एआई पूर्वाधारबाट भारतीय उद्योगलाई ठूलो अवसर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तारका लागि विश्वभर तीव्र गतिमा निर्माण भइरहेका डाटा सेन्टरहरूले भारतका केबल, विद्युत् प्रणाली, फाइबर–अप्टिक र कुलिङ उपकरण उत्पादक कम्पनीहरूलाई उल्लेखनीय व्यावसायिक अवसर दिलाएका छन् । विश्वस्तरीय एआई मोडेल विकासमा भारत पछाडि परे पनि त्यसका लागि आवश्यक पूर्वाधार आपूर्ति गर्ने उद्योगहरू भने तीव्र रूपमा लाभान्वित भइरहेका छन् । पश्चिम भारतस्थित स्टरलाइट टेक्नोलोजीजको कारखानामा प्राविधिकहरू चौबीसै घण्टा डाटा सेन्टरका लागि आवश्यक कपालभन्दा पनि पातलो फाइबर–अप्टिक केबल उत्पादनमा व्यस्त छन् । कम्पनीका प्रबन्ध निर्देशक अङ्कित अग्रवालले एआई पूर्वाधार विस्तारलाई आफ्नो उद्योगका लागि ‘जीवनमा एकपटक आउने अवसर’ भएको बताए । उनका अनुसार विश्वका ठूला प्रविधि कम्पनीहरूको बढ्दो मागले कम्पनीको व्यवसायको स्वरूप नै परिवर्तन गरिरहेको छ ।      विश्लेषकहरूले यसलाई ‘पिक एन्ड शोभल’ रणनीतिसँग तुलना गरेका छन् । यस रणनतिमा सुन खोज्नेभन्दा आवश्यक उपकरण बेच्नेले बढी लाभ कमाउने अवस्था सिर्जना हुन्छ । भारतले अत्याधुनिक एआई चिप वा विश्वस्तरीय मोडेल विकासमा अग्रता नलिएको भए पनि त्यसका लागि आवश्यक केबल, ट्रान्सफर्मर, स्विचगियर, कुलिङ प्रणाली र विद्युत् पूर्वाधार आपूर्ति गर्ने क्षेत्रमा बलियो उपस्थिति बनाएको छ ।      श्रीराम एएमसीका कोष प्रबन्धक प्रतीक निगुडकरका अनुसार भारतले एआई चिप उत्पादन वा मोडेल प्रशिक्षण नगरे पनि प्रत्येक डाटा सेन्टरका लागि आवश्यक उपकरण उत्पादन गर्ने क्षमता हासिल गरिसकेको छ । यही कारण भारतीय उत्पादकहरू अहिले विश्वव्यापी आपूर्ति शृङ्खलामा महत्त्वपूर्ण स्थान ओगटिरहेका छन् ।      फाइबर–अप्टिक केबल उत्पादकहरू यसबाट सबैभन्दा बढी लाभान्वित भएका छन् । स्टरलाइट टेक्नोलोजीजले यसै वर्ष एक अमेरिकी ‘हाइपरस्केल’ क्लाउड सेवा प्रदायकसँग एक अर्ब १० करोड अमेरिकी डलर बराबरको बहुवर्षीय सम्झौता गरेको छ । त्यसपछि कम्पनीको शेयर मूल्य चार गुणाभन्दा बढीले वृद्धि भएको छ । दूरसञ्चार उपकरण निर्माता एचएफसीएलले पनि एआईसम्बन्धी मागका कारण अप्रिल–जुन त्रैमासिकमा उल्लेखनीय आम्दानी वृद्धि गरेको जनाएको छ । कम्पनीका संस्थापक महेन्द्र नाहटाले उत्पादन क्षमता विस्तार अहिले नियमित प्रक्रिया बनिसकेको र मागलाई ‘सुनामी’ जस्तै तीव्र भएको बताए ।      एआई पूर्वाधार विस्तारबाट पावर प्रणाली निर्माता टीडी पावर सिस्टम्स, ऊर्जा उपकरण निर्माता एमटिएआर टेक्नोलोजीजलगायत अन्य कम्पनीहरूले पनि लाभ उठाइरहेका छन् । डाटा सेन्टरहरूको बढ्दो मागका कारण यी कम्पनीहरूको बजार मूल्यमा उल्लेखनीय वृद्धि भएको छ ।      