विकासन्युज

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बुरको बाग्मती गाउँपालिका-१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने २२ वर्षीय सन्देश बल रहेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-१ श्रीनगरबाट गत साउन १८ गते बा ८७ प ९२० नम्बरको मोटरसाइकल हराएको भन्दै गोरखाको भीमसेनथापा गाउँपालिका-५ का विनक श्रेष्ठले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । प्रहरीले खोजतलासका क्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा ८० प १४३७ नम्बर राखेर गुहेश्वरीस्थित ड्रीम बाइक रिकन्डिसनमा लुकाएर राखेको अवस्थामा पुरकुटी र गुरुङलाई  नियन्त्रणमा लिएको हो ।  उनीहरूले उक्त मोटरसाइकल सन्देश बलसँग १७ हजार रुपैयाँमा किनेको बयान दिएपछि प्रहरीले बललाई पनि काठमाडौंको रानीबारीबाट पक्राउ गरेको हो ।  मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् । ट्राफिक प्रहरीले सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न तथा पाङ्ग्रा ताल्चा, चेन ताल्चा, ह्यान्डल ताल्चा, डिस्क ताल्चा र सुरक्षा साइरनजस्ता उपकरण प्रयोग गर्न आग्रह गरेको छ ।  मानिसको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न पनि अनुरोध गरिएको छ । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको हटलाइन १०० मा तत्काल फोन गरी विवरण उपलब्ध गराउन तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।

लोककल्याणकारी विज्ञापनको रकम कटौतीबारे प्रचण्डलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकममा कार्यविधि संशोधनका नाममा गरिएको कटौतीका विषयमा ध्यानाकर्षण गराइएको छ । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । टोलीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेश कुमार बोहोरा, शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत शाखाद्वारा गठित ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’का सदस्य टंक कार्की, विश्वराज किराँत, सीता पोखरेल तथा कल्पना खड्का तथा वरिष्ठ पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमार्फत लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय फिर्ता लिन तथा छापा सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ ।

कांग्रेसको ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न, भोलि पनि जारी रहने

काठमाडौं । नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत पहिलो चरणको वडा अधिवेशन असोज ३ गतेदेखि उत्साहप्रद रूपमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म आयोजना हुने महाधिवेशनका लागि शनिबार देशका ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार अधिवेशन सम्पन्न भएका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली रहेका छन् । सम्पन्न अधिवेशनबाट नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूको चयन गरिएको छ । केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लामा भोलि असोज ४ गते पनि वडा अधिवेशन प्रक्रिया निरन्तर जारी रहने कांग्रेसले जनाएको छ ।

युनिग्लोब इन्टरनेशनल एमयूएन २०२६ शनिबारदेखि सुरु (फोटोफिचर )

काठमाडौं । युनिग्लोब इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (एमयुए)  २०२६ को छैटौं संस्करण आजदेखि सुरु भएको छ । यो संस्करण सेप्टेम्बर २१ तारिख सोमबारसम्म चल्नेछ । संस्करणमा काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा भारत र बंगलदेशका गरी ५ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदै कूटनीति, बहस, सहकार्य र विश्वव्यापी मुद्दामाथि छलफल गर्नेछन् । सम्मेलनमा  विभिन्न १५ वटा समुहमा फरक फरक शिर्षकमा छलफल गरिने आयोजकले जनाएको छ ।  संस्करणको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि (राजदूत) तथा शिक्षाविद् प्राध्यापक जयराज आचार्यको उपस्थिती रहेको थियो ।  युवाहरूमा कूटनीति, नेतृत्व र अन्तर्राष्ट्रिय समझदारी विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए ।  यस सम्मेलनले युवा पुस्तालाई विश्वव्यापी मुद्दाहरूबारे गहिराइमा अनुसन्धान गर्ने महत्व बारे सिकाउँदै आगामी कूटनीतिज्ञहरूको निर्माणमा महत्वपुर्ण भूमिका खेल्नेछ भन्ने उदेश्यका साथ यस खालको कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ ।

देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक घाइते, दुई जना पक्राउ

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चलेको छ । शनिबार साँझ देवानगञ्ज वडा नं-१ मा फेरि गोली चलेको छ। गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । वडा नं-१ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि भएको उक्त घटनामा सोही ठाउँका १९ वर्षीय निरज यादव घाइते भएका हुन् । घाइतेलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको छ । उनको तिघ्रामा गोली लागेको छ। घटनालगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै यस विषयमा विस्तृत विवरण आउन अझै बाँकी रहेको जानकारी दिए ।

म्याक्स इन्टरनेसनलको बिजनेसमा छलाङः आम्दानी २.६७ अर्ब पुग्यो, ऋण १.१५ अर्बमा झर्यो

