विकासन्युज

मकै–कोदो छाडेर सिल्भर डलर खेती, बजारको माग धान्नै मुस्किल

काठमाडौं । जंगली जनावरले मकै, गहुँलगायतका अन्नबाली नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेका किसान रमेश रानामगरले परम्परागत खेतीको विकल्प खोजे । अन्नबालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि उनले सुरु गरेको सिल्भर डलर (युकालिप्टस) खेती अहिले उनको आम्दानीको नयाँ आधार बन्न थालेको छ । रानामगरले ३१ रोपनी क्षेत्रफलमा करिब दुई हजार सिल्भर डलरका बिरुवा लगाएका छन् । उनका अनुसार एउटा बिरुवाको मूल्य करिब १ हजार ४ सय रुपैयाँ पर्छ । ठूलो लगानीमा सुरु गरिएको खेतीबाट रोपेको ७ देखि ८ महिनामै उत्पादन लिन सकिने र बजारमा मागसमेत उच्च रहेकाले उनी उत्साहित छन् । ‘मकै, गहुँ, कोदो, फापर लगाउँदा जंगली जनावरले नष्ट गरिदिन्थे । त्यसपछि केही नयाँ खेती गर्नुपर्छ भनेर सिल्भर डलर लगाउन थालेँ,’ रानामगरले भने । हाल त्यहाँ चार किसानले करिब एक सय रोपनी क्षेत्रफलमा यसको व्यावसायिक खेती गरिरहेका छन् ।  सात–आठ महिनामै उत्पादन सिल्भर डलर खेतीको मुख्य आकर्षण छोटो समयमै उत्पादन लिन सकिनु हो । किसानका अनुसार रोपेको ७ देखि ८ महिनापछि पहिलोपटक हाँगा काट्न सकिन्छ । त्यसपछि गोडमेलको आधारमा प्रत्येक एक–दुई महिनामा उत्पादन लिन सकिन्छ । कोगटेका अर्का किसान वासुदेव चुनी मगरले गत फागुनमा तीन सय बिरुवा खरिद गरी चार रोपनी क्षेत्रफलमा सिल्भर डलर खेती सुरु गरेका हुन् । करिब ४ लाख ४७ हजार रुपैयाँ लगानीमा सुरु गरिएको खेतीबाट उनले उत्पादन लिन थालिसकेका छन् । हालसम्म उनले दुई सय किलोग्रामभन्दा बढी सिल्भर डलर बिक्री गरिसकेका छन् । थप उत्पादन पनि बजारमा पठाउने तयारीमा रहेको उनले बताए । किसानका अनुसार सिल्भर डलर प्रतिकिलो करिब ३ सय रुपैयाँमा बारीबाटै बिक्री हुन्छ । छोटो समयमै उत्पादन सुरु हुने र त्यसपछि नियमित रूपमा हाँगा काट्न सकिने भएकाले यसबाट दीर्घकालीन आम्दानीको सम्भावना रहेको उनीहरूको भनाइ छ ।  एउटै बोटबाट लामो समयसम्म उत्पादन सिल्भर डलर एउटै बोटबाट लामो समयसम्म उत्पादन लिन सकिन्छ । किसानका अनुसार राम्रो मलजल र गोडमेल गरी स्याहार गर्न सके एउटै बोटबाट दशकौँसम्म हाँगा उत्पादन गर्न सकिन्छ । यसको आयु सामान्यतया ३० देखि ५० वर्षसम्म हुने बताइन्छ । सुरुमा बिरुवा खरिद, जग्गा तयारी र खेती विस्तारमा लगानी गर्नुपर्ने भए पनि त्यसपछि लामो समयसम्म नियमित आम्दानी लिन सकिने किसानको विश्वास छ । यद्यपि, सुरुवाती लगानी किसानका लागि चुनौतीपूर्ण छ । एउटा बिरुवाकै मूल्य करिब १ हजार ४ सय रुपैयाँ पर्ने भएकाले ठूलो क्षेत्रफलमा खेती विस्तार गर्दा धेरै रकम आवश्यक पर्छ । त्यसबाहेक जग्गा तयारी, रोप्न, सिँचाइ, गोडमेल तथा अन्य खर्चसमेत थपिन्छ ।  