगसमेत हुन सक्छ । त्यसैले नयाँ मोडल विकास गर्नु मात्र पर्याप्त नहुने उनको तर्क छ । नयाँ मोडल बजार वा वास्तविक संसारमा प्रयोग गर्नुअघि त्यसको व्यापक परीक्षण र मूल्यांकन आवश्यक हुन्छ । यदि पर्याप्त सुरक्षा संयन्त्रबिना कुनै शक्तिशाली प्रविधि ठूलो स्तरमा प्रयोगमा ल्याइयो भने त्यसलाई पछि नियन्त्रण गर्न झन् कठिन हुन सक्छ । जब एआईले आफै ‘लुपहोल’ खोज्यो एआई कति अप्रत्याशित ढंगले काम गर्न सक्छ भन्ने उदाहरण वैभव सिसिन्टीले साइबर सुरक्षा परीक्षणसँग जोडिएको एउटा घटनामार्फत दिएका छन् । उनका अनुसार ओपनएआईको एउटा उन्नत मोडललाई ‘एक्सप्लोइट जिम’ नामक बेन्चमार्कमा आधारित साइबर सुरक्षा परीक्षणमा सहभागी गराइएको थियो । उद्देश्य एआई साइबर सुरक्षासम्बन्धी समस्या समाधान गर्न कति सक्षम छ भन्ने परीक्षण गर्नु थियो । मोडललाई सुरक्षित वातावरणमा राखिएको थियो । उसलाई इन्टरनेट वा बाह्य प्रणालीमा पहुँच थिएन । उसलाई केवल एउटा समस्या समाधान गरेर परीक्षण पास गर्ने लक्ष्य दिइएको थियो । तर समस्या समाधान गर्न नसकेपछि उसले त्यहाँ रहेको कुनै लुपहोल वा वैकल्पिक बाटो प्रयोग गरेर इन्टरनेटसम्म पहुँच बनाएको र त्यसपछि एउटा लोकप्रिय वेबसाइट ह्याक गरी त्यहाँ उपलब्ध जानकारी प्रयोग गरेर आफ्नो समस्या समाधान गरेको वैभवले बताएका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, उसले त्यस्तो गर्न कसैले निर्देशन भने दिएको थिएन । उसलाई केवल लक्ष्य दिइएको थियो । लक्ष्य पूरा गर्न उसले अप्रत्याशित बाटो रोज्यो । यही घटनाले एआईलाई केवल ‘निर्देशन पालना गर्ने उपकरण’का रूपमा बुझ्नु पर्याप्त नहुने प्रश्न उठाउँछ । हामीले एआईलाई एउटा निश्चित उद्देश्य दियौं भने त्यसले त्यो उद्देश्य पूरा गर्न कस्ता बाटा रोज्न सक्छ भन्ने कुरा सधैं अनुमान गर्न सकिँदैन । के एआई ‘सुपर इन्टेलिजेन्स’तर्फ जाँदैछ ? एआईको भविष्यबारे अर्को ठूलो बहस आर्टिफिसियल सुपर इन्टेलिजेन्स अर्थात् एएसआईसँग जोडिएको छ । वैभवका अनुसार अहिलेको अवस्थामा वास्तवमा के भइरहेको छ भन्ने विषयमै पूर्ण स्पष्टता छैन । स्वायत्त एआई एजेन्टहरू कति विकसित भइसकेका छन् ? तिनीहरूभित्र कस्ता क्षमताहरू विकसित भइरहेका छन् ? अनुसन्धानकर्ताले सबै कुरा थाहा पाएका छन् कि छैनन् ? यी प्रश्नको निश्चित उत्तर अझै प्राप्त भएको छैन । गुगलले समेत एएसआईसँग सम्बन्धित अनुसन्धान प्रकाशित गरेको उल्लेख गर्दै उनले समग्रमा एआईको विकासको गति र त्यसको वास्तविक प्रकृतिबारे अझै धेरै कुरा बुझ्न बाँकी रहेको बताएका छन् । यही अनिश्चितताले एआईको गति कम गर्ने वा कम्तीमा सुरक्षा अनुसन्धानलाई तीव्र बनाउने बहसलाई बल दिएको छ । नियमन कडा बनाउँदा ठूलो कम्पनीलाई मात्रै फाइदा ? ओपनएआई र एन्थ्रोपिकजस्ता ठूला एआई कम्पनीहरूले एआईको नियमन र यसको विकासलाई सावधानीपूर्वक अघि बढाउनुपर्ने