काठमाडौं । म्याक्स इन्टरनेसनलले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ६७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५२.२८ प्रतिशत अर्थात् ९१ करोड ७० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब ७५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कारोबारमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको नाफा मार्जिन भने न्यून रहेको छ । गत आर्थिक वर्षमा कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अन्य गैरनगद खर्चअघिको सञ्चालन नाफा मार्जिन ४.६४ प्रतिशत कायम भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनी सञ्चालन नाफामा घाटामा रहेको थियो । कम्पनीको कारोबार कार्यशील पुँजीमा बढी निर्भर रहेको छ । ग्राहकलाई लामो उधारो अवधि उपलब्ध गराउने भएकाले रकम उठाउन लाग्ने समय उच्च रहेको छ । गत आर्थिक वर्षमा कम्पनीको औसत रकम उठाउने अवधि १२३ दिन रहेको थियो । यद्यपि, अघिल्लो आर्थिक वर्षको १८० दिनको तुलनामा यसमा सुधार भएको छ । कम्पनीले विभिन्न ब्रान्डका वस्तुको मौज्दात राख्नुका साथै मागअनुसार वस्तु आयात गर्ने गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको औसत मौज्दात अवधि २२ दिन रहेको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि २० दिन थियो । त्यसैगरी, आपूर्तिकर्तालाई रकम भुक्तानी गर्न लाग्ने औसत अवधि २४ दिनमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि ७५ दिन रहेको थियो । समग्रमा कम्पनीको सञ्चालन चक्र गत आर्थिक वर्षमा १२२ दिन रहेको छ । अघिल्लो आर्थिक वर्षमा १२६ दिन रहेको सञ्चालन चक्र सामान्य सुधारसहित स्थिर रहेको देखिन्छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ७ करोड ४० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २००६ मा स्थापना भएको म्याक्स इन्टरनेसनल सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु तथा सेवाको व्यापार गर्ने कम्पनी हो । नेपालभर डेलका ल्यापटप तथा सर्भरको आधिकारिक वितरकका रूपमा रहेको कम्पनीले विभिन्न संस्थाका लागि आवश्यक उद्यम तथा व्यवसायिक प्रकृतिका सूचना प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले सन् २०१७ मा आईएसओ प्रमाणपत्र प्राप्त गरेको थियो । करिब दुई दशकदेखि सञ्चालनमा रहेको कम्पनी २५ भन्दा बढी प्रमुख मौलिक उपकरण निर्माता (ओईएम) ब्रान्डसँग आबद्ध छ । कम्पनीले १ हजारभन्दा बढी प्रकारका सूचना प्रविधिसम्बन्धी उत्पादनको कारोबार गर्दै आएको छ । सन् २००६ देखि नै कम्पनीकी एकल स्वामित्वकर्ता शाहिना हुसेनले म्याक्स इन्टरनेसनलको नेतृत्व गर्दै आएकी छन् । हुसेनसँग सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । उनले इन्जिनियरिङ तथा व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन गरेकी छन् । त्यसैगरी, अकबर हुसेन सन् २००६ देखि नै कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । उनले बी–टेक तहको अध्ययन गरेका छन् भने सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेको छ ।  म्याक्स इन्टरनेसनल नेपालमा डेल टेक्नोलोजिजको वितरणतर्फ उच्च तहको ‘टाइटेनियम पार्टनर’का रूपमा रहेको छ । कम्पनीले डेल ईएमसी, ओरेकल, लेनोभो, माइक्रोसफ्ट, एचपी, सिमान्टेक र आईबीएमलगायत प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ब्रान्डसँग आधिकारिक साझेदारी गरेको छ । २५ भन्दा बढी प्रमुख ओईएम ब्रान्डसँगको आबद्धताले कम्पनीको विश्वसनीयता तथा ग्राहक आधार विस्तारमा सहयोग पुगेको कम्पनीले जनाएको छ ।  कम्पनीले विभिन्न व्यावसायिक गतिविधिका लागि स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीसँग रणनीतिक साझेदारी गर्दै आएको छ । आफ्ना उत्पादन तथा सेवा अन्तिम ग्राहकसम्म पु¥याउन थोक तथा खुद्रा विक्रेताको सञ्जाल प्रयोग गर्दै आएको कम्पनीले ठूला ग्राहक तथा परियोजनाका लागि प्रणाली एकीकृत गर्ने कम्पनीसँग समेत सहकार्य गर्दै आएको छ । म्याक्स इन्टरनेसनलको उत्पादन तथा सेवाको दायरा पनि विविध रहेको छ । कम्पनीले सूचना प्रविधि प्रणाली, उपभोक्ता विद्युतीय सामग्री, सफ्टवेयर समाधान तथा भण्डारण प्रणालीलगायत विभिन्न उत्पादन तथा सेवाको कारोबार गर्दै आएको छ । सरकारी तथा निजी क्षेत्रका ग्राहकलाई सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा सहयोग सेवा उपलब्ध गराउँदै आएको कम्पनीका ग्राहकमा बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी र अन्य ठूला व्यावसायिक संस्था रहेका छन् । सूचना प्रविधिको प्रयोग विस्तार हुँदै गएसँगै यस क्षेत्रको बजारसमेत बढ्दै गएको छ । कम्पनीहरूले प्रतिस्पर्धात्मक क्षमता बढाउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् भने सर्वसाधारणमा समेत सूचना प्रविधिसम्बन्धी चेतना विस्तार भइरहेको छ । सूचना प्रविधिको बढ्दो प्रयोग, वित्तीय साक्षरतामा भएको वृद्धि, घरबाटै काम गर्ने अभ्यास तथा विभिन्न व्यावसायिक गतिविधिमा प्रविधिमाथिको बढ्दो निर्भरताले आईटी उद्योगको बजार विस्तारमा सहयोग पुगेको कम्पनीको भनाइ छ ।  नेपालमा सूचना प्रविधिको प्रयोग अझै प्रारम्भिक चरणमा रहे पनि निजी तथा सार्वजनिक दुवै क्षेत्रमा यसको पहुँच र प्रयोग विस्तार हुँदै गएको छ । बैंक तथा वित्तीय संस्था, सरकारी निकाय तथा निजी क्षेत्रका कम्पनीमा सूचना प्रविधिको प्रयोग बढ्दै जानुले आगामी दिनमा आईटीसम्बन्धी उत्पादन तथा सेवाको माग विस्तार हुने आधार तयार गरेको छ । प्रविधिको प्रयोग बढ्दै जाँदा सूचना प्रविधि उद्योगको बजार तथा व्यावसायिक सम्भावना पनि क्रमशः विस्तार हुने अपेक्षा कम्पनीले गरेको छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ ऋण लिएको छ । जसमा २ करोड ८६ लाख रुपैयाँ दीर्घकालीन १ अर्ब १३ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।  यसअघि कम्पनीको ऋण १ अर्ब ७३ करोड रुपैयाँ थियो ।