फूल सजावटदेखि अरोमा थेरापीसम्म अस्ट्रेलियाको रैथाने मानिने सिल्भर डलर युकालिप्टस सुगन्धित वनस्पति हो । चाँदीजस्तो देखिने गोलाकार पात यसको प्रमुख विशेषता हो । यसको पातसहितको हाँगा फूलका बुके, माला तथा घर सजावटमा प्रयोग गरिन्छ । पछिल्लो समय होटल, रेस्टुरेन्ट, विभिन्न कार्यक्रम तथा समारोहको सजावटमा समेत यसको प्रयोग बढ्दै गएको किसान बताउँछन् । यसका पातबाट सुगन्धित तेल निकालेर अरोमा थेरापीमा समेत प्रयोग गरिने बताइन्छ । सजावट तथा फ्लोरिकल्चर क्षेत्रमा यसको प्रयोग बढ्दै गएसँगै यसको बजार माग पनि बढिरहेको किसानको भनाइ छ । चिसो हावापानीमा राम्रो हुने भएकाले नेपालको एक हजारदेखि एक हजार पाँच सय मिटर उचाइका मध्यपहाडी क्षेत्रमा यसको व्यावसायिक खेतीको सम्भावना रहेको किसान तथा वनस्पति विज्ञको भनाइ छ ।  बजारको समस्या छैन, उत्पादनकै अभाव कोगटेका किसानका अनुसार सिल्भर डलरको बजार खोज्न समस्या छैन । उत्पादित सिल्भर डलर बारीबाटै बिक्री हुने गरेको उनीहरूको भनाइ छ । तर मागअनुसार उत्पादन गर्न नसकिएको उनीहरूको भनाइ छ । हाल सीमित किसानले मात्रै व्यावसायिक रूपमा खेती गरिरहेकाले बजारको माग धान्न पर्याप्त उत्पादन हुन सकेको छैन । ‘उत्पादन बढाउन सके बजारको समस्या हुँदैन । अहिले त मागअनुसार उत्पादन पुर्‍याउनै गाह्रो छ,’ किसानहरू भन्छन् । यसले सिल्भर डलर खेती विस्तारका लागि बजारको राम्रो सम्भावना देखाए पनि उत्पादनको गुणस्तर, नियमित आपूर्ति र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ ।  व्यावसायिक प्रवर्द्धन गर्ने गाउँपालिकाको तयारी भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार कोगटेमा सिल्भर डलर खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । गाउँपालिकाले पनि यस खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धन र प्रोत्साहन गर्ने योजना अघि बढाएको उनले बताए । स्थानीय तहबाट आवश्यक सहयोग र प्राविधिक ज्ञान उपलब्ध गराउन सके किसानलाई थप आकर्षित गर्न सकिने गाउँपालिकाको भनाइ छ । तर किसानले भने बिरुवा महँगो हुनुका साथै सरकारी अनुदान र प्राविधिक सहयोगको अभाव रहेको बताएका छन् । खेती प्रविधि, बिरुवा व्यवस्थापन, रोग–कीरा नियन्त्रण, कटाइ तथा बजार व्यवस्थापनबारे पर्याप्त जानकारी नहुँदा नयाँ किसानलाई समस्या हुने उनीहरूको भनाइ छ ।  परम्परागत खेतीको विकल्प बन्दै परम्परागत मकै, कोदो, गहुँ र तोरी खेतीबाट अपेक्षित आम्दानी लिन नसकिरहेका कोगटेका किसानका लागि सिल्भर डलर नयाँ विकल्पका रूपमा देखिएको छ । रमेश रानामगरको खेतमा अहिले दुई हजार बिरुवा हुर्किरहेका छन् । जंगली जनावरबाट जोगाउन नसकेको अन्नबालीको ठाउँमा उनले बजारमा माग भएको सजावटी वनस्पति रोजेका छन् । ठूलो सुरुवाती लगानी र केही जोखिम भए पनि छोटो समयमै उत्पादन सुरु हुने तथा लामो समयसम्म आम्दानी लिन सकिने सम्भावनाले किसानलाई आकर्षित गरेको छ । तर व्यावसायिक विस्तारका लागि उत्पादन बढाउनु मात्रै पर्याप्त छैन । गुणस्तरीय बिरुवाको सहज उपलब्धता, प्राविधिक सहयोग, सरकारी प्रोत्साहन र बजारको दीर्घकालीन सुनिश्चितता आवश्यक देखिन्छ । किसानले उत्पादन बढाउँदै जाँदा भविष्यमा बजार व्यवस्थापनको चुनौती आउन सक्ने भएकाले उत्पादनसँगै बजारीकरण र मूल्य शृंखलामा पनि ध्यान दिनुपर्ने देखिन्छ । अहिले भने कोगटेका किसानका लागि सिल्भर डलर खेती परम्परागत खेतीको विकल्प मात्रै नभएर नयाँ आम्दानीको सम्भावना बन्दै गएको छ ।

