कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । गत साउन २ र ३ गते सञ्चालन भएको उक्त परीक्षाको नतिजा बोर्डले आज औपचारिक रूपमा प्रकाशन गरेको हो । बोर्डका अनुसार परीक्षामा कुल ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ । यो कुल सहभागी परीक्षार्थीको ८१.१९ प्रतिशत हो । परीक्षामा सहभागी तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत सजिलै हेर्न सक्नेछन् ।
किसानका समस्या र कृषि सुधारबारे तीन मन्त्रालयबीच के के भयो छलफल ?
काठमाडौं । कृषि, उद्योग र सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा नुवाकोट, काभ्रे र धादिङका किसानहरूको कृषि उत्पादनको बजारीकरण, कृषि क्षेत्रका चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल सम्पन्न भएको छ । कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव, सञ्चार तथा सूचना प्रविधि मन्त्री बिक्रम तिमिल्सिना, सम्बन्धित क्षेत्रका पदाधिकारी, तीन जिल्लाका किसान तथा कृषि उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नुवाकोटस्थित चिस्यान केन्द्रमा हाल करिब ३५ हजार मेट्रिक टन आलु मौज्दात रहेको जानकारी दिइँदै त्यसको प्रभावकारी व्यवस्थापन तथा शीघ्र बजारीकरण गर्न कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइन् । छलफलका क्रममा प्रदेशस्तरबाट हुने रासायनिक मलको कोटा निर्धारणप्रति किसानहरूले आपत्ति जनाउँदै आगामी खेतीपातीका लागि मल अभाव हुन नदिन अहिलेबाटै प्रभावकारी तयारी गर्न आग्रह गरिन् । साथै, भारतबाट आयात हुने आलुमा भन्सार व्यवस्थापन कडाइ गरिए नेपाली किसानको उत्पादनले सहज बजार पाउने अपेक्षा व्यक्त गरिएको थियो । किसानहरूले “सरकार खोज्दै किसान हिँड्ने होइन, सरकार नै किसानसम्म पुग्ने वातावरण निर्माण हुनुपर्छ“ भन्ने माग राख्दै बँदेल, दुम्सी, बाँदर र मृगका कारण अन्नबालीमा भइरहेको क्षतिबारे पनि गुनासो गरेका थिए । कार्यक्रममा सहभागीहरूले कृषि उद्यमीहरूका लागि न्यूनतम विद्युत् महसुल लागू गर्न पहल गर्न, किसानलाई गाउँबाट बजारसम्म उत्पादन ढुवानीका लागि निःशुल्क सवारी सुविधा उपलब्ध गराउन, जैविक (अर्गानिक) उत्पादनलाई प्राथमिकता दिन तथा आलुको पोषण र स्वास्थ्य लाभबारे मन्त्रालयबाट प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याए । कृषि मन्त्रालयका सचिवले मन्त्रालयले रासायनिक मल वितरण प्रणालीमा सुधारको काम अघि बढाइरहेको, कृषि बजारका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको तथा कृषि एम्बुलेन्स सञ्चालनको अवधारणामा काम भइरहेको जानकारी दिए । उनले कृषि उत्पादन ढुवानी गर्ने सवारी साधनलाई छुट्टै रङ्गमार्फत पहिचान गराई ट्राफिक व्यवस्थापन सहज बनाउने तयारी रहेको र कोल्ड स्टोर निर्माणका सामग्रीमा सरकारले भन्सार छुटको व्यवस्था गरिसकेको बताए । साथै, नुवाकोटको चिस्यान केन्द्रमा रहेको आलुको प्रभावकारी बजारीकरणको तयारी भइरहेको जानकारी पनि दिए । कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा वन पर्यावरण मन्त्री चौधरीले कृषि तथा वन क्षेत्रलाई व्यापक रूपमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरिन् । उनले “एक रुपैयाँ महँगो परे पनि नेपाली उत्पादन नै रोजौँ“ भन्दै स्वदेशी उत्पादनको प्रयोगले किसान, राष्ट्रिय अर्थतन्त्र र आत्मनिर्भर कृषिलाई बल पुग्ने विश्वास व्यक्त गरेकी थिइन् ।
गुणस्तर परिषद्को बैठकमा उद्योगमन्त्री यादवसहितको सहभागिता, विभिन्न गुणस्तर मापदण्ड स्वीकृत