यद्यपि विश्लेषकहरूले केही जोखिम पनि औँल्याएका छन् । ऊर्जा बढी खपत गर्ने डाटा सेन्टर परियोजनाप्रति बढ्दो वातावरणीय चिन्ता, उच्च मूल्याङ्कन तथा केही अन्तर्राष्ट्रिय परियोजना ढिलाइ हुँदा निकट भविष्यमा बजारमा दबाब पर्न सक्ने उनीहरूको भनाइ छ । १०ए ल्याब्सको तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा अमेरिकाका करिब एक खर्ब ३० अर्ब अमेरिकी डलर बराबरका कम्तीमा ७५ डाटा सेन्टर परियोजना ढिलाइ वा अवरुद्ध भएका छन् ।      भारतीय अधिकारीहरू भने आन्तरिक माग बलियो रहेकाले दीर्घकालीन सम्भावना सकारात्मक रहेको बताउँछन् । भारतमा विश्वको करिब पाँचौँ भाग डाटा होस्ट हुने भए पनि विश्वव्यापी डाटा सेन्टर क्षमतामा यसको हिस्सा पाँच प्रतिशतभन्दा कम रहेको छ र यसले विस्तारको ठूलो सम्भावना देखाउँछ ।      गत वर्ष अमेरिकी ‘हाइपरस्केल’ कम्पनीहरूले भारतमा नयाँ डाटा सेन्टर पूर्वाधारका लागि करिब ५७ अर्ब अमेरिकी डलर लगानी प्रतिबद्धता जनाएका छन् । त्यस्तै अडानी समूह र रिलायन्स इन्डस्ट्रिजले डिजिटल तथा पूर्वाधार क्षेत्रमा करिब एक खर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् ।      डाटा सेन्टर सञ्चालक सिफी इन्फिनिट स्पेसका प्रमुख कार्यकारी शरद अग्रवालले भारतमा डाटा सेन्टर विस्तारले हालसम्म सीमित विरोध मात्र सामना गरेको बताए । उनका अनुसार कम्पनीले स्थानीय जलस्रोतमा पर्ने प्रभाव कम गर्न ‘क्लोज्ड–लूप वाटर कुलिङ’ जस्ता प्रविधि प्रयोग गरिरहेको छ । हाल १६ वटा डाटा सेन्टर सञ्चालन गरिरहेको सिफीले थप करिब एक दर्जन केन्द्र निर्माण गरिरहेको छ र भारतकै पहिलो सूचीकृत डाटा सेन्टर सञ्चालक बन्न प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) ल्याउने तयारीसमेत गरिरहेको छ ।      अग्रवालका अनुसार ‘हाइपरस्केल’ स्तरको एक गिगावाट कम्प्युटिङ क्षमता विकास गर्न मात्रै करिब पाँच अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्छ । उनले यति ठूलो लगानी जुटेपछि मात्र भारतले डाटा सेन्टर क्षेत्रमा अझ तीव्र विस्तार गर्न सक्ने विश्वास व्यक्त गरे । रासस 

साउदीले बनायो १४ देशको सुरक्षा गठबन्धन

काठमाडौं । साउदी अरबले लाल सागरको सुरक्षाका लागि रियादमा १४ देश सम्मिलित नयाँ गठबन्धन गठन गरेको छ । साउदी अरबसहित १३ अन्य देशले संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै बाब अल–मन्देब जलडमरूमध्य, लाल सागर र अदनको खाडीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य व्यक्त गरेका छन् । इरान समर्थित हूती विद्रोहीहरूले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी जारी राखेको र हर्मुज जलडमरूमध्य पहिले नै बन्द रहेको अवस्थामा साउदीले यो कदम चालेको हो । गठबन्धनमा साउदी अरब, कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया सदस्य छन्। गठबन्धनको प्रारम्भिक चार्टरको समीक्षा गर्न रियादमा बैठक आयोजना गरिएको थियो। बैठकमा ४३ देशका सैन्य प्रमुख तथा प्रतिनिधिहरू सहभागी भएका थिए । साथै युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले पनि