टंगालको भाटभटेनी भोलि खुल्दै, जलेका १२ मध्ये १० स्टोर पुनःसञ्चालनमा

काठमाडौं । टंगालस्थित भाट–भटेनी सुपर स्टोर असोज ५ गतेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । भाट–भटेनीको पहिलो र सबैभन्दा ठूलो स्टोर जेन्जी आन्दोलनको क्रममा पूर्ण रुपमा ध्वस्त भएको थियो ।  उक्त स्टोर सोमबारदेखि नियमित सञ्चालन हुने भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानु पौडेलले जानकारी दिए । बिहान १० बजेपछि उपभाेक्ताका लागि खुला हुने उनले बताए । आगजनीबाट पूर्ण रुपमा क्षति भएको कोटेश्वरस्थित स्टोर पाँच महिनामा सञ्चालन भएको थियो । जेन्जी आन्दोलनमा जलेर ध्यस्त भएको १२ मध्ये १० वटा स्टोर पुनःसञ्चालनमा ल्याउन सफल भएको उनले जानकारी दिए ।  जेन्जी आन्दोलनको क्रममा ध्वस्त भएका र सञ्चालनमा आउन बाँकी रहेका दुईवटा स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेका उनले बताए । ‘दमक र हेटौंडाका स्टोरहरूमा आवश्यक संरचनागत काम, उपकरण व्यवस्थापन, आन्तरिक निर्माणको काम जारी छ । यी स्टोरबाट पनि छिटो ग्राहक सेवा पुनः सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ’ उनले भने ।  धेरै ठूलो क्षति बेहोर्दा पनि कम्पनीले आफ्नो व्यावसायिक गतिविधि तथा कर्मचारीप्रतिको जिम्मेवारीलाई बेवास्ता नगरी अगाडि बढेकोले एक वर्षभित्रै भाटभटेनी नियमित रुपमा सञ्चालनमा आउन सकेको उनले बताए । कठिन अवस्थामा पनि भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न नदिएको र ग्राहको विश्वास टुट्न पनि नदिएको उनले बताए ।  ‘मनमा पीडा थियो, आँखामा आँसु थियो, आँखै अगाडिका स्टोरमा आगो बलिरहेका थिए तर पनि हामीले राज्यप्रतिको दायित्व बिसिएनौँ, कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्‍याएको योगदान सम्झियौँ । र, हामी एउटा निष्कर्षमा पुग्यौँ–खरानीबाट फेरि उठ्ने छौँ’ उनले भने–‘तातो खरानी, तातो फलाम, तातो इँटा पन्छाएर एक हप्ताभित्रै काम थाल्यौँ ।’

काठमाडौंका विभिन्न क्षेत्रमा १० दिनसम्म बिजुली कटौती हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा पुराना रिले हटाएर नयाँ रिले जडान तथा परीक्षण गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा रिले रेट्रोफिट, एसएएस जडान तथा परीक्षणको काम गर्न लागेको हो । उक्त कार्यका कारण १३२ केभी टेकु सबस्टेसनबाट विद्युत आपूर्ति हुने विभिन्न वितरण केन्द्रअन्तर्गतका फिडरबाट आपूर्ति हुने क्षेत्रमा असोज ४ गतेदेखि चरणबद्ध रूपमा विद्युत सेवा अवरुद्ध वा प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार असोज ४ गतेदेखि असोज १४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा फरक-फरक समयमा विद्युत आपूर्ति प्रभावित हुनेछ ।

नेशनल लघुवित्तबाट बाहिरिँदै ७ जना संस्थापक सेयरधनी, बिक्रीमा राखे सेयर

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका ७ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । उनीहरूले संस्थामा रहेको कुल ४६ हजार ५३४ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । लघुवित्तका अनुसार श्यामबहादुर गुरुङले १२ हजार कित्ता, झापाको विर्तामोड-९ का गोपाल खरेलले ८ हजार कित्ता, झापाको कन्काई-३ का गोपाल खरेलले ५ हजार कित्ता, राजु बस्नेतले १ हजार १६३ कित्ता, गोमादेवी चुडालले ५ हजार कित्ता, टिका श्रेष्ठले १० हजार २२३ कित्ता र अरुण खेतानले ५ हजार १४८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि समेत सेयर बिक्री खुला गरिएको हो । संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेपलाञ्चोकमा आवेदन पेस गर्नुपर्नेछ ।

