काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कदरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा रहुन्जेल आफ्नो देशले हर्मुज स्ट्रेट खोल्ने कुनै सोंच नरहेको बताएका छन् ।
इरानी समाचार एजेन्सीहरूले बिहीबार (हिजो) प्रकाशित गरेको उनको भनाइमा जोल्कदरले भनेका छन्, ‘इरानले आक्रामक शत्रुको शक्ति तोड्ने र अहंकारी शक्तिहरूको कम्मर भाँच्ने निर्णय गरेको छ ।’
उनका अनुसार डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई सत्ताबाट नहटाइएसम्म हर्मुज स्ट्रेट खोलिने छैन ।
उनले यसलाई इरानको प्रतिशोधात्मक कारबाहीको पहिलो चरण भएको बताएका छन् ।
बीबीसी पर्सियनका अनुसार एकातिर डोनाल्ड ट्रम्प इरानसँगको युद्ध वा वार्ताबारे पटक–पटक र कहिलेकाहीँ परस्पर विरोधाभासी अभिव्यक्ति दिइरहेका छन् भने अर्कोतर्फ इरानभित्र अमेरिकासँगको सैन्य टकराव जारी राख्ने वा वार्ताको बाटो अपनाउने भन्ने विषयमा मतभेद गहिरिँदै गएको छ ।
इरानका केही शीर्ष राजनीतिक नेताहरूले अमेरिकासँग इस्लामाबाद सम्झौता कार्यान्वयन गर्न र त्यसलाई युद्ध अन्त्य गर्ने एउटा सर्तका रूपमा स्वीकार गर्न अपिल गरिरहेका छन् ।
त्यस्ता नेताहरूमा राष्ट्रपति मसुद पेजेस्कियान र संसद् अध्यक्ष मोहम्मद बाकेर गालिबाफ पनि छन् ।
तर, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का सैनिक तथा कमान्डरसहितका कट्टरपन्थी समूहले भने युद्ध जारी राख्नु र हर्मुज स्ट्रेट बन्द गर्नु अमेरिका तथा इजरायलको सामना गर्ने बढी प्रभावकारी रणनीति भएको बताइरहेका छन् ।
यसैबीच, बढ्दो महँगी, आर्थिक प्रतिबन्ध र इरानका दक्षिणी बन्दरगाहमा जारी नौसैनिक नाकाबन्दीका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ ।
अन्तर्राष्ट्रिय मुद्राको तुलनामा इरानी रियालको अवमूल्यनले मानिसहरूको आर्थिक समस्या झन् बढाएको छ ।