काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाले इरानमाथि पुनः हमला गरे विश्वलाई चकित पार्ने नयाँ हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।
रिभोलुसनरी गार्ड कोरका प्रवक्ता हुसेन मोहेबीले भनेका छन्, ‘अमेरिकाले हमला गरे इरानले विश्वलाई चकित पार्ने नयाँ हतियार प्रयोग गर्नेछ । इरानले यस्ता हतियार बनाएको छ र तिनको क्षमता बढाएको छ, जुन युद्धको अहिलेको चरणमा प्रयोग गरिएको छैन ।’
उनले ती हतियारलाई इरानका ‘रणनीतिक हतियार’ भन्दै आवश्यक परेको अवस्थामा प्रयोग गरिने बताएका छन् ।
आईआरजीसीका प्रवक्ताको यस्तो चेतावनी खातम अल–अन्बिया केन्द्रीय मुख्यालयको उक्त भनाइपछि आएको हो, जसमा अमेरिकाले केही देशको अनुमति पाएपछि पुनः कारबाही सुरु गर्न चाहेको उल्लेख गरिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार फक्स न्युजसँग अमेरिका–इरान युद्धबारे कुराकानी गरेका थिए ।
त्यस क्रममा उनले अमेरिका–इरान युद्धका विषयमा निकट भविष्यमा ‘ठूलो घटना’ हुन सक्ने बताएका थिए । यसबारे निर्णय आफूले नै गर्ने उनको भनाइ थियो ।