प्रत्यक्ष वा भिडियो माध्यमबाट सहभागिता जनाएको थियो । साउदी रक्षा मन्त्रालयका अनुसार साउदी अरब यस गठबन्धनको संस्थापक राष्ट्र हुनेछ र यसको मुख्यालय रियादमा रहनेछ । गठबन्धनको संरचनामा संयुक्त कमाण्ड तथा नेतृत्व प्रणाली, संयुक्त सञ्चालन नियन्त्रण केन्द्र (जेओसीसी) र महासचिवालय  रहनेछ । मन्त्रालयले आवश्यक आन्तरिक प्रक्रिया पूरा गर्ने अन्य देशका लागि पनि सदस्यता खुला रहने जनाएको छ । समुद्री आवागमनको स्वतन्त्रताको रक्षा गर्ने, बाब अल–मन्देब हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय व्यापारिक मार्ग र ऊर्जा ढुवानीको सुरक्षा गर्ने, सदस्य राष्ट्रबीच गुप्तचर सूचना आदानप्रदान बढाउने, संयुक्त नौसैनिक अभ्यासमार्फत समन्वय सुदृढ गर्ने लगायतका गठबन्धनको मुख्य उद्देश्यहरू रहेको जनाइएको छ । साउदीका रक्षा मन्त्री राजकुमार खालिद बिन सलमानको अमेरिका भ्रमणपछि यो पहल अघि बढाइएको हो ।  वाशिङ्टनमा भएको भेटवार्तामा साउदीमाथि हूती विद्रोहीका आक्रमण तथा इरान समर्थित समूहहरूबाट इराक हुँदै हुन सक्ने सम्भावित आक्रमणबारे छलफल भएको थियो । इरान समर्थित हूती विद्रोहीहरूले जुलाई २० देखि साउदी अरबमाथि समुद्री नाकाबन्दी लागू गरेका छन् । त्यसयता उनीहरूले लाल सागरमा साउदीसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरिरहेका छन् । यसको प्रत्युत्तरमा साउदी अरबले यमनको होदेइदाह बन्दरगाहस्थित हूती अड्डाहरूमा हवाई आक्रमण गरेको छ । साउदीका अनुसार ती अड्डाहरू व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुँदै आएका छन् । साउदी अरबको अर्थतन्त्र ठूलो मात्रामा तेल निर्यातमा निर्भर छ । हूतीहरूको नाकाबन्दीले ऊर्जा निर्यातमा गम्भीर असर पारेको छ, किनभने साउदीको अधिकांश तेल तथा ऊर्जा कारोबार बाब अल–मन्देब जलडमरूमध्य हुँदै हुन्छ । यो समुद्री मार्गबाट विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा ओसारपसार हुन्छ। मूल्यका हिसाबले पनि विश्व व्यापारको यति नै हिस्सा लाल सागरको उत्तरी किनारमा रहेको स्वेज नहर हुँदै आवतजावत गर्छ, जहाँ बाब अल–मन्देब जलडमरूमध्य जोडिन्छ । यदि जहाजहरूले यो मार्ग सुरक्षित रूपमा प्रयोग गर्न नसकेमा उनीहरूलाई अफ्रिकाको केप अफ गुड होप हुँदै लामो मार्ग अपनाउनुपर्छ । शिपिङ उद्योगका अनुसार यसले एशिया–युरोपबीच माल ढुवानीमा १० देखि १४ दिनसम्म अतिरिक्त समय लाग्ने र केही मार्गमा ढुवानी खर्च १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरेको छ । यसैको प्रभावस्वरूप कच्चा तेलको मूल्य पनि बढेर प्रतिव्यारेल ९० अमेरिकी डलर नाघेको छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री) अन्य पठनीय सामग्रीहरू : युद्धपछि रित्तिँदै अमेरिकी हतियार, ५८.६ अर्ब डलरको रेकर्ड मिसाइल सम्झौता ‘मोस्ट वान्टेड’ सूचीमा टेलिग्रामका संस्थापक पाभेल डुरोभ साउदीको परमाणु डिलपछि किन चर्चामा आयो पाकिस्तान ?

