काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गए राति मस्को क्षेत्रमा गरिएको युक्रेनी हमलाले रुसलाई ठूलो क्षति पुगेको दावी गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा एक भिडियो पोस्ट गर्दै उनले यस्तो दावी गरेका हुन् ।
जेलेन्स्कीले लेखेका छन्, ‘रुसका प्रमुख तेल उद्योग प्रतिष्ठानमध्ये एक र रुसको एउटा लजिस्टिक्स केन्द्रलाई निशाना बनाइएको छ । युद्ध जारी राख्न यी प्रतिष्ठानहरूले अर्बौं डलरको योगदान गरिरहेका छन् ।’
‘देशका योद्धाहरूले गरेको सटीक कारबाहीका लागि म उनीहरूलाई धन्यवाद दिन्छु । यस क्रममा युक्रेनको सुरक्षा सेवाले मानवरहित आक्रमण, विशेष कार्यदल, युक्रेनी गुप्तचर सेवा र विदेशी गुप्तचर सेवासँग मिलेर काम गरेको छ,’ उनले थपे ।
जेलेन्स्कीले अब रुसले आफ्नो क्रूर युद्ध अन्त्य गर्नुपर्छ र शान्तिको बाटो रोज्नुपर्नेमा जोड दिए ।
मस्को क्षेत्रका गभर्नरले उक्त हमलामा दुई जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएको बताएका छन् ।