काठमाडौं । अमेरिकी सरकारले इरानी अधिकारीहरूलाई आगामी साता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिएको छ ।
दुई देशबीचको युद्ध अहिले सातौं महिनामा प्रवेश गरिरहेको छ ।
बीबीसीका अनुसार अमेरिकाले स्वीकृति दिएको इरानी प्रतिनिधिमण्डलमा इरानी राष्ट्रपति मसुद पेजेश्कियान र विदेशमन्त्री अब्बास अराग्ची पनि छन् ।
अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बिहीबार यस निर्णयको पुष्टि गरेका छन् ।
उनका अनुसार इरानी प्रतिनिधिमण्डलमाथि यात्रा सम्बन्धी प्रतिबन्ध लागू हुनेछ । साथै प्रतिनिधिमण्डलका सदस्यहरूले अमेरिकामा केही वस्तु खरिद गर्न पाउने छैनन् ।
युद्ध अन्त्य हुने कुनै संकेत नदेखिएको समयमा अमेरिकाले यस्तो निर्णय गरेको हो ।
फेब्रुअरीमा सुरु भएको यस युद्धका कारण विश्वभर तेल र ग्यासको मूल्य बढेको छ भने यसको प्रभाव छिमेकी मुलुकहरूसम्म फैलिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीसँग भने, ‘आयोजक राष्ट्रका रूपमा हाम्रो जिम्मेवारीअन्तर्गत इरानी शासनको मुख्य प्रतिनिधिमण्डललाई संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन अनुमति दिइनेछ ।’
उनले भने, ‘प्रतिनिधिमण्डलमाथि यात्रा सम्बन्धी प्रतिबन्ध लागू हुनेछ । हाम्रो नीतिअनुसार विलासी तथा अन्य वस्तुको खरिदमा पनि रोक हुनेछ । यो प्रतिनिधिमण्डल गत वर्षको तुलनामा सानो छ ।’
गत वर्ष इरानबाट आएका कूटनीतिज्ञहरूलाई कस्टको जस्ता थोक पसलबाट सामान खरिद गर्नसमेत रोक लगाइएको थियो ।