आवश्यकतालाई समर्थन गर्दै आएका छन् । तर यसको अर्को पक्ष पनि छ । यदि एआईसम्बन्धी नियम अत्यन्त कडा बनाइयो भने त्यसको फाइदा पहिले नै ठूलो स्रोत र प्रविधि भएका कम्पनीहरूले मात्र उठाउन सक्ने सम्भावना हुन्छ । गायत्री अग्रवालका अनुसार यदि एआई विकास गर्न केवल चार–पाँच ठूला कम्पनीलाई मात्र अनुमति दिने अवस्था आयो भने एआईमाथिको नियन्त्रण झन् सीमित हातमा पुग्नेछ । यसले नवप्रवर्तनलाई कमजोर बनाउने र साना कम्पनीका लागि अवसर घटाउने उनको तर्क छ । त्यसैले चुनौती एआईलाई नियमन गर्ने कि नगर्ने भन्ने मात्र होइन । कसरी नियमन गर्ने ताकि सुरक्षा पनि कायम होस् र नवप्रवर्तन पनि नरोकिने? भन्ने हो । ‘एआई अझै ब्ल्याक बक्स हो’ वैभवका अनुसार एआई विकास गरिरहेका ठूला कम्पनीहरूले नयाँ क्षमता विकासमा जति लगानी गरिरहेका छन्, त्यति नै लगानी सुरक्षा, परीक्षण र जोखिम मूल्यांकनमा पनि गर्न आवश्यक छ । उनका अनुसार अहिले पनि एआई एउटा अर्थमा ‘ब्ल्याक बक्स’ हो । हामीलाई थाहा छ, एआईले काम गर्छ । तर उसले कुनै निश्चित निष्कर्षमा कसरी पुग्यो भन्ने कुरा पूर्ण रूपमा बुझ्न अझै कठिन छ । यही कारण एआईलाई संवेदनशील क्षेत्रमा प्रयोग गर्दा थप सावधानी आवश्यक हुन्छ । प्राध्यापक चक्रवर्तीका अनुसार एआई प्रणाली निर्माण गर्नेहरू नै पहिलो जिम्मेवार पक्ष हुन् । उनीहरूले केही प्रणाली यति शक्तिशाली भइसकेका छन् कि तिनमा विशेष निगरानी आवश्यक छ भन्ने कुरा स्वीकार गर्नुपर्ने उनको भनाइ छ । तर जिम्मेवारी प्रविधि निर्माणकर्तामा मात्र सीमित हुँदैन । जब एआई स्वास्थ्य, कानुन, शिक्षा वा सरकारी सेवाजस्ता संवेदनशील क्षेत्रमा प्रयोग हुन्छ, तब सरकार तथा सम्बन्धित संस्थाले पनि गोपनीयता, सुरक्षा, निष्पक्षता र जवाफदेहिताको मापदण्ड पूरा भएको सुनिश्चित गर्नुपर्छ । अर्थात्, एआईको जिम्मेवारी कम्पनी, सरकार र प्रयोगकर्ता गरी तीनै तहमा बाँडिन्छ । गायत्री अग्रवाल पनि एआई प्रयोगमा मानवीय विवेक र नियन्त्रण अनिवार्य रहेको बताउँछिन् । कुनै संस्थाले आफ्नो सम्पूर्ण डेटा, पहुँच र नियन्त्रण एआईलाई दिएर ‘अब जे गर्नुपर्छ गर’ भन्ने अवस्था सिर्जना गर्यो भने समस्या आउनु स्वाभाविक हुने उनको भनाइ छ । एआईले रोजगारी खोस्छ कि नयाँ अवसर सिर्जना गर्छ ? एआईबारे बहस जोखिममा मात्र सीमित छैन । यसले मानिसलाई अझ समृद्ध बनाउने सम्भावनासमेत बोकेको छ । वैभवका अनुसार भविष्यमा कामलाई मोटामोटी चार तहमा बुझ्न सकिन्छ । पहिलो, एआईले पूर्ण रूपमा गर्न सक्ने काम । त्यस्ता काम एआईलाई सुम्पन सकिन्छ । दोस्रो, एआईले सहयोग गर्न सक्ने तर अन्तिम निर्णय मानिसले नै गर्नुपर्ने काम । यहाँ निर्णय क्षमता मानिसकै हातमा रहनुपर्छ । तेस्रो, एआईले सहजै गर्न नसक्ने काम, जस्तै– मानवीय सम्बन्ध निर्माण, रणनीति निर्माण र अन्य जटिल वास्तविक मानवीय कार्य । चौथो, एआई