काठमाडौं । नेपाल गुणस्तर परिषद्को ११९औँ बैठक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसहित सम्बन्धित मन्त्रालयका प्रतिनिधि तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागितामा सम्पन्न भएको छ । बैठकमा नेपाल गुणस्तर निर्धारण तथा पुनरावलोकनका लागि गठित प्राविधिक समितिहरूबाट सिफारिस भई आएका विभिन्न नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धी मस्यौदामाथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरिएको छ । बैठकले मोटर ग्यासोलिनमा ब्लेन्डिङ कम्पोनेन्टका रूपमा प्रयोग हुने एन्हाइड्रस इथानोलको स्पेसिफिकेसन तथा इलास्टोमेरिक ब्रिज बेयरिङको आवश्यकतासम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । त्यस्तै, रबरको कठोरता परीक्षणसँग सम्बन्धित ISO 48-1:2018 र ISO 48-2:2018, रबरको त्वरित एजिङ तथा ताप प्रतिरोध परीक्षणसम्बन्धी ISO 188:2023 लगायतका अन्तर्राष्ट्रिय मापदण्डहरू पनि बैठकमा स्वीकृत भएका छन् । यसैगरी, रबर तथा थर्मोप्लास्टिकको कम्प्रेसन सेट निर्धारणसम्बन्धी ISO 815-1:2019 र ISO 815-2:2019 मापदण्डलाई समेत बैठकले स्वीकृति प्रदान गरेको छ । गुणस्तरसम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने उद्देश्यले परिषद्को बैठक महत्वपूर्ण मानिएको छ । स्वीकृत मापदण्डले उद्योग तथा उत्पादन क्षेत्रको गुणस्तर सुधार, परीक्षण प्रणालीको प्रभावकारिता र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको सहभागितामा सम्पन्न बैठकले गुणस्तर निर्धारण तथा पुनरावलोकन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण निर्णय गरेको छ ।
करदाता प्रोत्साहन उपहार कार्यक्रम शुक्रबारदेखि, एक जनाले १० लाख रुपैयाँ जित्ने
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ । सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेका थिए । विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गर्नेछ । उनकाअनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिनेछ । जसमा साउन १ गतेदेखि १५ गतेसम्मको हरेक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टी गरेर एक–एक लाख रुपैयाँ नगद उपहार पाउने छन् । यस्तै, साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै उपभोक्ताका लागि एउटा बम्पर उपहार घोषणा हुनेछ । जसमा एक जनाले १० लाख रुपैयाँ नगद जित्नेछन् । यो पुरस्कार रकममा भने कर लाग्नेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा करदातालाई प्रोत्साहन गर्न उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि हरेक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको) र महिनाको अन्तिम दिन (१६ गतेदेखि बाँकी दिनको) वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका लागि उपहार घोषणा गरिनेछ । बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता यो कार्यक्रममा स्वतः जोडिने छन्। तर, उपहार प्राप्त गर्न बिल भने अनिवार्य रूपमा उपभोक्ताको साथमा हुनुपर्नेछ । नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने वस्तु तथा सेवाको खरिदपछि अनिवार्य रूपमा प्यान तथा भ्याट बिल मागेर आन्तरिक राजस्व विभागको वेबसाइटमा गएर अपलोड गरी उपहारमा सहभागी भएको कुपन लिनुपर्ने व्यवस्था छ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीले लिए शपथ
काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शपथ गराएका हुन् । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन् ।
नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार (आज) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । शपथ ग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।
जब उडेको ३० सेकेन्डमै रकेटमा चट्याङ पर्यो...