ग्यास अभावको समस्या टार्न विद्यार्थीलाई विद्युतीय चुलो बाँड्दै सरकार

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका ३०० विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराउने भएको छ ।  केन्द्रले काठमाडौं उपत्यकामा एलपी ग्यासको उपलब्धतामा देखिएको समस्यालाई केही हदसम्म सम्बोधन गर्न, स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढाउन तथा विद्युतीय चुलोको प्रवर्द्धन गर्ने उद्देश्यले विद्यार्थीबाट माग संकलन गर्न लागेको जनाएको हो । केन्द्रका अनुसार काठमाडौं बाहिरबाट उपत्यकामा आएर घर भाडामा लिई स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई विद्युतीय चुलो उपलब्ध गराइनेछ । यसका लागि इच्छुक विद्यार्थीले असोज ८ गते दिउँसो २ बजेसम्म अनलाइन फाराम भर्नुपर्नेछ । विद्यार्थीले अनलाइन फारामसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति वा दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपि वा सम्बन्धित निकायको सिफारिस पेस गर्नुपर्नेछ । अनलाइन फाराम मात्र भरेर आवश्यक कागजात पेस नगरेका विद्यार्थीको आवेदन छनोटमा समावेश नगरिने केन्द्रले जनाएको छ । सम्बन्धित निकाय वा स्थानीय तहबाट विपन्नता खुल्ने सिफारिस पेस गरेका तथा सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीलाई छनोटमा प्राथमिकता दिइनेछ । केन्द्रका अनुसार यसअघि नै केन्द्रबाट विद्युतीय चुलो प्राप्त गरिसकेका विद्यार्थीको माग स्वतः खारेज हुनेछ । इच्छुक विद्यार्थीले केन्द्रको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

​​​​​​​तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्ले भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्तासहित कूटनीतिक, सामाजिक, आर्थिक-व्यावसायिक र प्राज्ञिक मञ्चमा सहभागी भएर स्वदेश फर्किएका हुन् । भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत सरकारले पु¥याएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री वाग्लेले बताए । बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको तथा दुई देशबीचको राजनीतिक, आर्थिक र कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा भएका भेटवार्ता फलदायी रहेको उनले बताए । बिहीबार अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल-भारत आर्थिक सहकार्यका विभिन्न आयामबारे छलफल भएको थियो । शुक्रबार उनले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाए । सोही दिन उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरे। शुक्रबार साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी भए । त्यसै दिन दिउँसो उनले प्रवासी नेपालीको प्रतिनिधिमण्डलसँग भेट गरे । शनिबार बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी भए । सोही दिन उनले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाए । शनिबार नै अर्थमन्त्री वाग्ले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भए ।  

३.७५ प्रतिशत लाभांश बाड्ने एनआईएमबिको घोषणा

काठमाडौं । एनआईएमबि स्टक मार्केट्स लिमिटेडले सेयरधनीलाई ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असोज १ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफा तथा सञ्चित कोषबाट चुक्ता पुँजीको ३.७५ प्रतिशत, करसहित हुन आउने २ करोड २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २६ गते दिउँसो साढे ३ बजे काठमाडौंको कमलादीस्थित आईटी प्लाजामा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा चौथो वार्षिक साधारणसभा बोलाएको छ । सभाले अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०८२/८३ को नाफा-नोक्सान हिसाब, सोही अवधिको नाफा-नोक्सान बाँडफाँट हिसाब, नगद प्रवाह विवरणलगायत सम्बन्धित वित्तीय विवरण पारित गर्नेछ । त्यस्तै, सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको प्रचलित कानुन, नियमावली तथा सम्बन्धित नियामकीय व्यवस्था बमोजिम स्वतन्त्र सञ्चालकको नियुक्तिसमेत अनुमोदन गर्नेछ ।

पश्चिम नवलपरासीबाट ८० लाखभन्दा बढीको अवैध मोबाइल पार्टस् बरामद

काठमाडौं । सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध मोबाइल पार्टस् बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीको टोलीले बर्दघाट नगरपालिका-४ स्थित झाडीमा लुकाएर राखिएको अवस्थामा उक्त सामान बरामद गरेको हो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको कमाण्डमा खटिएको टोलीले गएराति करिब ११:५५ बजे खोजतलास गर्दा झाडीमा अवैध रूपमा राखिएका सामान फेला पारेको हो ।  बरामद गरिएका सामानहरूमा मोबाइलको ब्याट्री, टेम्पर्ड ग्लास, इयरबड्स, स्मार्ट वाच र स्पिकर लगायत रहेका छन्, जसको अनुमानित मूल्य ८० लाख ३० हजार रुपैयाँ रहेको छ । सशस्त्र प्रहरी बलका सह-प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।