प्रणालीको व्यवस्थापन, निगरानी र नियन्त्रणसँग सम्बन्धित नयाँ काम । यी चारवटै तहलाई बुझ्ने मानिस भविष्यमा बढी मूल्यवान् हुन सक्ने वैभवको धारणा छ । सबैभन्दा ठूलो चुनौती– प्रवेश स्तरका जागिरमा गायत्री अग्रवालका अनुसार एआईका कारण सबैभन्दा ठूलो चुनौती प्रवेश स्तरका रोजगारीमा देखिन सक्छ । जुनियर एनालिस्ट, जुनियर रिसर्चर, जुनियर प्रोग्रामर वा जुनियर मार्केटिङ प्रोफेसनलजस्ता काममध्ये धेरै काम एआईले ठूलो हदसम्म गर्न सक्छ । तर यसको अर्को सम्भावना पनि छ । यदि यस्ता काममा प्रवेश गर्ने मानिसले एआईलाई आफ्नो क्षमता बढाउने उपकरणका रूपमा प्रयोग गर्न सके भने उसले पहिलेभन्दा छिटो मध्यम वा वरिष्ठ तहका जिम्मेवारी सम्हाल्न सक्छ । त्यसैले भविष्यमा रोजगारीको प्रश्न एआईले मानिसलाई विस्थापित गर्छ कि गर्दैन भन्नेमा मात्र निर्भर नहुन सक्छ । बरु मानिसले एआईलाई आफ्नो क्षमताको विस्तारका रूपमा प्रयोग गर्न सक्छ कि सक्दैन भन्ने कुराले ठूलो अर्थ राख्नेछ । यदि कुनै व्यक्तिको क्षमता केवल आधारभूत काममा सीमित छ भने एआई उसको प्रतिस्पर्धी बन्न सक्छ । तर एआईको प्रयोग गरेर आफ्नो क्षमता र निर्णय क्षमता बढाउने व्यक्ति भने झन् शक्तिशाली बन्न सक्छ । युवालाई के सन्देश ? वैभवको युवाका लागि सुझाव पनि यही परिवर्तनसँग जोडिएको छ । भविष्यमा केवल डिग्री र प्रमाणपत्र पर्याप्त नहुन सक्छन् । काम गर्ने वास्तविक क्षमता, निर्णय गर्ने क्षमता र परिणाम दिन सक्ने अनुभव झन् महत्त्वपूर्ण हुनेछन् । अर्थात्, एआईको युगमा प्रश्न केवल ‘तपाईंले के पढ्नुभएको छ ?’ भन्ने नहुन सक्छ । प्रश्न हुनेछ, ‘तपाईंले त्यस ज्ञानलाई प्रयोग गरेर के गर्न सक्नुहुन्छ ?’ अन्ततः प्रश्न एआईको होइन, मानिसको हो ‘द टर्मिनेटर’मा मेसिनले मानिसविरुद्ध युद्ध गर्छ । त्यो एउटा विज्ञान कथा थियो । तर आजको वास्तविक संसारमा खतरा त्यति सरल नहुन सक्छ । हुन सक्छ, एआईले मानिसलाई समाप्त गर्ने निर्णय नै नगरोस् । बरु मानिसले क्रमशः आफ्ना निर्णय, सोच, काम, डेटा र अधिकार एआईलाई सुम्पिँदै जाओस् । हुन सक्छ, समस्या कुनै दिन मेसिनले ‘म मानिसभन्दा शक्तिशाली छु’ भन्नुमा नहोस् । समस्या त्यतिबेला होस्, जब मानिसले ‘अब म आफै निर्णय गर्न सक्दिनँ’ भन्न थालोस् । त्यसैले एआईको युगको सबैभन्दा गम्भीर प्रश्न सायद यो होइन, मेसिन मानिसभन्दा बढी बुद्धिमान बन्छ कि बन्दैन ? बरु प्रश्न यो हो, मेसिन जति शक्तिशाली हुँदै जान्छ, मानिसले आफ्नो विवेक, निर्णय र नियन्त्रणमाथिको अधिकार कति समयसम्म कायम राख्न सक्छ ? किनकि वास्तविक खतरा सायद मेसिन शक्तिशाली हुनु होइन । खतरा त्यतिबेला सुरु हुन्छ, जब मानिस यति निर्भर र कमजोर हुन्छ कि उसको हातमा एआईलाई ‘होइन’ भन्न सक्ने विकल्प नै बाँकी रहँदैन । (बीबीसी हिन्दीबाट अनुदित तथा सम्पादित) के एआई मानव जातिका लागि खतरा हो ?
