ट्रम्पसँग कुराकानीपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने– ‘धेरै कुरा बदलिन सक्छ’
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेको र उनीहरू न्यूयोर्कमा भेट्न सहमत भएको बताएका छन् । जेलेन्स्कीले आइतबार राति सामाजिक सञ्जाल एक्समा ट्रम्पसँगको भेटले धेरै कुरा बदल्न सक्ने बताएका हुन् । उनले लेखेका छन्, ‘मैले भर्खरै राष्ट्रपति ट्रम्पसँग कुरा गरेँ। यो महत्त्वपूर्ण कुराकानी थियो र हामीले धेरै विषयमा छलफल ग‍र्यौं । हामी न्यूयोर्कमा भेट्न सहमत भएका छौं र यो भेटले धेरै कुरा बदल्न सक्छ। कुराकानी अघि बढिरहेको छ ।’ ‘मैले राष्ट्रपति ट्रम्पलाई स्टिभ विटकफ र जारेड कुशनरको किएभ भ्रमणका लागि धन्यवाद दिएँ । हामीले आवश्यक विषयमा विस्तृत छलफल ग‍र्यौं र उनीहरूले युक्रेनको अवस्थालाई प्रत्यक्ष रूपमा देखे। शान्तिको प्रयास हाम्रो पहिलो प्राथमिकता हो,’ उनले थपे । जेलेन्स्कीले अमेरिकी टोलीसँग मिलेर काम गरिरहेको र ठूलो कदम चाल्न तयार रहेको पनि जानकारी दिए । उनले लेखेका छन्, ‘मैले अमेरिकी राष्ट्रपतिलाई लिन्डसे ग्राहम विधेयकलाई कानुन बनाइदिएकोमा धन्यवाद दिएँ । हामी सबै शान्ति हुनुपर्छ भन्ने कुरामा सहमत छौं । युक्रेनको साथमा उभिने सबैलाई धन्यवाद ।’ लिन्डसे ग्राहम विधेयक हालै डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कानुन बनेको हो । यसअघि उक्त विधेयक अमेरिकी कांग्रेसबाट पारित भएको थियो । यो कानुनले अमेरिकी राष्ट्रपतिलाई रुसबाट कच्चा तेल वा प्राकृतिक ग्यास खरिद गर्ने शीर्ष पाँच देश, जस्तै भारत र चीनमाथि १०० प्रतिशतसम्मको भारी आयात शुल्क (ट्यारिफ) लगाउने अधिकार दिएको छ ।
चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण
काठमाडौं । चीनले नयाँ समूहका उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनको उत्तरी क्षेत्रमा रहेको शान्सी प्रान्तस्थित थाइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च–२डी रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको हो । पाइस्याट–२ १३ देखि १६ नाम दिइएका चारवटा उपग्रहलाई रकेटमार्फत अन्तरिक्षमा पठाइएको थियो । प्रक्षेपणपछि सबै उपग्रहहरू सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेका छन् । प्रक्षेपण केन्द्रका अनुसार यो अभियानसँगै लङ मार्च रकेट शृंखलाको कुल उडान संख्या ६६८ पुगेको छ । यो प्रक्षेपण चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत नियमित रूपमा अघि बढिरहेको उपग्रह प्रक्षेपण अभियानको पछिल्लो कडी हो ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी पक्राउ
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलीमा खानमलाई पञ्जाब प्रान्तको लाहोरमा हिरासतमा लिइएको छ । लाहोरका डेपुटी कमिस्नरले उनको हिरासतको पुष्टि गरे । इमरान खानका छोरा कासिम खानले सामाजिक सञ्जाल एक्समार्फत अलीमा खानमलाई प्रहरीले अपहरण गरेको आरोप लगाएका छन् । उनले परिवारलाई अलीमालाई कहाँ लगिएको भन्ने जानकारी नदिइएको र परिवार तथा उनका वकिलले समेत उनीसँग सम्पर्क गर्न नसकेको बताएका छन् । कासिमले सरकारमाथि मानिसलाई नियन्त्रणमा लिएर परिवारमा डर पैदा गरेको तथा मानवअधिकार, उचित कानुनी प्रक्रिया र कानुनको शासनको उल्लंघन गरेको आरोपसमेत लगाएका छन् । ‘पहिले उनीहरूले मेरा बुबालाई जेलमा हाले । अब उनीहरू उनको परिवारको पछि लागेका छन्,’ उनले लेखेका छन् । बीबीसी उर्दूका अनुसार अलीमा खानमका आफन्त कासिम जमान खानले उनलाई लाहोर जिमखानाबाहिरबाट हिरासतमा लिएर कोट लखपत जेलमा स्थानान्तरण गरिएको बताएका छन् । उनका अनुसार शान्ति भंग हुन सक्ने आशंकाका आधारमा डेपुटी कमिस्नरले अलीमा खानमलाई हिरासतमा लिन प्रहरीलाई आदेश दिएका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा पक्राउ गरेको हो । लाहोर प्रहरीले भने घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जेलमा रहेका इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले आगामी सेप्टेम्बर २७ मा इस्लामाबादतर्फ लामो मार्च गर्ने घोषणा गरेको छ । सोहीबीच अलीमा खानमलाई हिरासतमा लिइएको हो । अलीमा खानम यसअघि पनि पीटीआई समर्थकहरूसँग विभिन्न प्रदर्शनमा सहभागी हुँदै आएकी छन् ।