चिनको ग्वाङ्जी कम्पनीलाई सरकारले राख्यो ३ वर्षका लागि कालोसूचीमा

काठमाडौं । इलेक्ट्रिकल उपकरण उत्पादन तथा आपूर्ति गर्ने चिनियाँ कम्पनी ग्वाङ्जी हुगान इलेक्ट्रिक पावर इक्विपमेन्ट कम्पनी लिमिटेड नेपालमा तीन वर्षका लागि कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कम्पनीलाई कालोसूचीमा राखेको हो । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा ग्वाङ्जी हुगान इलेक्ट्रिक पावर इक्विपमेन्ट कम्पनी कालोसूचीमा परेको हो । कम्पनीको ठेगाना चीनको ग्वाङ्जी प्रान्त, नानिङ सहरको जियाङनान जिल्लास्थित नम्बर ११ होङसेङ रोड रहेको छ । कम्पनीका मुख्य व्यक्ति वाङ जियाहाओ रहेका छन् ।  यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयले काठमाडौंस्थित पालिका एडभरटाइजिङ एन्ड सप्लायर्सलाई पनि एक वर्षका लागि कालोसूचीमा राखेको छ । उक्त कम्पनीलाई कालोसूचीमा राख्न गण्डकी गाउँपालिका गोरखाले सिफारिस गरेको हो । कम्पनीका मुख्य व्यक्ति जापान गुरुङ रहेका छन् ।  कालोसूचीमा परेका दुवै कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।

धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो: गुरु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरु प्रसाद पौडेलले नेपालमा सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीका कारण परियोजना आधारित कर्जा प्रवाह निरुत्साहित भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले नेपालको कुल कर्जा प्रवाहको करिब ६७ प्रतिशत हिस्सा स्थिर सम्पत्ति वा धितोमा आधारित रहेको बताए । उनका अनुसार यसले बैंक तथा वित्तीय संस्थालाई परियोजनाको सम्भाव्यता र जोखिम मूल्यांकनका आधारमा कर्जा प्रवाह गर्न निरुत्साहित गरेको छ । ‘हामीले सम्पत्ति धितोमा आधारित वित्तपोषणबाट परियोजना आधारित वित्तपोषणमा जानैपर्छ । त्यसका लागि बैंकहरूलाई नवीन र जोखिम मूल्यांकनमा आधारित कर्जा प्रवाह गर्न सक्षम बनाउनुपर्छ,’ उनले भने । पौडेलले सम्पत्तिको धितोमा कर्जा दिने अभ्यासले बैंकहरूलाई नवीन क्षेत्रमा जोखिम लिएर लगानी गर्नसमेत हिच्किचाउने अवस्था सिर्जना गरेको बताए । बैंकिङ प्रणालीलाई परियोजना आधारित वित्तपोषणतर्फ लैजानुपर्नेमा उनले जोड दिए । उनले अहिले बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तार र असुली दुवैमा समस्या भोगिरहेको बताए । साना कर्जा लिएपछि तिर्नुपर्दैन भन्ने भाष्य निर्माण हुनु र विभिन्न समूहबाट त्यसलाई प्रोत्साहन गर्ने गतिविधि हुनु कर्जा असुलीको समस्याको एउटा कारण रहेको उनको भनाइ छ । ‘साना कर्जा तिर्नुपर्दैन भन्ने धारणा विकास भयो भने कर्जा लिनेले पनि तिर्न नपर्ने सोच बनाउन सक्छ । त्यस्तै, नतिर्ने नै हो भने बैंकले पनि साना कर्जा किन प्रवाह गर्ने भन्ने अवस्था आउन सक्छ,’ उनले भने । नेपालको अर्थतन्त्रका लागि ठूला कर्जाभन्दा साना तथा मझौला व्यवसायमा जाने कर्जा महत्वपूर्ण रहेको पौडेलले बताए । उनका अनुसार हजारौं घरेलु तथा साना उद्योगका लागि १० देखि १५ लाख रुपैयाँसम्मको कर्जा पर्याप्त हुने भए पनि परियोजना आधारित भएर यस्तो कर्जा प्रवाह गर्न बैंकहरूमा केही हदसम्म अनिच्छा देखिएको छ । कर्जा असुलीमा स्थानीय तहबाट चारकिल्ला प्रमाणित गर्न नदिने तथा सूचना र नोटिस जारी गर्ने प्रक्रियामा अन्य निकायबाट पर्याप्त सहयोग नहुने अवस्थाले पनि समस्या सिर्जना गरेको उनले बताए । कर्जा असुली कमजोर हुँदा त्यसको प्रभाव नयाँ कर्जा प्रवाहमा समेत पर्ने र अन्ततः बैंकको निष्क्रिय कर्जा बढ्न सक्ने उनको भनाइ छ । पौडेलले नेपालको बैंकिङ क्षेत्रको वित्तीय अवस्था भने तुलनात्मक रूपमा बलियो रहेको दाबी गरे । उनका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजी पर्याप्तता अनुपात करिब ९.७ प्रतिशत रहेको छ, जबकि नियामकीय न्यूनतम आवश्यकता करिब ८.५ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाको सम्पत्तिको गुणस्तरमा पछिल्ला चार-पाँच वर्षमा दबाब बढेको भए पनि कुल निष्क्रिय कर्जा करिब ५.५ देखि ६ प्रतिशतको हाराहारीमा हुँदा खुद निष्क्रिय कर्जा २ प्रतिशतभन्दा कम रहेको उनले बताए । बैंक तथा वित्तीय संस्थाले गरेको जोखिम व्यवस्थाले उक्त अवस्था धान्न सक्ने उनको भनाइ छ । बैंकिङ क्षेत्रको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको प्रक्रिया अघि बढाइएको पनि पौडेलले जानकारी दिए । उनका अनुसार बैंक तथा वित्तीय संस्थासँग करिब ५७ अर्ब रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । सम्पत्ति व्यवस्थापन कम्पनीसम्बन्धी मस्यौदा तयार भइसकेको र चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले पुस मसान्तभित्र यस्तो कम्पनी स्थापना गर्ने उद्देश्य अघि सारेको उनले बताए । यसबाट बैंकिङ क्षेत्रको सम्पत्ति व्यवस्थापनमा विश्वासको वातावरण निर्माण हुने अपेक्षा गरिएको उनको भनाइ छ । बैंकिङ क्षेत्रका समस्या समाधानका लागि नियामक निकाय, अनुसन्धान निकाय र कानुन कार्यान्वयन गर्ने संस्थाबीच स्पष्टता तथा पारस्परिक समझदारी आवश्यक रहेको पौडेलले बताए । विगतमा प्रवाह भएका कर्जालाई तत्कालीन मूल्यांकन मापदण्डका आधारमा मात्र हेर्दा बैंकिङ क्षेत्र र कर्जा प्रवाहमा नकारात्मक प्रभाव पर्न सक्ने उनको भनाइ छ । अनुसन्धान तथा कानुन कार्यान्वयन गर्ने निकायले बैंकिङ नियामकसँग समन्वय गरेर काम गर्दा बैंकिङ क्षेत्रमा विश्वासको वातावरण बन्ने उनले बताए । स्पष्ट नियमन, कर्जा असुलीका लागि अनुकूल वातावरण र परियोजना आधारित वित्तपोषण विस्तार गर्न सके कर्जा प्रवाहमा सुधार आउन सक्ने पौडेलको भनाइ छ ।