काठमाडौं । चीनको एउटा रकेट प्रक्षेपण भएको करिब ३० सेकेन्डमै चट्याङको चपेटामा पर्यो । आकाशमा बिजुली चम्किँदै गर्दा रकेटमै चट्याङ परेको दृश्य क्यामेरामा कैद भएपछि उक्त भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । तर, चट्याङ लागे पनि रकेट आफ्नो मार्गबाट विचलित नभई सफलतापूर्वक अन्तरिक्षतर्फ अघि बढ्यो । यो घटना गत जुलाई २३ को हो । चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित छिचाङ स्याटेलाइट लन्च सेन्टरबाट स्थानीय समयअनुसार राति ८ बजे लङ मार्च–३ बी रकेट प्रक्षेपण गरेको थियो । रकेटले तियानलियन–२–०६ नामक डाटा रिले स्याटेलाइट बोकेको थियो । प्रक्षेपण भएको केही समयमै रकेटमाथि अचानक चट्याङ परेको थियो । भिडियोमा रकेटको तल्लो भागतिर चट्याङ चम्किएको देखिन्छ । केही क्षणका लागि आकाश नै उज्यालो बने पनि रकेटको उडानमा कुनै स्पष्ट अवरोध देखिएन । रकेटले आफ्नो उडान जारी राख्दै स्याटेलाइटलाई निर्धारित कक्षमा पुर्यायो । चीनको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन (सीएएससी) का अनुसार प्रक्षेपण मिसन पूर्ण रूपमा सफल भएको थियो । तियानलियन–२–०६ स्याटेलाइटलाई भू–स्थिर स्थानान्तरण कक्षमा पुर्याइएको हो । यो स्याटेलाइटले चीनको थियानगोङ अन्तरिक्ष स्टेसन लगायतका अन्तरिक्षयान र पृथ्वीमा रहेका ग्राउन्ड स्टेसनबीच डाटा आदानप्रदान तथा सञ्चारमा सहयोग गर्नेछ । रकेटमा चट्याङ पर्दा किन ठूलो क्षति भएन ? रकेट प्रक्षेपणका क्रममा चट्याङ पर्नु सामान्य जोखिम भने होइन । विद्युतीय झड्काले रकेटभित्र रहेका इलेक्ट्रोनिक प्रणाली, सञ्चार उपकरण र उडान नियन्त्रण प्रणालीमा असर पार्न सक्छ । त्यसैले प्रक्षेपणका लागि मौसमको अवस्था निकै सावधानीपूर्वक मूल्याङ्कन गरिन्छ । तर आधुनिक रकेटमा चट्याङको जोखिम कम गर्न विभिन्न सुरक्षा प्रणाली राखिएका हुन्छन् । लङ मार्च–३बी जस्ता रकेटको धातुको बाहिरी संरचनाले विद्युतीय प्रवाहलाई बाहिरी सतह हुँदै तलतिर प्रवाहित गर्न सहयोग गर्ने भएकाले भित्रका संवेदनशील उपकरण सुरक्षित रहन सक्छन् । यस घटनामा पनि चट्याङको असरले रकेटको महत्त्वपूर्ण प्रणालीमा समस्या नपारेको देखिएको छ । केही विशेषज्ञ व्याख्याअनुसार रकेट तीव्र गतिमा बादलयुक्त वातावरणबाट माथि जाँदा त्यसले छाड्ने आयोनाइज्ड ग्यासको मार्गले समेत विद्युतीय डिस्चार्जलाई सहज बनाउन सक्छ । अर्थात् कहिलेकाहीँ रकेट आफैंले पनि चट्याङको बाटो बन्ने अवस्था सिर्जना गर्न सक्छ । प्रक्षेपणका क्रममा रकेटमा चट्याङ परेको यो पहिलो घटना भने होइन । सन् १९६९ मा अपोलो–१२ मिसनका क्रममा पनि रकेटमा दुईपटक चट्याङ परेको थियो । त्यसबाट केही विद्युतीय प्रणाली प्रभावित भए पनि मिसनलाई सफलतापूर्वक अघि बढाइएको थियो । त्यसैगरी सन् १९८७ मा एटलस–सेन्टौर ६७ पनि चट्याङको प्रहारमा परेको थियो । त्यस घटनाले रकेटको डिजिटल फ्लाइट कन्ट्रोल प्रणालीमा समस्या निम्त्याउँदै अन्ततः उडान असफल भएको थियो । यसपटक भने लङ मार्च–३बीले चट्याङको प्रत्यक्ष प्रहार सहँदै पनि आफ्नो उडानलाई निरन्तरता दियो र स्याटेलाइटलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्यायो । त्यसैले रकेट प्रक्षेपणको क्रममा कैद भएको यो दृश्य अहिले अन्तरिक्ष प्रविधिको मजबुती देखाउने रोचक उदाहरणका रूपमा चर्चामा आएको छ ।
एभरेष्ट मार्टलाई २ लाख जरिवाना, नेपाल ग्यास उद्योगलाई निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको ठहिटीस्थित एभरेष्ट मार्ट स्टोर प्रालिलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत एमआरपीभन्दा बढी मूल्य असुलेको पुष्टि भएपछि उक्त कारबाही गरेको जनाएको छ । यस्तै, गृष्मा इन्टरप्राइजेज प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात, साउन १ गतेदेखि हालसम्मको ग्यास बिक्री विवरण तथा खरिद–बिक्री बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । हिम इलेक्ट्रोनिक्स प्रालिविरुद्ध परेको टेलिभिजनको डिस्प्ले सम्बन्धी उजुरीमा वारेन्टी अवधिभित्रै मर्मत सम्पन्न भएको पुष्टि भएपछि विभागले सामान्य निर्देशन दिएको जनाएको छ । विभागका अनुसार मनकामना आर.एस. जेभीलाई एमआरपी लेबल भएका वस्तु मात्र बिक्री गर्न, अनिवार्य रूपमा बिल जारी गर्न तथा भोजनालय र भान्सामा प्रयोग हुने भाँडाकुँडाको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । खेमदेवी स्टोरले मागअनुसारका कागजात पेस गरेपछि विभागले ग्यासको कृत्रिम अभाव हुन नदिन, नियमित र सहज रूपमा बिक्री–वितरण गर्न तथा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिएको छ । त्यसैगरी नेपाल ग्यास उद्योग प्रालिलाई सरकारले तोकेको मापदण्ड र नियमानुसार बजारमा ग्यासको माग र आपूर्तिको व्यवस्थापन गर्न तथा गृष्मा इन्टरप्राइजेज प्रालि (अनामनगर) लाई ग्यासको समानुपातिक र विवादरहित वितरण सुनिश्चित गर्न निर्देशन दिइएको छ । एयरपोर्ट होटल प्रालिमा गरिएको अनुगमनका क्रममा होटलले आवश्यकता अनुसार मात्र ग्यास खरिद गरी प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐनअनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको विभागले जनाएको छ । यस्तै, जेरो टु टेन प्रालिविरुद्ध परेको उजुरीमा उपभोक्तालाई सामान फिर्ता गरी रकमसमेत फिर्ता गरेको कागजात पेस गरेपछि आवश्यक परे विभागमा उपस्थित हुन तथा एमआरपी लेबल व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ । यसैगरी, न्यौपाने स्टोरलाई खरिद–बिक्री बिल, नापतौलसम्बन्धी कागजात व्यवस्थित राख्न र मूल्यसूची थप स्पष्ट बनाउन निर्देशन दिइएको छ भने श्री बीआईईटीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न विभागले निर्देशन दिएको छ।