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको तीव्र मागका कारण दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को दोस्रो त्रैमासिकमा ऐतिहासिक वित्तीय उपलब्धि हासिल गरेको छ । कम्पनीको परिचालन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा झन्डै १९ गुणाले बढ्दै ८९५ खर्ब वोन पुगेको छ र यो करिब एक हजार ८०० प्रतिशतको वार्षिक वृद्धि हो ।      यद्यपि वित्तीय नतिजा अत्यन्त बलियो देखिए पनि एआई क्षेत्रमा भइरहेको तीव्र लगानी दीर्घकालसम्म टिकाउ हुने वा नहुने भन्ने चिन्ताका कारण दक्षिण कोरियाको सेयर बजारमा भने ठूलो उतारचढाव देखिएको छ । यही कारण सामसुङ तथा प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सको सेयरमा तीव्र गिरावट आएको छ ।      सामसुङले सार्वजनिक गरेको विवरणअनुसार अप्रिल–जुन अवधिमा कम्पनीको राजस्व एक हजार ७१५ खर्ब वोन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १३० प्रतिशत बढी हो । यस अवधिमा कम्पनीको शुद्ध नाफा पनि करिब एक हजार ३०० प्रतिशतले वृद्धि भई ७१६ खर्ब वोन पुगेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले वित्तीय तथ्याङ्क उद्धृत गर्दै यी नतिजाले बजारको अपेक्षा पूरा गरेको जनाएको छ ।      वित्तीय उपलब्धिका बाबजुद बुधबार दक्षिण कोरियाको सेयर बजारमा एआईसँग सम्बन्धित कम्पनीका सेयरमा व्यापक बिक्री दबाब देखिएको थियो । सामसुङको सेयर १२ प्रतिशतभन्दा बढी घट्दा यसको प्रमुख प्रतिस्पर्धी एसके हाइनिक्सको सेयर पनि अघिल्लो दिनको १४ प्रतिशत गिरावटपछि थप करिब २० प्रतिशतले ओरालो लागेको थियो । पछिल्लो एक महिनामा रेकर्ड उचाइमा पुगेको एसके हाइनिक्सको बजार मूल्य झन्डै आधामा झरेको छ ।      एसके हाइनिक्सले पनि दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी राजस्व र परिचालन मुनाफा कमाएको भए पनि त्यो विश्लेषकहरूको अपेक्षाभन्दा कम रहेको जनाइएको छ ।      सामसुङ, एसके हाइनिक्स र अमेरिकी कम्पनी माइक्रोन विश्वका प्रमुख उच्च–ब्यान्डविड्थ मेमोरी (एचबिएम) चिप उत्पादकमध्ये पर्छन् । यी चिपहरू एआई प्रोसेसरमा च्याटबोट सञ्चालन, जटिल गणना तथा यथार्थपरक तस्बिर निर्माणजस्ता कार्यका लागि अत्यावश्यक मानिन्छन् ।      सामसुङले आफ्नो मेमोरी व्यवसायले सर्भर उत्पादनलाई प्राथमिकता दिँदै हालसम्मकै उत्कृष्ट त्रैमासिक प्रदर्शन गरेको जनाएको छ । लगातार दुई दिनको गिरावटपछि बिहीबार बिहान कम्पनीको सेयर करिब तीन प्रतिशतले सुधारिएको थियो ।      कम्पनीले वर्षको दोस्रो छ महिनामा पनि सर्भरसम्बन्धी उत्पादनको माग बलियो रहने विश्वास व्यक्त गरेको छ । पूर्वाधार विस्तार, एआईमा बढ्दो लगानी तथा प्रयोगकर्ताका लागि स्वतन्त्र रूपमा कार्य सम्पन्न गर्न सक्ने ‘एजेन्ट एआई’ प्रविधिको विस्तारले बजारलाई थप चलायमान बनाउने कम्पनीको अपेक्षा छ ।      