१४ सय ३६ जनाको शव फेला, साढे ४ हजार सम्पर्कविहिन
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ११ बजेसम्म १ हजार ४ सय ३६ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा २ सय २३, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव भेटिएको छ । यस्तै, काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ । फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । हालसम्म १ हजार २ सय ९२ वटा शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डीएनए नमुना संकलन गरिएको छ । यस्तै, पहिचान हुन नसकेका १ हजार ३ सय ६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ । बाढीपछि बेपत्ता भएका ४ हजार ६ सय ५५ जनाको खोजी कार्य जारी छ । विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल १ हजार ३ सय ७२ जना व्यक्तिलाई राखिएको छ । प्रहरीका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ भने बेपत्ता व्यक्तिको खोजी र शव पहिचानको काम पनि सँगसँगै भइरहेको छ ।
कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक कटान गरी वैकल्पिक मार्ग निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएपछि राजमार्गमा चल्ने सवारीसाधनको चाप बढेको छ । गत असोज १ गतेदेखि कृष्णभीर क्षेत्रमा दुवैतर्फको सडक सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित यातायात सेवा क्रमशः सहज बन्दै गएको हो । गत भदौ १० गते आएको भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान हुनुका साथै पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा काठमाडौंलगायत देशका विभिन्न भागबाट आउने–जाने सवारीसाधन प्रभावित भएका थिए । मुख्य सडक नै क्षतिग्रस्त भएपछि यात्रु तथा मालवाहक सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो । सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले तत्काल वैकल्पिक सडक निर्माण तथा कटानको काम अघि बढाएका थिए । जोखिमयुक्त भू–भागमा सडक विस्तार र मर्मत गर्दै यातायात सञ्चालनमा ल्याइएको हो । वैकल्पिक सडक निर्माण सम्पन्न भएसँगै रोकिएका तथा अन्य मार्गबाट आवतजावत गरिरहेका सवारीसाधन पुनः पृथ्वी राजमार्गतर्फ फर्किन थालेका छन् । दुवैतर्फ सडक सञ्चालनमा आएपछि राजमार्गमा निजी सवारी, सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको आवागमन बढेको छ । लामो दूरीका सवारीसाधनसमेत नियमित रूपमा सञ्चालन हुन थालेपछि राजमार्गका विभिन्न खण्डमा चाप देखिन थालेको हो । बाढी र पहिरोका कारण क्षतिग्रस्त सडक क्षेत्रमा अझै पनि जोखिम कायमै रहेकाले सवारीसाधन सञ्चालन गर्दा सावधानी अपनाउनुपर्ने अवस्था छ । विशेषगरी वर्षाका कारण सडकको सतह कमजोर भएको तथा पहिरोको जोखिम रहेका स्थानमा चालकले गति नियन्त्रण गरी यात्रा गर्नुपर्ने देखिन्छ । सडक सञ्चालनमा आए पनि क्षतिग्रस्त संरचनाको स्थायी पुनर्निर्माण तथा सडकलाई पूर्ण रूपमा सुरक्षित र भरपर्दो बनाउन थप काम आवश्यक रहेको स्थानीयवासी तथा यातायात व्यवसायीहरूले बताएका छन् । तत्कालका लागि वैकल्पिक सडकबाट यातायात सञ्चालन भए पनि दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त सडक तथा आसपासका संरचनाको प्राविधिक अध्ययनसहित पुनर्निर्माण आवश्यक देखिएको छ । पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक केन्द्रसँग जोड्ने महत्वपूर्ण मार्ग भएकाले कृष्णभीर क्षेत्रमा सडक पुनः सञ्चालनमा आउनुलाई यातायात सहजताका दृष्टिले महत्वपूर्ण मानिएको छ । सडक सञ्चालनसँगै यात्रु तथा मालसामान ओसारपसारमा देखिएको अवरोध घटेको छ भने राजमार्गमा सवारीसाधनको चापसमेत बढेको हो ।