कम्पनीका प्रमुख वित्तीय अधिकारी पार्क सून–चोलका अनुसार विश्वव्यापी मेमोरी चिपको अभाव सन् २०२७ मा अझ गहिरिने र त्यसको प्रभाव सन् २०२८ सम्म कायम रहने अनुमान गरिएको छ ।      सामसुङले अमेरिकाको टेक्सास राज्यस्थित टेलरमा निर्माणाधीन पहिलो चिप उत्पादन केन्द्र यसै वर्ष सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दोस्रो उत्पादन केन्द्रको निर्माण यसै वर्षपछि सुरु हुने र सन् २०३० सम्म पूर्ण व्यावसायिक उत्पादनमा लैजाने लक्ष्य राखिएको छ ।      विश्लेषकहरूका अनुसार एआईको तीव्र विस्तारले उच्चस्तरीय एचबिएम चिपमात्र नभई, परम्परागत न्यान्ड र ड्राम मेमोरी चिपको मूल्य तथा ढुवानीमा समेत उल्लेखनीय वृद्धि गराएको छ ।      बजार अनुसन्धान संस्था काउन्टरपोइन्टका विश्लेषक एमएस ह्वाङका अनुसार सामसुङले मेमोरी क्षेत्रमा रहेको आफ्नो बलियो आधारको उपयोग गर्दै विभिन्न व्यापारिक क्षेत्रमा आक्रामक रूपमा बजार हिस्सा विस्तार गरिरहेको छ ।      हालै सामसुङले अमेरिकी चिप निर्माता ब्रोडकमसँग रणनीतिक सहकार्य गरी एचबिएमसहित उन्नत मेमोरी समाधान उपलब्ध गराउने घोषणा गरेको थियो । यो साझेदारीको कुल मूल्य सन् २०३० सम्म दुई खर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ ।      ह्युन्डाई रिसर्च इन्स्टिच्युटका आर्थिक अनुसन्धान प्रमुख जो वोनका अनुसार यो सहकार्यलाई सामसुङले एनभिडियामा सीमित ग्राहक आधार विस्तार गर्दै अन्य एआई चिप उत्पादकसँग दीर्घकालीन सम्बन्ध मजबुत बनाउने रणनीतिका रूपमा लिन सकिन्छ ।      यसैबीच, सामसुङले अमेरिकी सेयर बजारमा सूचीकृत हुने सम्भावनाबारे चलेका अड्कलबाजीलाई पनि अस्वीकार गरेको छ । कम्पनीका वित्तीय अधिकारी पार्कले बलियो नगद प्रवाह रहेकाले तत्काल पूँजी सङ्कलनको आवश्यकता नरहेको स्पष्ट पारेका छन् ।      दक्षिण कोरियामा बढ्दो सेमिकन्डक्टर उद्योगले सरकारी राजस्वसमेत उल्लेखनीय रूपमा बढाएको छ । राष्ट्रपति ली जे म्युङले यस अवस्थालाई नयाँ लगानीका लागि ‘सुनौलो अवसर’ को संज्ञा दिएका छन् ।      सरकारले सामसुङ र एसके हाइनिक्सले ग्वाङ्जुको पूर्व सैन्य विमानस्थल क्षेत्रमा चारवटा अत्याधुनिक चिप उत्पादन केन्द्र स्थापना गर्न संयुक्त रूपमा आठ हजार खर्ब वोन लगानी गर्ने योजनालाई पनि पुष्टि गरेको छ । यद्यपि विश्लेषक जो वोनले उक्त परियोजना दीर्घकालीन भएकाले त्यसको प्रतिफल आउन समय लाग्ने बताउँदै अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको विश्वव्यापी सेमिकन्डक्टर ‘सुपरसाइकल’ अपेक्षाभन्दा चाँडै समाप्त हुन सक्ने जोखिम रहेको उल्लेख गरेका छन् । रासस